जन्मदाताको पुकार
कम्प्युटर् खोली तिमी नै हेरी कुरा त गरुँला । अँगालो भित्र प्यारले बाँधी कहैले पो बेरुँला ॥ म मरि गए टाँगौला फोटो घरको भित्तामा । जीवित छँदै टाँग्दैनौ किन मनको कित्तामा ॥
हेमनाथ घिमिरे :
मुटुका टुक्रा कता हो कता समुन्द्र पारि छन् ।
यी जन्मदाता मुटु यो टुक्रा पारेर भन्दैछन् ॥
“इँटा र ढुङ्गा बोल्दैन बाबु पर्खाल बोल्दैन ।
भौतिक सुख-सुविधा आई मन यो खोल्दैन ॥
चिसो यो जिउ बिजुली सेक्छ मन यो सेक्दैन ।
मनका व्यथा आँसु भै बग्छ धनले छेक्दैन ॥
यन्त्र त हुन्छ मुटु यो जाँच्ने हृदय हुँदैन ।
औषधि पार्छ ज्वरो यो निको हृदय छुँदैन ॥
घाउ र चोट मलम राखी म निको पारुँला ।
मनको घाउ बल्झन्छ सधैँ कसरी टारुँला ॥
रगत नसा जाँचेर दिन्छन् औषधि दुःखेको ।
भावना-मर्म जाँच्ने हो कस्ले मनमा लुकेको ॥
टाउको जाँची ‘ठीकै छ’ भने औषधि परेन ।
बेदना-पीडा जाँच्छ र कस्ले त्यो कैल्यै टरेन ॥
कम्प्युटर् खोली तिमी नै हेरी कुरा त गरुँला ।
अँगालो भित्र प्यारले बाँधी कहैले पो बेरुँला ॥
म मरि गए टाँगौला फोटो घरको भित्तामा ।
जीवित छँदै टाँग्दैनौ किन मनको कित्तामा ॥
०००
बारीधारा, ढाका, बाङ्लादेश