भूतपूर्व अभूतपूर्व
अब त भारतबासीहरूलाई ग्लानि हुन थाल्यो । हामी अपराधी हौँ । हामीले हाम्रो भलो गर्ने काम यिनीहरूको जिम्मा लगाएर अपराध गर्यौँ । अब यिनीहरूले राजघाटमै हाम्रो भलो गर्ने कसम खाएका छन् ।
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
मानिसहरूले मोरारजी भाइमाथि दवाब दिएर गलत परम्परा नबसालून् । जाँच सधैँ भूतपूर्व प्रधानमन्त्रीका छोराको मात्र हुने गर्छ, वर्तमानका छोराको होइन । यही स्वस्थ परम्परा हो । मोरारजीभाइ अझै भूतपूर्व हुनुभएको छैन, ‘अभूतपूर्व’ भने अवश्य हुनुहुन्छ । उहाँ कान्तिभाइको जाँच हुन दिएर एउटा अस्वस्थ परम्परा सुरु गर्नुहुन्न । उहाँजस्ता स्वस्थ मानिसबाट मानिसहरू यस्तो अस्वस्थ कुरो गराउन चाहन्छन् ।
जुन विरोधी नेताहरूले यस्तो फोहरी कुरो गर्दै छन् तिनीहरूले के विचार गरुन् भने आउने दिनमा उनीहरू पनि प्रधानमन्त्री वा मुख्यमन्त्री होलान् र त्यति बेला उनीहरूका छोराको पनि जाँच होला । म त के भन्छु भने जबसम्म कुनै मन्त्री भूतपूर्व हुँदैनन् तबसम्म उनका छोराको जाँच हुनु हुँदैन भन्ने कुरो संविधानमै आओस् ।
राजनीतिक सत्ता पनि छ, सुविधाहरू छन्, पैसा छ, वरिपरि हस् हजुर गर्ने र फाइदा उठाउने पनि छन् भने जुन मन्त्रीको छोरो पैसा, रक्सी र सुन्दरीमा लागेन त्यो त महामूर्ख पो हो त । डेढ वर्षसम्म प्रधानमन्त्री बनिसकेका मान्छेका बारेमा यस्ता प्रश्नहरू यसरी उठाइएका छन् मानौं कुनै स्कुलको मास्टरले अमुक केटालाई कक्षा बढाउनु राम्रो भएन भनेको होस् । माथिल्लो कक्षामा त्यसले केही गर्न सकिरहेको छैन । त्रैमासिकमा पनि त्यसले राम्रो अङ्क ल्याउन सकेन । कसैले पटनामा पल्टेको बुज्रुकलाई त कसैले दिल्लीमा ढुल्केको बुज्रुकलाई सोध्छ, ‘भन्नुस् त महात्माजी, के मोरारजीलाई प्रधानमन्त्री बनाएर तपाईंले ठिक गर्नुभएको हो ?’ बुज्रुक भन्छ, ‘सायद गल्ती भयो, तर त्यति बेला अर्को उपाय पनि के पो थियो र ? मजबुरी थियो नि त !’
पटनाका बुज्रुकले एक दिन भने, ‘मोरारजीले कुनै काम गरेनन् । उनी बेकम्मा प्रमाणित भए ।’ तर दुई दिनपछि लोकनायक भन्छन्, ‘मोरारजीले निकै राम्रो काम गरेका छन् । म उनीप्रति सन्तुष्ट छु ।’
पटनाबासी बुज्रुकलाई कसैले पनि दश रुपैयाँ पनि सापटी दिन्न । दूध दिनेले पनि दिनदिनै दूधको पैसा माग्छ । के थाहा भोलि तपाई पनि फेरिनुहुने पो हो कि ?
चरणसिंह पनि कान्तिभाइमाथि भ्रष्टाचारको आरोप भएको कुरा गर्छन् । फेरि आरोप थिएन, अफवाह थियो पनि भन्छन् । चन्द्रभानु गुप्त एक दिन भन्छन्, ‘मधुलिमयेले दिएको चन्दाको रकम न जम्मा गरियो न त्यसको हिसाब देखाइयो ।’ फेरि दुई दिनपछि भन्छन्, ‘मैले यस्तो भनेकै छैनँ । चन्दा सबैले जम्मा गरेका हौं र हिसाब पनि दिएका हौं ।’ मधुलिमये कान्तिभाइको भ्रष्टाचारका बारेमा प्रधानमन्त्रलाई पत्र लेख्छन् । तीन दिनपछि सार्वजनिक रूपमै त्यस पत्रको कुरो अस्वीकार गर्छन् ।
मानिसहरू व्यर्थमै जनता पार्टीमा एकताको चाहना राख्छन् । एउटै छन् ! कति एकता छ ! जब र जुन बेला चाहियो सबै एकैचोटि बेइमान बनिदिन्छन् । फेरि इमानदार बन्ने निणर्य गर्छन् अनि एकै पटक इमानदार पनि भइटोपल्छन् । एउटा नयाँ परम्परा अर्को पनि बन्दै छ । पहिले के हुन्थ्यो भने सत्ताधारी दलले घोषणापत्रको काम पुरा गर्दैनथ्यो । अहिले जनता पार्टी पहिले ती काम सम्पन्न गर्दै छ जुन कामको उल्लेख घोषणापत्रमा थिएन । घोषणापत्रमा हामी एकले अर्काको पोल खोज्ने र खोल्ने छौं भन्ने कतै छैन । नेताको खोलौंला, उसका छोराछोरीको खोलौंला र नातेदारहरूको खोलौँला ।
पार्टी र सरकारको सम्पूणर् संयन्त्र कलङ्कनिर्माण, कलङ्कशोध तथा कलङ्क उद्घाटनमा लागेको छ । बाबु ‘सुरेश कुमारको सेक्स काण्ड’ जस्तो चतुर्याइँका साथमा नियोजित गरियो त्यसबाट स्तर निकै बढेको छ । नैतिकताको स्तर त बढेकै छ, स्टन्टबाजी र अपराधतत्त्व पनि थपिएका छन् ।
कुनै दिन राजनारायणले उनीसँग मोरारजी र जगजीवनरामका पनि आइमाईसितका नाङ्गा फोटाहरू छन् भनेर भनिदिन सक्छन् । कति फोहरी छन् यिनीहरू ! अरे, गर्नैपर्ने भए गर, तर फोटो किन खिँचाउँछौ ? यस्तै नैतिक रूपमा युद्ध अघि बढ्यो भने नेता र मन्त्रीहरूका बुढी स्वास्नीहरूले पनि होसियार हुनुपर्छ । बच्चैमा फ्रक लगाएर खेलेको कुनै फोटो खोजेर देखाइने छ र भनिने छ, ‘लौ हेर यो, फलानाकी पत्नी हो यो !’ छिः छिः छिः छिः !
अब त भारतबासीहरूलाई ग्लानि हुन थाल्यो । हामी अपराधी हौँ । हामीले हाम्रो भलो गर्ने काम यिनीहरूको जिम्मा लगाएर अपराध गर्यौँ । अब यिनीहरूले राजघाटमै हाम्रो भलो गर्ने कसम खाएका छन् ।
हामी हात जोडेर भन्छौँ, ‘हाम्रा उद्धारकहो ! हामीलाई आफ्नो भलो गराउनु छैन । तिमीहरू पटक्कै हाम्रो भलो नगर । तिमीहरूको यत्रो बलिदानबाट हामीलाई आफ्नो सानोतिनो भलो गराउनु छैन । तिमीहरूले हामीमाथि दया गरेर गोबर खान र नालाको पानी पिउन बन्द गरिदेओ ।’
०००
परसाई रचनावली भाग- ४ बाट ‘अभूतपूर्व भूतपूर्व’को नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest