साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा दिव्य गिरीकृत  ‘ईश्वरको अनुहार’माथि वृहत् अन्तरक्रिया

कथासङ्ग्रह ’ईश्वरको अनुहार’लाई नै कार्यक्रमको सभापति बनाइएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई प्रमुख अतिथिका रूपमा थिए भने अन्य विशिष्ट अतिथिहरूमा प्रा.डा. सुरेन्द्र के.सी., कथाकार प्राज्ञ सनत रेग्मी लगायत थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ २६ । कवि तथा कथाकार दिव्य गिरीको दोस्रो कथासङ्ग्रह ’ईश्वरको अनुहार’माथि वृहत् अन्तरक्रिया भएको छ ।

शब्दपथको आयोजनामा आज २०८१ जेठ २६ गते बिहान पुतली सडकस्थित ग्रिनलिफ फुडमा उक्त अन्तरक्रिया भएको हो ।

कथासङ्ग्रह ’ईश्वरको अनुहार’लाई नै कार्यक्रमको सभापति बनाइएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई प्रमुख अतिथिका रूपमा थिए भने अन्य विशिष्ट अतिथिहरूमा प्रा.डा. सुरेन्द्र के.सी., कथाकार प्राज्ञ सनत रेग्मी, शब्दपथका प्रधान सम्पादक तथा कथाकार किशोर पहाडी, छन्द कवयित्री तथा नियात्राकार भवानी खतिवडा, समीक्षक अनिता कोइराला, प्रा.डा. अञ्जना वस्ती भट्टराई तथा शारदा साहित्यिक मासिकका सम्पादक तथा कवि विमल भौकाजी समेत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.भट्टराईले कथाकार दिव्य गिरीसँग आफ्नो कार्यगत सम्बन्ध रहेको बताउँदै गिरीका कथाहरू उत्कृष्ट भएकाले आफूले पुस्तकमा भूमिका समेत लेखेको बताएका थिए । गिरीका कथाहरू मूल्यवान छन् भन्दै उनले गिरीलाई निरन्तर साधनामा लाग्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा प्रा.डा.सुरेन्द्र के.सी., कथाकार प्राज्ञ सनत रेग्मी तथा सम्पादक विमल भौकाजीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा कथाकार किशोर पहाडीले आफ्नो पाठकीय मन्तव्यमा आफ्नो भागमा परेका पाँच वटा कथाहरू ’सनाखत’, ’मुक्ति ’, ’फोटो’, ’परिवर्तनपछि बिर्खबहादुर’ र ’अज्ञात समूह’ कथाबारेमा उल्लेख गरेका थिए ।

वि.सं. २०३६ सालको अभिव्यक्तिको पूर्णाङ्क २१ मा प्रकाशित ’रहर’ कथाबाट कथा लेखनयात्रा शुरू गरेका दिव्य गिरीले २०६१ मा मात्र ’अनामिका’ नामक पहिलो कथासङ्ग्रह निकालेपछि यो उनको दोस्रो कथासङ्ग्रह ’ईश्वरको अनुहार’ प्रकाशन गरेकोमा गिरीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले पाँचै वटा कथाहरू माओवादी द्वन्दका बेलामा भएका घटनाहरूलाई लिएर लेखिएको बताउँदै ’सनाखत’, ’मुक्ति’, र ’अज्ञात’ समूह शीर्षकका कथा प्रायः एकै किसिमको कथावस्तु रहेको र ’मुक्ति’ कथा आफूलाई मन परेको उत्कृष्ट कथा भएको कुरा पनि बताएका थिए ।

दिव्य गिरीको कथामा पुरानै शैली र प्रस्तुति भए पनि रोचक भएको बताउँदै उनले गिरीले कथामा नेपाली आधुनिक कथाका गुरु गुरुप्रसाद मैनालीको शैली लाई नै पछ्याएको देखिन्छ भन्नु भयो । पहाडीले आफू समालोचक नभई पाठक मात्र भएकोले एकै खालका कथाहरू पाठकलाई नपच्ने हुँदा लेखनमा विविधता ल्याउन सुझाएका थिए ।

