फित्काैली डटकमकार्टुनिस्ट अविनलाई वासुदेव लुइँटेल पुरस्कार समर्पण गरियो
वासुदेवको तस्विरलाई सभापति घोषित गर्दै वासुदेवले भन्ने गरेका हास्यव्यङ्ग्यका नवग्रहमध्येका एक वरिष्ठ चित्रकार टेकवीर मुखियाको प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न भएको हो ।

काठमाडौं, २०८२ भाद्र २३ । वासुदेव–विद्यादेव लुइटेल गुठीद्वारा आयोजित पुरस्कार समर्पण समारोहमा अविन श्रेष्ठलाई नगद रु. १ लाख ११ हजार १ सय ११ सहित कदरपत्र र प्रतिकचिन्ह हस्तान्तरण गरियो ।
वासुदेवको तस्विरलाई सभापति घोषित गर्दै वासुदेवले भन्ने गरेका हास्यव्यङ्ग्यका नवग्रहमध्येका एक वरिष्ठ चित्रकार टेकवीर मुखियाको प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न भएको हो । पुरस्कृत अविनलाई गुठीका सदस्य सचिव डा. विद्यादेव शर्माले दुवोको माला पहिराएर नगद थैली समर्पण गर्नु भयो ।
त्यसैगरी प्रमुख अतिथि टेकवीर मुखियाले कदरपत्र र प्रतिकचिन्ह हस्तान्तरण गर्नुभएको थियो ।
समारोहमा गुठीका सदस्यसचिव डा. विद्यादेव शर्माले वासुदेवको तस्विर अनावरण गरी प्रतिकूल अवस्थामा पनि समारोहमा उपस्थित आतिथि एवम् आगन्तुकहरूलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।
हास्यव्यङ्ग्यकार तथा समालोचक विष्णु प्रभातले वासुदेव शर्मालाई स्मरण गर्दै नेपाली हास्यव्यङ्ग्य प्रवर्धनमा उहाँको योगदानबारे चर्चा गर्नु भएको थियो । प्रभातले भन्नु भयो– “वासुदेवकै प्रोत्साहन र अभिप्रेरणाले हास्यव्यङ्ग्य लेखनमा ओर्लिएका स्रष्टाहरूको सङ्ख्या उल्लेख्य रहेको छ ।”
नेपाली कार्टुनकलाको इतिहासको चर्चासहित समारोहमा सम्मानित कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुनकलामा पुर्याएको योगदानमाथि प्रकाश पार्ने नर्वेबाट प्राप्त वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको वकपत्र नरनाथ लुइँटेलले प्रस्तुत गर्नु भएको थियो । वकपत्रमा अविनलाई अन्तर्राष्ट्रिय स्तरको अव्वल नेपाली कार्टुनिस्ट बताउँदै सम्मानका निम्ति उपयुक्त पात्र रहेको उल्लेख गरिएको छ ।
पाँडेले भन्नु भएको छ– “व्यङ्ग्य चित्रकारका रूपमा अविन परिचित भए पनि उनी त्यसमा मात्र सीमित छैनन् । अविन नेपालमा जन्मेका नेपालीले गौरव गर्न सकिने विश्वस्तरका व्यङ्ग्यचित्रकार हुन् । नेपाली व्यङ्ग्यचित्रका क्षेत्रमा अनवरत लागेर व्यङ्ग्यचित्रलाई उचाइमा पुराउने व्यक्तित्ववान व्यङ्ग्यचित्रकारमा अविनको नाम सबै दृष्टिले पहिलो पङ्क्तिमा रहेको छ । नेपालका नाम चलेका पत्रकारले उनलाई पृथक परिचय भएका भन्नेदेखि शब्दबिहिन कार्टून अविनको सबैभन्दा शक्तिशाली पक्ष हो । अविन नेपालमा जन्मेका नेपालीले गौरव गर्न सकिने विश्वस्तरका व्यङ्ग्यचित्रकार हुन् । हास्यव्यङ्ग्य क्षेत्रमा छुटाउन नहुने अहिलेका होनहार व्यङ्ग्यचित्रकार हुन् अविन ।”
परिचय प्रस्तुतिपछि सम्मान अर्पण गरिएका कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुनकलामा समर्पित हुँदाँको तीन दशकीय यात्राका महत्वपूर्ण मोडहरू स्मरण गर्दै परिकल्पना नै नगरेको यो पुरस्कारले सम्मानित हुन पाउँदा अत्यन्त गौरव लागेको बताउनु भयो । “दरखास्त नहाली र कसैसँग नमागी प्राप्त भएको यो पुरस्कारसम्बन्धी समाचार मिडियामा आइसक्दा पनि मलाई विश्वास लागेको थिएन, भोलिपल्ट गुठीका सदश्य सचिवले फोन गरेपछि मात्र ए हो रहेछ भन्ने लाग्यो” अविनले भन्नु भयो ।
वासुदेव लुइँटेल पुरस्कारद्वारा गतवर्ष पुरस्कृत हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले अविनलाई बधाई बधाई दिँदै अविन जस्तो उपयुक्त पात्र छनोट गरी सम्मान प्रदान गरेकोमा गुठी स्वयम् सम्मानित भएको बताउनु भएको थियो ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले अविनलाई बधाई ज्ञापन गदै स्वादिलो व्यङ्ग्य कविता प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख आतिथेय टेकवीर मुखियाको लिखित मन्तव्य पत्रकार देवेन्द्र भट्टराईले वाचन गरिदिनु भएको थियो । मुखियाले आफ्नो मन्तव्यमा “मेरो चित्रकारिता र व्यङ्ग्य चित्रकलालाई महत्व दिँदै मलाई प्रेरित र उत्साहित गरिरहने व्यक्ति वासुदेव माड्साब हुनुहुन्थ्यो” एकताका मदन पुरस्कार गुठीमा हास्यव्यङ्ग्यका धुरन्धरहरूको बडो रमाइलो जमघट हुने गरेको प्रसङ्ग स्मरण गर्दै “भैरव अर्याल, वासुदेव शर्मा, श्रीधर खनाल, लक्ष्मण लोहनी, रामकुमार पाँडेहरू अनेक प्रसङ्ग जोडेर गफिनु हुन्थ्यो । मेरो त बोल्ने बानी त्यो बेला पनि थिएन अहिले पनि उस्तै हुँ । छेउमा बसेर उहाँहरूका गफ सुन्दा खुब मजा आउने । यी कुरा अहिलेसम्म पनि संझिरहेको” उल्लेख गरिएको छ ।
“त्यसै गरी पुरस्कार समर्पण समारोहमा मलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरी यहाँ बोलाउनु भएकोमा म फेरि सम्मानित भएको ठानेको छु । यस वर्ष कार्टुन कला क्षेत्रका प्रतिभा अविन श्रेष्ठलाई सम्मान गर्ने अवसर प्राप्त भयो । उहाँलाई धेरै धेरै बधाई र शुभकामना दिन्छु । कार्टुन कलाका क्षेत्रमा अहिले पछिल्लो पुस्ताका धेरै व्यक्तिहरू सक्रिय हुनुभएको छ । नेपाली कार्टुन कलाले राम्रो गति पक्रेको छ भन्ने लाग्दछ । मलाई लाग्छ यो सम्मान अविन श्रेष्ठको मात्र होइन, हामी सबै कार्टुनिस्टहरूको सम्मान हो । म सबै काटुनिस्टलाई हार्दिक बधाइ दिन्छु ।” मुखियाले भन्नु भएको छ ।
अन्त्यमा गुठीका सदस्यसचिव डा.विद्यादेव शर्माले सभापतिको तस्विर छोपेर सभा विसर्जनको घोषणा गर्नुभएको थियो ।
सिस्नुपानी नेपालसँग सम्बद्ध चक्र दवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा गुठीका तर्फबाट सम्राट पौडेलले धन्यवाद मतव्य दिनुभएको थियो ।
यसअघि कार्टुन कलाकार बलराम थापा (बराथा) (२०५१), दुर्गा बराल (वात्सायन) (२०५४), मोहनसिह महर्जन (खोकना) (२०५७), टेकवीर मुखिया (२०६४), रविन सायमी (२०७१), शशी शाह, (२०७६) हरू, हास्यकलाकारमा गोपालराज मैनाली (२०५२), राजपाल थापा(२०५५), बसुन्धरा भुसाल (२०५८), मह जोडी (मदनकृष्ण हरिवंश आचार्य) (२०६७), सन्तोष पन्त (२०७२), किरण केसी (राता मकै) (२०७७), हास्यव्यङ्ग्य लेखकहरू केशवराज पिँडाली (२०५३), श्रीधर खनाल (२०५६), रामकुमार पाँडे (२०५९), मोहनराज शर्मा (मोराश) (२०६९), चट्याङ मास्टर (२०७९) लगायत हास्यव्यङ्ग्यका हस्तीहरू यस पुरस्कारद्वारा सम्मानित भइसकेका छन् । २०७४ को पुरस्कार भने भैरव पुरस्कार गुठीलाई समर्पण गरिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest








































