रेहित सैजुहाँसो
लाइक कमेन्टको लोभमा आफ्नै घर, समाज र देशको धज्जी उडाउने विषय पोष्ट गरी आफ्नै खुट्टो लुलो बनाउने काम गरिरहेका हुन्छन् । आफ्नै धोती खुस्कालेर छिमेकी हँसाउनु गतिलो काम हुँदै होइन । हामीले अरूलाई नाङ्गो आङ देखाउनु भनेको देख्नेको खुशी सूचाङ्कमा छलाङ मारिदिनु हो ।

रेहित सैजु :
हाँसो स्वास्थ्यबर्धक चीज हो । धेरैले यसो भन्ने गरेका छन्, दैनिक मन फुकाएर हाँस्दा दुःख पीडा मात्र बिर्सिँदैन, शारीरिक र मानसिक रूपमा पनि स्फूर्त रहन सकिन्छ । सबैले यसो भन्दा भन्दै मैले नकार्न खोज्नु मेरो मूर्खता सिवाय अरु हुन सक्दैन । अँ त, मान्छे म चाहिँ छाेकडाे भए पनि अकडो नै हो । मलाई सोझो कुरा गर्न मन नलाग्ने हो या नजानेको हाे, सधैं बाङ्गो बाङ्गो कुरा गर्ने । यस्तै अडबाङ्गे बानी भएर कतिपय ठाउँमा नाङ्गिएको पनि छु म । जे होस् मेरा रमितेहरूलाई म बडो गजबको हाँसोको पात्र बन्न सफल चाहिँ भएको छु । यो पनि मेरो एकखाले सफलता नै हाे भन्नुपर्छ ।
त्यसो त मलाई हाँस्न मन नपर्ने चाहिँ हुँदै होइन है तर हाँस्नै आउँदैन र पो । हाँस्नका लागि जति नै ठूला भीमकाय विषयवस्तु भए पनि आन्द्रा चुँडिने गरी हाँस्न मन नलाग्ने त कहाँ हाे र ? तर म आफै जानी जानी हाँस्दिनँ । यसमा एउटै अमिल्दो कारण छ, त्यो हो मेरो अगाडिपट्टिको दाँत मान्छेको जस्तो नभएर मुसाको जस्तो भइदिनु । बरु म मान्छे नभएर मुसा भइदिएकाे भए यो जिन्दगी कति सरस, सरल र सहज हुन्थ्यो होला । केही कुराको टसमस हुन्थेन । लसपस गर्यो । दुलोभित्र पस्यो, कुटुकुटु चपायो, रित्यायो । चाहे त्यो धानको भकारी होस् कि देशको ढुकुटी नै किन पो नहोस् । म भन्दा त मुसो निकै भाग्यमानी । उसका अनुयायी कति धेरै । हुन त गणेश भगवानको वाहन हो क्या रे फेरि । कसैले केही भन्न, गर्न पनि नमिल्ने । हत्तेरिका, मैले आफ्नो कमजोरीको धोती यसरी खोल्न नहुने तर के गर्नु सेतो कछाडले छोप्दैमा लाज पनि कहाँ छोपिँदाे रहेछ र भन्या …!
म पटक पटक धेरै ठाउँमा हाँसोको पात्र बन्न पुगेको छु । छ कक्षामा पढ्थेँ । स्कुलमा वक्तृत्वकला प्रतियोगिता चलिरहेको थियो । पढ्ने विद्यार्थीमै गनिने भएर मैले भाग लिनु पर्ने बाध्यता थियो । विषयवस्तु तयार गरेको भए पनि प्रस्तुतिको चरम अभाव थियो ममा जुन दुरुस्तै देखियो त्यतिखेर । पालो आयो मञ्चमा जाने, माइक कहिल्यै समातेको थिइनँ । हिम्मत जुटाएर भए पनि समातेँ । माइक अन छ छैन भनेर चेक गर्न फु: गर्नतिर लागेँ । फसाद त यहाँ पो भयो । सानो मान्छे कस्सेर फु गर्दा पनि ठूलै आवाज आएछ । सबैजना गलल हाँसे, मेरो अञ्जान कमजोरीमाथि पेट मिचिमिची ।
मलाई यही घटनाले अहिलेसम्म बारम्बार चिमोटिरहन्छ अनि मञ्चमा गएर बोल्न पनि असाध्यै डर लाग्छ । अचेल मञ्चमा गएर बोल्नुपर्ने ठाउँमा म लुकेर बस्ने गरेको छु । तर कहिलेकाहीँ पक्राउ पर्दा अनेक बाहना बनाए पनि अनुत्तीर्ण हुन्छु । यस्तो बेला बोल्दा सम्बोधन गर्न बिर्सिने, कहिले बोल्दा बोल्दै बीचमै अड्किने हुन्छु । पछि लास्टमा सम्बोधन नगरेको आफैलाई थाहा भएपछि झन् कस्तो खल्लो लाग्ने भन्या छ्या: । अरूले आफूलाई काउकुती लगाउँदा आफूलाई हाँसो उठ्छ तर आफूले आफैलाई काउकुती लगाउँदा नराम्रोसँग रातोपिरो हाेइने रहेछ ।
