साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली कार्टुनकलामा कार्टुनिस्ट अविन श्रेष्ठ

अविनको कार्टून चित्रमा जुन कुरा देखाउन खोजेको हो त्यसलाई केन्द्रबिन्दु बनाइ अनावश्यक अन्य फूलबुट्टा राख्दैनन् । विषयवस्तु जुन छान्छन् त्यो सटिक र लक्षभेदनमा मर्मस्पर्शी छन् । भेदभाव र पक्षपाती देखिन्नन् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

२०८२ भाद्र २३ गते वासुदेव लुइँटेल पुरस्कार समर्पण समाराेहमा प्रस्तुत रामकुमार पाँडेले नर्वेबाट पठाउनु भएकाे लिखित मन्तव्यकाे पूर्ण पाठ ।

आजको यो सम्मान समारोहमा अनुपस्थित
हास्यव्यङ्ग्यमहर्षी हास्यरसिक बासुदेव लुइटेलज्यू
उपस्थित गन्नेमान्ने, जान्नेसुन्ने सबैमा
पाँडेपुराणकार रामकुमारको
टाढैबाट नमस्कार

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा म जसको बिहे उसलाइ देख्न नदे भनेझैं बोल्न उपस्थित हुन पाइनँ । केही समय उत्तरी ध्रुवमा तपस्या गर्न दमपच हुँदा पनि पोल्याण्डकाले पत्तो पाई हास्यव्यङ्ग्यको विश्व सम्मेलनमा घिसारेर उभ्याए र त्यहाँ भाषण छाँटेर फर्किन नपाई नेपालमा भिषण भाषण जमाउन आउन नपाए पनि आफ्नो वारिस गुठीले तोकेकै सदर गरि यो बकपत्र पेश गरेको छु ।

बकपत्रको ब्यहोरा सक्कल बमोजिमको यो नक्कल एक अक्षर नबिराई बाचन गर्न अनुरोध गर्दछु । यसमा जे लेखिएको छ त्यो सत्य हो । सत्य नै हो ।

हास्यव्यङ्ग्य क्षेत्रमा अहिलेसम्म नोवल पुरस्कारका रूपमा रहेको नेपालको विशिष्ट पुरस्कार बासुदेव हास्यदेव पुरस्कार प्राप्त व्यङ्ग्यचित्रकार अविन श्रेष्ठलार्ई सर्वप्रथम बधाइ तथा शुभकामना व्यक्त गर्दछु । साथसाथै यो गरिमामय पुरस्कार दिने विशिष्ट संस्था बासुदेव विद्यादेव लुइटेल गुठीलार्ई परम पात्र छानेर सम्मानित गरेकामा हृदयदेखि धन्यवाद अर्पण गर्दछु ।

हुन त व्यङ्ग्यचित्रको विशेषज्ञ म नभए पनि यस क्षेत्रमा फाट्टफुट्ट काम गरेर अझ कसैकसैले कार्टूनको इन्साइक्लोपेडिया भनेर उडाए पनि म आफ्नो अल्पज्ञानले भए पनि यो क्षेत्रका केही जानेसुने पढेगुनेका कुरा यो विद्वानहरुको विशिष्ट भेलामा राख्ने जमर्को गर्दा कसैलार्ई झर्को नलागोस् भन्ने चाहन्छु ।

सबभन्दा पहिले विषय प्रवेश गर्दा कार्टून के हो ? भन्नू पर्ने हुन्छ र अनि मात्र खाँटी कार्टूनिस्ट चिन्नुपर्ने हुन्छ । कार्टूनलाई व्यङ्ग्यचित्र भन्ने गरिए पनि कार्टून शब्द पनि नेपालीमा भित्रिसकेको छ । एउटा साधारण चित्र जुन विषयवस्तुलाई हास्यात्मक, अतिशयोक्ति रुपमा पत्रपत्रिकामा व्यङ्ग्यात्मक पाराले प्रस्तुत चित्र नै व्यङ्ग्यचित्र मानिएको देखिन्छ । चलचित्रतर्फ चाहिँ एनिमेशन प्रविधिदेखि फोटो क्रममा रेखाचित्रका रुपमा र नक्कली पात्रहरुको चित्रबाट बनाइने अतिशयोक्तिपूर्ण चलचित्र कार्टूनलाई एनिमेशन भन्ने गरिन्छ ।

