फित्काैली डटकमअन्तर कलेज कवितावाचन प्रतियोगिता तथा पुरस्कार वितरण समारोह सम्पन्न
समारोहको अध्यक्षता कलेजको नेपाली विभागका विभागीय प्रमुख गोविन्द खनालले गर्नुभएको थियो भने वरिष्ठ स्रष्टा तथा समालोचक प्राडा रामप्रसाद ज्ञवाली प्रमुख अतिथि हुनुहुन्थ्यो ।

काठमाडाै, २०८२ मङ्सिर २६ । ट्रिनिटी इन्टरनेसनल कलेज डिल्लीबजारमा पन्ध्रौँ अन्तरकलेज कवितावाचन प्रतियोगिता तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
उक्त समारोहको अध्यक्षता कलेजको नेपाली विभागका विभागीय प्रमुख गोविन्द खनालले गर्नुभएको थियो भने वरिष्ठ स्रष्टा तथा समालोचक प्राडा रामप्रसाद ज्ञवाली प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा कलेजका निर्देशक उमेश थापा, प्रिन्सिपल डा डम्बरसिंह ऐर, प्राडा हेमराज काफ्ले, डा चेतनाथ पन्त, भावकेशर बराल, डा अम्बिका अर्याललगायतका व्यक्तित्वको आतिथ्यपूर्ण उपस्थिति रहेको थियो। विद्यालयकै छात्राहरूले सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थित अतिथिगण, प्रतियोगी विद्यालयका शिक्षक प्रतिनिधि तथा प्रतिस्पर्धी विद्यार्थीहरूलगायत उपस्थित सम्पूर्णमा संस्थाका तर्फबाट कवीन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो।
अङ्ग्रेजी तथा नेपालीका गरी करिब ५० जना छात्र छात्राहरूले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए। कलेजकै प्राङ्गणमा सञ्चालित यस कार्यक्रममा उपत्यकाका २५ कलेजबाट नेपाली र अङ्ग्रेजीमा एकएकजना विद्यार्थी कविकवयित्रीले आफूलाई प्रतिस्पर्धामा उभ्याएका थिए।
कविता प्रतियोगितामा नेपाली र अङ्ग्रेजी माध्यमका कविताहरू अलगअलग समूहमा राखी मूल्याङ्कन गरिएको थियो। कविताका कथ्यभित्र लैङ्गिक हिंसा विरुद्धका आवाज र नारीसचेतनावादी चिन्तन, प्रणयप्रेम, समर्पण र त्याग, राष्ट्रियता, राष्ट्रगौरव, भातृत्व र विश्वबन्धुत्व, युवावर्गका पीडा र वैदेशिक रोजगारीका समस्या, राजनीतिक क्षेत्रमा देखापरेका विकृति र जेन्जी आन्दोलनका प्रसङ्ग, सामाजिक विभेद, गरिबी र अभावको चित्रण, सहिदको बलिदानी र त्याग, नेपाली जनतामा आएको क्रान्तिचेत र शान्तिकामी चाहना, मानवता सहृदयीता र सद्भावना, प्रकृतिको सुन्दर र कलापूर्ण चित्रण तथा कल्पनाका स्वप्नील उडान लगायतका बहुविध सन्दर्भ समेटिएको देखिन्थ्यो। युवा वर्गभित्रको काव्यचेतनाका हिसाबले कविताहरू अब्बल थिए।
वाचित कवितामध्येबाट प्राडा हेमराज काफ्ले, डा चेतनाथ पन्त, भावकेशर बराल र डा. अम्बिका अर्यालले क्रमश: अङ्ग्रेजी र नेपाली समूहमा अलगअलग मूल्याङ्कन गरी नतिजा प्रस्तुत गर्नुभएको थियो।
नेपाली समूहतर्फ डियरवाक सिफलका छात्र अमु शाक्य प्रथम, ट्रिनिटी इन्टरनेसनल कलेजका छात्र प्रस्मिन चौलागाईं द्वितीय तथा सेन्ट जेभियर इन्टरनेसनल कलेजकी छात्रा प्राश्ना दर्नाल तृतीय भएका थिए। अङ्ग्रेजी समूहतर्फ ग्लाेबल कलेज अफ म्यानेजमेन्टकी छात्रा पलस्का सिंह प्रथम, डियरवाक सिफलकी छात्रा प्रनिशा खड्का द्वितीय तथा सेन्ट जेभियर इन्टरनेसनल कलेजकी छात्रा श्रेया बुढा क्षेत्री तृतीय भएका थिए।
पुरस्कार वितरण समारोह पश्चात् बोल्नुहुँदै कलेजका निर्देशक तथा प्रिन्सिपल उमेश थापा र डा. अमरसिंह ऐरले उपस्थित सम्पूर्णमा कलेज प्रशासनका तर्फबाट आभार प्रकट गर्नुभयो। प्रमुख अतिथि प्राडा रामप्रसाद ज्ञवालीले नवपुस्ताको काव्यचेतनाको खुलेर प्रशंसा गर्नुभयो भने समारोहका सभापति गोविन्द खनालले कलेजले कविता वाचन प्रतियोगिता आयोजना गरेर कलेज स्तरमा नवपुस्ताका बीचमा साहित्यिक जागरण सिर्जना गर्ने प्रयास गरेको बताउनुभयो।
कार्यक्रम दिउँसो १:३० बजेदेखि ५:०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा कलेजका शिक्षक तथा विद्यार्थीलगायतको सक्रिय सहभागिता रहेको थियो।
०००
भावकेशर बरालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