हाँसोका प्रकार मान्छेको ठाउँनुसार फरक फरक हुन्छन् । कुनै प्रतिक्रिया जनाउने मात्र, कुनै मुसुक्क मुस्काउने, कुनै चाहिँ नभएका दाँत पनि सबै देखाएर आन्द्रा चुँडिने गरी हाँस्ने लगायत हुन्छन् क्यारे ! उमेर अनुसारको हाँसो । सानो उमेरको केटाकेटीलाई हाँस्न रुन ठूलो कुरै चाहिँदैन । बैंशले उन्मत्त युवा तन्नेरीहरू कुखुराले सुली फ्याँकेकाे देख्दा पनि लडीलडी हाँस्छन् । एक्लै पनि सम्झी सम्झी हाँस्छन् । कहिले कुकुरको पुच्छर बाङ्गो भएकाे देखेर पनि हाँस्छन् । यही कुरा साथीभाइ सबैलाई सुनाउँछन् अनि फेरि सबै गलल्ल हाँस्छन् । अलि उमेर पाकेका जिम्मेवारीको थुञ्चेले ढाकेकाहरू अलमल्ल परेको अनुहार बनाई प्रतिक्रिया जनाइदिन मात्र भए पनि मुस्कुराउँछन् । तिनलाई डर छ कतै चाउरिएको गाला अरूले देख्ने पो हुन् कि !
जमाना पनि कस्तो ! जे गरे पनि फोटो खिच्नु पर्ने । फोटो नै बलियो प्रमाण । अझ मुस्कुराएर । दाँत देखाउनै पर्ने । दाँत नदेखाई हाँस्न मिल्दैन र भन्या ! कि दाँत देखाएर हाँसेको मात्र पास हुने हो कि ! मजस्ता दाँत उछिट्टिएकाहरू आँत फुकाएर हाँस्न पाउने कहिले ? हाँसोलाई बन्धकीमा राखेर ढुकढुकी साँचेको कुरा कहाँ लगेर घोप्ट्याउनु ? कसैले धरौटी दिएर भए पनि हामीलाई हाँस्न देओ ! ओ मेयरसाब्, दन्त नदेखाई हाँसेको हाँसो पनि हाँसो नै हो भनेर सिफारिस बनाइदेओ, अनि मात्र हाम्रो जीवन जीवन्त हुन्छ । लडन्त पनि हुँदैन र कतै भीडन्त पनि हुँदैन ।
अस्ति है, एउटा साहित्यिक कार्यक्रममा गएको । कार्यक्रम औपचारिक ढङ्गले अघि बढिरहेको थियो । अन्तिममा सभापतिले कार्यक्रम समापन गर्न लाग्दै थिए । के के मन्तव्य फलाक्दै थिए्, बीचैमा एक्कासी उनी हाँसे । म त झल्याँस्सै भएछु । पछि सबैजना हाँस्न थाले । भाउन्नै भएँ नि म । ध्यानै मोडियो मेरो त । मलाई देखेर हाँसेका हुन् कि भनेको त कहाँ हुनु… बुझ्दै जाँदा रामदेव बाबाको योगा पो रहेछ । दिमाग खराब गरायो नि यार । ‘नाटकै हो, नौटङ्कि नै हो’ भने जस्तै भयो मेरो लागि त ।
त्यसरी हात फिँजाई फिँजाई हाँस्न त पर्दैनथ्याे होला नि । जेहोस् रामदेव बाबाले अनुयायी प्रशस्तै कमाएका रहेछन् । तर धेरै अनुयायी चाहिँ पाका उमेरका । खुब फुर्सदको जीवन जिउनु हुन्छ हाम्रा बाबा आमाहरू । योगा गर्नु हुन्छ बिहानै बिहानै युटुबमा हेरेर । बरु बिहानी हिँडाइमा जाने गर्नु नि । स्वच्छ हावा पनि पाइन्छ । भ्यात्त निस्केको भुँडी पनि सुलुत्त भित्र छिर्छ । फेरि भन्नुहोला- तँ सुइरेले भनेको कुरा कसले मान्छ र..! माने मान्नुस्, नमाने नमान्नुस् त्यो तपाईंको कुरा हो । ज्यान सुइरो देखिँदैमा कुहिरोले छोप्ने होइन के रे..! मलाई कुहिरोले ढाक्दा तपाईंकाे मनमा पहिराे जान्छ र भन्या ! अबको केही सालपछि मसँग कोचिङ पढ्न आउनेछन्, समय माग्न आउनेछन् कि ज्यान पातलो कसरी बनाउने भनेर ।