कार्टून विश्व जगतमा अलि ढिलै प्रादुर्भाव भएको हो । पछिल्लो समय यसले सोचेभन्दा छिटो गति लिँदै सर्वप्रिय बनेको छ । कार्टून विश्वमा जन्मेको करिव सवासय वर्ष नाघेको देखिन्छ भने नेपालमा लगभग ६५ वर्ष कटेको बुझिन्छ । विश्वमा सन १८००–१९०० ताका यस क्षेत्रमा आएका विलियम होगार्थ र थोमस्स नास्ट हुन् ।

हुन त नेपालमा छापामा कार्टून आउनु डेढ दशकअघि इलुस्ट्रेशनका रुपमा कलाकार चन्द्रमान सिंह मास्केले राजनीतिक व्यङ्ग्य गरि चित्र कोरेका हुन् । अझ यसअघि मध्यकालका केही कलामा व्यङ्ग्यको झलक आउने चित्र, मूर्ती पनि फाट्टफुट्ट नदेखिने हैन तापनि तिनलाई व्यापक छलफल गरि स्थापित गर्न बाँकी नै छ । युरोपकै विश्वप्रशिद्ध कलाकार लियो नार्दो दा भिन्सिले क्यारिकेचरका रुपमा केही टाउकाका चित्र बनाएका छन् । बेलाईतका विद्वान, लेखक एवम् चित्रकार विलियम होगार्थ पछि अमेरिकामा सन् १९२०–१९६० ताका वाल्ट डिस्नेले अमेरिकामा मिकि माउस, डोनाल्ड डक आदि चरित्र यसै बेला जन्माएका हुन् । पछि सन १९५०–१९८० ताका मूलतः जापानमा कमिकलाई टेलिभिजनले अगाडि बढायो । पूर्वीय सभ्यतामा जापानले नेतृत्व प्रदान गरेको आजको युगमा त्यहाँ मङ्गा किशोरका लागि अभिन्न अङ्ग बनाएर पढिन्छ ।

वर्तमान समयमा कम्प्युटर एआइले एनिमेशन सिर्जना प्रारम्भ गरेपछि कार्टूनको विशेष महत्व बढ्यो । र अहिले विश्वमा तहल्का नै मचाएको छ । एनिमेशनमा वाल्ट डिस्ने, ओसामु तेजुका (जापानी मङ्गा कलाकार) र एनिमेटलाई त मङ्गाको भगवान नै भनियो । डा. सेउस्से जो लेखक र चित्रकार नै थिए उनको कथा चित्रले ख्याती नै कमाएको पाइन्छ ।

कार्टूनको विकासमा प्रविधिले विेशेष सहयोग पुर्‍याएको छ । सांस्कृतिक प्रभाव र सिर्जनात्मक दृष्टिले यसमा महत्व राखेको छ । कार्टूनले विश्वभरी नै प्रभाव छर्न मद्दत गरेको छ ।

नेपालमा कार्टून विकासको क्रममा प्रारम्भिक कालदेखि वर्तमानसम्म आफू जोडिएको र नेपाली कार्टूनका बारे तीन दशकअघि अङ्गे्रजीमा पहिलो पुस्तक प्रकाशन गरेको हो । यस्तै विभिन्न समयमा कार्टून बारे लेख्दै आएको पनि हो । आफ्नो हैसियत अनुसार कार्टून बारे अध्ययन र बयान दिने अवसर पाउँदा बिगतमा टेकबीर मुखिया र दुर्गा बरालका बारे लेखिसकेको र बलराम थापा, मोहनश्याम महर्जनदेखि धेरै व्यङ्ग्यचित्रकारको बारे कमै लेखे पनि सङ्गत गरेको र आधुनिक व्यङ्ग्य चित्रकारमा अविन श्रेष्ठका बारे पनि मैले लेखिसकेको हो । प्रारम्भमा २१–२२ सालदेखि २०३५ सालसम्म आफूले पनि कार्टून बनाएर छापेको र हालै एनिमेसनमा देखिँदै गरेको वैयक्तिक कर्मदेखि, २०३३ सालदेखि प्रज्ञामा गाईजात्रा महोत्सवको समितिमा अप्रत्यक्ष सहयोग साथ व्यङ्ग्यचित्र प्रदर्शन र हास्यव्यङ्ग्य समाज २०४७ सालमा गठन गरि नेपाली कार्टून विकासमा सघाउ पुगेको हो । साथै २०३४ सालदेखि हास्यका तीन क्षेत्रलाई समेटेर बर्सेनि आलुपार्टीमा पनि प्रवद्र्धनका कुराले र बासुदेव लुइटेलको सकृयतामा उनकै नाममा गुठी गठन गरि कार्टून सक्दो सघाउ पुराउदै आएको हो । उठ्दै आएको पनि हो ।

कौवा प्रकाशनले हास्य लेखनमा पुस्तक प्रकाशन, कलियुग हास्यव्यङ्ग्य पत्रिकाले हास्य प्रवद्र्धन गर्दै, आलुपार्टीले तागत भर्दै तात्कालिक नेपालमा गाईजात्रा महोत्सव गर्न बिजारोपण हुँदै नेपाली हास्यव्यङ्ग्यको विकासमा प्रज्ञाको गाईजात्रा महोत्सवले धेरै कवि कलाकार जन्माएको कुरा नकार्न सकिन्न र यसले बढाउने सामाजिक सचेतनाबाट जनतामा ल्याउने जागरण र सरकारलाई सिकाउने पाठबाट बन्दले वन्चित हुँदा लोकतन्त्रको मर्ममा सर्म महसूस हुन्छ । हास्यव्यङ्ग्य समाजले प्रारम्भमा कार्टूनको उठान गर्दा यो विभागको जिम्मा मेधावी चित्रकार अशोकमान सिंहमा रहेको र कार्टून प्रवद्र्धनमा दुइवटा राष्ट्रिय सम्मेलन, राष्ट्रिय प्रदर्शनीहरु गरेर यो क्षेत्रको अस्तित्व जगाउने प्रयास भएको हो । प्रज्ञाले प्रारम्भ गरेको गाईजात्रा महोत्सवमा व्यङ्ग्यचित्र प्रदर्शन बन्द भएपछि हास्यव्यङ्ग्य समाजले केही समय निरन्तरता प्रदान गरेको हो । पछि विभिन्न समूहले गरे पनि व्यङ्ग्यचित्र प्रदर्शनी देखिएन । हासनेले पत्रकारितामा मान्यता दिलाउन प्रयास गरि आज व्यङ्ग्यचित्र पनि पत्रकारिताको अभिन्न अङ्गमा प्रवेश गरेको अवस्थामा हास्यव्यङ्ग्यका तीन मूल क्षेत्र लेखन, चित्राङ्कन र प्रहशन मञ्चनमा सबैभन्दा ठूलो पुरस्कार दिँदै आएको सर्वविदितै छ ।

यसपालिको पुरस्कार अविन श्रेष्ठले पाएका छन् । अविन २०२७ साल कात्तिक १५ गते स्वयम्भुमा जन्मेका हुन् । चित्रकलामा स्नातक गरेका अविन हाल धुम्बाराहीमा बस्छन् । धेरै माझ कान्तिपुरमा छापिने कार्टूनको व्यङ्ग्य चित्रकारका रुपमा अविन परिचित भए पनि उनी त्यसमा मात्र सीमित छैनन् । अविन नेपालमा जन्मेका नेपालीले गौरव गर्न सकिने विश्वस्तरका व्यङ्ग्यचित्रकार हुन् । उनका बारे आफूलाई लागेका कुरा मैले अगाडि नै लेखिसकेको हो, जुन कान्तिपुरमै छापिएको पनि हो । साथै यिनको पुस्तकमा लामो भूमिका पनि लेखेको हो । हास्यव्यङ्ग्य क्षेत्रमा छुटाउन नहुने अहिलेका होनहार व्यङ्ग्यचित्रकार हुन् अविन ।

नेपाली व्यङ्ग्यचित्रकारहरुको लहरमा व्यङ्ग्यचित्रकारै नभए पनि बिसको दशकको प्रारम्भअघि गोवद्र्धन शाह तत्कालिक राजनीतिक उखरमाउलोले व्यङ्ग्यचित्र कोरेर छपाइ गर्नेमा प्रथम हुन् भने व्यङ्ग्यचित्र प्रारम्भ गर्ने सातसाल अघिको राणा विरोधी व्यङ्ग्यचित्रको प्राप्त पेन्सिलले कोरिएको रेखाचित्रले व्यङ्ग्य दिनेमा चन्द्रमान सिंह देखिन्छन् । गोवद्र्धन शाहपछि फाट्टफुट्ट व्यङ्ग्यकला कार्यमा नाम चलेका कुलमान सिंह भण्डारी, शशी शाह र बिसको दशकमा आएका दुर्गा बराल, टेकवीर मुखिया, बलराम थापा, मोहनश्याम महर्जन र कार्टून शुरु गरेर छाडेका रमकमर पछि राम्रा टिकेका युवा व्यङ्ग्य चित्रकारहरुमा उज्वल कुन्दन ज्यापु, अशोकमान सिंह, राजेश, धीरेश, रविन, बासु क्षितिज आदि पत्रपत्रिकामा अरु पनि कार्टून बनाउन व्यस्त देखिए । आन्दोलन ताका थुप्रै कार्टून प्रयोग भए । यी व्यङ्ग्यचित्रकार मध्ये थोरैले मात्र व्यङ्ग्यचित्रका पुस्तक प्रकाशित गरेका छन् ।

नेपाली व्यङ्ग्यचित्रका क्षेत्रमा अनवरत लागेर व्यङ्ग्यचित्रलाई उचाइमा पुराउने व्यक्तित्ववान व्यङ्ग्यचित्रकारमा अविनको नाम सबै दृष्टिले पहिलो पङ्क्तिमा रहेको छ । नेपालका नाम चलेका पत्रकारले उनलाई पृथक परिचय भएका भन्नेदेखि शब्दबिहिन कार्टून अविनको सबैभन्दा शक्तिशाली (नारायण वाग्लेले) मानेका छन् । उनको कार्टून छापिनुअघि हेर्न नचाहने अर्थात हेर्न नपर्ने सेन्सर गर्नै नपर्ने रुपमा लिने सम्पादक (युवराज घिमिरे) पनि छन् । उनको कार्टूनलाई करेन्टको नाङ्गो तार झैं मान्ने (किशोर नेपाल) र उनको कार्टून अतुलनीय भन्ने पनि छन् ।

आफ्नो समयमा कार्टून क्षेत्रमा नयाँ काम गरेर विशिष्ट पहिचान राख्नेमा टेकवीर मुखियाले पहिलोपल्ट रङ्गिन कार्टून बनाएर युनेस्को जापानबाट प्रकाशित गरि एशियाका मुलुकमा व्याप्त बनाए साथै उनले हास्यव्यङ्ग्य कितापमा पनि पहिलोपल्ट थुप्रै कार्टून बनाए । पत्रिकामा रङ्गिन कार्टूनमा दुर्गा बरालले बलराम थापापछि स्तर उठाए । शब्द बिहीन र क्यारिकेचर कार्टूनमा अविनले नेतृत्व लिए । राजनीतिक कार्टूनमा अशोकमानले कामना पत्रिकामै तहल्का मचाए । यी सबैको दस्ताबेज गाईजात्रामा निस्कने भाँडभैलो हास्यव्यङ्ग्य पत्रिकामा स्पष्ट देखिन्छ नेपाली कार्टूनको स्तर र विशेषता । लामो समय व्यङ्ग्यचित्र राख्ने पत्रिकामा कामना छ भने कार्टून सम्वाद प्रारम्भ गर्ने मायालु मनोरञ्जनात्मक पत्रिका हो । यसरी पत्रपत्रिकाले सघाउँदै हासनेले जोरजम्मा गर्दै नेपालमा कार्टूनको छुट्टै संस्था कार्टुनिस्ट क्लब नेपाल (सिकोन) सङ्गठित छ । यसले भविश्यमा अविन जस्ता कार्टून कलाकारलाई राष्ट्रिय तहबाट पार गरि अन्तर्राष्ट्रिय व्यङ्ग्य चित्रकारमा स्थापित गर्ने अपेक्षा गर्न सकिन्छ । समसामयिक नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि चिनाउन सकिने थोरै नेपाली व्यङ्ग्य चित्रकारहरुमा अविन पहिलो दर्जामा पर्छन् ।

