सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

व्यङ्ग्य निबन्ध-सङ्ग्रह ‘मदिरामन्दको घोडदौड’

निबन्धकार ‘अभय’ यस्तै सरल विषय टिपेर समाजका कुख्यात दम्भी, पाखण्डीहरूमा स्वभावको चिनारी गराउनमा सिद्धहस्त रहेका छन् ।

Nepal Telecom ad

निबन्धकार सोमराज ‘अभय’ प्रगतिवादी साहित्यका पूर्वाञ्चलका सशक्त प्रतिभा हुन् । साहित्यका विविध विधामा कलम चलाएका ‘अभय’लाई सिद्धहस्त साहित्यकार सजिलै भन्न सकिन्छ । फुटकर कवितादेखि महाकाव्यसम्म सफलतापूर्वक सिर्जना गर्ने ‘अभय’ समाजका विषयमा कलम चलाएर असल सुन्दर स्वच्छ समाजको परिकल्पना गर्दछन् । नेपाली समाजमा थिचाहा र मिचाहा, हेपाहा र घिचुवा, लुटुवा र चाटुकारहरूले शासन गरेको ऐतिहासिक सत्य हो । यो सत्य प्रकाशन गर्न असमर्थ समयको दुखेसो निबन्धकार यसरी व्यक्त गर्दछन् : “म जति लेख्न हतारिन्छु त्यति प्रकाशित गर्न हच्किन्छु !” (प्रस्तुत निबन्ध सङ्ग्रहको आमुख २०४७) ।

समयमा नै छपाएर प्रकाशनमा ल्याएको भए यी रचनाहरूको महत्व अथवा लेखकको गरिमा सगरमाथा झैं उच्च हुन्थ्यो होला, पाठकहरू, समीक्षकहरू गर्धन फुलाएर प्रशंसा गर्दथे होला र शासकहरूको मुटुमा ड्याङ्ग्रा पनि बज्दथ्यो होला । अरौटे भरौटेहरू सुराकी गरी लेखकलाई पकाउनपट्टि लाग्दथे पनि होला । जे होस् उपनाम ‘अभय’, तर प्रकाशन गर्न हच्किन्छु भन्ने वाक्यांशले शोभा नदिएको प्रतीत हुन्छ । साहित्यकार कृष्णप्रसाद अधिकारीदेखि नै जनप्रिय साहित्यकारहरूको निरङ्कुशताबाट हत्या हुँदै आएको यथार्थ तथ्यले सत्यवादी लेखकहरूलाई पिरोल्ने गर्दछ निबन्धकार ‘अभय’लाई पनि यस घटनाले पिरोलेको छ । उनी भन्छन् ः “यी भन्दा कडा र खरा कुराहरू लेखेर छपाउने विभिन्न सङ्घहरू पनि त्यसबेला नभएका होइनन् तर तिनलाई खुलामञ्चमा मैले कहिल्यै पनि देख्न पाइन ।” (ऐ.ऐ.) जनताका पक्षपाती, चेतनाका सम्वाहक, अन्याय अत्याचार शोषण, दमन, उत्पीडनका विरोधी लेखक कवि कलाकारलाई निरङ्कुश सत्ता सिकार खेल्ने गर्दछ । अत्याचारी, पाखण्डी, रक्तपीपाषुहरूको खुनी पन्जाबाट बच्न लेखकहरू रचना रच्न हतारिए पनि प्रकाशन गर्न मौका पर्खनु पर्ने बाध्यता थियो ।

शीर्षक ‘मदिरा मन्दको घोड दौड’ व्यङ्ग्यात्मक छ । शासकहरू पवित्र छैनन्, चङ्गा छैनन्, सधैं झुम्म, गंजडी झैं सधैं लठ्ठ ! शासकहरू सधैं सनकमा शासन गर्दछन् बुद्धि र विवेकमा बिर्को लागेका मदोन्मत्त शासकहरूको शासन स्वकेन्द्रित हुन्छ, जनविरोधी हुन्छ । यस्ता जनविरोधी शासकहरूको शासनको अन्त्यको लागि जनचेताको खाँचो छ । थिचिएका, हेपिएका, पाखा लगाइएका, शोषित, पीडित वर्ग सङ्गठित भई समाज परिवर्तन गर्नको लागि बिच्किएका गोलाका अरिंगाल झैँ जनताहरू आफ्ना वर्गदुस्मनलाई सजाय दिन तयार हुनु पर्नेमा यो शीर्षक राखिएको छ सार्थक पनि मान्दछु ।

