उत्तम विचारदेखियो पक्षपात
होला के सृष्टि मानौँ भुवनभर डुली बाबुको कल्पनाले होला के दृष्टि लाऔँ सितिमिति जननी मात्रको सिर्जनाले । बाङ्गो बाटो दुबैले खुरुखुरु नखनी हुन्न सोझो सपाट होला जारी अझै यो कति समय ठुलै देखियो पक्षपात ।

उत्तम विचार :
आमा कोही हुँदैनन् वरपर नहुँदासम्म बाबा सवार
बाबा जो पूर्ण हुन्नन् मुखरित नहुँदासम्म मातृत्व प्यार ।
आमाकै देख्छु ज्यादा कवि कलम कथा काव्य लेख्ने जमात
एकै हुन् बाबुआमा तर पनि किन हो देखियो पक्षपात ।।१।
आमाले जन्म दिन्छिन् तर किन भुलियो बाबु हुन् कर्म दाता
छोराछोरी दुबैका जनक र जननी भाग्य लेख्ने विधाता ।
बानी राम्रो सुधारी असल लय दिने बाबुको हुन्छ हात
एकै हुन् बाबुआमा तर नजर हुँदा देखियो पक्षपात ।।२।
छोराछोरी महान् हुन् समय गतिसँगै बेगले बढ्न सक्ने
जस्तै आऊन् समस्या अटल मुटु लिई ढुक्कले अड्न सक्ने ।
यस्तो आशा अपेक्षा हरपल जसले लिन्छ अर्को होला त
आमाबाबा तिनै हुन् तर पनि सहजै देखियो पक्षपात ।।३।
नङ्ग्रा घोटी बुबाले ऋणधन बटुले टार्छु गर्जो भनेर
डल्ला फोरी मुमाले नित पहल गरिन् कर्मयोगी बनेर ।
ताली बज्ला दुईटै परर सँग मिले जोडिँदा शिष्ट हात
आमा आमा अलाप्छौ अबुझ शठ बनी देखियो पक्षपात ।।४।
होला के सृष्टि मानौँ भुवनभर डुली बाबुको कल्पनाले
होला के दृष्टि लाऔँ सितिमिति जननी मात्रको सिर्जनाले ।
बाङ्गो बाटो दुबैले खुरुखुरु नखनी हुन्न सोझो सपाट
होला जारी अझै यो कति समय ठुलै देखियो पक्षपात ।।५।
०००
काठमाडाैं







































‘अर्को होला त ‘ यहाँ छन्दभङ्ग भएको छ। शुद्ध गरेर भोलि पुन छाप्ने हो कि !