साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याङ्जाको फापरथुममा बृहत् साहित्य गाेष्ठी सम्पन्न

पण्डित आनन्दमणि टुल्की-नन्दकला स्मृति प्रतिष्ठानकाे आयाेजना र श्रीओेम श्रेष्ठ राेदनकाे प्रमुख आतिथ्यमा स्याङ्जाको फापरथुममा विविध कार्यक्रमसहित बृहत् साहित्य गाेष्ठी सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

स्याङ्जा, २०८० माघ २८ । स्याङ्जामा साहित्यसम्बन्धी बहुआयामिक कार्यक्रमकाे आयोजना गरिएकाे छ । पण्डित आनन्दमणि टुल्की-नन्दकला स्मृति प्रतिष्ठानकाे आयाेजनामा स्याङ्जाको फापरथुममा भएको बृहत् साहित्य गाेष्ठी सम्पन्न भएकाे हाे ।

देशका विभिन्न स्थानबाट आएका स्रष्टाहरूद्वारा शाह वंशकाे इतिहाससँग जाेडिएकाे सताैँ दरबार परिसर अवलोकन गर्ने काम भयो ।

अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृङ्खलाकाे सुन्दर दृश्यावलाेकनका साथै कालिका देवीकाे दर्शन गर्ने काम भयो । टाढासम्मकाे सुन्दर प्रकृतिलाई नियाल्दै गर्दा स्रष्टाहरू राेमाञ्चित भएको पाइयो । फापरथुममा झरेपछि लघुकथासम्बन्धी कार्यपत्र प्रस्तुतिका साथै लघुकथा वाचनकाे कार्यक्रम भएकाे थियाे ।

उक्त कार्यक्रमकाे अध्यक्षता कथाकार रचना शर्माले गर्नुभयो । प्रमुख अतिथिका रूपमा श्रीओेम श्रेष्ठ राेदन हुनुहुन्थ्यो । कार्यपत्र प्रस्तुति प्रा.डा. कपिल लामिछानेद्वारा भयो ।

सरस्वती वन्दनाबाट सुरुवात कार्यक्रमकाे कार्यक्रमकाे प्रमुख अतिथि श्रीओम श्रेष्ठ राेदनले पण्डित आनन्दमणि, टुल्की-नन्दकला प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

दुई दिन कविता र लघुकथाका बारेमा विशद छलफलमा स्रष्टाहरू सशक्त रूपले जुटेको विचार व्यक्त उहाँले गर्नुभयो । ताप्लेजुङदेखि बैतडीसम्मका साहित्यकारहरूकाे सहभागिताले कार्यक्रम जुटाउने कुरा महत्त्वपूर्ण रहेको प्रसङ्ग प्रस्ट पार्नुभयो । उहाँले ‘साहित्य विचारकाे सङ्कीर्णतामा नबाँधिनु नै सुन्दर पक्ष हाे’ भन्नुभयो ।

अवकाशप्राप्त जीवनपछि पैसा हुनेहरू साहित्यमा लाग्ने लाेभ जाग्नुलाई साहित्यप्रतिकाे आकर्षण भए पनि निरन्तर लागिरहने स्रष्टाप्रति अपमान भएको विचार पनि व्यक्त गर्नुभयो । भव्य र सभ्य साहित्यिक महाेत्सवप्रति आभार व्यक्त गर्नुभयो ।

