नरेन्द्रराज पौडेलअदना कविको सपना
आफ्ना छापिएका सवै पुस्तकहरूको विक्रीकर्ता बनी दिन अनुरोध गर्दै उनी धेरै नामी प्रकाशनहरूको घर दैलो धाएथे । साझा धाउदा धाउदा तलुवा खिइएर पैतालामै धाँजा परे । खाजा खाने पैसा बस टेम्पोमै चट ! पैरवीको पयर पर्दा पर्दा नाइरोवी पुग्ने समय सकिएछ ।

“अस्वस्थ कल्पनाले मानिस पागल बन्छ स्वस्थ कल्पनाले बन्छ कवि” महाकवि लक्ष्मीप्रसाद देवकोटाको यही वाक्य मनमा खेलाइरहन्छन् उनी । कविता लेखेपछि कवि हुइन्छ अनि सबैले मान्छन् भन्ने उनको विश्वास छ ।
अरुको कविता उति त्यति मन पराँउदैनथे र पढ्दैनथे पनि । धेरै पढ्नु समयको बर्बादी गर्नु मात्रै थियो उनको दृष्टिमा । त्यसैले उनका कविता सधैँ मौलिक हुन्थे । सामान्य शिक्षा लिएपछि अरुको काव्य, रचना, दर्शन आदि अध्ययन गर्ने दुर्व्यसनतिर उनको रुचि गएन ।
तर त्यसो भनेर उनी कविहरूको सङ्गतै नगर्ने एकलकाँटे चाहिँ हुँदै होइनन् । प्रत्येकजसो साहित्यिक कार्यक्रम र विमोचन समारोहहरूमा उनको उपस्थिति अनिवार्य रुपमा देख्न पाइन्थ्यो । साथै त्यो उपस्थिति पनि साहित्यिक जमघटको किनार, छेउछाउतिर नभएर अगाडि सोफामै ड्याम्म जमेको हुन्थ्यो । टि.भी. च्यानलका भि.डि.यो. क्यामराहरूलाई उनको अनुहार खिच्न कुनै कठिनाइ नपरी दर्शकसामु पुर्याउन सकियोस् भन्ने उनको सोचाई रहन्थ्यो । सोझै शब्दमा भन्दा टी.भी.मा आफ्नो अनुहार अगाडि सिटमै सुसज्जित भएर कार्यक्रमको सहभागिता ग्रहण गर्न पाउँदा उनी जति हर्ष विभोर हुन्थे त्योभन्दा निकै बढी उनकी घरपालुवा गृहिणी र छोराछोरी हुन्थे । तिनीहरूको विचारमा संसारका महाकविहरूको अग्रस्थानमा उनी मात्रै छन् ।
त्यस्ता कार्यक्रमहरूमा जान उनलाई कार्ड निम्ता पनि आवश्यक थिएन । दैनिक पत्र-पत्रिकाहरूमा आजको कार्यक्रम स्तम्भ हेरेर के कस्ता कार्यक्रम कहाँकहाँ हुँदैछन् भन्ने पत्ता लगाएर उनी त्यहाँ शोभा बढाउन पुगी हाल्थे । अलि दिन त आयोजकहरूलाई आमन्त्रित हुन होइनन् ठम्याउन मुस्किल परेथ्यो । तर समयक्रमले सवैखाले आयोजकहरू पनि परिपक्व हुँदै गएछन क्यार, उनको सदाबहार सर्वपरिचित मुहार देखेर उनलाई चिन्न खप्पीस भइसकेका थिए ।
प्रवचन गोष्ठीमा उनी पुग्थे । विचार गोष्ठीमा उनी पुग्थे । विमोचन कार्यक्रममा उनी पुग्थे । वाचन कार्यक्रममा उनी पुग्थे । अस्तु विर्सजन कार्यक्रमसम्म पनि उनी पुगेकै हुन्थे । आयमेली साहित्यमा व्यायाम देख्ते । रङ्गवादी साहित्यमा बहुरङ्गी झारपात देख्ते । उत्तर आधुनिकताको विचार गोष्ठीमा हितोपदेशका सूची भेट्टाउँथे । कवि गोष्ठीमा पुगेपछि कुनै पनि उपायले आफ्नो कविता वाचन गरेरै छोड्थे । अरुको कविता बुझिरहन आवश्यक ठान्दैनथे । तर आफ्ना कविता राम्ररी बुझ्थे । नबुझी लेख्तै लेख्तैनथे । लेखी सकेपछि छपाउनै पर्छ अनि छापिएको पुस्तक नपढ्नु पाठकको कमजोरी हो भन्ने उनको स्थापित सिद्धान्त थियो । तर त्यसो भनेर उनी आफूचाहिँ कहिल्यै नियमित पाठक बन्न रुचाएनन् । अरु उनको पाठक नबनिदिँदा पनि त्यसको मेसो पाएनन् ।
लेख्न उनलाई समस्या थिएन । विषयहरू अनगिन्ती थिए । गाउँतिर जाँदा बाख्रा देखे बाख्राकै कविता लेख्थे । गाइको वणर्न पोख्थे । गोरुको गुणगान गाउँथे । लेकतिर पुगे भेडीगोठको गन्थन बिच्छ्याउँथे । बनको बखान गर्थे । घरगोठ, छाप्रा कटेराहरूको शब्दचित्र उतार्थे । खेतबारीमा बाली उमार्थे । कान्ला पाखा र पखेराहरूमा चिलाउने, कटुस, सिसौ, खयरका रुख सपार्थे । मनलाग्दा जङ्गलमा खोरिया फाँडेर मकै उमार्थे । मुर्रा भैँसी पालेर दूध पघार्थे । काँक्रा, फर्सी उमारेर थाँक्रा ठड्याउँथे । सशस्त्र द्वन्द चर्किदा छापामार परीहरूका बहादुरीका बखान पनि गाउँथे र भीरबाट ढुङ्गा गुडाउँथे । फुर्सद हुँदा बगालिएका घोडा घोडी लडाउँथे । खोलामाथि झोलुङ्गे पुल झुण्ड्याउँथे । बारीका फर्सी कुभिण्डा जम्मा पारेर पखेरामा लगेर उभिण्ड्याउँथे । याने यिनै यस्तै अनेक ग्रामीण भेगभागका झिटी झाम्टाहरू नै कविताका विषय हुन्थे । यस्तै विषयहरूको बाली चर्न पाउँदा उनको कवित्व जगत् कोरलिँदै बगालिन पुग्यो । अनि पुच्छर ठड्याएर नाच्दै उफ्रदै बैँसको रौनक पनि देखाइदिन्थ्यो कहिलेकाहीँ ।
पहाडिया गाउँबाट काँठतिर पसे भने कोदोबारीको उखान उनको प्रिय बनिदिन्थ्योे । खत्री मुखिया र ज्यापू दाइका कोदो चरन विवाद र सम्वादमा त उनको कलम खपिनसक्नु भावुक बनेर बर्सिन्थ्यो । यस विषयलाई लिएर दुईचार हप्तामा खण्डकाव्य मात्र होइन महाकाव्य नै तयार हुन बेर थिएन । खेत, खलीहान, भैँसी, गोठ, पँधेरा, ढुङ्गेधारा, गहुँबारी, डल्ला, दूधको कन्टर, साइकलको हावा, पानीमा दूधको संमिश्रण, भैँसी र भकारो, मल खाल्डाको साग जस्ता विषयहरू क्षणैपिच्छे उनको हृदयसागरमा आकाश छुने छाल बनेर उर्लिदै गर्दथे । त्यसै समयलाई समातेर बर्खे बाढीको भल छोप्तै कविताको रोपाइँ गर्न उनी खप्पीस भइसकेका थिए ।
शहरी क्षेत्रको कुरा त झन उनको मन मस्तिष्कमा मात्र नभएर आँखा, नाक, कान, मुख सवैतिर व्यापक रुपमा पर्गेलिन पुग्दथो । सरसफाइप्रति नगरपालिकाको बेबफाइ बारम्बार उनको मानस पटलमा पट्टा खेलिरहन्थ्यो । शहरबासी सभ्य नागरिकहरूको अति सभ्य व्यवहार उनको कवि सुलभ हृदयका लागि बरोबर मलजल सावित भइरहन्थ्यो । सडक, चौकी र मण्डलहरूमा पस्किएका फोहरका थुप्राहरूको भाग आपसमा बाँडेर ठूला ठूला टे्रड सेन्टरहरू ठडिएर ठाडै भोजन गर्न लागेझै प्रतीत हुन्थे । फोहरको रासमाथि जापानी कार चिप्लेटी खेल्दै सडक जात्रा देखाएको दृष्य उनको कवि मनमा नउप्कने गरी टाँसिन पुग्थ्यो । कहिले उनको कवि मन नदीनालाको शुद्ध शहरी जलमा स्नान गरेर देवालयका पाटी पौवामा भजन गर्ने भक्तजनमा सामेल हुन पुग्थ्यो । पेटी पाटीहरूमा बोराभित्र जथाभावी गुटमुटिने सडकसन्ततिको अन्तहीन स्वतन्त्रता उनको मनमा जमठ भएर जमिरहन्थ्यो । त्यसलाई उप्काएर पाप्रा हटाउने आफ्नो आसय कहिल्यै प्रकट गरेनन् । सहरी सडकहरू कतिबेर साँपहरू लठारिए झैँ बटारिएका प्रतीत हुन्थे । कतिबेर आकाशे पुलमाथिबाट रमणीय यातायातको आकलन कल्पनामा टल्पलाउने गर्दथ्यो । नीला चमकदार सडकमाथि नाना रङ्ग रोगनका झिलीमिली गाडीहरू तँछाड मछाड गर्दै दगुरेको दृश्यले उनको सम्वेदनशील मनलाई कुत्कुत्याउन पुग्दथ्यो । डामिएको मन फुल्दै सुन्निदै गानिन पुग्थ्यो । गानिएको मन सिँडी र ओरालाहरूमा हानिदै कावा खान लाग्थ्यो र मुन्टिएर धुलोमा बज्रिदै कविता छाद्न पुग्थ्यो ।
यसरी छादिएको रातो कविता कुनै महानुभावको महानको क्रान्तिको भ्रान्ति पिलाएर जनतालाई अशान्ति दिलाउन पानि सक्षम हुन्थ्यो । सहरी कवितामा सडक साँडे पनि पर्दथे । रवरको टाएर पर्दथे, खवरको पाना भन्सारको खजाना र बानरको दाना पनि उनको कविताका विषय बन्दथे । शहरको कविता लेख्नुृ दिउसै तारा देख्नु हो भन्ने उनको अस्थायी मान्यता थियो । रोदीघर बार रेष्टुँरा मासाज केन्द्र नाङ्गा परीहरूसंगको ताण्डव नाच, खल्ती, पर्स र सुटकेशको हलाहल, मोवाइल, औंठी सिक्री, ज्याकेट, सुइटर, प्यान्ट कमिज समेत खासाखोस नाङ्गे झार पुरुष पौरखको सडक प्रर्दशन, जुलुस नारा सहितको जन्ती टोलीको सडक मार्च व्यायामले नयाँ पुराना आयाम थप्तै जाने पहेलीहरू पनि कविताका विषय बन्दथे उनका । ठमेल, झोछेतिर बढी पर्यबेच्छण गर्न रुचाउथे उनी । बुढा कुइरेहरूसंग नेपाली किशोर किशोरीहरूको जायज नाजायज सम्पर्क उनको आहारिसको विषय बन्थ्यो कहिलेचाहिँ ।
छपाउने तर्फ कविजीले कहिल्यै काँइँकुइँ गरेनन् । अरुले उनका रचना छाप्ने तर्फ उती चासो नदेखाए पनि उनी आफूले पर्याप्त देखाए । लेखनको शुरु शुरुमा गरिमा, मधुपर्क, समष्टि, मिर्मरे, रचना, अभिव्यक्ति लगाएत साहित्यिक म्यागजीनहरूमा एकाध रचना नगएका पनि होइनन् । पाठकले नपढेका पनि होइनन् । तर पछि किन हो उनी आफ्नो सुरुको कवित्व भेललाई थेग्न नसक्ने साहित्यिक पत्रपत्रिकादेखि आफै विरक्तिन थाले । उता सम्पादकहरू प्नि एकै ताल र लयको अक्षर बृन्द कविता प्रति रत्तिन छाडे । फल स्वरुप अन्त छपाई कम हुदै गयोे । पुस्तककै रुपमा मनग्गे देखिन थाले उनका कविता । कहिले बालुवाझै उड्न थाले उनका कविता । कहिले गाडा झै सडक किनार र पेटी हुदै गुड्न थाले उनका कविता । पुस्तकाकार बनेर छपाइ मसिनमा पसेपछि उनका कविता हुलका हुल भएर निस्किन थाले । शुरुका एकाध पुस्तकको प्रकाशनका लागि बाबु बराजुको छाला काम लाग्यो । पहिलो कृतिको लागि बहिना रकम नै पर्याप्त बन्यो । दोस्रो तेस्रोको लागि खेतबारीको परल मूल्य पर्याप्त बनि दियो । आफू बस्ने पुख्र्यौली झिगटी घर छाडेर बाकी जायजेथा बर्षे पिच्छे कविता कृतिहरूमा रुपान्तरित बन्दै गए । गाई गोठ र भान्सा कोठामा अटाउने गृहिणीलाई उनका कविता नै मनोरम थिए । चल अचल जायजेथा खर्चिएर किताव निस्किदा कुनै खती र क्षतिको अनुभूति थिएन । बच्चाबच्ची पनि सानै देखि कविता सुन्नमै अभ्यस्त हुदै आएकाले जान्ने बुझ्ने भइ सक्दा पनि बाबु जस्ता महान कविको विरुद्ध उत्रने कल्पना शुद्ध गरेका थिएनन् । भानुभक्त, लेखनाथ, देवकोटा, सिद्धिचरण सवै भेट्टाउथे उनीहरू आफ्ना पिताजीको काव्यकलामा । त्यसैले प्राथमिक स्कूलको मास्टरी पेशामा संलग्न अभिभावकले बाबु बराजुको थातथलो बेच्दै कवितामा किताव छपाउदै गएकोमा कुनै आनाकानी रहेन ।
यता थोर बहुत खेतबारी समाप्त भयो । उता प्रेस र कागजको भाउ संगै छपान् मूल्य बढ्दै गयो । खर्च बढ्दै जादा पनि कविताको फुराइमा भने कुनै कमी आएन । उल्टै झन झन् बढ्दै गयो । गइ नै रहयो । फल स्वरुप खर्चले गृहिणीका नाक कान घाटीमा रहेका पहेला टुक्रा टुक्रीमाथि आक्रमण गर्न पुग्यो । औलाको औठीबाट शूरु भएको गरगहना सपाइ अभियान घाँटीको सिक्री तिलहरी समेत नीलहीरा समाज कै बृद्धिको रफतार पक्रन पुग्यो । नौगेडीको माला नारीको वाला कान जर्बुटा नाकका उज्याला पदार्थ जति सुन व्यापारी बज्राचार्य बाजेका ज्यासलमा समाधिस्थ हुन पुगे । काचकुच पारेर गाल्दा वर्दा आधामोल मात्र पाइने धातुको धतुरो झार्दा पनि कविजीलाई कुनै नाइँ नास्ती र पछूतो थिएन भने कवि पत्नीलाई पनि बुच्चा नाक कान लिएर अछूतो जस्तो बन्नु पर्दा हिनताभासले हान्न सकेन । घर गाउँ छर छिमेकका पधेर्नी दिदी बहीनीका नौरङ्गी चर्चा र चुच्चो जोडाइको पर्वाहै गरिनन उनले । चित्त दुख्तै र विसेक हुदै समरो बन्दै गएको थियो भने मन कुडिदै र बेलावखत जमठ बन्दै पनि थियो । दुइचार बर्ष यसरी धानिएर सिरिखुरी समाप्त हुदा पनि लेखनले मरी गए धीमा गति लिएन । उल्टै बढ्दै गएर छपाइ खर्चले संचयकोषमाथि धावा बोली दियो ।
घर बनाउने झुटो विवरण पेश गरेर प्राप्त सापटीले एकाध बर्ष धानिए पछि फाइनान्स कम्पनीतिर कविजीका आँखा तानिएका थिए । पाउने मिल्ने जति वैध अवैध सापटी हत्याइ सकेका कविजीले दुइचार बर्ष पछि सहर छेउको सानो घर अलि मंहगोमा हुत्याएर अलि वरपर सस्तो घर जग्गा जोर्ने तर्फ पनि कवितासंगै विचरको क्षितीज विस्तार गर्दै लगेका थिए । असल बिचार कार्यान्वयन नहुने कुरै थिएन । फलस्वरुप सानोतिनो करेसाबारी दुइचार बुटा अम्वा हलुवाबेत गाइगोठ सहितको चिटिक्क परेको पुरानो पारको पक्की घर विक्री भएर न फर्किने बाटा लाग्यो । त्यसको साटो दुइतीन किलो मिटर टाढाको नयाँ बस्तीमा तीन आना जग्गामा सानो घर तयार भयो कविको वासस्थान । त्यस वर्ष कविता स्फुरण बढे जस्तै छपाइमा पनि नयाँ रफ्तार थपियो । सरस्वती पुत्रलाई लक्ष्मीले समेत पत्याएको बर्ष । झोलाभरि गाठ आइपुगेकाले पुस्तक छपाई संगै गृहिणीका रित्ईएका नाक, कान, घाटी समेत फेरि झरिभुट्ट भएर भरिए । अभाव र अप्राप्ति एकाएक उड्यो केही रहेन । दशै तिहार पनि नयाँ डिजाइनका दामी लुगा फाटोसंगै काक्राको खल्पी र साप्राको पक्कु पकापक पारेर वित्न पुग्यो ।
