वासुदेव पाण्डेयआमाविनाको घर
बच्चाको छ बिजोग छैन तिनमा आशा भरोसा रस को भन्ला 'खतरा छ बाहिर तिमी आएर भित्रै बस ।' आमाको अभिभावकत्व नहुँदा नैराश्य चिन्ता डर 'साहारा मरुभूमि' तुल्य छ कठै । आमाविनाको घर ॥

वासुदेव पाण्डेय :
जन्मी बाँच्न सिके जुधे प्रकृतिको यो घामपानी सहे
आमाको अवसानबाट निजका सन्तान एक्ला भए ।
देख्दा हालत दीनहीन यिनको चस्किन्छ छाती तर
न्यास्रो, शून्य, मसानतुल्य छ कठै ! आमाविनाको घर ॥
के-के छैन मिलेन के कति कुरा पाइन्न मेसो पनि
नाना भोजन भित्र बाहिर सबै को हेर्छ आमा बनी ।
को भन्ला अब पर्ख भोजन तथा आराम केही गर
साँच्चै दीन विवेकहीन छ कठै ! आमाविनाको घर ॥
मौरीको जुन हुन्छ हालत फुटे या एक रानो मरे
सामग्री असरल्ल छन् घर भयो साँच्चै बिरानो हरे ।
आमाझै मृदुशब्दले हरघडी को भन्छ ‘आऊ वर’
साँच्चै निर्जन शून्य लाग्दछ कठै ! आमाविनाको घर ॥
आमासाथ भए हुँदैन कहिले, केही कुराको कमी
छामेमात्र निधार कुन्नि कसरी हुन्थ्यो व्यथामा कमी ।
माया-प्रेम, तटस्थता र ममता, औदार्यकी सागर
साँच्चै नीरस चाडतुल्य छ कठै । आमाविनाको घर ॥
बच्चाको छ बिजोग छैन तिनमा आशा भरोसा रस
को भन्ला ‘खतरा छ बाहिर तिमी आएर भित्रै बस ।’
आमाको अभिभावकत्व नहुँदा नैराश्य चिन्ता डर
‘साहारा मरुभूमि’ तुल्य छ कठै । आमाविनाको घर ॥
०००
सुर्खेत
दुलही (२०७८)
Subscribe
Login
0 Comments
Oldest







