प्रा.डा. कपिल लामिछानेबाट कार्यपत्र प्रस्तुति भयो । उहाँले लघुकथामा पात्र वा चरित्र शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभयो । विषयप्रवेश, पात्रको परिचय, लघुकथामा पात्रको भूमिका,पात्र अल्पता, पात्रका प्रकार, पात्रको नामकरण र समव्यवहार, चरित्र र निष्कर्षजस्ता उपशीर्षकमा उहाँको कार्यपत्र संयाेजन भएको थियोे । उहाँले पात्रका विभिन्न प्रकृति र प्रवृत्ति तथा लघुकथाका सापेक्षमा पात्रकाे चयनप्रतिकाे सुझसमेत प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै शेखर अर्यालले लघुकथा लेखनलाई ऊर्जा दिन कार्यपत्रले भूमिका खेलेको विचार राख्नुभयो । पात्र सङ्ख्याकाे स्पष्ट उल्लेख भएको भए उपयुक्त हुनेथियोे भन्ने उहाँकाे आग्रह थियोे । कल्याण पन्तले लघुकथालाई तन्काएर छाेटाे कथा बनाउन सकिँदैन, यसैगरी छाेटा कथालाई छाेट्याएर लघुकथा नबन्ने विचार व्यक्त गर्नुभयो । कार्यपत्र सरल रहज र विषयवस्तुकेन्द्रित हुनुका साथै दृष्टान्तसहित प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

समीक्षक डा. पुष्करराज भट्टले कार्यपत्र प्रस्ताेताकाे आफ्नो धारणा आउनुपर्ने सुझाव दिनुभयो । कृतिमा लेखकको छाया पनि आउने कुरा उहाँले उल्लेख गर्नुभयो । परशु परासरले खास मानकता स्थापित गरेर कार्यपत्र आएको भए राम्रो हुन्थ्यो भन्ने विचार राख्नुभयाे ।

प्रा.डा. कपिल लामिछानेले आफ्नो कार्यपत्र लघुकथामा पात्रमाथि केन्द्रित रहेकोले यही रूपमा बुझ्न आग्रह गर्नुभयो । निकट भविष्यमा लघुकथाकाे साैन्दर्यशास्त्र कृति आउने र त्यसमा आजका सबै जिज्ञासाकाे समाधान हुने कुरा स्पष्ट पार्नुभयाे ।

यससँगै देशका विविध स्थानबाट आएका स्रष्टाहरूले लघुकथा वाचन गर्नुभयो । भावकेसर बराल, सूर्यप्रसाद डुम्रे, रमेश सुवेदी, सुशीला सापकोटा, शुभ शर्मा, दिव्य गिरी, इन्दिरा देवकोटा, कात्यायन, शान्ता तिमसिना, दीपक लाेहनी, सत्या अधिकारी, गाेमविक्रम, ध्रुवराज थापा, मन्दिरा मधुश्री, तुलसी पण्डित, मधुसूदन प्रसाद घिमिरे, रामकुमार पण्डित, लाेकनाथ पुडासैनी, डा. छायादत्त न्याैपाने, एन्जेल निरु, गणेश नेपाली, खगेन्द्र बस्याल, शिव खनाल, नारायण मरासिनी, शारदा पराजुली, शेषमणि आचार्य, रुद्र ज्ञवाली, कर्ण साेडारी, परशुराम काेइराला, मित्रलाल पंग्यानी, परशुराम परासर, नारायण नेपाल, डा. सीता सुवेदी पन्थी, मिलन समीर , रामबहादुर श्रेष्ठ, यज्ञलाल सुवेदी, विष्णु पाैडेल, प्रार्थना खनाल, नारायण निर्भयी, रामबहादुर केसी, कल्याण पन्तले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो ।

कथामा मानवीय संवेदनालाई प्रस्तुत गरिएको थियो । प्रायः कथामा मानवीय साेच, आडम्बर र सामाजिक विकृतिमाथिको कटाक्ष पाइयो । निकै सूक्ष्म आयाममा बाँधिएका र केही भने आयामगत हिसाबले लामा कथा पनि प्रस्तुत भए । प्रकृति र जीवनकाे मर्म व्यक्त भएको थियो । राजनीति, कर्मचारीतन्त्रका ढाेंगलाई मसिनो गरी छाम्ने काम गरिएको थियोे । व्यक्तिभित्र निहित स्वार्थलाई सशक्त रूपमा उधिन्ने काम भएको थियोे कथामा । पात्रका मनाेविज्ञानकाे सूक्ष्म विश्लेषण गरिएका कथाहरू राेचक र घाेचक पाइयो ।

