के.पी. पाैडेलखपेका छन् पीडा वृद्ध जनले
हिजो लालाबाला स्वजन कलिला निर्बल हुँदा। दिए न्यानो आभा तनमन खुबै प्रेमिल छ्टा।। वधू छोरा छोरी परपर हुँदा पाल्छ कसले ? खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले ।।

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’:
जवानी बेलामा गगन चुमिने तागत थिए।
सबै आफ्ना भन्ने वरपर अरू मानिस थिए।।
भयो साहै गाह्रो दिनहुँ अहिले जीर्णपनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। -१
वधू छोरा छोरी कठिनपनले पालन गरी।
पिता माता खट्छन् जतन सिपले चिन्तन गरी।।
भए आफन्ती ती अति मतलबी स्वार्थपनले ।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले । । -२
युवा जत्था हाम्रा प्रखर सिपका बेचिन पुगे।
यहाँ पाका मात्रै सकल घरका जिल्लिन पुगे॥
बिमारीले च्याप्दा छटपट हुँदा हेर्छ कसले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। -३
मिठा उम्दा अर्ती अधम मतिका ती मलम हुन्।
दशा बाधा छेक्ने जनक जननी आवरण हुन्॥
सहन्छन् बाआमा विविध लफडा धैर्यपनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ॥-४
हिजो लालाबाला स्वजन कलिला निर्बल हुँदा।
दिए न्यानो माया तनमन धरी ती खुस हुँदा।।
तिनै छोरा छोरी अब पर हुँदा पाल्छ कसले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।-५
०००
वि.न.पा.-४,बट्टार, नुवाकोट।
Subscribe
Login
0 Comments
Oldest







