आफ्ना छापिएका सवै पुस्तकहरूको विक्रीकर्ता बनी दिन अनुरोध गर्दै उनी धेरै नामी प्रकाशनहरूको घर दैलो धाएथे । साझा धाउदा धाउदा तलुवा खिइएर पैतालामै धाँजा परे । खाजा खाने पैसा बस टेम्पोमै चट ! पैरवीको पयर पर्दा पर्दा नाइरोवी पुग्ने समय सकिएछ । तर केही पुस्तक विक्री गरी दिने बचन पाए पछि गौरवको आनुभवको भुत्मुतेमा विरालो बनेर ताप्न पुगेथे । सत्याल प्रकाशनमा पुगेर हत्ते हाल्दा पनि उनको किताव नलिइ दिदा झन्ने कामजरो फुटेथ्यो । पाठ्य पुस्तक बाहेक कारोवार नगर्ने आफ्नो आसय रहेको प्रकाशकले खुलस्त गरी दिएर उनको कवि कान्त कोमल हृदयमा विक्रान्तले धान्न नसक्ने चोट पारेर उनको अठोट माथि नै तुषारो खन्याइ दिएथ्यो । युनिभर्सल बुक पव्लिकेशनले पहिले त उनको अर्जि नै नसुनेर झन्नै फेन्ट गराईदियो । कवितामाथि कुरा थपेर विस्तृत विवरण बेली विस्तार गरेपटि बल्ल दुइचार पुस्तक बुझेर मन सम्म राखी दियो । यस्तै हाडेगुडी हाडेगुडी गर्दा गर्दै किताव फिजाउने फैलाउने काम बढ्दै गयो । तर जति प्रयास गर्दा पनि किताव विक्री नै भएको खवर चाहिँ रवर बनेर जति तन्किदा पनि फूलको माउरी बनेर भन्किन सकेन ।
काठमाण्डूको कुनै अत्याधुनिक प्रर्दशनी हलमा साझा प्रकाशनले पुस्तक मेलाको आयोजना गरेको थाहा पाए पछि एकदिन उनी त्यतै लागेथे । हजारौं लेखकको लाखौ पुस्तकको प्रर्दशनी साच्चिकै भव्य रहेछ । मेलाको भेलामा बालबृद्ध विधार्थी गुरु कर्मचारी ढाक्रे साराको लामो लर्को । प्रर्दशनीको भव्यता, चुस्त दुरुस्त व्यवस्थापन हेर्दै उनी घुम्दै रहे । लाम्चा टेविलमाथि विक्री गर्न राखिएका पुस्तकहरूको लामो लहरमा उनका सवैजसो पुस्तकहरू सजि सजाउ भएर बिक्रीको लागि उडु उडु झै लालायित थिए । दिन भरी नै उनी त्यतै घुमिरहे । बेद रामायण बाइवल उपन्यास कथा संग्रह यात्रा नियात्रा आदि के के जातिको किताव किन्नेहरूको भीड भइ रह्यो, त्यस दिन धेरै किताव बिक्री भए । काउन्टरमा बिक्रेताहरूले पूmसदै पाएनन् । विल काट्ता र पैसा थन्काउदैमा हत्तु भए कर्मचारी जति । तर जति पटक गएर हेर्दा पनि उनको किताव त्यस दिन एउटै विकेन । निन्याउरो मुख लिएर घर फर्किए ।
अर्को दिन त्यहि पुस्तक प्रर्दशनीमा हेर्दै जादा टेविलमाथि चाङ लगाइएका उनका कितावमध्ये एउटा घटी देखियो । विक्री भएछ कि भन्नेमा उनी आशावादी बनेर निकैबेर मख्ख परिरहे तर नियालेर हेर्दा टेविलको भित्तापटि अन्तरमा किताव झेरर उधोमुन्टो परि रहेको देखियो । उनी रित्यिएको मन लिएर यताउती लागेथे ।
राती सपनामा पनि उनी पुस्तक मेलातिरै भेला हुन गएछन् । त्यतिबेला चाहि उनले आफ्नो एउटै पुस्तक देखेनछन् । हत्तपत्त गएर काउन्टरको बिक्रेतासंग सोध्न पुगे —
”हिजो टेविलमा सजिएका मेरा पुस्तक काँहा गएछन् । एउटै छैन नि त ?”
”विक्री भए होलान सर ।”
विक्रेताको शव्द सुन्दै आश्चर्य मिश्रित खुशीयालीको बर्षाले भेलै बनेर बगाउला जस्तो भान भयो । साँच्चै उनका पुस्तक बिक्री भएकै हुन त ? पक्कै हुन् ? नभए कहाँ गाएव भए त त्यत्रौ बिधि किताव ? उनी बिक्री भएकै पक्षमा विश्वस्त भए । भावुक मनले सोच्यो— ”कस्ता उदार मनहरूले ती किताव खरिद गर्न अठोट गरे होलान ? कस्ता सदबुद्धिहरूले उनकै चाहि किताव किन्न रोजे होलान ? कस्ता दानी हातहरू विना पर्वाह नै किताव किन्नमा खुला बनेर फैलिए होलान ? कस्ता कोमल औलाहरूले ती पुस्तकहरूका पाना पल्टाई रहेछ होला ? कस्ता सहृदयी पाठकहरू किताव पढेर आनन्द सरोवरमा पौडिदै होलान ? कतिपय कालिदास, उर्वशी र शकुन्तलाका हातमा ती पुस्तक सजिदै होलान् कति रसशास्त्रीहरूले उनका पुस्तक पढेर नवरस भन्दा बेग्लै दशौं प्रकारको रसपान गर्दै होलान ? कति समालोचक समीक्षकहरूले उनका कितावमा नानारङ्गी भाव विम्व अलङ्कार देखेर मष्तिक पर्गेल्दै होलान र उनको कविताको रसस्वादन गर्दै होलान ?” सुधा कविको प्रौढ मन बैशालु बनितातर्फ मोडियो । एकैपल्ट त्यत्रोविधि किताव विक्री हुने उनले जीवनमै नसोचेको कुरा एक्कासि कसरी सफल हुन गयो ? उनी मनमनै भावुक बन्दै पाठक बृन्दको प्रशंशा खेलाउदै रहे मनभरि । खुशीयालीमा वरपर छर छिमेकलाई मिठाइ बाँडे अनि आफ्नो पुस्तक बिक्री भएको बखान छाँटे ।
सपना स्थायी थिएन । बिउँझे पछि पनि उनीभने किताव विक्री भएकोमा आधा विश्वस्त थिए र भोली पल्ट पुस्तक मेलाको पहिलो दर्शक उनै बन्न पुगेका थिए । तर त्यतिवेर घुमी घुमी जति हेर्दा पनि उनका कितावहरू त्यतिनै संख्यामा उस्तै गरी टेविलमाथि सुसज्जित देखिए । बिक्री हुन प्रतीक्षारत पुस्तकहरू उडुउडुँ गर्दै ग्राहकको अनुहार ताकी रहेका थिए । उनले बिक्रेतासंग नभनी मन थाम्न सकेनन्—
“के एउटै किताव विक्री भएन ? सपनामा मैले त सवै गएको देखेँ ।”
“गएको होइन गायव भएको चाहि देख्नु भयो होला सर ! आजसंम एक प्रति पनि नविकेको किताव भोलिदेखि प्रदर्शनी कक्षबाट हटाउने आदेश भएको छ माथिवाट ।”
विक्रेताको नराम्रो खवर सुन्दै उनी त्यहाँबाट बाहिर गएथे । तर आज पनि सपनामा भने उनका किताव लगातार बिक्री भई नै रहेका थिए । उनी खुशीयालीमा छरछिमेकका भुरा जम्मा गरेर चकलेट मिठाइ बाँडी नै रहेका थिए ।
(‘फित्कौली’ १९ औँ अङ्कबाट)
Subscribe
Login
0 Comments
Oldest








































