सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामीलाई फुर्सद छैन, के गर्नु ?(६)

नजिक रहेको भाँडोबाट आवाज नआउने गरी बिरालाले चाटेझैँ दुईतीन घुट्का जति पानी निलेपछि फेरि पल्टेँ ।

Nepal Telecom ad

ओछ्यानमा पल्टेपछि आँखा खोलुन्जेल केही चिन्तन सल्बलाए । एकछिन पछि बत्ति निभाउने आदेशसँगै आज्ञाकारी नानीबाबु झैँ आफू तामेलीमा लाग्नै पर्‍यो । बेलै भएको रहेनछ क्यार, निदाउन खोजेको निन्द्रा लागे पो ! निदाउन खोज्याबेला किन निन्द्रा नलागेको होला ? मनमा कुरा पो खेल्छ बा ! एउटा हुन्छ नि भन्या, भनेको र चिताको पुगे त मज्जा हुन्थ्यो नि । सुत्न खोज्यो सुत्न नसकिने, उठ्न खोज्यो भन्नासाथ उठ्न नसकिने, यस्तो पनि हुन्छ र भन्या ? मलाई मात्र हो कि अरुलाई पनि हुन्छ ? कसलाई सोधौँ खै ? हुन त, ‘मनको बह कसैलाई नकह’ भन्थे हाम्रा पनि अग्रजहरू, ठिकै भनेछन्, सुन्ने को छ र खै ? आ… बरु लम्पटासनमा नै लेख्नुपर्ने कुरा पर्गेल्छु, लेख्नबस्दा फरर आउँछ नि त्यसो भए । लौ, विषद चिन्तनमा लागौँ । पाको हुनुका फाईदा बेफाईदा सोच्दासोच्दै निकै बेर भएछ कि क्या हो ? कोठासाथी त लयबद्ध घुरानमा मस्त ! होइन, कति चाँडै निन्द्रा लाग्छ भन्या कसैलाई त, आफूलाई चैँ मरेको कुकुरलाई उपियाँले छाडे झैँ किन छाडेको होला निन्द्राले ? साथीले कोल्टो फेरेपछि एकछिन शान्ति, केही बर्बराएपछि एकछिनमा अर्को लय सुरु । अहा ! सुताई यस्तो भए पो मलाई पनि आनन्द आउँथ्यो होला ! हुन त आफू केही गरौँ भन्ने चिन्तनमा लाग्या छु, आफ्नो कुरै अर्को । फुर्सद भइदिया भए जानेको थियो, के के गर्नुपर्छ अनि के के गर्नसक्छु यस उमेराँ पनि भनेर ।

कताबाट सिरेटो छिर्‍यो, लौन । कसलाई भनौँ र खै ? अँ, सिरक तलको भित्री ओढ्ने सरेछ । झन अघिन लपक्क पारेर जाडोमा दुई भए राम्रो भनेर नै ओढेको थिएँ, ए सिरकको थिचाइमा निसास्सिएको होला । यसो गोडैले मिलाएँ, ‘पाउपाएँ अब चुपचाप लाग्छु’ प्यादाले भनेझैँ ओढनी लपक्कै मेरै जीउमाथि नघुरी सुत्यो । न्यानो भएर अलि आँखा झकाएछन् । ‘ओहो, तपाइँलाई पुरानो सिरक भएर ओढनी खप्टनु परेछ, आज ल्याएको यो मण्डी गज्जब बाक्लो छ, ऊन मिस्सिएको’ भनेर परिवारले आफैँ मिलाएर ओढाइदिए । अहा, कति न्यानो भएर निन्द्रा लाग्लाजस्तो भयो । फेरि त्यहिबेला आफूलाई लघुशङ्का लागेछ, न्यानोबाट उठ्न त मन थिएन तर ओछ्यानमै फुत्कियो भने रातभर त्यो न्यानो रहन्न । उठ्नै त पर्‍यो, बत्ति त बाल्न भएन बा । कोठासाथीको घुरान बन्द भएकाले निन्द्रा कच्मच्याइदिएको कुरा उठे त्यो बाक्लो भर्खर प्राप्त जिनिस् ‘जाडो जान लागिसक्यो किन नि नयाँ ?’ भनेर ब्रेक लागे त स्वादै बिग्रन्छ । बिरालाको चालले मुत्रत्याग कक्षतिर लागेँ, त्यहाँबाट पनि उज्यालो कोठामा आउने हुनाले त्यहाँ पनि बत्ति बालिन । अघिन त्यहाँ साथीले खुट्टा धोएको देखेको थिएँ, पानीले भिजेको थियो जमिन । तुरुन्तै सफा नगर्ने बानी थाहा थियो । त्यसैले शौँचको दबावबाट उन्मुक्त भई उठेपछि भित्तो समाएर ठडिएँ । लुगा मिलाई बिस्तारै पाइला सारेको त गल्र्याम्म लडेँ । धत्तेरीका कताकता के खुस्क्यो ।’ होइन रहेछ म त आफ्नै लम्पटासनमा गर्धनतिर पसिना निकाल्दै उँघ्दै पो रहेछु । जे होस् मेरै पौरखको ओढनी र सिरकले यसपालाको जाडो त कटाइन्छ भन्ने गम्दै निदाउने प्रयाश गरेँ । निन्द्रा त अक्कासिएको चङ्गा धागो काटिएपछि बेपत्ता भएझैँ कहाँ हरायो हरायो ।

बेलाबेला तन्द्रा चैँ किन लाग्छ होला ? सोचेको, भोगेको, मन परेको, मन नपरेको जस्ता घटना सिनेमा रिल घुमेझैँ किन आएका होलान् ? सबै तन्तु ठिक भएर कर्मेन्द्रीय र सामाजिक परिबन्द्रीय ठिक नभएर होला कि ? हुन त, अनुभव र ज्ञानले अत्तर भएको उमेरमा फेरि फूल बन्छु भनेर कहाँ पाउनु ? अब त एक थोपाले जगत नै बास्ना आउने पार्ने हो, कता कोपिला र फूलजस्तो बन्न थाल्नु । सामान्य हुरीबतासले पनि हल्लने र झर्ने, पहिला त त्यस्तै भयो नि । त्यतिखेर के के भएन र ? कहिले जुनसुकै विषय पनि महत्वको भनेर पढ्न बिहानदेखि दौडादौड, एकसरो बेच्न सकिने उपाधि पाएपछि त्यसलाई बेच्न दौडादौड । एक ठाउँ जसोतसो गरेर लेप्सिएपछि अन्त पनि पैसा टिप्न पाइन्छ भनेर च्याँखे दौडादौड । हत्, कति फुर्सद भएको एक्लो ज्यानलाई पनि ? कुरो मिल्छ कि भनेर सम्पतिमात्र कहाँ र, मान्छे जोड्न दौडादौड, मिलेपछि थप्न दौडादौड । होइन, उमेरमा मान्छे कति फुर्सदी हँ ? लर्‍याङ्लुरुङ गर्दागर्दै अवकास पाउन लागेर काम नै नगरे पनि सुविधा कति र कता पाइन्छ भनि दौडादौड । हत्यौडाले घच्याँडे थप पाइन्छ भन्ने हल्ला सुनेपछि मन थाम्न नसकेर ढोकाढोकाँ दौडादौड । आखिरमा कतै केहि नलागि जो हात सो साथ गरी घर फर्कंदा त फुर्सद होला भन्ठानेको, हत् अब त हदै बेफुर्सद । पाको उमेरमा फुर्सद हुन्छ भन्ने त कच्चै रहेछन् बा, नबुझी र नभोगी किन बोल्नु ? बरु फुर्सद देख्ने भन्नेले नजिकै बसेर एकछिन सुन्नु र बुझ्नु नि, छ कि छैन भनेर । अत्तो लाउनु अघि वास्तविकता आफैँ पारख गरेर बोले पो मिलापत्र बढ्छ, नत्र त अब्बल, दोयम, सिम र चाहार नजान्नेले पृथ्वीभरीको सबै माटो एउटै भनेजस्तो भएन र ? अवस्था नबुझी प्याच्च बोल्नेले तिरबाट छुटेको काँण र मुखबाट फुत्केको बोली फिर्ता गर्न जत्तिनै गाहारो हुन्छ भन्ने किन नबुझेको होला ?

पेट अलिअली पोलेको हो कि वा के भएको होला ? खानासँगको पिरो झोलको कसरत हो कि, अरु केही ? साँच्ची उमेराँ त एउटा मुट्ठीहात भन्दा ठूलो निबुवा अथवा दुई वटा भोगटे हरियो अकबरे खोर्सानीसँग खाँदा पनि केही हुँदैनथ्यो । अहिले के भएको भन्या, पाको भएपछि जीउले थाम्न र सोस्न छाड्छ कि, किन तलमाथि भएको देखाइहाल्ने ? न केही हुन लाग्यो कि, शङ्का पनि के के लाग्ने ? पेटको चिरफार गरेको त धेरै भयो, पछि जचाउँदा निको भयो भन्थ्यो डाक्टर । कसको विश्वास के भन्छन् भन्छन् । धेरैबेर भएछ क्यार, मनमा कुरा खेल्दाखेल्दै त्यसैले बरु अलिकति पानी खाए ठिक होला । फेरि उठ्नु पर्‍यो, यो झञ्झट गर्न नपरे हुन्थ्यो भनेको खै जहिल्यै आफैँ अघिसर्नु पर्छ । निदाएको भए त यो झञ्झट पर्दैनथ्यो होला, निन्द्रासँग मेरो शत्रुता त थिएन, किन परपर भएको भन्या ? बत्ति बालेर केहि लेखपढ गरौँ ‘आधारातमा केको मरिहत्ये, बिजुलीको पैसो बढाएर’ भन्ने होला । त्यो आँट नगरौँ, आँट गर्न त परिस्थिति, उमेर र हावापानी मिल्न पर्‍यो । आफू त भदौरे घामपानी अवस्थामा भएकाले दुस्साहस गर्दा खडेरी ओइरियो भने थप कष्टकर हुन्छ भन्ने बारेमा सचेत हुनै पर्‍यो नि । नजिक रहेको भाँडोबाट आवाज नआउने गरी बिरालाले चाटेझैँ दुईतीन घुट्का जति पानी निलेपछि फेरि पल्टेँ ।

पहिलापहिला ओल्टो कोल्टो सरक्क धेरै गरे पनि, अरुले थाह पाउने । आधा निन्द्रामै उठेर आई ‘के भयो, अप्ठ्यारो भयो कि ? किन चिन्ता गरेको, केको चिन्ता गरेको, सुत्दा त आरामले सुत्नुपर्छ, पिर गर्नु हुन्न रातबिरात । अस्पताल जानुपर्छ कि धेरै गाहारो भए’ भन्ने कति कति ? अहिले त अरुलाई बाधा पर्ला भन्ने पो डर, कस्तो समय आउँदो रहेछ मान्छेको जीवनकालमा ! भित्तासँग बात मारौँ भने अन्धमुष्टि छ, आफ्नै हातगोडा त देखिन्नन्, भित्तो त परै छ । झ्यालको चेपबाट एक धर्को उज्यालो छिरेर दराजको समाउनेमा परेको रहेछ । त्यसको नजिक रहेको साँचो घुसार्ने प्वाल देखेँ, बिचरा मेरो अवस्था अनुभूत गरेछ क्यार, आफ्नो प्वालरुपी आँखा टिलपिल पो गरिरहेको । पाको मान्छेले आफ्ना अनुभव र ज्ञानका आधारमा अरुलाई ढाडस् दिनुपर्छ भन्ने लागेर बोल्न खोजेको कोठासाथीको अर्कोथरी घुरानले बाधा नदिने बिचार आयो । मनमनै भनेँ ‘हेर बाबै धिरा भइरहनु, बिपत्ति सहनु, कस्तै परुन्ता पनि, श्लोक हाम्रा बाले त्यसै भन्या होइन । अब भोलि बिहान भई हाल्छ नि, धित मरुञ्जेल बात मारौँला है, अरु कुरा पनि छन्, तिम्लाई हिजोको बेलीबिस्तार लाउने मौकै पर्‍या थिएन ।’ बिचरा मेरा कुरा सुन्नपाउने आशामा खुसी भएझैँ गरी चहकिलो भयो ।

गँड्यौलो गतिमा कोल्टे फेरेँ, कसैलाई बाधा नपरोस् भनि, आफैँले पनि कतिबेर लाएको भन्न मन लाग्याथ्यो । साँझ आजराती कता जाने, रमाइलो हुन्छ, कोको जाने सल्लाह घुइरोघुइरो सुत्याजस्तो लाग्याथ्यो । देब्रे पल्टेपछि आँखा अलि बटारिए र लोलाउन थाले । ‘पाका, वयस्क, किशोर किशोरी केटाकेटी सबै उमेरका जान्छन्, आतिशबाजी सहितको मेला लाग्ने भएको छ । अस्तिन ल्याएको नयाँ लुगा लगाएर तयार चाँडै हुनुहोस् है, हजुर नगए त हामीलाई रमाइलै हुन्न ।’ यस्तो आदरयुक्त सन्देश पाएपछि आफ्नाको स्नेहले छर्लप्पै भिजेर उठेँ र दराज खोलेँ । प्रायः सबै ल्याइदिएका नयाँ भित्री बाहिरी लुगा छानी छानी लगाएँ, मोजा पनि झिकेँ । दराज तलबाट खुट्टा नदुखाउने भनि ल्याइदिएका जुत्ता झिकेँ, सफा भएकाले कोठामै लगाएँ र तयार भएँ । हामी त तयार भनि केटाकेटी आए, ‘म पनि तयार’ भनेको खुसीले खितखित गरे । अनि तोते बोलीमा ‘हामी त आइसक्रिम खाने त्यहाँ गएर तपाईँ के खाने’ भने । मैले ‘कालो मिस्सिएको मिठो भन्या होइन त्यही खाने’ भनेँ । उनीहरू झन खुसी हुँदै ‘हो, हामीले त्यही भनेको’ भने र मेरो हात समातेर तल जाउँ भन्नथाले । म तयारी थिएँ, हिँडिहालेँ, तल आँगनमा सबै मेरो प्रतिक्षामा रहेछन् ।

ओहो क्या रमाइलो, आतिसबाजी, ससानो मेला- खाना पाकिरहेका, बास्ना चलिरहेको, केटाकेटी, बुढापाका सबै सुकिला-मुकिला-हँसिला अनि गफ गर्दै हिँडिरहेका । हामी परिवारका वयस्क सदस्यहरू पनि ससानाको हात समाती गफ्फिँदै भिड्भाड छिचोल्दै हिँडिरहेका । ‘साँच्ची हजुर के खाने ? हामी त त्यो नयाँ आएको खानेकुरा खानेँ, चाखेर हेरौँ न ? हुन्छ, म पनि खाउँला’ भने । उनीहरू खुसी भएर पसलेलाई ठूलो आकारको बनाउन भने । एक छिनमा खाने कुरा आयो, महिलाहरू भाग लाउन थाले । मेरो भाग अरुकोभन्दा ठूलो लगाए, मैले ‘सबैलाई पुग्ने गरेर लगाऊ’ भनेँ । यसको मरमसला मिस्मासको स्वाद हजुरलाई मनपर्ने छ भन्ने लाग्यो त्यसैले’ भने । सबैले कागजका रिकापीमा ल्पास्टिकका काँटाचम्चाले खायौँ, साँच्चै मिठो रहेछ । खानापछि केटाकेटीले मलाई कोट्टयाउँदै आइसक्रिमतिर देखाए, मैले ‘सुन त त्यो आइसक्रिम खाउँ अब’, भनेर चकलेटबाला कालोतिर देखाएँ । सबैले ‘कस्तो मनको कुरा बुझ्ने हजुर त, हामीले त्यही सोचिरहेको’ भने र एकजना दोडेर गई ल्याइहाले । धेरै किसिमका खेला पनि प्रदर्शन भए, मैले जानेजति बणर्न गरेँ, मेरा कुरा सुन्दै सबैले रमाइलो मानेर हेर्‍यौँ । त्यत्तिकैमा एकजनाले भनि हाले ‘कस्तो रमाइलो भयो, हजुर नआएको भए त हाम्लाई खल्लो हुन्थ्यो । हजुर नगई त कहिँ जान मज्जा आउन्न, अभिभावकत्व हुने अनि हजुरलाई धेरै कुराको अनुभव छ, त्यसबाट हामीलाई झन फाइदा नै हुन्छ नि । हुन त हजुर पनि भनेको जस्तो गर्नुहुन्छ, हामी पनि हजुरको कुरा बिस्तुर फरक नपारी गर्छौँ नि ।’ मैले धेरै आत्मप्रशंसा नगरुन् भनि पूणर्बिराम लाउँदै भने- ‘सुखीखुसी परिवार भनेको यस्तै हो नि, जहाँ उमेर, ज्ञान र सारीरिक अवस्था अनुसार एकअर्कालाई माया, प्रेम, आदरसत्कार र हेरबिचार पुर्‍याइन्छ ।’

त्यसैबेला एक हास्यपात्रले नानाभाँती गर्दै दर्शकलाई जिस्क्याउने र लखेट्ने गर्न लाग्यो । केटाकेटी रौशिएर नजिक गए, उसले आगोको पुल्ठो खेल देखाउँदै मान्छेको अनुहारतिर पुर्‍याउँथ्यो र झ्यालीजस्तो रिकापी बजाउँथ्यो । मैले अलि तर्सिएर ‘बाबुनानीहरू त्यता नजाऊ पोल्ला भनि चिच्याएँ ।’ ‘किन एकाबिहानै त्यसरी चिच्याएको ?’ भन्ने सुनेपछि झसङ्ग भएर बिउझिएँ । कोठासाथी ढ्याङ्ग पार्दै लघुशङ्का कक्षको ढोकाबाट आउँदै गरेको देखेँ । भालेले दोस्रो डाँक लगाई सकेछ, मिरमिर उज्यालो भइसकेछ । अब, लौ भन्नोस्, गत चौबिस घण्टामा मलाई कहिले फुर्सद देख्नु भयो ?

२०२२ मार्च २७

चालिसे डाँडा, ललितपुर

= लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ? (१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ? (२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ? (३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३
९. हामीलाई फुर्सद छैन, के गर्नु ? (४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ११
१०. हामीलाई फुर्सद छैन, के गर्नु ? (५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च १९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे