सुलसुले’योगसाधना’ महाकाव्यको चर्चा-परिचर्चा कार्यक्रम
कवि, निबन्धकार एवम् काव्यकार इन्द्रप्रसाद कटुवालको तेस्रो कृति ’योगसाधना’ नामक महाकाव्यको चर्चा-परिचर्चा भएको हो ।

झापा, ०८० साउन २७ । विर्तामोड नगरपालिकास्थित जयन्द्र प्रसाईँ साहित्य सेवा कोषको सभा हलमा एउटा भव्य कार्यक्रम सम्पन्न भयो । कवि, निबन्धकार एवम् काव्यकार इन्द्रप्रसाद कटुवालको तेस्रो कृति ’योगसाधना’ नामक महाकाव्यको चर्चा-परिचर्चा भएको हो ।
स्रष्टा स्वयम् इन्द्रप्रसाद कटुवालको आयोजना, कवि एवम् समालोचक विष्णुकुमार भट्टराईको अध्यक्षता, मूलतः हास्यव्यङ्ग्य निबन्धकार, समालोचक, काव्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य, साहित्यकार मिश्र वैजयन्ती, कवि एवम् समालोचक हरिनारायण भट्टराई आदिका विशिष्ट आतिथ्य, र कविहरू हरिप्रसाद रिमाल, डिल्लीराज नेपाल, दुर्गा सिग्ध्याल, ठाकुरप्रसाद पोखरेल, छन्दोबद्ध कवि नदी भट्टराई, सञ्चारकर्मी, रेजिना रोदन गौतम, दिलिप घिमिरे, तेजेन्द्र घिमिरे, कवि भगवती ढुङ्गेल, जयप्रसाद आचार्य, अनु पोखरेल, मीना अधिकारी, योगोन्द्र खतिवडा, गीतकार टीका भट्टराई नेपाल, जनअदोलन पत्रिकाको संरक्षक यज्ञप्रसाद पाठक, जयन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँ, लेखक संघको अध्यक्ष तथा आख्यानकार कुमार भट्टराई, साहित्यकार डीबी इलामे आदि स्रष्टाहरूको समेत अतिथि सहभागी रहेको थियो ।
मञ्चासिन तथा उपस्थित सहभागीहरूलाई खदार्पण गरेपश्चात राधाकृष्णको तस्विरमाथि माल्यार्पण गर्दै विधिवत रूपमा दीप प्रज्ज्वलनका साथ महाकाव्यमा समावेश पाञ्चायन देवताप्रति समर्पित मङ्गलाचरणका केही श्लोक नदी भट्टराईद्वारा वाचन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । दिनको एक बजेदेखि कार्यक्रम सुरु भए पनि सङ्ख्यात्मक रूपमा भन्दा गुणात्मक रूपमा उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो शत्रमा कार्यक्रमको आकर्षण चर्चा-परिचर्चा रहेको थियो । जसमा महाकाव्यमा नै केन्द्रित भई बोल्ने स्रष्टाहरूमा डिल्लीराज नेपाल, हरिनारायण भट्टराई, मिश्र वैजयन्ती, नदी भट्टराई, कोमलप्रसाद पोखरेल र हरिप्रसाद रिमाल आदि थिए ।
चर्चामा प्रत्यक्ष सहभागी स्रष्टाहरूले काव्यकार कटुवालका योगसाधनामा समावेश- आख्यान , मौलिकता, सैद्धान्तिक परम्परा, पात्र, संरचना पक्ष, काव्यका तत्त्व, आदिको आधारमा बहुआयामिक, बहुविषयक कोणबाट आ-आफ्ना मौलिक विचार प्रस्तुत गरेका थिए र यो महाकाव्यले खनेको गोरेटो महाकाव्यकारहरूको भिडमा अत्यन्तै फरक धार र चिन्तन परम्परामा आधारित भएको र आवश्यकतासमेत महसुश गरिएको निष्कर्ष निकालेका थिए साथै काव्यनायकलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।
भगवती ढुङ्गेलले काव्यनायकको बारे दुई शब्द बोलेकी थिइन् र काव्यकै केही श्लोक रचना कवि जय आचार्यद्वारा वाचन गरिएको थियो । टीका भट्टराई नेपालले एउटा गीत र मीना अधिकारीले कविता प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा चर्चा- परिचर्चा भएको तुलसमेत सहभागीहरूले पढेनन् कि भन्ने अनुभूति भने भएकै हो किनकि योगसाधनाको चर्चा-परिचर्चामा केही स्रष्टाहरूले समीक्षा नै गर्न लागेपछि समीक्षा र चर्चाको फरक नछुट्टिएको हो । एक त समय छोटो र ढिलो भए पनि बाँकी समयमा उपस्थित सहभागीहरू भने आध्योपान्त नै बसेकाले कार्यक्रम भव्य हुन पुगेको हो ।
कार्यक्रमको औचित्य र स्वागत मन्तव्यसमेत काव्यनायककै रहेको सो कार्यक्रममा कवि नैनकला भट्टराईको लालीत्यमय सहजीकरण रहेको थियो ।
०००
– फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest












































