साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा कवि पारसनाथ आचार्यका एक दर्जन कविता सुनिए

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं २०८२ साउन १० । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०१ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा पारसनाथ आचार्यका एक दर्जन कविता सुनिए ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने कोषाध्यक्ष गीता सापकोटाले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव आर.सी.न्यौपाने, निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र वरिष्ठ कवि जगन्नाथ आचार्य विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, खेमराज निरौला, चन्द्रप्रसाद न्यौपाने, रक्तिम लामा, शशीनाथ आचार्य, साधुराम नेपाल, रत्न उप्रेती, प्रलेस काभ्रेका अध्यक्ष विदुर आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०४२ माघ ६ गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती ५ धुसेनीमा पिता जगन्नाथ आचार्य र माता सुन्तली आचार्यका सुपुत्रका रूपमा जन्मिएका पारसनाथ आचार्यले कक्षा १२ सम्मको शिक्षा हासिल गरेका छन् । ‘प्रतीक्षाका पाइलाहरू’ कवितासङ्ग्रह, ‘संवादात्मक छन्दयात्रा’ संयुक्त कवितासङ्ग्रह र ‘प्रवासको पीडा’ खण्डकाव्य प्रकाशित गरेका छन् भने फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा कविता निरन्तर प्रकाशित गराइरहेका छन् । तेर वर्षकै उमेरदेखि कविता लेख्नथालेका उनलाई आफ्नै बुबा जगन्नाथ आचार्यबाट साहित्यसिर्जनामा प्रेरणा प्राप्त भएको छ । विद्यार्थी जीवनदेखि नै साङ्गठनिक सामाजिक जीवनमा प्रवेश गरेका पारसले रोजगारीको सिलसिलामा विदेशमा पुग्नुपरेको र त्यहाँ रहँदा भोगेका अप्ठ्यारालाई समेटेर काव्य नै लेखेका छन् । उनको लेखनमा कवितात्मक संवादशैलीको प्रवेश भएको छ र उनका रचनामा सामाजिक रूपान्तरणको चेतना स्पष्ट रूपमा अभिव्यक्त हुनुका साथै विचार र कलाको संयोजनसमेत भएको पाइन्छ । समाजका समग्र बेथिति र विसङ्गतिलाई आफ्ना सिर्जनामा उतार्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट रूपमा आबाज बुलन्द गर्दै उनले सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गरेका छन् भन्नेसमेतको धारणा राख्नुभयो ।

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०१ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा पारसनाथ आचार्यलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो ।

आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी यो समारोहलाई नै सभ्य र भव्य पारिदिनेगरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, विशेष अतिथिहरू, कविनायकका आफन्तहरू, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल यिनै युवास्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक पारसनाथ आचार्यले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आफूले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेकी, सानै उमेरदेखि कविता सिर्जना गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहेको छु, सकेजतिको सक्रियता देखाइरहेको छु । काठमाडौँभन्दा अलि पर रहेको आफूलाई कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता वाचन गर्ने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु र यसका निम्ति यस सङ्घको काव्य विभागका संयोजक डा.कृष्ण सुवेदीज्यूलाई विशेष धन्यवाद दिन्छु । मेरो विचारमा भावनाको विशिष्ट अनुभूतिको अभिव्यक्ति कविता हो र मैले पनि आफ्ना भावनालाई कवितामा उतार्ने प्रयत्न गरेको छु । रोजगारीको सिलसिलामा विदेश पुगेपछि ‘प्रतिभा निकुञ्ज’ नामक संस्थासँग जोडिन पुगेँ म । त्यही संस्थासँगको आबद्धताले मलाई साहित्यसिर्जनामा थप सहयोग पुर्यायो ।

साइप्रसमा पुगेको वेला पनि साहित्य सिर्जनामा मेरो ध्यान गइरह्यो । आफ्नो मुलुकमा बस्दा पनि देखिएका विविध खाले विसङ्गत पक्षले मलाई चिमोटेपछि मैले सिर्जना गरेको हुँ । चुनावका वेला हामीले राम्रा शासक चुन्नुपर्छ भन्ने सन्देश दिने प्रयोजनले पनि सिर्जना गरेको छु । असहाय र निमुखाको पीडा देखेर मन दुखेपछि, युवापलायन भइरहेका मात्र होइन देश नै वृद्धाश्रम भइरहेको देखेपछि, युवाले आफ्नै देशमा गरिखान पाए हुने भन्ने अपेक्षा गर्दागर्दै पनि अवसर प्राप्त नभएपछि अनि स्वाभिमानको रक्षाका निमित्त पनि बोल्नुपर्छ भन्ने लागेपछि; मुलुकमा प्रजातन्त्र आइसकेपछि पनि जनतको जीवनस्तर नसुध्रिएको देखेपछि मनमा उत्पन्न भावना र आक्रोशलाई पनि कवितामा उतार्ने प्रयास गरेको छु भन्ने रचनागर्भको पनि जानकारीसहित एउटा ‘गजल’ ‘अहम् भुलेर एक भई’, ‘धमिरा छिरायौ’, र ‘विवशता’ शीर्षकका चारओटा शास्त्रीय छन्दका सुन्दर वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू दीनेश पाण्डेले शार्दूलविक्रीडित छन्दका ‘धोक्रो छ मेरै अझ काँधमाथि’ र खोज्ने गरौँ शासक’ शीर्षकका, शशीनाथ आचार्यले ‘ए सर्वहारा !’, शारदा पराजुलीले ‘उस्तै छ मेरो देश’, दिल कार्कीले ‘उही लुट्छ भोकाहरूकै’’, जमुना आचार्य कोइरालाले ‘युवाआह्‌वान’, राजन आचार्यले ‘किसान’ र राधिका भण्डारी सापकोटाले ‘आभा छरौँ शान्तिको’ शीर्षकका त्यस्तै सुन्दर, सरल, शालीन र सशक्त शास्त्रीय छन्दका वैचारिक कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद न्यौपानेले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०१ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको पनि देखिएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र भविष्यका लागि पनि शुभकाममना दिन्छु । कविका कविताले उज्यालो भविष्यको सङ्केत गरेका छन् । आज वाचित कविता सरल, सम्प्रेष्य भएकाले व्याखया गरिरहनु पनि आवश्यक छैन । हामीले पाठ्यक्रम परिमार्जन गर्दा स्रष्टाका कृति आवश्यक पर्ने हुँदा फुटकर रूपमा रहेका कवितालाई कृतिको आकार दिन पनि म सल्लाह दिन्छु । वाचनकलाले विशेष आकर्षण पैदा गर्ने अनुभूति केही कविले वाचन गरेका कविताबाट पनि हामीले गरि नै हाल्यौँ तर स्रष्टाको वाचनकला भने सशक्त रहेन । कवितामा रचनाकाल उल्लेख नभएकाले स्रष्टा परिमार्जित हुँदै गएको वा नभएको भन्ने खुट्याउन सकिने अवस्था रहेन । कतिपय कविता राजनीतिक दर्पणजस्ता पनि लाग्छन् ।

साहित्य नाराभन्दा पनि कलामूल्यले युक्त हुनुपर्ने पक्षलाई विचार गरी स्रष्टामा रहेको नवरसको प्रयोग गरी कवितालाई विविधतायुक्त बनाउनु आवश्यक देखिएको छ । शासक र राजनीतिज्ञ मात्र होइन हाम्रो पनि कतै न कतै खराबी छ, संलग्नता छ भन्ने ठम्याउनु पनि आवश्यक छ । युवापलायनको बाध्यात्मक परिवेश जीवन्त रूपमा कवितामा आएको छ त्यसैगरी सर्वहाराप्रतिको शोषण पनि उजागर भएको छ । कवितामा आक्रोश एवम् असन्तुष्टि मूल मर्म भएर आएको छ त्यसैगरी युवाले समयानुकूल बाटो समाते भने देश बन्छ भन्ने सन्देश पनि कवितामा सम्प्रेषण गरिएको छ । सबै सबै क्षेत्रमा अहम् छ र सबैले आआफ्नो अहम् हटाउनु जरुरी छ भन्ने यथार्थको प्रकटीकरण कवितामा भएको छ । किसानले कृषिकर्म गर्नुपर्ने अपेक्षाका माध्यमबाट खेतबारी बाँझो राखेर पलायन हुने प्रवृत्तिको विरोध गरिएको छ । कविमनले मुलुक हाँक्ने नेता नपाएको ठम्याएको छ ! आफ्नो कुरा गर्ने तर अरूलाई मनाएर देशको हितमा गर्नसक्ने मात्र नेता हुन्छ तर त्यस्तो नेता नपाएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । धमिरा विनाशको कारक हो, धमिरा प्रवृत्ति मुलुकमा जताततै मौलाएको छ ! संसद्मार्फत केही नगरी अनेक बहाना बनाउने, फर्काइ फर्काइ खाने प्रवृत्ति पनि धमिरा प्रवृत्तिको हो भन्ने कडा व्यङ्ग्य पनि गरिएको छ । समसामयिक यथार्थको उद्घाटन गर्ने र आलोचनात्मक यथार्थको बाटो समातेका कविता सुन्दर रहेका छन् भन्ने धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, सामाजिक रूपान्तरण अभियानमा सक्रिय सिन्धुपाल्चोकका स्रष्टा पारसनाथ आचार्यलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझै र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने प्रखर शिल्पी पारसनाथ आचार्यका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अग्रज पुस्ताका प्रखर एवम् सशक्त कवि जगन्नाथ आचार्यका सुपुत्र कवि पारसले साहित्यको पुस्तान्तरणको प्रतिनिधित्व पनि गरेकामा हामीलाई खुसी लागेको छ ।

कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ, युवापलायनले बुढेसकालमा पनि काँधको जिम्मेवारी नहटेको चिन्ताभाव अभिव्यक्त भएको छ, कवि युवा भए पनि कविताले प्रौढोक्तिबोध गरेका छन् । सत्ता जनजीविकासँग नजोडिएको पीडा कवितामा व्यक्त भएको छ । जातीय विद्वेशका विरुद्धमा, बन्द हडतालका विरुद्धमा पनि कविले कविता लेखेका छन् । सुन्दर र सपाट कविता सुन्दा कविको भविष्य उज्ज्वल रहेको देखिन्छ । यो अभियानमा जोडिएर कीर्तिशेष भइसक्नुभएका माथि उल्लेखित छजना अग्रज स्रष्टाका प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । हामी स्रष्टाले वर्तमानका सत्ताका वा प्रतिपक्षका वेथितिका कुराहरूलाई निरन्तर उठाइरहेका भए पनि सुनवाइ नहुने वा सुनेर उडाउने प्रवृत्ति पनि भोगिरहेकै छौँ तापनि हामी हाम्रो कर्ममा लागि नै रहने छौँ । अब हामी भदौ महिनामा १०२ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका झापाका स्रष्टा परशुराम परासरलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
रमेश पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x