हत्तेरिका ! विषय त अन्तै पो मोडिएछ । माफ पाउँ है पाठकवृन्द । म ता कता कता वहकिएर आफ्नै विज्ञापन पो गर्न थालेछु । अँ त नि, जे जे भए पनि हाँस्न चाहिँ पर्छ है । तपाईं आफू हाँस्न सक्नु हुन्न भने पनि केही फरक पर्दैन, अरुलाईं हँसाउनुस् । रमिते बन्नुस् । तपाईं जति धेरै रमिते बन्नु भो त्यति नै ज्यादा अरु हाँस्ने हुन् । ‘जो धेरै हाँस्यो, त्यो धेरै बाँच्यो’ । अरुलाईं हँसाउन सक्नु भो भने त्यो पुण्यको काम हो ।
पाठकवृन्द, अरुलाईं हँसाउने काम गाह्रो हुँदै होइन । यो सजिलो काम हो । कसैमाथि विश्वासको लगानी गर्नुस्, प्रतिफलमा धोका पाउनुस् । कसैबाट साथ गुमाउनुस् । यसो खाल्डा-खुल्डी, चिप्ला-चिप्ली बाटो फेला परे लडेजस्तो रेला गर्नुस् । माहोल उमालेर झमेला बनाउनुस् । पोखाउनुस्, अबेलासम्म गर्नुस् जबसम्म रमितेहरूको हाँसोमा ठेला उठ्ने छैनन् ।
हाँस्नको लागि विषयवस्तुको उत्पति क्षेत्र अनगिन्ती हुन्छन् । नेपालको संसद भवन जहाँ हाम्रा सांसदहरू हद नाघेर आफ्नो पदको ख्यालै नगरी घरी जिउको कपडा फुकालेर घरी एकअर्कासँग लठारिएर, कुर्सी हानाहान फालाफाल गरेर त कहिले सत्तापक्ष र प्रतिपक्षबीच सिँगौरी खेलेर अद्भुत अद्भुतका हास्यव्यङ्ग्य खुब प्रस्तुत गरिरहेका हुन्छन् । सरकारी तथा गैरसरकारी कार्यालय, प्रशासनिक, आर्थिक क्षेत्र, बोर्डिङ स्कुल तथा सहकारी क्षेत्रहरूले पनि बेला बेला हास्य खुराकको टाँक लगाइदिएर मजाक गरिरहन्छन् । अझ युटुभमा लोकदोहोरी हेर्नुपर्छ, अहो ! के कुरा गर्नु । त्यहाँ प्रयोग हुने बिम्ब र टुक्काहरू वास्तवमा एउटा कविको मानस भन्दा दश कोश टाढाका शब्दहरूको वर्षात गरिदिन्छन् । ट्वीटरले पनि बेलाबेला हासोको स्वीटर लगाइदिने गरेका छन् । यी त भए अतिरिक्त क्षेत्र । यसको अनिवार्य क्षेत्र चाहिँ म र तपाईं आफैं नै हो है ।
कहिलेकाहीँ यसो सामाजिक सञ्जाल खोल्नुपर्छ, त्यहाँ पनि प्रशस्त हास्य सामग्रीहरू कठ्याङ्ग्री रहेका हुन्छन् । त्यहाँको छाडापन र अश्लील हर्कतले तपाईं सयमा दुइसय प्रतिशत हाँस्नुहुन्छ । त्यहाँ लाइक कमेन्टको लोभमा आफ्नै घर, समाज र देशको धज्जी उडाउने विषय पोष्ट गरी आफ्नै खुट्टो लुलो बनाउने काम गरिरहेका हुन्छन् । आफ्नै धोती खुस्काएर छिमेकी हँसाउनु गतिलो काम हुँदै होइन ।
हामीले अरूलाई नाङ्गो आङ देखाउनु भनेको देख्नेको खुशी सूचाङ्कमा छलाङ मारिदिनु हो । यस्तो हुर्मत कदापि नगरौँ । बुद्धको देशमा शान्ति फैलाउने मैले र तपाईंले नै हो । गम्भीर विषयमा खितखिताउने बानी अहिल्यै खरानी बनाऔँ । देशलाई समुन्नत मार्गतिर डोर्याऔँ । यसैमा हाम्रो भलो हुनेछ । हाम्री नेपाल आमा हाँस्नेछिन् । म, तपाईं, गाउँ, समाज हाँस्नेछन् । हाम्रो धराले कानमा जमरा लगाई हाँसोको फोहरा निकाल्नेछन् । टाङमुनिका रमितेहरू दङ्ग परेर आफ्नै भ्वाङमा छिर्नेछन् । ओरालो लागेको हाम्रो खुसीको नेप्से अङ्क बढेर उकालोतर्फ लाग्नेछ । यो पो हो त हाँसो, कि कसो पासा …!!
जय होस् ।
०००
रामेछाप ।
Subscribe
Login
0 Comments
Oldest








