साहित्यिक बहस कार्यक्रम
दाेस्राे सत्रमा साहित्यसम्बन्धी बहसको कार्यक्रम आयोजना भयो । उक्त सत्रकाे अध्यक्षता प्रा.डा. लालुप्रसाद पाैडेलले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा आँधीखाेला गाउँपालिकाका अध्यक्ष विश्व पाैडेललाई चयन गरिएको थियो । खास विषय र मुद्दामा केन्द्रित रही ८ मिनेटमा वक्ताहरूलाई बाेल्न लगाइएको थियो ।

‘अबको साहित्य कस्तो हुनुपर्छ ?’ भन्ने शीर्षकमा कवि मित्रलाल पंगेनीले विचार राख्नुभयाे । ऊर्जा र श्रम अन्तै गयो, यहीँकाे उत्थानमा लाग्नुपर्ने, समाज कुरूप छ, कलाकारले अपूर्णतालाई पूर्णता दिनुपर्छ, साहित्य उडन्ते कल्पना हाेइन आदिजस्ता बुँदाका साथमा वर्तमानको विद्रुप यथार्थलाई उहाँले प्रकाश पार्नुभयो । उपयोगतावादी चिन्तन हावी भयो । प्रकृति आफैले खेती गर्ने सुन्दर देशलाई हराभरा बनाउन साहित्यकारहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने विचार उहाँले प्रस्तुत गर्नुभयो ।

‘नारीलाई सिर्जनामा कलम चलाउन पुरुषलाई भन्दा के फरक छ ?’ भन्ने विषयमा डा. सीता सुवेदी पन्थीले धारणा राख्नुभयाे । समाजको संरचना र प्रथा-प्रचलनले नारीलाई लेख्न अवरोध गर्छ तर समय व्यवस्थापन गरेर साधनामा लाग्नुपर्ने विचार उहाँले राख्नुभयाे । आफ्नो अनुभव र समस्याका बिचबाट साधनामा लागेको यथार्थ पनि उहाँले व्यक्त गर्नुभयो । प्रतिकूलतालाई चिरेर साहित्य सिर्जनामा लाग्नेहरूकाे दृष्टान्त प्रस्तुत गरी उत्प्रेरणा जगाउने काम उहाँले गर्नुभयो ।

‘स्याङ्जाकाे लघुकथाकाे अवस्था के कस्तो छ ?’ भन्ने समस्यामा मिलन समीरले धारणा राख्नुभयाे । स्याङ्जामा २०६३ देखि लघुकथाकाे आधिकारिक अभियान थालिएको सन्दर्भ उहाँले जाेड्नुभयाे । लघुकथामा केन्द्रित रहेर आधिकारिक अध्ययन हुन नसकेको कुरा उहाँले उल्लेख गर्नुभयो । स्याङ्जामा क्रियाशील लघुकथाकारकाे परिचयात्मक सन्दर्भ पनि जाेड्नुभयाे ।

‘स्याङ्जाको लाेकसाहित्यकाे अवस्था कस्तो छ ?’ भन्ने जिज्ञासामा साहित्यकार विश्वप्रेम अधिकारीले २०५० सालमा स्याङ्जाको लाेकसाहित्यकाे अध्ययन गराैँ न भनी देवीप्रसाद वनबासीसँग छलफल गरेर अगाडि बढेको तर उहाँ एक्लै प्रकाश गर्न लागेको कुरा उठाउनुभयो । विद्वानहरूले केही उल्लेख गरे पनि स्याङ्जाको लाेकसाहित्यमा व्यापक खाेजी कार्य नभएकाले आफूहरू त्यही क्षेत्रमा लागेको सन्दर्भ जाेड्नुभयाे ।

देवीप्रसाद वनबासी, विश्वप्रेम अधिकारी, डा. कृष्ण न्याैपाने, शम्भुप्रसाद काेइराला, प्राध्यापक हुमकान्त पाण्डे लगायतका व्यक्तिहरू लाेकसाहित्यकाे अध्ययनमा लागिरहेको विचार उहाँले व्यक्त गर्नुभयो । क्षेत्र कार्यमा गएर अध्ययन गरी तयार पारिएको सामग्री जीवन्त हुने उहाँले प्रकाश पार्नुभयाे ।

