प्रा. कपिल अज्ञातहास्य र व्यङ्ग्यपूर्ण साहित्य पढ्नु छ भने ‘खाइराइड’ खाेज्नुस्
राजनैतिक दशा, सामाजिक समस्याहरू, मानवतावादी विचार, रोचक घटनाहरू र व्यक्तिगत अनुभवहरूको हास्य र व्यङ्ग्यपूर्ण वर्णन गरिएको छ । यसले पाठकहरूलाई हाँसोसँगै जीवनका गहिरा पक्षहरूमाथि सोच्ने नजरिया प्रस्तुत गरेको छ ।

सत्कृत पोख्रेल :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिरहेका छाैँ । – सम्पादक
राजेन्द्र कार्कीको जन्म भोजपुर दावामा भएको हो । निबन्ध लेखनमा दखल राख्ने कार्की परदेशमा बसेर पनि नेपाली भाषा, साहित्यमा कलम चलाउँदै आउनु भएको छ । राजेन्द्र कार्कीले लेखेको ‘खाइराइड’ नामक निबन्ध सङ्ग्रह अत्यन्त हास्यपूर्ण र रम्य छ । यो किताब फित्कौली अनलाइन मिडियाद्वारा वि.सं २०८० भदौमा पहिलो पटक अनि २०८१ असारमा दोस्रो पटक प्रकाशन भएको थियो ।
खाइराइड किताबभित्र धेरै उपविषयहरू छन् र हरेक उपविषयमा लेखकले देश होस् या परदेशका सन्दर्भहरूलाई व्यङ्ग्य हान्दै आएका छन् ।
धेरै उपविषयहरूमा पनि पहिलो रहेको छ ‘कुकुरको भाग्य’ । लेखकले यो विषयमा नेपालमा भएको कुकुर र बाहिर विदेशमा बस्ने कुकुर बिच तुलना गरेर लेखेका छन् । नेपालमा धेरै कुकुरहरू बाटोमा सुत्ने गर्दछन् र यही क्रममा धेरै कुकुरहरूलाई गाडीले हान्ने जस्तो कार्यले धेरै कुकुरहरूको ज्यान पनि गएको छ र यही कुरा तुलना गरेर लेखकले व्यङ्ग्यसहित प्रस्तुत गरेका छन् । बाहिरका कुकुरलाई नेपालको कुकुरसँग मात्र नभएर नेपाली जनता सँगै पनि तुलना गरिएको छ: “जब मैले देश विदेशमा कुकुरको भाग्य देखेँ, तब मान्छेको भाग्य होइन रहेछ, भाग्य त कुकुरको पो रहेछ भन्ने थाहा पाएँ । युरोप अमेरिकाका कुकुर आलिसान घर, बङ्गला र टावरमा विराजमान हुन्छन्।” यसरी नै लेखकले कुकुरको भाग्यलाई नेपाली समाजसँग तुलना गर्दै रसिलाे व्यङ्ग्या गरेको पाइन्छ।
“मान्छेले कति मासु खान्छ भन्ने सबैलाई थाहा छ । घरमा खान्छ । पार्टीमा खान्छ । होटेलमा खान्छ। सुखमा खान्छ। दुःखमा खान्छ। भट्टीमा खान्छ। लठ्ठीमा सुकुटी लाएर खान्छ। कुनै जीव जन्तु बाँकी नराखी खान्छ। फेरि त्यही मान्छे गिद्धलाई धेरै मासु खाने ठान्छ र गाली गर्छ- “ गिद्ध र गिद्धे ।”
यो अंश ‘खाइराइड’ किताबकै उपविषय ‘जनावरलाई गाली किन ?’ शीर्षकबाट लिइएको हो। यो अंशले मानिसहरूले विभिन्न परिस्थितिमा जनावरको नाम प्रयोग गरेर वा गाली गरेर आफ्नो निराशा वा रिस व्यक्त गर्ने प्रवृत्तिलाई हास्यपूर्ण रूपमा चित्रण गरेकाे छ। यसले मानव व्यवहारको हास्यपूर्ण पक्षलाई प्रस्तुत गर्दछ। यस सन्दर्भमा जनावरको नाम र गालीको प्रयोगले विभिन्न परिदृश्यहरूमा मानव अन्तरक्रिया र प्रतिक्रियाहरूको चित्रणमा व्यङ्ग्यात्मक स्पर्श थप्छ । लेखकले गाली दिँदा पनि विभेद छ भन्दै व्यङ्ग्य हानेको पाइन्छ: स्याल मोरो भन्छन् तर स्याल मोरी भन्दैनन् । लेखकले यो शीर्षकमा ललिता निवास जस्ता ऐतिहासिक जग्गा भ्रष्टाचार गर्न के के गर्छन् : नकली मोही खाडा गरेर अख्तियारलाई घुस खुवाएर आदि जस्ता सबै क्रियाकलापहरूको वर्णन गरेका छन् ।
अर्को रहेको छ ‘त्यो नेपाली होइन’, यो शीर्षकमा लेखकले नेपाली जनताको बानी व्यवहारलाई देखाएका छन् र यदि त्यो मानिसले त्यस्तो व्यवहार देखाएन भने त्यो नेपाली होइन भनेर भनेका छन् । नेपालीहरूको बानी सबैलाई थाहा छ र लेखकले उदाहरणसहित भनेका छन् : “यदि दुईजना मानिस भेट्ने बित्तिकै राजनीतिको कुरा गरेन। देशमा नेतै भएनन् भनेन । बिहे, व्रतबन्ध, भोज र भतेरमा देश डुब्यो, नेताले डुबाए भनेन भने त्यो नेपाली होइन ।” यसरी लेखकले उदाहरणसहित, व्यङ्ग्यात्मक रुपमा देशको स्थिति र राजनीतिक आवस्थामाथि व्यङ्ग्यात्मक दृष्टि लगाएका छन् ।
त्यसैगरी लेखकले एउटा रोग, थाइरइड भयो भने नेपालीहरू (त्यसमा पनि नेताहरूलाई) लाग्ने रोग भनेर छुट्टै एउटा रोग भनेर उल्लेख छन् : ‘खाइराइड’ । यो रोग सुन्दै खेरी अचम्म लाग्ने रोग हो । धेरै नेपालीहरूले नेताहरूको नाम आउनेबित्तिकै अनुमान लाउन सकिने रोग हो । लेखकले खाइराइड रोग थाइरइड रोगभन्दा खतरनाक रोग हो भनेर भनेका छन् । थाइराइड एक व्यक्तिमा सीमित हुन्थ्यो भने खाइराइड भने एकबाट अर्को हुँदै पुरै समाज, राष्ट्रमै फैलिन्छ । लेखकले येही खाइराइड रोगलाई देश र जनतासँग तुलना गरेर वर्णन गरेका छन्। नेपालमा वन जङ्गल विनाश हुनु, देशमा भ्रष्टाचार हुनु, आदि सबै खाइराइड रोगको असर हाे भनेका छन् । उनको यो काल्पनिक रोगले देशमा भइरहेको हरेक कुप्रथा, नराम्रो कामलाई हास्यपूर्ण र व्यङ्ग्यात्मक रुपमा वर्णन गर्नु उनको अलग क्षमता हो ।
विभिन्न सामाजिक सञ्जालमा घट्ने घटनालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्नका लागि लेखकले ‘मृत्यु विज्ञापन’ नामक शीर्षकमा केही लेखेका छन् । अहिलेको समयमा हरेक मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्छन् र कहिँ घुम्न गए पनि केही खाए पनि सामाजिक सञ्जालमा हाल्ने चलन छ । सामाजिक सञ्जालबाट साथी बनाउने र एक अर्काको फोटो कि भिडियोमा लाइक, कमेन्ट गर्ने चलन छ । यही कुरालाइ व्यङ्ग्य गरेर लेखकले लेखेका छन् । एउटा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्दा नबुजेर अरु नै केही कमेन्ट गरेको सन्दर्भ उठाएका छन् । पढ्न नजान्ने अनि केही लेखेको केही पोस्ट गरेमा नबुजी लाइक हान्ने र दुःखी हुने बेलामा खुसी हुँदै हाहा मुख भएको इमोजी पठाउने भनेर हाँसाे गरेका छन् । सामाजिक सञ्जाल कतिसम्म प्रयोग हुन्छ भने कसैको मृत्यु भएको छ भने पनि पहिले सामाजिक सञ्जालमा पोस्ट जान्छ अनि अरु कुरा सुरु हुन्छ। कसैको मृत्यु, कसैको हत्या, कसैको दुर्घटना सबै सामाजिक सञ्जालबाटै थाहा हुन्छ तर कहिले कतिसम्म पनि हुन्छ भन्दा नमरेको मान्छेलाई पनि जथाभावी फोटो हालेर मृत्यु घोषणा गरेको पाइन्छ ।
“गाउँ गाउँबाट लुट, बस्ती बस्तीबाट लुट यो देश लुट ।” राजेन्द्र कार्कीले आफ्नो किताबमा धेरै भाव र रमाइलोका लागि कि त आफैले केही कविता जस्तो हालेर, कुनै गीतलाई आफ्नो भाषामा प्याराेडी बनाएर र वा कुनै अरु कविको कविताको प्रयोग गरेर मिठास थपेका छन् । कार्कीले हामीले बच्चादेखि सुनी आएको गीत “गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देश बनाउन उठ” लाई उनले नेता र भष्ट्राचारीहरूको काे भ्रष्ट मनाेवृत्तिमाथि व्ङ्ग्य हान्दै “गाउँ गाउँबाट लुट, बस्ती बस्तीबाट लुट यो देश लुट” भनेर लेखेका छन् ।
खेमराज पोख्रेलले पनि राजेन्द्र कार्कीको लेखनीमा केही खास विशेषता पाइन्छ भनेर भनेका छन् । त्यसैगरी अन्य धेरैले पनि भनेका छन् । कार्कीले लेखेकाे यो किताब धेरै नेपाली समाजमा घटेका कुरा बारेमा छ र नेपालीबाहेक अरु बाहिरका मानिसहरूले बुझ्न गाह्राे हुन्छ । यदि तपाईंलाई समाजका गहिरा समस्याहरूलाई अध्ययन गर्न हास्य र व्यङ्ग्यपूर्ण साहित्य पढ्नु छ भने खाइराइड गतिलाे खुराक हुन सक्छ । यसले पाठकलाई हाँसो र विचारमा एकसाथ पुर्याउँछ र नेपाली साहित्यमा व्यङ्ग्य र हास्यको विशेष स्थान स्थापित गर्दछ ।
अन्त्यमा भन्नुपर्दा, ‘खाइराइड’ निबन्ध सङ्ग्रहमा विभिन्न विषयहरूमाथि हास्यपूर्ण र व्यङ्ग्य रुपमा लेखिएका निबन्धहरू सङ्ग्रहित छन् । यस सङ्ग्रहमा राजेन्द्र कार्कीले जीवनकै विभिन्न पहलुहरू, सामाजिक समस्याहरू, र राजनीतिक घटनाहरूलाई हास्यपूर्ण ढङ्गले व्यक्त गरेका छन् । यसमा विविध विषयहरूमा हास्य र व्यङ्ग्य शैली अपनाएर लेखिएका निबन्धहरू सङ्ग्रहित छन् । राजेन्द्र कार्कीले यस सङ्ग्रहमा रमाइलाे लेखनका माध्यमबाट गम्भीर विषय प्रस्तुत गरेका छन् । निबन्धहरूमा विभिन्न विषयहरू जस्तै देशकाे राजनैतिक दशा, सामाजिक समस्याहरू, मानवतावादी विचार, रोचक घटनाहरू र व्यक्तिगत अनुभवहरूको हास्य र व्यङ्ग्यपूर्ण वर्णन गरिएको छ । यसले पाठकहरूलाई हाँसोसँगै जीवनका गहिरा पक्षहरूमाथि सोच्ने नजरिया प्रस्तुत गरेको छ ।
०००
कक्षा १० ‘माछापुच्छ्रे’
डियरवाक सिफल स्कुल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest



