वक्ताका रूपमा रहेकी भवानी खतिवडाले कथासङ्ग्रहभित्रका ’ईश्वरको अनुहार’, ’मनमायाको बयान’, ’सपनाकी फेवा’, ’भीरको उत्तिस’ र ’कालो झोला’माथि आफ्नो पाठकीय मन्तव्य राख्दै २०५९ देखि २०७९ सम्मका कथाहरू एकै रसको एकै रफ्तारको भएको बताइन् ।

कथाका पात्रहरू गाउँमै जन्मिन्छन्, गाउँमै हुर्किन्छन् र सङ्क्रमण कालमा शहर पस्दै विदेशसम्म पुगेका घटनाहरूमा आधारित रहेका छन् भन्ने कुरा उल्लेख गर्नुभयो । माओवादी द्वन्द्व कालको समयमा आम नेपालीले भोग्नु परेका पीडा, दुःख र कष्टहरु उथलपुथल भएर कथामा चित्रण भएका छन् भन्दै उनले ’ईश्वरको अनुहार’ एक उत्कृष्ट सन्देशमूलक कथा भएको बताएकी थिइन्।

त्यसैगरी, अर्की वक्ता अनिता कोइरालाले ’निरूत्तर’, ’झरी, ’तीज र तिलहरी’, ’तरङ्ग’, ’भ्रम’ र ’छत्तीस नम्बर’माथि आफ्नो पाठकीय मन्तव्यमा स्वस्थानी ब्रतकथाको प्रसङ्ग उठाउँदै ईश्वर खोज्ने क्रममा ’ईश्वरको अनुहार’ पुस्तक हातमा परेको र त्यसमाथि मन्तव्य दिन पाउँदा खुसी लागेको बताइन्। ईश्वरको अनुहार पढेपछि ईश्वर भेटिन्छ भन्दै उनले गिरीका कथाहरू यथार्थ धरातलमा रहेको बताइन्। साथै, उनले कथाले पाठकलाई बाँधेको छ र कथाको समाप्ति नै हुँदैन भन्दै कथामा साहित्य मात्र नभई पर्यावरण,धर्म र मनोविज्ञान पनि रहेको बताएकी थिइन् ।

अन्तिम वक्ताको रुपमा प्रा.डा.अञ्जना वस्ती भट्टराईले सङ्ग्रहभित्रका कथाहरुमा ’प्रेमपत्र’, ’गुलाम’ र ’छुटेको साथी’ माथि आफ्नो पाठकीय मन्तव्य राख्दै छत्तीस नम्बरको कथा प्रतिशोधको कथा भएको र अन्य कथाहरू विषयवस्तु, शैली र प्रस्तुतिमा पनि नयाँपन रहेको बताइन् ।
कार्यक्रममा ’शब्दपथ’का तर्फबाट कवि तथा प्रमुख अतिथिलाई दोसल्ला तथा फूलको माला लगाउनुका साथै वक्ताहरू सबैलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

कार्यक्रममा कथाकार दिव्य गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शब्दपथका प्रबन्ध सम्पादक तथा कवि मुरारि सिग्देलले गरेका थिए । झन्डै नब्बे जनाजति साहित्यकारहरूको उपस्थितिमा सम्पन्न यो कार्यक्रम पुस्तक लोकार्पण वा विमोचन कार्यक्रमभन्दा धेरै कुरामा फरक देखिएको थियो ।

कार्यक्रम निर्धारित समयमा सुरु भएर सवा घन्टामा नै सकिएको थियो । अन्य साहित्यिक कार्यक्रम कम्तीमा पनि ४/५ घन्टासम्म चल्ने र आमन्त्रित व्यक्तिहरू लम्बेतान भाषण र मन्तव्य सुन्न वाध्य हुनुपर्दा लोकार्पण स्थल नै यातनागृह जस्तो बनेको महसुस हुन्थ्यो । यस कार्यक्रमको उपस्थित सबैले प्रशंसा गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x