अविनले कार्टूनको क्षेत्रमा उल्लेख्य अनुभव पनि बटुलेका छन् । उनी व्यङ्ग्यचित्रमा २०५० सालदेखि दत्तचित्तले निरन्तर लागेका छन् । यिनले थुप्रै राष्ट्रिय स्तरका ठूला पत्रिका गोरखापत्रदेखि हिमाल खबरपत्रिका, राजधानी, नागरिकका अतिरिक्त थुप्रै पत्रिकामा कामको अनुभवबाट कान्तिपुर दैनिकमा वरिष्ठ कार्टूनिस्टका रुपमा काम गर्दै प्रत्येक दिन हजारौँ पाठकको घरघरै पुग्छन् सचेतना साथ मनोरञ्जक कार्टूनको माध्यममा ।

व्यङ्ग्यचित्रकार अविन श्रेष्ठ आफ्नो व्यङ्ग्यचित्रको प्रदर्शनी २०५३ सालमा वातावरण विषय मात्रको एकल प्रदर्शनी गरेदेखि आर्ट काउन्सिलमा २०५५ मा र साथसाथै अमेरिकामा मह गाईजात्रामा पनि प्रदर्शनी गरेर देश दुनियामा आफ्नो छवि बनाएका छन् । अविन अन्तर्राष्ट्रिय सहभागितामा २०६८ मा अमेरिकामा सम्पादकीय कार्टूनिस्ट सम्मेलनमा नेपालको प्रतिनिधि बनेका थिए ।

अविनले २०५७ मा गठन भएको कार्टूनिस्ट क्लबलाई २०७० मा अध्यक्षको नेत्रित्व लिएर सकृयता साथ धेरै काम अघि बढाए । २०७७ सम्मको दुइ कार्यकालमा कार्टूनको विकास र बिस्तारमा अग्रज कार्टुनिस्टको सम्मानका लागि बलराम थापा बराथा स्मृति सम्मान स्थापना, क्यारिकेचरमा बर्सेनि कार्यशाला प्रदर्शनी, प्रतियोगिता र तिनको प्रदर्शनी, पुस्तक प्रकाशन र प्रवद्र्धनमा थुप्रै कार्यक्रम प्रारम्भ गरे । साथै कानूनी अडचनमा आवाज पनि उठाए ।

यिनले २०८१ सालमा आफ्ना माता पिता शारदा र गोविन्दमान श्रेष्ठको नाममा शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार पनि स्थापना गरि नेपाली व्यङ्ग्यचित्र क्षेत्रमा अतुलनीय योगदान गर्दै रहेका छन् ।

आज आएर केही व्यङ्ग्यचित्रकार आजका कार्टूनिस्ट आफ्नो जीविकोपार्जन गर्न सक्षम भएका छन् । कार्टूनको स्तर बढाउन धेरै व्यङ्ग्यचित्रकारको क्षमता र कुशलता रहेको छ । यस दृष्टिले नेपालमा कार्टून सङ्ग्रहालय कुनै नगरपालिकामा खोले हुन्थ्यो भन्ने लाग्छ । हासने घरको एउटै छानामुनि हास्यव्यङ्ग्य सम्पूर्ण समेट्ने प्रयास पनि सबै तहबाट हुनसके हामी हाँसेर बाँच्न र बाँचेर हाँस्न सक्ने महसूस हुन्छ । कार्टूनिस्ट क्लवले पुरस्कार र सम्मानको चाँजो मिलाउँदै छ । प्रज्ञाको कर्म पर्याप्त छैन । सर्वाधिक जनप्रिय हास्यव्यङ्ग्य जनस्तरमा उत्थानको निकै प्रयास भए पनि यसले संस्थागत विकासमा सबैलाई समेटेर जान सकेको छैन जुन गाईजात्रा महोत्सवको उद्देश्यमा अभिप्रायित थियो ।

अविनको व्यक्तित्व हेर्दा वरिस्ठ व्यङ्ग्यचित्रकार हुन् भनेर देखाउन अलि पाको कपाल फुलेको, बा तालुचिन्डे अथवा चाउरी र छाला टाँसिएको जस्तो अनुहार छैन । उमेरले पाको देखिन्न । दुईबिस आधा नाघे पनि उनको उमेर युवाकै हाराहारी देखिन्छ । रातोदिन कार्टून नै सोच्ने, कार्टून नै कोर्ने पनि गरेको देखिन्न तर कार्टूनको विभिन्न पक्षमा खटिएर लाग्ने, सामाजिक काममा पनि भ्याउने हेर्दा उनी खटिन सक्ने बरद तन मन भएका रसिला हँसिला नै देखिन्छन् । र घर परिवार नै कलामय नै देखिन्छ ।

यो पुरस्कारले उनीभन्दा हामी र संस्था गौरवान्वित हुने अवसर जुटेको छ । अविन कान्तिपुर दैनिकका सिनियर कार्टूनिस्ट हुन् । कार्टुनिस्ट क्लव नेपालका अध्यक्ष भएका र अहिले पनि कार्टून रचना र प्रवद्र्धनमा सकृय रहेका छन् । कान्तिपुरमा कुनै समय कार्टुनमा आफ्नो बर्चस्व जमाउने बेजोड कार्टूनिस्ट कलाकार दुर्गा बरालले काम गरेका थिए । अविन श्रेष्ठले कार्टूनलाई अझ माथि उचाल्दै कम शब्द र शब्दरहित कार्टून बनाउन अग्रणी भूमिका निर्वाह गरे र कार्टूनमा चित्र मात्र हैन चित्रको स्तर उठाउन पनि आफ्नो विशिष्ट सीप देखाएका छन् । उनको कार्टूनले छिटै र विशेष प्रभाव पार्छ । उनले क्यारिकेचर कार्टूनमा पनि अग्रणी भूमिका निर्वाह गरेका छन् ।

कार्टूनमा विज्ञता समेत राख्ने अविनले आफ्नो निवासमा कार्टून कार्यकक्ष आधुनिक संसाधनले युक्त बनाएका छन् । अविनको कार्टून सिर्जना दस हजार नाघेको छ । उनको उमेरमा यो बिघ्न यो क्षेत्रमा जगजगी गर्ने अरु अहिले देखिएनन् । हो आफ्नो क्षेत्रमा लाग्दा त्यसमा पूर्णरुपमा डुबेर नै लाग्ने अविनबाट अरु व्यङ्ग्यचित्रकारले अनुकरण गर्ने धेरै कुरा छन् ।

अविनको कार्टून चित्रमा जुन कुरा देखाउन खोजेको हो त्यसलाई केन्द्रबिन्दु बनाइ अनावश्यक अन्य फूलबुट्टा राख्दैनन् । विषयवस्तु जुन छान्छन् त्यो सटिक र लक्षभेदनमा मर्मस्पर्शी छन् । भेदभाव र पक्षपाती देखिन्नन् । उनको कार्टूनको आफ्नै सीप शैली छ जुन चित्रलशैली र रुपरङ्गले नै उनी चिनिन्छन् । व्यङ्ग्यचित्रमा चित्र पक्ष सबल नभए आकर्षक हुन्न । चित्रकारितामा कुशल हुँदा नै विषय चित्रण सुन्दर बन्छ र त्यसमा हास्य र व्यङ्ग्यको पुट छुट भए त्यो जम्दैन । यस्ता कार्टुनिकरण कर्ममा अविन माहिर छन् ।

