टीका आत्रेयहेर्दा हेर्दै गएछ जवानी
उठ्न सक्ने शक्ति छैन उठ्छु भित्तो समाइ हात गोडा भासी सक्यो हिंड्छु घुँडा समाइ यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी ।

यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
कालो कपाल सेतो भयो फुल्यो जुँगा दारी
हिंड्न सक्ने शक्ति छैन टाढा भयो बारी
मुख पनि थोते भयो गयो सबै दाँत
सधैं भरी गला लाग्छ निलिंदैन भात
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
गाउँ घरका साथी भाइले बुढो भन्न थाले
मेरै जस्तो उमेरमा टिकट काटे बाले
टाउको पनि सधैं दुख्छ नसा चर्काएर
परिवारले हेर्न लाग्छन् आँखा फर्काएर
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
आँगन पनि पर भयो छिमेक भयो टाढा
उभिएर हिंड्न खोज्दा सोझिदैन ढाड
उठ्न सक्ने शक्ति छैन उठ्छु भित्तो समाइ
हात गोडा भासी सक्यो हिंड्छु घुँडा समाइ
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
मुख बाट राल चुहन्छ पर्छ दौरा भरी
कतिन्जेल बाँच्ने होला सँधै यसै गरि
यस्तो दिन आउँछ भन्ने सोचिएन पहिले
अहिले यस्तो अवस्था भो खै के भन्नु मैले
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी
हुन्छ भने बा आमालाई राम्रो गर्नु सेवा
आफूलाई नि बुढेसकालमा मिल्नसक्छ मेवा
त्यही सिक्छन् सन्तानले हुन्छन् सधैँ राम्रा
नरकका पितृ पनि स्वर्ग जान्छन् हाम्रा
यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गएछ जवानी ।
०००
रत्ननगर- १०, चितवन
Subscribe
Login
0 Comments
Oldest






































