खेमराज शर्मावृद्धाश्रमबाट आमाको चिठी
टिपेर थोपा लाखको मुठो पटुकी कसेर । यो लिन आऊ आमाको माया ‘यसलाई’ संझेर ॥ आमाको माया त दायाँबायाँ न गर्ने रहेछ । माथिको गरी तल्लोमा झरी न मर्ने रहेछ ॥

खेमराज शर्मा :
हे मेरा छोरा मुटुका तारा संझना खानी हौ । 
चस्कन्छ छाती आज नजाती आँखाका पानी हौ ॥
संझन्छु ऐले दस् वर्ष पैले ह्याँ ल्याई फालेको ।
क्या राम्रो काम यो तीर्थ धाम धुप् बत्ती बालेको ॥
चंकिलो कति श्रद्धाको ज्योति छ प्रेम अपार ।
दाताको आस वृद्धको बास उज्यालो विहार ॥
दयालु हात लिएर साथ हजार आउँछन् ।
के खाऊँ लाऊँ क्यै छैन चिन्ता बजार ल्याउँछन् ॥
दयालु हात मायालु बात आएर मुसार्छन् ।
जीवित हाम्रा यी देवदेवी श्रद्धाले स्याहार्छन् ॥
संझेर आमा हजार छोरा वर्षमा आउँछन् ।
नाना र खाना दिएर दाना आसिक पाउँछन् ॥
दस् वर्ष भयो यति दिन् गयो पाउँदिन खबर ।
मायाले राती चिमोट्छ छाती आमाको संसार ॥
त्यो मेरो नाति समाई छाती मैसित सुत्दथ्यो ।
मसित खान्थ्यो मसितै जान्थ्यो मायाले रुझ्दथ्यो ॥
नातिनी सानी आँखाकी नानी ऊ थाहा पान्नथी ।
भर्खर पास्नी भएको थियो आ भन्दा आन्न थी ॥
म साथै जान्छु तिर्थ पो लान्छु भनेर ल्याएका ।
छन् सय मन्दिर यो पुण्य धाम बुझेरै ल्याएका ॥
टिपेर थोपा लाखको मुठो पटुकी कसेर ।
यो लिन आऊ आमाको माया ‘यसलाई’ संझेर ॥
आमाको माया त दायाँबायाँ न गर्ने रहेछ ।
माथिको गरी तल्लोमा झरी न मर्ने रहेछ ॥
दैनिक आसिक् म दिन्छु छोरा भेट्न न आए नि ।
बिसन्चो सन्चो घरको हाल खबर् न पाए नि ॥
०००
Subscribe
Login
0 Comments
Oldest







































