नदी भट्टराईराेहिणी विलासकाे ८३ औँ जन्मजयन्ती तथा स्मृतिग्रन्थ लोकार्पण
स्रष्टा एवम् द्रष्टा रोहिणीविलास लुइटेलको ८३औँ जन्मजयन्ती तथा वहाँकै स्मृतिमा लिपिबद्ध रचनाहरूको सँगालो रोहिणीविलास लुइटेल स्मृतिग्रन्थको पनि लोकार्पण भएको हो । गार्गी वाङ्मय प्रतिष्ठानका अध्यक्षको अध्यक्षता नरेन्द्रप्रसाद अधिकारी, मोहन भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्याे ।

झापा, २०८० भदौ ४ । झापाको अर्जुनधारा नगरपालिका -९, स्थित गार्गी वाङ्मय प्रतिष्ठान अर्जुनधारा , बाह्रघरेको सभाहलमा एक साहित्यिक कार्यक्रम सम्पन्न भयो । स्रष्टा एवम् द्रष्टा रोहिणीविलास लुइटेलको ८३औँ जन्मजयन्ती तथा वहाँकै स्मृतिमा लिपिबद्ध रचनाहरूको सँगालो रोहिणीविलास लुइटेल स्मृतिग्रन्थको पनि लोकार्पण भएको हो ।
गार्गी वाङ्मय प्रतिष्ठानका अध्यक्षको अध्यक्षता नरेन्द्रप्रसाद अधिकारी, मोहन भण्डारी प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू विष्णुकुमार भट्टराई , डा.ठाकुरप्रसाद पोखरेल, डा.पुण्यप्रसाद सिग्देल, प्राज्ञ विवश पोखरेल, पुण्यप्रसाद खरेल, सरोज ओली, नदी भट्टराई, लोकनाथ पौडेल, गोपीकृष्ण प्रसाई, हरिनारायण भट्टराई, केशव आचार्य, पिनाकीप्रसाद कोइराला कृष्ण पौडेल, भीम निरौला, भीम नेपाल, गोविन्द काफ्ले, देवीभक्त श्रेष्ठ, हस्त परियार, रूपा खनाल, वेदमाया कट्टेल, हरिनारायण भट्टराई, हरिनारायण खतिवडा, रश्मिशेखर सुवेदी, लिला मिश्र लगायतका स्रष्टाहरू रहेका थिए ।
अतिथि आशनग्रहणसँगै वहाँहरूलाई रुद्राक्षको माला पहिराई स्वागत गरेपश्चात दिवङ्गत स्रष्टा लुइटेलको तस्विरमा पनि माल्यार्पण गरी एकै साथ दीप प्रज्ज्वलन र स्वस्तिक वाचनगरी कार्यक्रमको उद्घाटन गरिएको थियो । स्रष्टा लुइटेलकै आवाज सार्वजनिक गरेर मौनधारणको नौलो तरिका अपनाइएको थियो भने देशलाई सम्झने काम पनि भएको थियो राष्ट्रगान बजाएर । प्रमुख अतिथिलगायत मञ्चासिन अतिथिहरूबाट पूर्वघोषित पुस्तक स्मृतिग्रन्थ लोकार्पण भएको थियो ।
उपस्थिति सङ्ख्याका आधारमा कार्यक्रम मूलतः नारीप्रधान देखिएको थियो । आफ्ना दिवङ्गत पिताका सम्झनामा स्रष्टाका चेली र छोरीहरूका सहेलीहरूसमेत खुलेरै लागिपरेको पाइयो । त्यसो त पञ्चे बाजाहरूको लस्करसहित जम्मा भएको कार्यक्रमको शुरु अवस्था भने विवाहको मण्डप प्रस्थान जस्तो पनि नदेखिएको होइन ।
रोहिणीविलास लुइटेल आध्यात्मिक चेतनाको पनि चिन्तक भएकाले चेलीहरूको तर्फबाट प्रस्तुत गरिएको स्वस्तिवाचनले कुनै सप्ताहव्यापी पुराणको प्रातकालीन अवस्थाको झझल्को नदिएको पनि होइन ।