‘साहित्यमा केन्द्र र माेफसलकाे के भिन्नता छ ?’ भन्ने शीर्षकमा साहित्यकार रुद्र ज्ञवालीले अवधारणा प्रस्तुत गर्नुभयो । भूगोलले नभई सत्ताकेन्द्री साेचले केन्द्र र बाहिर भनेर सीमाङ्कन गरेको यथार्थलाई उहाँले सङ्केत गर्नुभयो । सिंहदरबारबाटै विश्वास टुटेको मर्म दृष्टान्तसहित प्रस्तुत गर्नुभयो । माेफसल र केन्द्रकाे सीमा खडा गरेर स्वार्थको राेटी सेक्ने प्रवृत्तिलाई उहाँले सशक्त रूपमा उधिन्नुभयो । बाहिर बस्नेहरूले कुण्ठा र आवेगलाई त्याग्नुपर्ने विचार उहाँकाे थियो ।

‘साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको के भूमिका हुन्छ ?’ भन्ने शीर्षकमा डा. टंकप्रसाद पन्थकाे प्रस्तुति रह्यो । संविधानले स्थानीय सरकारलाई कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार दिएको, नीति र कानुन बनाएर भाषा, कला संस्कृति र सम्पदाको संरक्षण गर्नु स्थानीय सरकारकाे क्षेत्राधिकार रहेको कुरा प्रकाश पारियो । पुस्तकालय सञ्चालन तथा पुस्तक प्रकाशन, साहित्यिक संस्थालाई सहयोग गरी वाङ्मयलाई उठाउनुपर्ने कुरा व्यक्त गरिएको थियोे । स्थानीय तहका अगुवाहरूकाे चिन्तनलाई हेर्दा भाैतिक विकासलाई मात्र विकास ठान्ने गरिएको, गाउँपालिकाभित्रका लेखक तथा संस्कृतिकर्मीकाे पहिचानसम्म गर्न नसकेको, केही स्थानीय तहले प्रज्ञाप्रतिष्ठानकाे गठन गरेको तर खास घेराभन्दा माथि उठ्न नसकेको स्थितिलाई उठान गरियो ।

‘अबको साहित्य सिर्जनामा प्रविधिको के भूमिका हुनसक्छ ?’ भन्ने विषयमा साहित्यपाेस्ट अनलाइन पत्रिकाका प्रधानसम्पादक अश्विनी काेइरालाले महत्त्वपूर्ण विचार प्रस्तुत गर्नुभयो । साहित्यपाेस्ट अनलाइनका दैनिक तीस हजार पाठक रहेका छन् । ए.आइ.ले यस्तो प्रविधि विकास गर्याे कि हामीले भन्दा राम्रो सिर्जना लेख्दाे रहेछ । अहिले सबै कुरा प्रविधिमा गएको छ, हामीहरू पनि साहित्यलाई अन्तर्राष्ट्रियकरण गराैँ भन्ने आग्रह उहाँले गर्नुभयो । लेखक स्रष्टाका कृतिलाई डिजिटलाइज गरी विश्वव्यापी गराउन साहित्यपाेस्ट लागिरहेको सन्दर्भ उठाई सबै स्रष्टालाई साहित्यपाेस्टसँग जाेडिन पनि आग्रह गर्नुभयो ।

साे सत्रका प्रमुख अतिथि आँधीखाेला गाउँपालिकाका अध्यक्ष विश्व पाैडेलले कवितात्मक रूपमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भाषासाहित्यका क्षेत्रमा बजेट छुट्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सत्रका अध्यक्ष प्रा.डा. लालुप्रसाद पाैड्यालले सातवटा विषयवस्तुकाे उठान गर्नुले समग्र कार्यक्रमलाई सार्थक बनाएको विचार व्यक्त गर्नुभयो । साहित्य आफैमा विज्ञान भएको बाेध भएको कुरा व्यक्त गरी कार्यक्रमकाे समापन गर्नुभयो उक्त सत्रकाे सहजीकरण साहित्यकार डा. रमेश शुभेच्छुले गर्नुभएको थियोे ।

