साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हप्ताको फित्कौली वार्ता हास्यव्यङ्ग्यकार चट्याङ मास्टरसँग

हास्यव्यङ्ग्यसँग खेल्दाको कुरै बेग्लै । पहिला आफूले लेख्दा आफैलाई मजा, अरुले पढ्दा पढ्नेलाई मजा अनि पढ्नेले मजा लिएको देखेर आफूलाई झन् दोब्बर मजा !! — चट्याङ मास्टर

Nepal Telecom ad

कृषिविज्ञ, जेरियाट्रिक अर्थात पाका मानिसको संरक्षणका लागि प्रमुख अभियन्ता कृष्णमुरारि गौतम नेपाली हास्यव्यङ्ग्यमा चट्याङ मास्टरका नामले सुपरिचित हुनुहुन्छ । २०३५ सालदेखि हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउनु हुने चट्याङका आधा दर्जन हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । सिस्नुपानी नेपालले अहिले जुन ख्याति प्राप्त गरेको छ, यसका संस्थापक अध्यक्ष चट्याङ मास्टरको योगदान अविस्मरणीय रहेको छ र उहाँ यसको संस्थापक अध्यक्ष हुनुहुन्छ । ‘साप्ताहिक विमर्श’ मा उहाँका हास्यव्यङ्ग्य रचना प्रकाशित हुन थालेपछि यसका सम्पादक तथा विख्यात हास्यव्यङ्ग्यकार केशवराज पिँडालीले आफनो स्तम्भ ‘यथाचित’मा ‘इच्छापत्र’ लेख्दै- मैले हास्यव्यङ्ग्य लेख्ने गरेको मेरो कलम चाहिँ चट्याङ मास्टरलाई दिइयोस् भनेका थिए । यसलाई उहाँले ठूलो सम्मान र प्रेरणाका रूपमा ग्रहण गरेको बताउनु हुन्छ ।

जे काममा लाग्यो, लागेपछि लागेको लाग्यै, खनिएर लाग्ने चट्याङ मास्टरको विशेषता हो । लेखनमा मात्र हैन बोली-व्यवहारमा समेत ठट्टा-ठट्यौलीमा रम्न रमाउन खोज्ने उहाँको स्वभावका कारण बोलीव्यङ्ग्यले नै कतिपयलाई ठाउँको ठाउँ खुत्रुक्क पार्ने गरेको छ । उहाँ भैरव स्मृति सम्मान, भैरव प्रतिभा पुरस्कार र ०७३ सालकाे भैरव पुरस्कारबाट  सम्मानित हास्यव्यङ्ग्यकार हुनुहुन्छ । फित्कौली अनलाइनका सल्लाहकार समेत रहनुभएका चट्याङ मास्टरसँग उहाँको हास्यव्यङ्ग्यकारितामा केन्द्रित हुँदै कुराकानी गरेका छौँ । यो हप्ता प्रस्तुत छ चट्याङ मास्टरसँग फित्कौली वार्ता ।

दिनचर्या कसरी बित्दै छ हँ ?
०० दिनचर्याले मलाई बिताउँदै छ. उसलाई जसरी मनलाग्छ त्यसैगरी मलाई बिताइदिन्छ । दिनचर्याले कहिले यता जा कहिले उता जा, कहिले सुतिराख, कहिले यो लेख, कहिले पढ मात्रै आदि इत्यादि भनिरहन्छ अनि म चै आज्ञाकारी भएर मानिरहेछु । आज दिनचर्याले यो लेख भन्यो अहिले लेख्दै छु । दिनचर्या मेरो मालिक भएको छ र म चैं उसको आज्ञाकारी सेवक । जय दिनचर्या भन्छु अनि दिनचर्याको आज्ञा शिरोपर गरिरहन्छु । ऊ दिनदिनै मलाई बिताउँछ, म दिनदिनै बितिरहेछु ।

चट्याङ मास्टरको विचारमा हास्यव्यङ्ग्य के हो ?
०० भुँडीमा काउकुति, मुखमा हाँसो, गालामा चड्कन र गिदीमा सिस्नुपानी लगाउने फित्कौलीको नाम नै हास्यव्यङ्ग्य हो ।

हास्यव्यङ्ग्य लेखनमा कसरी प्रवेश गर्नु भयो ?
०० गम्भीररुपमा सलल बगेको खोलामा पौडदा पौडदै अचानक हास्यव्यङ्ग्यको भुमरीले तानेर पिंधमै पुग्नेगरी मलाई डुबाएको हो, म जानाजान भुमरीमा प्रवेश गरेको होइन ।

