फित्काैली डटकमसाहित्यिक गतिविधि, सिर्जनात्मक अभ्यास तथा भावी योजनाबारे छलफल
मुक्कुमलुङ (पाथीभरा) जस्ता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका स्थलहरू नेपाली साहित्यका लागि प्रेरणाको उर्वर भूमि भएको कुलपति राईले बताउनुभयो।

ताप्लेजुङ, २०८२ माघ २८ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्थानीय साहित्यको प्रवर्धनबाट मात्रै नेपाली साहित्य समृद्ध हुने बताउनुभएको छ।
बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित साहित्यिक भेटघाटमा कुलपति राईले साहित्यमा मौलिकताको खोजी अनिवार्य रहेको उल्लेख गर्दै विशेष गरी स्थानीय भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिलाई सिर्जनामा समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
मुक्कुमलुङ (पाथीभरा) जस्ता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका स्थलहरू नेपाली साहित्यका लागि प्रेरणाको उर्वर भूमि भएको कुलपति राईले बताउनुभयो। स्थानीयताको गहिराइ बुझेर लेखिएको साहित्य नै राष्ट्रिय पहिचानको आधार बन्ने उहाँले उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा मुक्कुमलुङ साहित्य प्रतिष्ठान, कञ्चनजङ्घा साहित्य प्रतिष्ठान, लक्ष्मी साहित्य प्रतिष्ठान लगायतका प्रतिनिधि एवम् साहित्यसेवी तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीले उहाँको उपस्थितिलाई साहित्यिक ऊर्जा र आत्मविश्वास जगाउने अवसरका रूपमा लिएको बताएका थिए।
कार्यक्रमको समापन गर्दै साहित्यसेवी किरण लिङ्देनले कुलपति राईको ताप्लेजुङ भ्रमणले यहाँका स्रष्टाहरूलाई सिर्जनात्मक यात्रामा थप प्रेरणा र हौसला प्रदान गरेको बताउनुभयो।
कार्यक्रममा स्थानीय साहित्यिक गतिविधि, सिर्जनात्मक अभ्यास तथा भावी योजनाबारे समेत छलफल भएको थियो।
कार्यक्रमको सिलसिलामा ताप्लेजुङ आउनुभएका कुलपति राईले यसअघि मुक्कुमलुङ क्षेत्रको भ्रमण गरी स्थानीय समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले त्यहाँको सांस्कृतिक महत्त्व, ऐतिहासिक पृष्ठभूमि र मौलिक जीवनशैलीबारे चासो व्यक्त गर्दै यस्ता सम्पदालाई साहित्य र अनुसन्धानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
०००
Subscribe
Login
0 Comments
Oldest





