सम्मान तथा कार्यक्रमकाे समापन सत्र
भव्य रूपमा आयोजना गरिएको सम्मान तथा समापन सत्रकाे अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष प्रेम लुइटेलले गर्नुभयो । प्रमुख अतिथि गणेशमान गुरुङले कार्यक्रमकाे पृष्ठभूमिकाे उठान गरी समसामयिक सराेकारका विषयलाई उठाउनुभयो ।

उहाँले आयाेजककाे कुशल व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्नुभयो । सम्मानित व्यक्तिप्रति बधाई दिई पढेको ज्ञानलाई आफ्नो तरिकाले प्रयोग गर्ने हाे भन्ने विचार प्रस्तुत गर्नुभयो । राष्ट्र र राष्ट्रिय एकताको मर्ममा सिर्जना केन्द्रित हुनुपर्ने विचार उहाँको थियोे ।

कार्यक्रममा सम्मानित पुरस्कृत व्यक्तित्व प्रा.डा. जगदीशचन्द्र भण्डारी हुनुहुन्थ्यो । उहाँको परिचय गराउने काम साहित्यकार मित्रलाल पंगेनी गर्नुभयो । सम्मानित व्यक्तित्व डा. महेश्वर शर्मा र डा. पुष्करराज भट्टकाे परिचय गराउने काम डा. रमेश शुभेच्छुले गर्नुभयो । प्रा. डा. जगदीशचन्द्र भण्डारीलाई ताम्रपत्र दाेसल्ला तथा नगद रू पच्चीस हजारसहित सम्मान गरिएको हाे । यसैगरी डा. महेश्वर शर्मा र डा. पुष्करराज भट्टलाई सम्मान अर्पण गरिएको हाे । उत्कृष्ट विद्यार्थी शिखा सुनार तथा संयाेग डुम्रेलाई ५/५ हजारसहित पुरस्कृत गरिएको थियो ।

सम्मानित स्रष्टा प्रा.डा. जगदीशचन्द्र भण्डारीले आफूलाई प्राप्त खुसी सहभागीका बिचमा साट्न चाहेको कुरा उल्लेख गर्नुभयो ।

आनन्दमणिसँग जाेडिएकाे अतीत आज मग्मगाइरहेकाे यथार्थ उहाँले झल्काउनुभयाे । ”यो पुरस्कार आफैमा गह्रुङ्गाे रहेको छ तर पनि बाेक्न मजा आइरहेको छ” उहाँको कथन थियो ।

सम्मानित व्यक्ति डा पुष्करराज भट्टले गण्डकीमा पहिलो पटक आएको र सम्मानित हुने अवसर प्राप्त भएको विचार व्यक्त गर्नुभयो ।

लाेकबहादुर थापाले कार्यक्रमकाे आयोजना र व्यवस्थापनप्रति धन्यवाद दिई सम्मानित स्रष्टाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । शुभकामना मन्तव्य राख्नेहरूमा सुशीला सापकोटा, छवि सुवेदी पाेखरा, रामप्रसाद अर्याल पाल्पा हुनुहुन्थ्यो । उहाँहरूले आयाेजककाे कुशल व्यवस्थापन र गाउँबस्तीमा यस्तो भव्य कार्यक्रमकाे आयाेजना हुनु सुखद कार्य रहेको विचार राख्नुभयाे ।

सहभागी तथा सहयोगी संस्था र व्यक्तिलाई धन्यवाद ज्ञापन गर्ने काम संस्थाका परिकल्पनाकार त्रिलाेचन ढकालले गर्नुभयो । कार्यक्रममा सहभागी प्रत्येक साहित्यकार आभारपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकाे सहजीकरण प्रतिष्ठानकी सचिव सुस्मिता ढकालले गर्नुभएको थियो ।

०००

– त्रिलाेचन ढकालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x