फित्काैली डटकमविज्ञसमीक्षित ‘प्रज्ञान’ लाेकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न
कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा हुनुहुन्थ्यो ।

पाल्पा, २०८० मंसिर २६ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयाेजनामा नेपाली विभागद्वारा प्रकाशित विज्ञसमीक्षित पत्रिका ‘प्रज्ञान’ काे लाेकार्पण तथा प्राध्यापक र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा हुनुहुन्थ्यो । क्याम्पस कार्यसमितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, प्राध्यापक संघ सभापति लगायत प्राध्यापकहरू, कर्मचारी संघका अध्यक्ष लगायत कर्मचारीहरू स्ववियु सभापति तथा विद्यार्थी संघसङ्गठनका नेताहरू र विद्यार्थीहरूकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रमकाे सुरुमा राष्ट्रगानकाे प्रस्तुति रह्यो । यसपश्चात् प्रमुख अतिथिद्वारा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घान गरियो । सामूहिक रूपमा ‘प्रज्ञान’ पत्रिकाकाे विमाेचन गरियो । पत्रिकामा समीक्षात्मक टिप्पणी गर्ने काम डा. रामनाथ न्याैपानेले गर्नुभयो । उहाँले अनुसन्धानात्म लेखहरूकाे प्राविधिक पक्ष र लेखहरूले उठान गरेको सैद्धान्तिक आधार तथा विश्लेषणकाे पक्षलाई प्रकाश पार्नुभयाे । नवीन प्रविधिका आधारअनुरूप पत्रिकालाई स्तरीकरण गर्दै लगिएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो ।
क्याम्पसमा लामाे समय सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मानकाे कार्यक्रम सम्पन्न भयो । विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा. पीतबहादुर नेपालीलाई क्याम्पसका तर्फबाट सम्मान अर्पण गरियो । अवकाशप्राप्त प्राप्त प्राध्यापक युवराज पाैड्याल, कर्मचारीहरू तारा अधिकारी, सर्वनाथ नेपाल र टेकबहादुर कार्कीलाई सम्मान गरिएको हाे ।
प्रमुख अतिथि प्रा. डा. खगेन्द्रप्रसाद लइटेलले पाल्पामा साथीहरूका बिचमा सामूहिक सहकार्य देख्दा आफू प्रभावित भएको सन्दर्भ उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई अति राजनीतिले गाँजेको तितो यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । नेपाली विभागकाे प्रमुख भएपछि छाेटाे समयमा उल्लेखनीय काम गरेको कुरा झल्काउनुभयाे । राम्रो आकारप्रकारमा जर्नल निकालेकोमा क्याम्पस तथा नेपाली विभागलाई धन्यवाद व्यक्त गर्नुभयो । अनुसन्धानका क्षेत्रमा हाम्रा आफ्नै पद्धतिको विकास गर्नु आवश्यक रहेको विचार उहाँले व्यक्त गर्नुभयो । मेरो प्रतिस्पर्धी म नै हाे भन्ने भावना राखाैँ भनी प्राध्यापक तथा विद्यार्थीलाई उत्प्रेरित गर्ने काम पनि गर्नुभयो । नेपाली भाषाका क्षेत्रमा भएको अनावश्यक हस्तक्षेपप्रति उहाँले खराे टिप्पणी गर्नुभयो । अङ्ग्रेजी जागिर खाने भाषा हाे तर नेपाली भाषा सपना देख्ने भाषा हाे भन्ने विचार व्यक्त गर्नुभयो । 
लुइटेलले नेपाली भाषालाई ध्वस्त बनाउन गिराेह नै लागेको करा उहाँले उहाँले प्रस्ट पार्दै नीतिगत रूपमै नेपाली भाषालाई खस्काउन लागेको पनि उहाँले सङ्केत गर्नुभयो । वर्तमानको शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक अवस्थालाई प्रकाश पार्नुभयाे । नेपाल सरकारका प्रत्येक कार्यालयमा अधिकृत स्तरको नेपाली विज्ञ राख्नुपर्ने माग र अडान रहेको कुरासमेत राख्नुभयाे । साहित्यकार कहिल्यै भूतपूर्व नहुने सन्दर्भ उल्लेख गरी चाेलेश्वर शर्मा साहित्यकार व्यक्तित्वका रूपमा परिचित रहेको प्रसङ्ग जाेड्नुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्माले नेपाली विभागले प्रज्ञान पत्रिकालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । विशिष्ट विद्वान्द्वारा पत्रिका विमाेचन गराउनु आफैमा राम्रो काम रहेको व्यक्त गर्नुभयो । प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषाका पक्षमा गरेको सङ्घर्ष प्रशंसनीय रहेको सन्दर्भ पनि उहाँले जाेड्नुभयाे ।
सम्मानित व्यक्तिहरूमध्येबाट युवराज पाैड्यालले आफ्नो प्राध्यापन समयका अनुभूतिहरू व्यक्त गर्नुभयो । दस वर्ष सहायक क्याम्पस प्रमुख र एघार महिना निमित्त क्याम्पस प्रमुख हुँदा ठाेकिन आएका कुरा र स्वार्थहरूलाई सङ्केत गर्नुभयो । भावनालाई समेटेर कविता पनि वाचन गर्नुभयो ।
लेखक तथा इतिहासकार निर्मल श्रेष्ठले प्रज्ञान पत्रिकालाई निरन्तरता दिनका लागि गरिएको प्रयास प्रशंसनीय रहेको कुरा व्यक्त गर्नुभयो । क्याम्पसमा लामाे समय सेवा गरी अवकाशप्राप्त सम्मानित व्यक्तिहरूलाई सम्मान गरिएकोमा धन्यवाद तथा बधाई व्यक्त गर्नुभयो ।
त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर रानाले सम्मानितहरूलाई बधाई तथा प्रज्ञान पत्रिकाकाे निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । त्रिवि कर्मचारी संघका सभापति डुकुलराज ढकालले क्याम्पसमा कर्मचारीका समस्यालाई प्रस्तुत गर्नुभयो ।
स्ववियु सभापति कृष्ण अर्यालले क्याम्पसले पछिल्लो समयमा क्याम्पसमा प्राज्ञिक गतिविधि बढ्दै गएको सन्दर्भ जाेड्नुभयाेेे । उहाँले क्याम्पसमा विद्यार्थी बढाउनुका साथै गुणस्तर सुधारका लागि सबै पक्ष सचेत हुनुपर्ने धारणा राख्नुभयाे ।
कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण व्यक्तिलाई स्वागत गर्ने काम सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रमकाे सञ्चालन तथा सहजीकरण डा. टंकप्रसाद पन्थद्वारा गरिएकाे थियो ।
०००
– डा.टंकप्रसाद पन्तद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































