साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मकवानपुरमा लक्ष्मण गाम्नागेका हास्यव्यङ्ग्य कविता वाचन

'सरकारलाई सघाउनोस्' भन्दै कविता सुनाउँदा होस् वा 'खाउँ साथी हो खाउँ' देखि 'लेख्न बाँकी एउटा राष्ट्रवादी कविता' पढ्दै गर्दा स्रोता दर्शक पनि कवितामैँ लिन भइरहेको पाइन्थ्यो ।

Nepal Telecom ad

हेटाैँडा, २०८१ असोज ३ । हेटौँडामा एक कार्यक्रमबिच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेका चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो ।

सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘शहीदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे- सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो ।

‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख्न बाँकी एउटा राष्ट्रवादी कविता’ पढ्दै गर्दा स्रोता दर्शक पनि कवितामैँ लिन भइरहेको पाइन्थ्यो । कार्यक्रममा गाम्नागेका २ कविताहरू सिस्नुपानी नेपालका सदस्य चक्र दवाडीले वाचन गर्नुभयो ।

सामाजिक मुद्दादेखि राजनीतिक विसङ्गतिका विषय अनि पारिवारिक विखण्डनदेखि आधुनिक संस्कारमा देखिएका खराब पक्षहरूमाथि हास्य र व्यङ्ग्यमार्फत् पेचिलो लेखनमा सक्रिय गाम्नागेले यस कार्यक्रमबाट हेटौँडेलीहरूको मन जितेका सहभागीहरूले बताएका छन् ।

आफू लामा कविता लेख्न रूचाउने बताउनु भएका गाम्नागेको कविता श्रवणका लागि करिब ३ सय दर्शक/स्रोताहरूको उपस्थिति रहेको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको नेतृत्वमा गरिएको अन्तिम प्रस्तुतिका रूपमा गाम्नागेका पेचिला कविताहरू वाचन भएका हुन् । बिहीबार सो कार्यक्रमपछि नयाँ कार्यसमिति गठन भएको छ ।

उच्च अदालत पाटन, हेटौँडा इजलासका माननीय मूख्यन्यायाधीश यमुना भट्टराई, न्यायाधीशद्वय शकुन्तला घिमिरे र मीना गौतम सेढाईँका साथै माननीय सिस्नुपानी नेपालका कोषाध्यक्ष माणिकरत्न शाक्य, शिक्षाविद् पुरनबहादुर जोशी, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, चितवनका गजलकार धनराज गिरी, महाकाव्यकार मुना धिताल अर्याललगायतको उपस्थिति रहेको कार्यक्रम हेटौँडा पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x