स्कुले जीवनमा पनि हास्यव्यङ्ग्य कविता निबन्ध लेख्नुभएको थियो कि ?
०० मेरो स्कुले जीवनमा, ‘ए प्लस बि होल स्क्वायर’, जस्ता बिजगणित र ज्यामितिका फर्मुला मलाई घोक्न लगाएर मैमाथि शिक्षकले हास्यव्यङ्ग्य गरे, मैले हास्यव्यङ्ग्य लेख्नै परेन । हास्यव्यङ्ग्य भोग्दै फुर्सद भएन । मेरो जीवनमा कहिल्यै कतै काम नलाग्ने ती फर्मुलाहरू किन घोकेको, किन घोकाएको र कहाँ काम लाग्छन् भन्ने पत्तो लगाउन खोज्दाखोज्दै कपाल झरे, दाह्री जुँगा फुले तर ती फर्मुला प्रयोग गरेर जीवन सरल बनाउने अवसर आजसम्म फेला परेका छैनन्, तर प्रयास जारि छ । यसरी स्कुले जीवनमा हास्यव्यङ्ग्य भोग्दैको फजितिले गर्दा आफूले हास्यव्यङ्ग्य लेख्नै पाइएन ।

तपाइँको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, त्यो केमा कहिले छापियो ?
०० सम्बत २०३५ ताका श्री किशोर नेपालद्वारा सम्पादित साप्ताहिक विमर्श नामको पत्रिकामा मेरो पहिलो हास्यव्यङ्ग्य गध्य रचना छापिएको थियो । त्यसको लगत्तै भटाभट ग्यालग्यालती यति धेरै पत्रिकामा नयाँ नयाँ लेख छापिन थाले कि पहिलो लेखको शीर्षक पनि अहिलेका धेरैजसो नेतालाई अहिलेकै राष्ट्रगान नआउने जस्तो भैहाल्यो नि !

तपाइँ पेशाले कृषिविज्ञ । एकजना कृषिविज्ञ व्यक्तित्व हास्यव्यङ्ग्यमा रमाउने परिस्थिति कसरी निर्माण भयो ?
०० म दुबै विषयमा उत्तिकै रमाउँछु । फरक कत्ति भने कृषि विज्ञको काम गरेर पैसा कमाउँछु भने हास्यव्यङ्ग्य लेखेर पाठकको माया कमाउँछु ।

कृषिविद्कै रुपमा जागिरे पनि हुनुहुन्थ्यो, जागिर छोड्नमा हास्यव्यङ्ग्य लेखनको पनि सम्बन्ध छ ?
०० मैले धेरै देशका सरकारको लागि काम गरेँ तर कुनै देशका कुनै सरकारको ‘जागिरे’ भईन । खाँदै नखाएको जागिर छोड्ने कुरै भएन । सरकारी जागिर खानुलाई ‘राजाको सिन्दुर’ हालेको पनि भन्छन् । त्यस अर्थमा मेरो सिउँदो अझै खालि छ । कहिले यो राष्ट्रिय र कहिले अन्तर्राष्ट्रिय संस्थासँग आइ लभ यु, आइ लभ यु भन्दैमा कपाल फुले तर सिउँदो अझै खालि छ । सरकारको सिन्दुर हालेको भए यो उमेरमा पेन्सन पाइन्थ्यो, त्यो नहालेको भएर अहिले बेला बेला टेन्सन पाउँछु । विभिन्न देशमा विभिन्न संस्थाको लागि काम गर्दा नयाँनयाँ अनुभूतिहरू भए जसले मलाई हास्यव्यङ्ग्य प़mलाउन फुलाउन सजिलो बनायो ।

केही केही वर्ष यता तपाइँ जेष्ठ नागरिकको क्षेत्र क्रियाशील हुनुहुन्छ । गर्नचाहिँ के के गर्दै हुनुहुन्छ ?
०० नेपालमा ६० वर्षको जीवन पूरा गरेकालाई ज्येष्ठ नागरिक भन्दा रैछन् र अरु विकशित देशमा ६५ वर्षको जीवन पूरा गरेकालाई । मेरो जीवनले दुइटै नेटो काटिसकेकोले म आफ्नै उमेर समुहका मानिसबारे चिन्तन मन्थन गर्न थालेको पनि एक दशक नाघे छ । सबै पाका मानिस (ज्येष्ठ नागरिक) को जीवनलाई सुरक्षित, मर्यादित र स्वस्थ बनाउने रहर बोकेर ‘एजिङ्ग नेपाल’ नामको संस्था खोलेर घुँडा धस्या धस्यै छु । त्यो मेरो मिहिनेतले मलाई अन्तर्राष्ट्रिय पुरस्कार त दिलायो तर अरु पाकालाई के के दिलायो त्यो खोजि नीतिकै विषय भएको छ । यत्ति चै पक्कै हो कि अहिलेका पाका मानिसको भन्दा अब हुने पाका मानिसको जीवन बढि सुरक्षित, मर्यादित र देशको लागि उपयोगी हुँदै जाने वातावरण बनाउन राम्रै बलियो जग हालिएको छ ।

जागिर, स्वतन्त्र रुपमा सामाजिक सेवा र हास्यव्यङ्ग्य लेखन कुनमा बढी मजा ?
०० सरकारी जागिर नखाएकोले स्वादै थाहा भएन । स्वन्त्ररुपमा सामाजिक सेवा गर्दा जत्तिको मजा त अरु केहि गर्दा आउँदैन भन्नेमा म विश्वस्त छु । हास्यव्यङ्ग्यसँग खेल्दाको कुरै बेग्लै । पहिला आफूले लेख्दा आफैलाई मजा, अरुले पढ्दा पढ्नेलाई मजा अनि पढ्नेले मजा लिएको देखेर आफूलाई झन् दोब्बर मजा ।

स्थापनाकालदेखि सिस्नुपानी नेपालको नेतृत्वमा हुनुहुन्थ्यो, त्यो संस्था छोड्नु भएको हो र ?
०० सिस्नु पानि संस्था मलाई आफ्नु सन्तान जत्तिकै प्यारो लाग्छ । सन्तानको माया जोड्दा जोडिने र नजोड्दा नजोडिने हुने होइन रहेछ ।

तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्‍याउने मुख्य धरातल चाहिँ कुन हो ?
०० धरा तल त थाहा भएन, धरा माथिको समाजले भने मलाई डोर्याएकै हो र डोर्याउँदै छ ।

घरपरिवारमा ठाकठुक पर्दा पनि व्यङ्ग्य वार्ता हुने गरेको छ कि ?
०० ठाकठुक हुने भनेको घरमा किलाकाँटा ठोक्दा मात्रै हो । अरुबेला त घरमा भित्र्याइएकीले उसको माइति नै पनि भित्र्याउन खोजेर (ज्वाइँको कमाइमा ससुरालीको रजाईं) चरितार्थ गर्न थालेपछि हास्यव्यङ्ग्यले मात्र के पुग्थ्यो ?

नेपाली हास्यव्यङ्ग्य लेखनको अबको बजार कस्तो देख्नुहुन्छ ?
०० भविष्य सधै उज्यालो ।

हामीकहाँ प्रदान गरिँदै आएका पुरस्कारहरूबारे तपाइँको धारणा ?
०० जहाँसम्म पुरस्कारको सवाल छ, पुरस्कारले पुर्ने संस्कार कुहिएर नगन्हाएसम्म राम्रै हो ।

तपाइँ हास्यव्यङ्ग्य रचना नै किन लेख्नुहुन्छ ?
०० त्यसैमा त छ मजा, यसले दिने मज्जा अरु कसले दिन सक्छ र ?

हास्यव्यङ्ग्य लेखेर के के पाउनु भयो, के के गुमाउनु भयो ?
०० हास्यव्यङ्ग्य लेख्ने र पढ्नेले कहिल्यै केहि गुमाउँदैन, मात्रै कमाउँछ । सके पैसा र पाठक या दर्शकको माया दुवै कमाउँछ नसके पाठकको माया त कतै नजा ।

फित्कौली डटकमको सल्लाहकार पनि हुनुहुन्छ, के कस्ता सल्लाह दिनुहुन्छ ?
०० कट्टुभित्र र सिंहदरबार भित्रका कुरालाई मात्र हास्यव्यङ्ग्यमा ल्याउनु हुँदैन ।

त्यस्ता कुरा फित्कौलीले ल्याइरहे जस्तो लाग्छ कि ?
०० अहिलेसम्म त्यस्तो गरे जस्तो लागेको छैन र भविष्यमा पनि नगरोस् भन्ने मेरो आग्रह अभिव्यक्त गरेको मात्रै हो ।

फित्कौलीले यो चाहिँ कुरो सोधिदिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
०० फित्कौलीले सञ्चै हुनुहुन्छ भनेर सोधेको भए सञ्चै छु भन्दा क्या मज्जा आउँथ्यो ।

०००
प्रस्तुति :: फित्कौली डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x