उनको कामका केही उदाहरण
एकपल्ट राष्ट्रकविको क्यारिकेचर कार्टून बनाउँदा माधव घिमिरेले भनेका थिए– यो व्यङ्ग्य त हैन ? अनि अविनले जवाफ जमाए हास्यमात्रै । कविजी यसमा मज्जाले हाँसेका थिए । वास्तवमा यो हास्यव्यङ्ग्य चित्र थियो ।

अविनले कार्टून जसको बनाएको हो उसलाई बिझाउने भए पनि जनतालाई रिझाउने नै छ । उनले राजा, राष्ट्रपति, प्रधानमन्त्रीको राम्रो अध्ययन गरि व्यङ्ग्यचित्र बनाएकैले नै ती चित्रमा ज्यान भरिएका र पुरानो नहुने गरि बनेका हुन् । उनको कार्टून संकलनका ठूला रङ्गिन पुस्तक नेपाली कार्टूनको क्षेत्रमा बेजोड प्रकाशन हुन् र ती नेपाली राजनीतिको यथार्थ चित्र पनि हुन् ।

उनले प्रधानमन्त्रीको कुर्सीमा ढ्वाङ लाउड्स्पिकर र गृहमन्त्रीकोमा राइफल राखेर ठूलो व्यङ्ग्य गरेको व्यङ्ग्यचित्र प्राविधिक र प्रवृत्तिगत दृष्टिले सटिक र जिउँदो देखिन्छ र त्यो सन २०१८ मा ‘बलात्कारीलाई सल्लाह दे’मा दनक दिएका छन् ।

चेसको चेकले राजनीतिको गेम, खल्तिमा रास्ट्रपति हालेको श्रीपेच लगाएको व्यक्तिको चित्रको अभिव्यक्तिले राजनीतिमा हलचल ल्याएको हो । अविनले मूल रुपमा राजनीतिक व्यङ्ग्यचित्र अत्यधिक मात्रामा बनाए पनि सामाजिकतर्फ पनि उनको कटाक्ष छुटेको छैन ।

आफ्ना पूर्ववर्ती अग्रणी कलाकार दुर्गा बरालको क्यारिकेचर बनाइ उनको असियौँ जन्मदिवस पारेर शुभकामना दिने गरि आफ्ना अग्रजको सम्मान गर्न पनि उनी चुकेका छैनन् । प्रायशः नेपाली साहित्य कलामा अग्रणिको चाहिँदो कदर गर्ने परम्परा हराउँदै, भेद विभेद हावी हुँदै गए पनि आफ्नो सिर्जना गतिलो भए भोलिको पिँढिले अवश्य मान्यता दिन्छ र इतिहासमा उचित आसनमा विराजमान गराउने नै छ र भोलिकाले प्रदुषण हटाइ समालोचनामा न्याय गर्नेछ । यस दृष्टिले हास्यव्यङ्ग्य आफैमा हास्यास्पद हुनुबाट जोगिनु राम्रो हो । अनर्गल कुराबाट बचेर विशुद्ध व्यङ्ग्यहास्य सिर्जना आजको आवश्यकता पनि हो । जुन थोरै भए पनि हास्यव्यङ्ग्यमा बचाउन व्यङ्ग्यचित्रमा अविन समर्थ छन् ।

अविनका कुनै कुनै कार्टूनमा शब्द छैन तर ती अत्यन्त समसामयिक भएकाले त्यो कार्टूनको अर्थ पछिकाले खुट्याउन हम्मे पर्ने र मितिबाट स्थिति बुझ्नु पर्ने पनि देखिन्छ ।

अबिन चित्रकारितामा अब्बल छन् । उनले ह्यापी न्यु इयर र केही कितापमा इलुस्ट्रेशन जुन गरेका छन् त्यसको स्तर उच्च छ । यस्तै उनले गज्जव छ बा ! मा जुन चित्र प्रस्तुत गर्ने गरेका छन् त्यो पनि चित्रात्मक र विषय प्रस्तुतिका दृष्टिले राम्रा छन् ।

अविन कार्टूनसँगै ठट्टा जमाउन पनि सिपालु छन् । उनी एकजना मन्त्री भेट्न जाँदा उनले भनेका थिए, तपाईंले कार्टूनिस्टलाई भेटोस् मात्र मैले गर्न जान्या छु भन्दै त बस्नु भा छैन ? भन्दा उनले भनेका थिए त्यस्तो हैन, ल बनाइदिनोस् मेरो कार्टून !

कार्टून बनाउँदा अविनको आँखा चारैतिर पुगेको हुन्छ । उनले सरकार भेटियो न्याय भेटिएन भन्दै जस्टिस डिलेड इज जस्टिस डिनाइड भनेर एउटा हत्याकाण्डलाई कार्टूनमा उतारेका छन् । सामाजिक विषयलाई राजनीतिक व्यङ्ग्य ठोकेर जनपक्षीय आवाज बुलन्द बनाउन सिपालु छन् । अविनको दृष्टि जति व्यापक छ मर्मस्पर्शी प्रस्तुतिले उनलाई अद्वितीय नेपाली कार्टूनिस्टमा दर्ज गरेको छ । यस्ता रमाइला प्रसङ्ग धेरै छन् ।

अविनले दैनिक ब्रोडशिटको पत्रिका कान्तिपुरमा एडिटोरियल कार्टून जुन बनाउने गर्छन् त्यसले नेपाली समसामयिक राजनीतिलाई राम्रै पाठ पढाउने गरेकोले नै पाठक जो कोहिको आँखा त्यसमै पहिला जाने गर्छ ।

हाम्रा नेताले टाइ लगाउनेदेखि न्यायपालिका, कार्यपालिका व्यवस्थापिकामा तीन व्यक्ति देखाइ आँखा छोपेको, कान थुनेको र मुख ढाकेको कार्टून सार्वकालिक जस्तै सन् २०१८ को भए पनि आजसम्म सान्दर्भिक र मार्मिक भएका छन् । घोडाजस्तै दौडनु पर्ने विकास ढ्वाङ चढेर दौडेको व्यङ्ग्यचित्र सन २०२० को भए पनि अहिलेको अवस्थालाई इङ्गित गर्दैन भन्न सकिन्न । यसरी उनको कार्टूनले व्यक्तिको चरित्रका साथै समकालिकतालार्ई शाश्वत अभिव्यक्ति दिन सक्षम भएको देखिन्छ ।

चित्रलाई शब्दले बुझाउने कार्टून अधम, कम शब्द युक्त मध्यम र शब्दरहित उत्तम मानिने र यसमा पनि साझा समस्या जनाउने, व्यक्ति आक्षेप भन्दा प्रवृतिलाई व्यङ्ग्य गर्ने र सबैले बुझ्न सक्ने सीमारहित कार्टून सर्वोत्कृष्ट भएको पाइन्छ । व्यङ्ग्यचित्रकार अविन यस्ता कुरामा सजग छन् र क्यारिकेचरमा पनि व्यक्तिको रुप र अलि कमजोर पक्षलाई अतिशयोक्ति गरि व्यङ्ग्यचित्रलाई सजीव पार्न समर्थ देखिन्छन् ।

नेपाली व्यङ्ग्यचित्रका वर्तमानमा अग्रणी रहेका अविनको प्रत्येक चित्रमा एउटा कथा लुकेको छ । ती सबलाई व्याख्या गर्दै जाँदा एउटा विशाल चित्रको पोर्टफोलियो र तिनको वर्णन महाभारत नै हुने देखेपछि बाँकी कुरा पछिका अनुसन्धानकर्तालाई छोडी मैले कलम यहि रोकेँ । पुरस्कार प्रापक र संस्थापकसहित एउटा विश्व स्तरका नेपाली कार्टुनिस्टलार्ई पुरस्कृत गरेकामा व्यङ्ग्यका बुझक्कड र हास्यका हस्ती गन्नेमान्ने जान्नेसुन्ने व्यक्तित्व सबै साथ मेरो पनि ताली ।
यथोचित बधाइ र शुभकामना पनि ।

०००
हाल ओस्लो, नर्वे
दर खाने दिन, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
के देश दुख्दैन मोरा हो ?!

के देश दुख्दैन मोरा...

रामकुमार पाँडे
भरणार्थी

भरणार्थी

रामकुमार पाँडे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x