सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुगन्धपुरको आची पुराण

वर्षौैं वर्षदेखि राजधानीवासीले मफतमा ग्रहण गर्दै आएको यो अर्गानिक सुगन्धलाई निस्तेज पार्ने, थान्को लगाउने वा निषिद्ध गर्ने दुस्प्रयत्न कहीँ कतैबाट पनि नहोस् ।

Nepal Telecom ad

सालाखाला करिव पैँतिस लाख मानिसले बसोबास गरिरहेको देशकै राजधानी काठमाडौं अहिले सुगन्धपुरमा परिणत भएको छ । यो देशवासीकै लागि कम गौरवको कुरा होइन । राजधानीलाई छाडेर मुलुकको अर्को कुनै भूभाग यति बिघ्न सुगन्धित छैन । यहाँको यो सुगन्ध यति कडा बन्दै गएको छ कि अब करोडौंमा आयात हुँदै गरेको विदेशी अत्तर याने कि ‘सेन्ट’ पनि फिका फिका भएको छ । सुगन्ध होस् त यस्तो ! हाम्रो आफ्नै भान्सा, घरआँगन र सडक पेटीको विशुद्ध अर्गानिक उब्जनी हो यो । हाम्रो आफ्नै संस्कृति र सभ्यताको निसानी हो यो । यहाँका चोक, गल्ली र सडक किनारा ढाकेर सानसँग महकाइरहेको छ यो । संसारको अर्को कुनै शहरमा सुँघ्न पाइन्छ यस्तो सुगन्ध ?

हुनलाई यो आची हो तर यसलाई आची भनेर अपमानित कसैले नगरौँ, फोहर भनेर कसैले नदुत्कारौँ । हाम्रो मौलिकता, हाम्रो सभ्यता, हाम्रो संस्कार, हाम्रो विकास र समृद्धि यही सुगन्धलाई सिरानी हालेर सुतिरहेको छ । भो नउठाऔ, विदेशी कन्टेनरमा ंहालेर व्यर्थै बञ्चरे डाँडातिर नपठाऔँ । एक दिनमात्र सुँघ्न पाइएन भने हामी राजधानीबासीका नाकाको फोन्द्रा चिल्चिलाउन थाल्छ, जिउ सकसकाउन थाल्छ, मनस्थिति अलि खलबलिने गर्छ । के गरौँ कसो गरौँ हुन्छ । यो अमृतमय सुगन्धसँग एकदिन मात्र घुलमिल हुन पाएन भने कतिलाई त आँठअठिँगर दुखेर हनहनी ज्वरो आउँछ ।

सर्लक्कै राजधानी पुरिएको यो आचीमय सुगन्धले धेरै पहिलेदेखि राजनीतिलाई समेत प्रभावित प्रभावित पार्दै आएको हो । पञ्चायतकालिन राजधानीको कुरा भो अब नगरौँ । प्रजातन्त्र र लोकतन्त्रकालिन राजधानीको के कुरा कथुर्नु र ? प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा हामी गनाउन थालेकै पनि दशक नाघिसक्यो । गणतन्त्रले जति जति उमेर खाँदो छ, राजधानीको यो सुगन्ध उति बाक्लिदै जाँदो छ । उति खाँदिदै जाँदो छ, उति बाँधिद जाँदो छ । गणतन्त्रको गन्धलाई राजधानीको यो सुगन्धले मज्जैसँग उछिन्दो छ । हैन, यो गणतन्त्र र आचीमय सुगन्धका बीच कस्तो सुन्दर प्रेम ! हामी सबैले कामना गरौँ- यिनीहरूको यो सुसम्बन्ध हजार वर्ष पन्पिरहोस् । यिनीहरूको यो अपूर्व ‘लभ’ले तथाकथित ‘ट्रेजेडी’को दुर्घना कहिल्यै बेहोर्नु नपरोस् !!

चट्याङ मास्टर नामका एकजना खुराफाती कवि छन् । राजधानीकै रैथाने यी कविले आजभन्दा २३ वर्षअघि २०५६ सालमै एउटा कविता लेखेर राजधानीको यो सुगन्ध श्रोतको प्रशंसागान गरेका थिए । त्यो बेलै काव्यगोष्ठीहरूमा उनले सुनाएका त्यस कविताका केही फाँकीमय झाँकीहरू यो लखरठ्याकका कानमा अहिलेसम्म गुन्जिरहेका छन्-
‘विदेशी महंगा ट्रकमा चढेर गुड्ने आची
पजेरोको मुनि आई, हावामा उड्ने आची
पवित्र वाग्मतीभित्र, नुहाई चोखिने आची
धाराको टुटी खोल्दा, लतत्त पोखिने आची
वाह आची ! क्या आची !!
काठमाण्डूको आची पो आची !! अन्तको आची के आची ?’

कविता भनेको एक प्रकारको खुराफाती कर्म हो । कुराफाती कर्ममा माहिर ‘माइन्ड’ भएकाहरूले कविता लेख्ने गर्छन् । त्यसमाथि नि हास्यव्यङ्ग्य कविता लेख्नेहरू त झन् महाखुराफाती हुन्छन् भन्ने जगजाहेर छ । नत्र यो ‘आची’ जस्तो विषयलाई उठाइ कविता कथ्ने कर्म कसरी सम्पन्न हुन्छ ? तपाइँ पनि पढ्नोस् त ती खुराफाती कविले लेखेको त्यो ‘आची’ कविताको अर्को अंश-

‘वीर बलभद्रको देश यो, वीर नेपालीको आची
प्रजातन्त्रलाई मलिलो छ, राजधानीको आची
सत्ता उल्टाउने, सुल्टाउने, अनि पल्टाउने यो आची
कसको बाउको तागत छ, तह लगाउने यो आची ?
वाह आची ! क्या आची !!
काठमाण्डूको आची पो आची !! अन्तको आची के आची ?’

अनि यो लखरठ्याक ठोकुवा गर्दछ, यस्तो कविता त खुराफाती मस्तिष्कको खुसखुसे उपज मात्र हो । अर्को अलौकिक कुरा मलाई भन्न मन लागेको छ । त्यो के हो भने यस्ता कविता लेखेर मान्छे हँसाउने कवि कलाकारहरू अब ‘फ्लप’ भैसके । भन्नुहोला कसले फ्लप बनायो ? मसँग सफासफी उत्तर छ- हास्यकवि कलाकारका कलाकर्मलाई यसरी फ्लप ख्वाउने भनेकै नेपाली राजनीतिज्ञ हुन् । उनीहरूका दैनन्दिनका बोली र व्यवहार देखेर हामी नागरिकले जति मनोरञ्जन प्राप्त गरिरहेका छौँ, यसको तुलनामा हास्य कवि कलाकारले सयमा एक प्रतिशत पनि हँसाउन सकिरहेका छैनन् अहिले । त्यसर्थ हास्यव्यङ्ग्यलाई पेसा बनाउने यी खुराफातीलाई पनि उछिन्नसक्ने क्षमता अहिलेका राजनीतिज्ञहरूमा मात्र छ भन्नु अतिशयोक्ति हैन यथार्थ हो । हास्यव्यङ्ग्य लेखक र कलाकर्मी नामका खुराफातीहरूले अफ्नो पेसा परिवर्तन गरी अब पानीपुरी र चना चटपटको व्यवसाय समाउनुको विकल्प बाँकी रहेन ।

हाम्रा सम्माननीय नेता महोदयहरूका कुरा गराई (भाषण) र काम गराइ (व्यवहार) सुनेर र हेरेर हामी दङ्ग परिरहेका छौं, हाँसिरहेका छौँ, रमाइरहेका छौँ, अतुलनीय मनोरञ्जन लिइरहेका छौँ । अनि हास्यव्यङ्ग्य कवि कलाकारको खुराफाती कर्म फ्लप नभएर के फ्लप हुन्छ त ? हाम्रा नेतागणमा यो अद्भूत किसिमले मनोरञ्जनात्मक क्षमता कसरी पलायो ? गाँठी कुरा चाहिँ यही प्रश्नमा पो छ त ! राजधानीमा हुर्किदै, फुर्किदै, बाक्लिँदै चाक्लिदै, कुहिँदै, चुहिँदै, फुलिँदै र चुलिँदै आएका रासहरूबाट निस्किएको अलौकिक सुगन्ध निरन्तर नासिकाको बाटो हुँदै भित्र छिरेर मन र मस्तिष्कमा दीर्घ प्रभाव पारिरहेका कारण हाम्रा नेतागणमा यस्तो मनोरञ्जक क्षमता विकसित भएको हो । मेरो यो निस्कर्षात्मक तर्क तपाइँलाई पत्याउन सकस पर्‍यो भने दकस नमानी ख्याता विख्यात स्वास्थ्यकर्मी संलग्न एउटा आयोग नै बनाएर छानविन, अनुसन्धान याने कि ‘रिसर्च’ गरे भैहाल्यो नि !

रिसर्च, छानविन वा अनुसन्धान जे गरे पनि त्यसको अन्तिममा लखरठ्याकका यी सुझावहरू चाहिँ अनिवार्यरूपमा समावेश गरियोस् । वर्षौैं वर्षदेखि राजधानीवासीले मफतमा ग्रहण गर्दै आएको यो अर्गानिक सुगन्धलाई निस्तेज पार्ने, थान्को लगाउने वा निषिद्ध गर्ने दुस्प्रयत्न कहीँ कतैबाट पनि नहोस् । राजधानीबासी हामी आफैंले र आफ्नै आनीबानीद्वारा सिर्जित यो मौलिक सुगन्ध हाम्रा निम्ति सर्वाधिक प्रिय छ । हामी यसैमा रमेरमाएका छौँ । हाम्रो पहिचान र परिचय बनिसकेको यो सुगन्धलाई व्यवस्थापनको निहुँमा नचलाइयोस्, अन्यत्र कतै लगेर हाम्रो यो प्रिय बासनास्रोत नजलाइयोस् । यही सुगन्धलाई निहुँ बनाएर मौसमी चुनाव जित्ने र हार्ने राजनीतिक औजार, अवसर पनि नबनाइयोस् । कृपया यो हाम्रो प्राण हो, घ्राण हो, यसैलाई हामीबाट खोसेर राजनीतिक त्राण लिनेहरू खबरदार ! खबरदार !!

राजधानीको सुगन्ध विसर्जन गर्न ताहुरमाहुर गर्नेहरूका विरुद्धको खबरदारीसँगै यो ‘आची’ पुराण यहीँ विसर्जन हुँदो भयो ।

०००
२०७९ भदौको जदौ
फित्कौली अड्डा, कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad