फित्काैली डटकमदाहाल यज्ञनिधि पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई
एक लाख ५० हजार राशिको उक्त पुरस्कार दाहाल यज्ञनिधिको छैटौँ स्मृति दिवसको अवसरमा साउन २५ गते राष्ट्रिय नाचघरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

काठमाडौं, साउन ५ गते । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको ‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ ।
दाहाल यज्ञनिधि सुधा सदनको शनिबार बसेको बैठकले इतिहासकार ज्ञानमणि नेपाललाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो ।
एक लाख ५० हजार राशिको उक्त पुरस्कार दाहाल यज्ञनिधिको छैटौँ स्मृति दिवसको अवसरमा साउन २५ गते राष्ट्रिय नाचघरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ । यो पुरस्कारबाट यसअघि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र साहित्यकार निनु चापागाईं पुरस्कृत भइसक्नु भएको र यस वर्ष ज्ञानमणि नेपाललाई दिन लागिएको संस्थाका उपाध्यक्ष साहित्यकार डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो ।
त्यसैगरी दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुनुहुनेछ । २०८० सालमा कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउनुभएका छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डे पुरस्कृत हुन लाग्नुभएको हो । छात्रछात्रा द्वयलाई जनही १० हजार रुपियाँ र सम्मान पत्र प्रदान गरिनेछ । २० हजार राशिको यो पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान हुँदै आएको छ । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दबार स्कुलमा उहाँको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।
दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपैयाँको अक्षयकोश राखिएको छ । अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।
वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका.‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८) जस्ता कृति प्रकाशित छन् । दाहलका जीवनी व्यक्तित्व र कृतित्व केन्द्रित जदौ (२०६९) कृति पनि प्रकाशित छ । उनी मूलतः कवि र निबन्धकारका रुपमा चिनिन्छन् । उनले नेपाली साहित्यिक पत्रकारिताका छापा र प्रशारण माध्यममा पुर्याएको योगदान उल्लेख्य रहेकाले उनका नाममा संस्था स्थापना गरी उनको जीवनी व्यक्तित्व र कृतित्व उजागर गर्ने उद्देश्यले परिवार र शुभचिन्तकहरू मिलेर संस्थाको स्थापना भएको उपाध्यक्ष डा. शुभेच्छुले बताउनुभयो ।
दाहाल यज्ञनिधि पुरस्कार २०८१ राष्ट्रिय नाचघरको सभाहलमा आगामी छैटौँ दाहाल स्मृतिका सन्दर्भमा विशेष समारोहका बिच ज्ञानमणि नेपालको परिवारलाई समर्पण गरिने जानकारी संस्थाका सदस्य लुइटेल दिनेशले दिएका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest






