लोकार्पित स्मृतिग्रन्थको कथ्य समीक्षा डा. ठाकुरप्रसाद पोखरेलले गरेका थिए । समीक्षामा भाषाका वाक्यगत त्रुटि, स्रष्टाका नामहरू सूचीकृत गरिँदा वर्णानुक्रम मिचिएको , पदयोग र पदवियोग भङ्ग गरिएकोमा सम्पादक मण्डलको कमजोरीको संकेत देखिए तापनि कृतिभित्र समेटिएका रचनाहरू भने आ-आफ्ना स्थानमा सही भएको दावी गरेका थिए । विशेष गरी समीक्षा खण्डका र स्मृति खण्डका लेख तथा समीक्षाहरूले सैद्धान्तिक र भावपरक शैली दुवै अपनाइएको प्रष्ट पारेका थिए । अनुसन्धनात्मक शोधार्थीहरूका लागि यो स्मृतिग्रन्थ एउटा पथप्रदर्शक बन्न सक्ने बताएका थिए ।
कार्यक्रममा रचना वाचन, मन्तव्य, स्रष्टाको जीवनीको छोटो चर्चा र उनलाई सम्झने विभिन्न बहानाका सन्दर्भहरू पनि प्रस्तुत भएका थिए । प्राज्ञ विवश पोखरेलले स्रष्टा लुइटेललाई सम्झने क्रममा पूर्वका अब्बल कविको रूपमा आफ्ना भनाइ राखे भने डा.पुण्यप्रसाद सिग्देल, आख्यानकार पुण्यप्रसाद खरेल सञ्चारकर्मी पिनाकीप्रसाद कोइराला र देवीभक्त श्रेष्ठ आदिले आ-आफ्ना किसिमका श्रद्धाञ्जली मन्तव्य प्रस्तुत गर्ने क्रममा पिनाकीप्रसाद कोइरालाले स्रष्टाहरूलाई दिने कुनै किसिमको सद्भावमूलक सम्मान जिउँदोमै दिनुपर्नेमा जोड दिए र रोहिणीविलासको योगदानको पहिचान विगतमा भनेजस्तो नभएकाले अबका प्रतिनिधि रोहिणीहरूलाई जिउँदैमा सकेको योगदानको कदर गर्नुपर्ने कुरामा जोड दिए ।
त्यसो त गार्गी वाङ्मय प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति पनि बेजोड देखियो र कलाकार समूहकी संयोजक शान्ता दाहाल पौडेललाई त ऊर्जास्वरूप सम्मानपत्र र खदा तथा मालाद्वारा सम्मान पनि गरिएको थियो । बालनृत्य तथा स्वागत गानलाई नाटकीय रूपमा प्रस्तुत पनि गरिएको थियो । गायक तथा सङ्गीतकार हस्त परियारले लुइटेलको भजन ( शब्द) गाउने प्रयास गरेका थिए यसै क्रममा नूरज भट्टराई नदी भट्टराई, सञ्चारकर्मी केशव भट्टराई, कल्पना भट्टराई, मीरा कडरिया, दुर्गा सिग्देल र सीता कट्टेल सिटौला आदिले आ-आफ्ना रचना पनि वाचन गरेका थिए ।
वास्तवमा स्रष्टा रोहिणीविलास लुइटेलको सिर्जनशील उचाइ र सङ्गतको आधारमा हेर्दा उनका कुनै समयका अविछिन्न सिर्जनशील सखाहरूको उपस्थिको प्रकृयामा ढङ्ग भने नपुगेकै हो । यो भूमण्डलीकरणको अवस्था हो भूगोल सम्म हुँदैमा गाउँगाउँ कति स्रष्टाहरूको उपस्थिति विभिन्न कारणले नहुनु पनि स्वभाविक नै रहेछ भन्ने अनुभूति गरियो ।
त्यसो त उनका खास केही सखाहरूलाई औपचारिक निम्तो नगए पनि भागवतप्रति सम्मान हुनेहरू पुराणको कार्ड पर्खनुहुन्न भन्ने अभिव्यक्ति पनि नआएका होइनन् । स्मरण रहोस् झापाली कविशिरोमणि कोमलप्रसाद पोखरेलको उपस्थिति भने अस्वस्थताका कारण हुन नसकेको कुरा दूरभाषमा जानकारी दिनुभएको थियो ।
गार्गी वाङ्मय प्रतिष्ठानको आयोजना रहेको कार्यक्रममा सङ्गीता लुइटेलको स्वागत मन्तव्य र संस्थाका सचिव केदार थापाको सहजीकरण रहेको थियो ।
०००
मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest








