साना स्कुले नानीहरूलाई निबन्ध लेख्न सिकाइने शीर्षक भै सरल लाग्ने, तर सरलतामित्रको विषयको गाम्भीर्यतालाई कम्ती आँक्न सकिन्न । साहित्य सरल हुनुपर्छ, पाठकको स्तर अनुरूपको हुनुपर्छ, पाठकले बुझुन् र व्यवहारमा उतारुन्, बोलाइ र गराइमा विभिन्नता आएकाले नै समाजले यो समस्या झेल्नु परेको जस्तो भाव निबन्धमा पाइन्छन् ।

यो निबन्ध सङ्ग्रहमा चौधओटा मानवेतर पशुपंक्षीहरूको शीर्षकमा रचिएका निबन्धहरू छन् । लेखकको भनाइमा ‘सच्चा भाव प्रकाशन निबन्धवाट मात्र सम्भव हुने भएकाले गुम्सिएका मनका उकुसमुकुस भावनाहरू यहां व्यक्त भएका छन् । उकुसमुकुस भएका अत्याचार दुराचार पापाचारका अनगन्ती, बग्रेल्ती कथात्मक व्यथाहरू प्रभुका फट्याङ्ग्रे शीर्षकमा दिएका छन् । शासकका सहयोगी हुक्केहरू, बैठकेहरू, सोझा साझा अशिक्षित नेपाली जनताहरूलाई, जनताका लेखकहरूलाई, जनताका वैचारिक शिक्षकहरूलाई दुःख दिइरहेका छन्, यातना दिँदै छन्, नेल र हत्कडी लगाएर गोलघरमा जकडिरहेका छन्, यस्ता कुरा लेख्ने र प्रकाशन गर्ने साँचो हिम्मतको कवि लेखकलाई छैन । घुमाउरो शैलीमा प्रतीकात्मक अभिव्यक्ति, अन्यार्थ दिने गरी लेख्नु निबन्धकारको खास वैशिष्ट्य देखिन्छ ।

नेपाली जनता घोडा हुन्, आफ्नो विवेकले आफ्नै चालले आफ्नै गन्तव्यतर्क चाल्न सक्तैनन् । मालिकलाई दिएको पिठ्यूँमा बोकेर उसके हातमा रहेको कोर्राको चाबुक खाँदै उसकै गन्तव्यमा हिंड्नु पर्ने वाध्यता छ । यही बाध्यतालाई तोड्न निरङ्कुश तानासाही शासनको अन्त हुनु हो, यो दौड घोडाले नै पूणर् गर्न सक्दछ, ऊ नै यस्तो धावक हो, जो स्वतन्त्र गन्तव्यमा पुगेरै छोड्छ निबन्धकारको स्पष्टोक्ति छ

शीर्षक सामान्य लाग्छ ‘गधा’ । गधा र मान्छेमा के पृथकता छ ? दुबैले बोक्ने भारी भारी नै हो । निरिह मान्छेलाई दिने उपाधि पनि गधा नै छ सरल अबोध, अज्ञानी, विपन्न दुःखी, असहाय, हेपिएकालाई गधा, नामे, पाजी जे भने पनि सहिदिन्छ । असल इमान्दारका सुदिन आउने कुरामा निबन्धकार विश्वस्त छैनन् आफू मान्छे भई जन्मेकोमा गुनासो छ, मान्छेमा मानवता छैन, नमान्छे हुनुभन्दा गधा हुनुमा राम्रो भन्ने खरो व्यङ्ग्य छ यो निबन्धमा ।

’सिंह’ निबन्ध निबन्धकारको प्रखर प्रहारात्मक रचना हो । ‘सिंह’ खुनी निर्दलीय शासक हो, यो निरिह प्रजाहरूको रगतले होली खेल्दछ । यसले सङ्गठनलाई दललाई स्वीकार्दैन, लखेटेर एक्ल्याएर सिकार गर्दछ । मान्छेको कानुन यसलाई सह्य हुँदैन, जङ्गली कानुन (खुनी शासन) प्रिय ठान्छ । खरायाहरू सङ्गठित भए भने सिंहलाई पक्रेर खोरमा थुन्न सक्तछन् । गङ्गालालहरूलाई मारेर सारा जनतालाई तर्साए पनि प्रजातन्त्र आयो, शासक सिंहहरू पटकपटक हारेको इतिहास छ । स्वार्थी समाज, स्वार्थी चिन्तन जस्त प्रवृत्तिको अन्त नभएसम्म सिंहको जङ्गली कानुन हावी भइरहने निबन्धकारले गरेका छन् ।

‘कुकुर’ अर्को बलियो निबन्ध हो यो निबन्धले व्यङ्ग्यात्मक रूपम कुकुरको स्वभावको विवेचना गरेको छ । यो स्वामी भक्त हो, जो चाकरी गर्नम माहिर हुन्छ यसमा बिछट्टको घ्राणशक्ति हुन्छ मान्छेको असल मित्र मान हुन सक्तैन, सच्चा मित्र कुकुर नै हो । कुनै मान्छेले गाली गर्दा कुकुर शब्द प्रयोग गर्यो भने त्यो झन् खिच्चा कुकुर हो भन्ने ठान्नु पर्छ- निबन्धकारका भनाइमा ।

कुखुराको बिहानी डाकसँगै मान्छेको निद्रा खुल्छ, सूर्यका सुनौला किरण पूर्वमा रातको निरङ्कुशता चिर्दै व्योममा देखा पर्दछ- जागृतिको सन्देश दिने व्युझाउने, जगाउने, उठाउने, उज्यालोको सङ्केत गर्दै सचेत गुरुको भोज भोजन गर्ने, हिंस्रक मान्छेलाई जति गाली गरे पनि कम हुन्छ भाले नेतृत्व हो क्रान्तिको संवाहक हो, चेतनाको राँको बोक्ने नेता हो जुन कवाफ भएर भुङ्ग्रोमा पाकिरहेका छन् ।

‘ढाडे बिरालो’ यो बैगुनी जानवर हो । असङ्ख्य अवगुणहरू यसमा विद्यमान छन्, केही गुण नभएका होइनन् । यसका सामाजिक अनेकौँ नामहरू छन् । तर जसको पछि लाग्न एक्काइसौं शताब्दीमा सान्दर्भिक देखिन्न । यसमा प्रखर व्यङ्ग्य छ, साना नानीहरूका निम्ति जगेर्ना गरेको दुःख यसको प्रिय खाना बन्दछ आफ्नै छाउरा समेत खाने ’ढाडे बिरालो’ ले के नै पो बांकी राखर यो क्रुरताको प्रतीक हो । निबन्धकार ‘अभय’ यस्तै सरल विषय टिपेर समाजका कुख्यात दम्भी, पाखण्डीहरूमा स्वभावको चिनारी गराउनमा सिद्धहस्त रहेका छन् ।

‘अभय’ का अन्य शीर्षकहरूमा मुसो, गाई, सुँगुर, गिद्ध, सुगा, मौरी, गोरु, अरिंगालहरू समेटिएका छन् । सबै शीर्षकका विषयहरू उत्तिकै पठनीय र विवेच छन् । यो समाज टाठाबाठाले दुःखी गरिब निमुखालाई कज्याएर उनीहरूको धम र पसिनामा मस्ती गरेका छन् सुरा र सुन्दरीमा रमाएका छन् । अन्याय अत्याचारमा रमाउनेहरू सामाजिक गिद्ध हुन्, ढाडे विराला हुन्, सुंगुरहरू हुन् यिनीहरू मिठो मानवीय भाषा वोल्ने सुगालाई कैद गरिरहन्छन् । जब अरिंगाल बिच्कन्छन् अनि मात्र यिनीहरू ठेगान लाग्दछन् । यस्तै जोसिला व्यङ्ग्यात्मक प्रतीकात्मक अभिव्यक्ति दिनु ‘अभय’का निबन्धगत प्रमुख विशेषता रहेको छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad