साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षामा मानिला मान्छेका कुरा किन ?

समाजको समयसापेक्ष बिकास गर्न पाका मान्छेको शास्त्रलाई हरेक तहमा अनिवार्य गराउनु मानव समुदायको हितमा अहिलेको प्राथमिक आवश्यक्ता देखिन आएको छ ।

Nepal Telecom ad

नेपालमा अन्य बिधामा जस्तै शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तन भएका छन्, प्रणालीमात्र होइन विषयहरूको विविधता र अध्यापन कार्यका तरिका फेरिएका छन् । एउटा मात्र विश्वविद्यालय र महाविद्यालयले नपुगेर बहुसङ्ख्यामा विभिन्न तहका देशभरिनै सञ्चालनमा छन् । गुणस्तर र स्रोतमा भिन्नता रहे पनि वडा तहमा प्राथमिक विद्यालय र पालिका तहमा विद्यालय तथा महाविद्यालय अहिलेको नेपाली सामाजिक चरित्र बनेको छ । बहुल विश्वविद्यालयको अवधारणाले पहिला उस्तै रहे पनि हिजोआज बजारको आवश्यक्ता भन्दै विषयगत विविधता र भिन्नता देखापरेका छन् । यस सन्दर्भमा पाका मान्छेबारे सरकारी कानुन र नीतिनियम बनेकाले उहाँहरू केन्द्रीत पाठ्यसामग्री हरेक तहमा अध्यापन गराइने चाँजोपाँजोको व्यवस्था पनि अपरिहार्य भएको छ ।

मौजुदा स्थितिः
परम्परागत ज्ञान र सिकाईमा धेरै परिवर्तन भएको मानव समाजमा देखिएको छ । त्यसैको कारण सामाजिक संस्कार र मानविय चरित्रमा उलटफेर भएको देखिन्छ । पछिल्लो शताब्दीमा संसारभरी राजनीतिक परिवर्तन पछिको सामाजिक उथलपुथलले सर्बसाधारण मानिसका व्यवहार र सोचाईमा हिजोको तुलनामा आजभोलि निकै फरक अनुभूति भइरहेछ । हिजो गर्न नहुने, पाप लाग्ने र एकालकाँटेको आरोप खप्नुपर्ने सामाजिक बाध्यताको बन्धनमा बाँधिएका पारिवारिक सदस्यहरू अहिले फुक्काफाल चरित्र देखाइरहेछन् । त्यसमाथि पछिल्लो खेप प्राकृतिक अनुशासन विपरित मानिस प्रजाति विशेषगरी जान्नेबुझ्ने भनाउँदा अति नै नाफानोक्सानको बिचारले बजारवादको घोडा चढ्न पुगेको छ ।

भविष्यको बारेमा स्पष्ट मार्गचित्र बिना आजका निम्नमध्यम बर्गमाथिका वयस्क पुस्ता क्षणिक लाभ र सिमित सामाजिक दायित्वतिर उन्मुख भइरहेछ । यस उमेरसमुह र बर्गले मानिसको सार्वजनिक कर्तव्यबारेमा सोच्न पनि सकिरहेको छैन, फगत आफ्नो काल्पनिक तृष्णा र फत्य नहुने कामनाको उडानमात्र बमन गरिरहेछ । त्यसबाट विकसित चरित्रले करबल र ईज्जतकै लागि भए पनि आफू मुनिको उमेरलाई केही समय हेरे पनि आफू माथिको उमेरसमुहलाई नहेर्ने संस्कार उमारेको छ । आफू र आफ्ना लालाबालाको ख्यालमा आफूमाथिको पुस्ताको बेवास्ता बढेको छ । बेवास्ता मात्र त सकारात्मक नै हुन्थ्यो अझ होचीअर्घेली गर्ने, दुखः दिने र घृणासमेत कुहिरीमण्डल पार्न तम्सिएका घटना पनि छरपष्ट भएका छन् ।

विभिन्न जीवहरूको पाकृतिक नियम र सामाजिक प्रणालीको अध्ययन गर्दा मानव समाजको संयोजन विभिन्न उमेरसमुहका महिला र पुरुषको एकीकृत प्रणाली भएकोमा पर्दछ । यस्तो प्रणाली हुने जीवमा निरन्तरताको लागि व्यक्तिवादी चरित्र प्रजाति बिरोधी हानिकारक नै हुन्छ । त्यसैले त प्रजातिगत अनुशासनमा बाँधिएका स्तनधारी बन्यजन्तुहरू प्राय आफ्नै समुहमा सबै उमेर समुहका एकै ठाउँ रमाउँछन् । स्रोतको अभावले ठूलो बगाल एकै ठाउँ रहन नसक्ने भएमा सन्तुलित विभाजन भई सकेसम्म दुई समुह भई परस्पर मैत्रीभावमा नै नजिकै रहन्छन् । मानिस प्रजातिले त्यहि प्राकृतिक अनुशासनलाई नियमितता दिँदै ठूल्ठूला संयुक्त परिवारमा रमाएको मानव इतिहास अठारौँ शताव्दी आइपुग्दा बिस्तारै छिन्नभिन्न हुन थाल्यो ।

अहिलेको सोचाईः
पाका मान्छेबारेमा अहिले हाम्रो नेपाली समाजमा दुई थरीको बिचार सतहमा सुनिन्छ । एक थरी ‘रकमकलम आफ्नो हातमा हुनुपर्छ अनि आनन्द हुन्छ’ भन्ने छन् । त्यसैकारण कमाएको वा राख्न सक्ने सम्पति कम्तीमा आफ्नै मुट्ठीमा राख्न खोज्छन् र कतिले ‘गुठुरी बनाको छ’ भन्ने गरेको पनि सुनिन्छ । अर्काथरी ‘होइन जेभए पनि आफ्नै सन्तान परिवारले अन्तिममा हेरिहाल्छन् नि’ भनेर आवश्यक्ता अनुसार लालाबालाकै सहयोगी भई बसेका हुन्छन् । अझ साह्रै विश्वास गरेको देखाउने र अति माया गरेको भनिने त आफू सर्वहारा बनेर उमेरमा नै सबै श्रीसम्पति सन्तानको नाममा सारिसक्छन् । यो दुबै पक्रियाले वास्तवमा पाका मान्छेलाई शारीरिक सक्षम छउन्जेलमात्र सघाउ पुग्ला, अशक्त हुँदा काम नदिन सक्छ ।

गर्भमा रहेदेखि आमाको स्वास्थ्य, स्वभाव, वंशको चरित्र सबै लिएर एउटा शिसु सामाजिक स्थितिसँग सिक्तै जुझ्दै हुर्केको हुन्छ । हरेक मान्छेका बोलीचाली, स्वभाव र व्यवहारको समिश्रणयुक्त कुरानै संस्कारजन्य हुन, त्यसलाई परिस्थितिले मलजल गरेको हुन्छ । मानिसको भावनात्मक शोषण गर्न शिपालु कथित प्रजातन्त्रप्रेमी बजारिया महाजनहरू हरेक मानव समुदायको सबल पक्षको साटो आफ्ना कुत्सित नाफामुखी चाहना पुरा गर्न विश्वबजार बिस्तार गर्दैछ । यतिखेर त्यसैले सञ्चारको अचाक्ली साम्राज्यबिस्तार भएको छ । मानिसमा रहेको सामान्य आधारभूत क्रयशक्तिले पनि किन्न सक्नेगरी अल्झाउने उपकरणहरू बजारमा उपलब्ध छन् । चाहिँदा-नचाहिँदा, मिल्दा-अमिल्दा कुराले सामान्य न्युनबर्ग र समुदायका मानिसहरूका बिचारसमेत भत्केका छन् । यस क्षयीकरणको प्रक्रियामा किशोरकिशोरी र वयस्कहरू बढि प्रभावित छन् भने परिस्थितिको चपेटामा पाका मान्छे ‘न सति जानु न अडबाङ्गो हुनु’को स्थितिमा अर्घेलोमा परेका छन् ।

कतिपयमा बजारबादले बिग्रदो सामाजिक बनावट र व्यवहारबाट एउटै कुरामा ध्यान गएको छ, पूँजी वा पैसा । केही दशक अघिसम्म ‘बाबुआमा बाहेक पैसाले सबैकुरा संसारमा पाइन्छ’ भन्ने भनाई पनि खुइलेर अब हाकाहाकी ‘बाँच्नका लागि पूँजी नै सबथोक हो र पैसा भएपछि सबैकुरा सम्भव छ, दामभए काम हुन्छ’ भनेको सुनिन्छ । आफ्नो सप्ठ्यारो पार्न आफ्नै नाममा राख्नुपर्छ भनि कतिपयले नगदी वा अचल सम्पति आफ्नै नाममा राखेर ढुक्क भएको पनि भन्दछन् । के आफ्नो नाममा हुँदैमा सबै कुरा उमेरिदा हुने अशक्त शारीरिक अवस्थामा पुरा गर्न सकिएला त ? दाम भयो भने सम्पूणर् भौतिक सुबिधा त मिलाउन सकिएला, तर मानिसले पाउनै पर्ने भावनात्मक सहयोग र प्रजातिगत स्नेह कायम रहला त ?

कतिपयले पाको उमेरमा अशक्त (?) हुँदा चाहिने भनेर सम्पति जोगाएको पनि देखिन्छ । हातगोडा चलुन्जेल आफूसँग दाम भए ईच्छा लागेको काम गर्न सकिएला, देहले मागेको किनेर खान सकिएला र राम्रो लागेका ठाउँमा जान पनि सकिएला । पाका मान्छेको शरीर स्वस्थ्य रहे अथवा अस्वस्थ्य भए पनि सामान्य काम गर्न सकुन्जेल पूँजी छ भने आफैँ अग्रसर भएर आवश्यक्ता पुरा होला । एक्लै पनि घरमा बस्न, बिस्तारै दैनिक काम गर्न र परेको ठाउँमा हिँडडुल गर्न सकेर दिनचर्या बित्ला । तर शरीरले नसक्दा र अङ्गप्रत्यङ्गले अठोटेको काम गर्न नसक्ने भएपछि अचल त के नगद दाम, सम्पति भए पनि के काम लाग्ला र ? त्यही बसेको ठाउँबाट आफ्ना नगद रुपियाँले एक पित्को औषधिको झोल लिन जान पनि सकिन्न, एक माना चामल बोकेर ल्याउन सकिन्न अनि के काम लाग्छ त सम्पति ? हो, सम्पति छ भने, परिवार नरम आधुनिक छन् भने बृद्धाश्रम नभएर हेरचाह केन्द्रतिर राखिदेलान्, नत्र सार्वजनिक हण्डीका देवालय, शिवालय वा अनाथालय त पाका मान्छेका गन्तव्य होलान, होइन र ? त्यसरी बाँकि जीवन नगुजार्न चाहने नै त बेवारिसी लास बन्ने होलान् नि !

हो, दुर्घटना परेर ठाउँको ठाउँ, अप्रत्यासित मुटु वा मस्तिष्क घात भई तुरुन्त नबिते त अशक्त भई ओच्छ्यान पर्ने समय हरेक मानिसलाई उमेरिदै जाँदा आउँछ नै । त्यस्तो बेलाको लागि सहयोगीको तयारी के हुनसक्छ त ? के परिवार, ईष्टमित्र र चिनेजानेका कोही सहयोगी हुनसक्लान् ? बचत भएको सम्पतिकै सदुपयोग गरेर पाका मान्छेका अन्तिम दिनहरू सुखमय बनाउन सक्लान् ? संस्कारगत हिसाबले पाका मान्छेको हेरचाह र स्याहारसुसार कर्तव्य सम्झिने परिवार छ भने त यो समस्या हुँदै भएन । आफ्नो अभिभावक गुमाउन लागेको पिरलो सबैलाई हुन्छ र अन्तिम स्वास रहेसम्म कसरी निको पार्ने, कसरी अलि सजिलो बनाउने भन्ने नै ध्याउन्ना हुन्छ ।

बिग्रदो अस्थिर सामाजिक बनावट, व्यक्तिगत सुखसुबिधाको ध्यानमा रमाउने व्यक्तिवाद र हरेक मानवबिच आउनुपर्ने मानविय धारणमा नाफानोक्सानको हिसाब लाउने बजारवाद आजको मानव प्रगतिका बाधक हुन् । यस्ता निम्छरा बिचारले मानव समाजलाई भँड्खारोतिर लैजाँदै छ र यस परिस्थितिको चरम अपमानका सिकार पाका मान्छे हुँदैछन् । के आफ्ना आदरणीय, अग्रज र हाम्रो पुस्तालाई बर्तमान स्थितिमा पुर्‍याउन कष्टसाध्य मिहेनत गर्ने आजका पाका मान्छेलाई उचित सम्मान र हेरचाह गर्नुसाटो एक्लै दुखकासाथ बाँच्न बाध्य पारिनु हुन्छ त ? हुँदैन । त्यसैले सानो उमेरदेखि नै पाका मान्छेको अवस्था, स्थिति, मनोविज्ञान र गर्न सकिने हेरबिचारबारे ध्यान पुर्‍याउन पठनपाठनमा जोड गर्नुपर्छ ।

अहिलेका पाका मान्छेहरू त अब जीवनको उत्तराद्र्धमा छन्, जसोतसो सहन्छन् र बाँचुन्जेल बाँच्छन् । उनीहरूमा कम समयमा बिभिन्न सामाजिक, राजनीतिक र आकाश जमिनको परिवर्तनको अनुभव छ । त्यस्ता प्रक्रियाले सहने, बुझ्ने र चित्त बुझाउने गुण आजका पाका मान्छेमा प्रशस्त छन् । बरु अहिलेकैै सामाजिक मनोविज्ञान बढ्दैरहे पछि पाका मान्छे हुने आज हुर्कंदै गरेका सिमीत ज्ञान र असहिष्णु स्वभावका नातिनातिना पुस्ताको के हालत होला ? अहिलेको यस्तो क्षणिक लाभको संस्कारमा हुर्केकाहरू अबको तिनचार दशकपछि पाका बनुन्जेल कति अमिल्दो, अमानविय हेलाँहोचोमा पर्लान् ? कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ । त्यसैले पाका मान्छेको कुरा सुन्नु र त्यहि अनुसार गर्नुभनेको अहिलेका नातिनातिना पुस्ताको हितमा उठाउन लागेको कुरा हो । आफू मुनिका सन्तानको हितमा हाड घोटिरहेका पाका मान्छेले बोलेका हरेक शब्द आफ्नै हितका लागि मात्र भनिरहेका छैनन् है, बुझौँ !

शिक्षाः
समाजको आवश्यक्ता, मानव समृद्धि र सुबिधाका लागि नै हरेक देशमा शिक्षाप्रणाली विकसित गरिएको हुन्छ । हाम्रो देशमा सामाजिक आर्थिक आधारभूत अवस्था बिपरित अमिल्दा विषयहरूसमेत अर्काको माग पुरा गर्न अध्ययन अध्यापन हुन्छ । त्यसैले हरेक विषयमा हिजोआज नेपालमा शैक्षिक सामग्री पाइन्छन् । शिसु कक्षादेखि विद्यालय र महाविद्यालयका विभिन्न तहमा विभिन्न विषयमा अध्ययन अध्यापन हुन्छ । हाम्रो समाजमा देखापरेको अचाडु संस्कार बिरुद्ध सिर्जनात्मक जुझाइमा बल पुर्‍याउन पठनपाठनमा विषय थपगरी सिकाईमा नै सुधारका लागि परिवर्तन ल्याउनु पर्छ । शैक्षिक संस्थाहरूमा अध्ययन गराउनै पर्ने टडकारो विषयमा पाका मान्छेका कुरा देखा परेको छ । नेपालमा करबल केही वर्ष अघिबाट एकदुई तहमा बुढ्यौली शास्त्रको सामान्य परिचय दिने विषय पाठ्यक्रममा राखिएको छ । समाजको खस्कँदो संस्कार, पारिवारिक बिखण्डन र बढ्दो उडन्ते स्वभाव मौलाउन नदिन पाका मान्छेका शास्त्र हरेक तहमा राखिनु अब ढिला भइसक्यो । उमेर समुह र तह अनुसार तपशिलका केहि परिवर्तन गर्न सकिए पनि सामाजिक हिसाबले धेरै सकारात्मक प्रभाव देखिने छन् ।

पूर्वप्राथमिक तहः
प्राथमिक तहमा भर्खरका केटाकेटी खेल्न, रमाउन र आमाबाबुले आफू काममा जाँदा भुलाउने ठाउँ पाएका छन्, आधुनिक बच्चा खेलाउने विद्यालयमा । त्यस्ता केन्द्र कसैकसैमा अक्षरारम्भ गराउने र शिसु कक्षा चलाउने पनि हुन्छ । त्यस्ता शिसु विद्यालयमा शिसुहरूलाई आफूभन्दा ठूलालाई मान गर्न र अभिवादन गर्न सिकाउने पनि हुनुपर्छ । उमेर आङ्कलन गरेर माया गर्ने र भाइबहिनी, दाइदिदी, काकाकाकी, बाआमा, हजुरबाआमा भनि नमस्कार गर्न सिकाउनु पर्छ । त्यस्तै शिक्षक बर्गलाई प्रणाम भनि नमस्कारको अभिवादन गर्न सिकाउनु राम्रो हुन्छ । मान्यजनले भनेको मान्न र आफूभन्दा सानालाई माया गरी हेरबिचार गर्न सिकाउनु पर्छ । गृह कार्यको रुपमा हरेक दिन बिहान घरका मान्यजनलाई हातजोडी अभिवादन गर्न र बिद्यालयबाट फर्केपछि अपरान्हको अभिवादन गर्नुपर्छ भनि पाठ दिनु ठिक हुन्छ । पाका मान्छेका ज्ञानगुन, उपलब्धी र असल परम्पराको कुरा कथाको रुपमा उनीहरूलाई भनिनु पर्छ ।

विद्यालयले बालबालिकाहरूका घरमा भएका पाका मान्छेलाई पालैसँग हरेक हप्ता निम्ता गरेर उहाँहरूका बालख कालका कुरा सुनाउन लगाउनु पर्छ । वर्षमा एकपटक सबै बालबालिकाका घरका रहेका पाका मान्छेलाई बोलाई विद्यालयले हजुरबाआमा र नातिनातिना समुहको पुनर्मिलन गराउनु पर्छ । एकअर्काको राम्रो पक्षको प्रशंसा गरी बालबालिकालाई अशल कामको स्याबासी दिने वातावरण बनाउनु पर्छ । त्यसो गर्दा बालबालिकामा राम्रा कुराको जगेर्ना, अनुशरण गर्न मौका हुन्छ भने पुस्तान्तरणको खाडल मनोवैज्ञानिक रुपले आफैँ पुरिन गएर सौहार्दता पलाउँछ । घरमा पनि परिवारले उनीहरूको अशल काम र पाको व्यवहारको प्रशंसा गर्दै अझै बृद्धि गर्न प्रोत्साहित गर्नुपर्छ ।

प्राथमिक तहः
कक्षा एकदेखि पाँचसम्मका कक्षाका पाठ्यपुस्तकमा पठनपाठनको स्तरअनुसार अङ्ग्रेजी, नेपाली र हिसाब जस्तै पाका मान्छे हितकारी अध्याय भएको सामाजिक शिक्षाको चलन गर्नै पर्दछ । त्यस सामाजिक पुस्तकमा नेपाल देशको निर्माण, सामान्य भूगोल, वातावरण, जातजाति, उमेरसमुह अनुसार जनसङ्ख्या तथा पाका मान्छे बारेको जानकारीहरू हुनुपर्छ । पाका मान्छे किन समाजका अभिन्न अङ्ग हुन भन्ने झल्काउने कथा वा लेखरचना हुनुपर्छ । त्यस विषयको पाठ्यपुस्तक सामान्य स्तरबाट कक्षा र उमेर सापेक्ष गहकिलो बनाउँदै लगेको हुनुपर्छ । कक्षाभार भने ५० पूणर्ाङ्कको हुँदा ठिक होला ।

घरमा यो उमेर समुहका लागि पढाइ, गृहकार्य सकेपछि काम सघाउने, पाका मान्छेसँग बस्ने, आफ्नो पठनपाठनको प्रगति र कक्षा गतिविधि आदि सुनाउने बानी लगाउन परिवारले ध्यान दिनुपर्छ । गृहकार्यमा पनि घरका पाका मान्छेलाई गरिएको व्यवहार र सहयोगको लिखत बुझाउने पाठ हुनुपर्छ । कम्तिमा हप्ताको एक दिन बालबालिकाले आफूले गरेका घरायसी काम, परिवारले गरेका उत्प्रेरक सामाजिक काम सुनाउने मौका दिनुपर्छ । साप्ताहिक पाँच दिन पुरा कक्षा चल्ने परिस्थितिमा बालबालिकाको संस्कार र अभिव्यक्तिको गुण बृद्धि गर्न विद्यालयले छैठौँ एक दिन छुट्ट्याउँदा शैक्षिक नोक्सानी होइन सामाजिक योगदान गरेकोमा गर्व गर्न सकिन्छ । बालबालिकामा आएको प्राकृतिक गुणको बखानले निशुल्क विज्ञापन भएर अमुक विद्यालयको आकर्षण बढ्न गई व्यापारिक फाइदासमेत हुनेमा विद्यालय ढुक्क भए हुन्छ ।

निम्नमाध्यमिक र माध्यमिक तहः
कक्षा छदेखि आठसम्म सामाजिक शिक्षाकै पुस्तकलाई १०० पूणर्ाङ्क भारको बनाइनु विद्यार्थी उमेरसमुह अनुसार ठिक होला । त्यसमा गृहकार्यको रुपमा आफ्ना घरका पाका मान्छेको वणर्नलाई रिपोर्ट बनाई बुझाउने, आगन्तुक पाका मान्छेका कुराको निबन्ध लेख्ने, चिनेका वा सुनेका पाका मान्छेको जीवनी लेख्ने आदि दिन सकिन्छ । विद्यार्थीले आफ्ना घरका पाका मान्छेको अवस्था, गरिएको रेखदेख, कुनै दीर्घ रोगब्याध भए त्यसको लक्षण, निराकरण वा न्युनीकरणमा प्रयोग भएका उपाय आदिको रिपोर्ट बनाउन भन्नुपर्छ ।

कक्षा नौ र दसमा पाका मान्छेको मनोविज्ञान, समस्याहरू र हेरबिचारको तरिकाबारे अरुजस्तै विषयका रुपमा छुट्टै एक विषय पाका मान्छे शास्त्रको स्थापना गरिनु पर्छ । त्यसमा पाका मान्छेको मनोविज्ञान, उमेरिँदा हुनसक्ने रोगव्याधि र गर्नुपर्ने समस्या न्युनीकरणका घरायसी र आधुनिक उपचारका उपायहरू छोटकरीमा वणर्न हुनुपर्छ । आफ्नो गाउँ, टोल र वडा तहका सबैभन्दा पाका मान्छेका दिनचर्या वणर्नको रिपोर्ट पनि अब्बल गृहकार्य हुनसक्छ । पाका मान्छे राखिएका ठाउँहरू, मन्दिर, गुम्बा र मस्जिदतिर बस्ने पाका मान्छे बारेमा अध्ययनभ्रमण अतिरिक्त क्रियाकलापमा गराउन सकिन्छ । ती आश्रयस्थलमा पाका मान्छेसँग वार्तालाप गर्ने व्यवस्था मिलाई उहाँहरूको अवस्था, गुण, अवगुण, सुधार गर्नुपर्ने क्षेत्र तथा समाधान गर्नुपर्ने समस्या बारेमा टिपोट बनाउन विद्यार्थीलाई भन्नुपर्छ ।

पहिलाजस्तो कक्षा दसको टेष्टपछि आठ/नौ विषयमा दैनिक जाँच हुने, परीक्षा केन्द्र आफ्नो विद्यालयबाट टाढा, कहिल्यै नदेखेको ठाउँमा पनि हुनसक्ने, उत्तीणर् हुन सबै विषयमा एकै पटक पास हुनुपर्ने छैन । विद्यालय स्तरमा र सकेसम्म पढिरहेकै विद्यालयबाट दस कक्षासम्म उत्तीणर् हुने र सम्पूणर् व्यवस्थापन तिनै विद्यालयले गर्ने भएर एसएलसीको फलामे ढोका भनिने चलन हराउँदै गएको छ । हिजोआज कक्षा एघार र बाह्रलाई कलेज तह नै भनिए पनि माध्यमिक तहमा नै सरकारी व्यवहार देखिन्छ । कतिपय सक्षम विद्यालयमा त दसपछिका पहिलेका कलेज तहका कक्षा सजिलै लिन सकिन्छ । त्यसो भएमा पाका मान्छेका शास्त्रलाई निरन्तर पढाउन सहजै होला, पढेकै विषय पाउँदा विद्यार्थीलाई पनि सजिलो होला ।

अहिले त्यही कक्षा एघार र बाह्रमा अनिवार्य विषय बहुत कम तर ऐच्छिक विभिन्न विषयहरू प्रस्तावित गरिएका छन् । त्यसमध्ये पाका मान्छेका विषय पनि ऐच्छिक थपिएको छ । तल्ला तहका कक्षाहरूमा जानकारी नभएकाले सुरुवाती समयमा नेपालभरिबाट दुई सय बढिमात्र विद्यार्थीले बुढ्यौली शास्त्र अर्थात पाका मान्छेको विषय रोजेका छन् । खुसीको कुरा परीक्षा दिने सबै विद्यार्थीहरूले राम्रो अङ्कसहित उत्तीणर् गरेका छन् । यसबाट अनुमान गर्न सकिन्छ आफ्नै परिस्थितिका विषयमा विद्यार्थीमा ज्ञान ग्रहण क्षमता राम्रो हुँदो रहेछ । त्यसैले सबै विषय अध्ययन गर्नेलाई कामलाग्ने पाका मान्छेको विषय अनिवार्य रुपमा विज्ञान, मानविकी र वाणिज्यशास्त्र अध्ययन गर्ने सबै शङ्कायमा राखिनु तर्कसङ्गत देखिन्छ । के रैथाने साधन स्रोत तथा आवश्यक्ताका विषयमा अध्यापन गराए नेपाल समृद्धितिर लम्कन बेर लाग्ला र ?

कलेज तहः
स्नातक तहमा अहिले मानविकीतर्फ चौथो वर्षमा राखिएको विषय पाका मान्छेको शास्त्रलाई पाका मान्छेको सामाजिक अवस्था, गरिनुपर्ने सरसहयोग, स्वास्थ्य सम्बन्धी जटिलता आदिको सैद्धान्तिक पत्र बनाइनु पर्दछ । त्यसको आधारमा चौथो वर्षमा शोधपत्र (थेसिस)को तहमा विकास गर्नुपर्ने तर्फ सोचिनु पर्छ । त्यस व्यवस्थाका लागि कम्तीमा तेस्रो वर्षमा सैद्धान्तिक १०० पूर्णाङ्कको अध्यापन गराउनु पर्छ । चौथो वर्षमा थप उन्नतस्तरको अनुसन्धान बिधिसहित १०० पूणर्ाङ्कको सैद्धान्तिक र १०० पूणर्ाङ्कको शोधको व्यवस्था पनि गर्नु बाञ्छनिय हुन आउँछ ।

नेपालमा भएका सरकारी र गैरसरकारी पाका मान्छेको व्यवस्थापन बारेमा अनुसन्धान हुनुपर्छ । देशभित्रका सबै जिल्लाको आँकडा र स्थितिबारेमा अद्यावधिक आँकडा, गरिएका काम र आवश्यक्ताबारेमा अध्ययन निरन्तर भइरहनु पर्दछ । हरेक प्रदेशका केन्द्रमा आफू मातहतका जिल्लामा रहेका पाका मान्छेका आँकडा र व्यवस्थापनको अभिलेख रहनु पर्छ । त्यस आधारमा प्रदेश सरकार वा स्थानिय सरकारले पाका मान्छेको हित अनुकुल नीतिनिर्माण र व्यवस्थापनको जिम्मा लिनु पर्दछ । त्यस परिप्रेक्ष्यको अनुसन्धानमा निरन्तरता प्राज्ञिक तहबाट पनि गरिनु पर्दछ ।

विश्वविद्यालय तहः
हाम्रा नेपालका कलेज तहमा एकै विभागमा अध्यापन हुने विभिन्न विषयहरूलाई विश्वविद्यालयहरूमा विषयको महत्व र गरिनुपर्ने अनुसन्धानलाई ध्यानमा राखेर अलग्गै विभाग स्थापना हुने सामान्य प्रचलन छ । त्यसैले त कलेजस्तरमा गाभिएका धेरै विषयमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा केन्द्रीय क्याम्पस भनेर करिब तिन दर्जन विभागहरू छन् । पाका मान्छेको शास्त्रलाई अब समाजशास्त्र, मनोविज्ञान वा मानवशास्त्रको हाँगा वा गाँसिएको विषयमा सिमित गराइनु हुन्न । किन कि पाका मान्छेको सन्दर्भमा विविध विषयका पाठ्यसामग्री निर्माण गर्न सकिने प्रशस्त विधा छन् । नेपालको हावापानी र आर्थिक अवस्था अनुसार हुनआउने पाका मान्छेका प्रारम्भिक अवस्था, पाका महिला र पुरुषका समानता र भिन्नता, पाका मान्छेका मनोविज्ञान, पाका मान्छेका साम्भाव्य रोगव्याध, सामान्यतया हुने दीर्घ रोगव्याध, पाका मान्छेमा गरिने स्वास्थ्य उपचार, पाका मान्छेका रैथाने ज्ञान, पाका मान्छेका सुखमय र व्यवस्थित जीवनयापन, पाका मान्छेको घरायसी, गैरसरकारी र सरकारी रेखदेख, पाका मान्छेबारेमा भएका नियमकानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धता आदि ।

नेपाली समाजको दश प्रतिशतभन्दा कम सङ्ख्यामा रहेका र प्रयोग हुने भाषा, संस्कृति, व्यवसाय, चालचलन, रैथाने ज्ञान आदि र कम विद्यार्थी आकर्षण रहेका विषय बारेमा विभाग स्थापना गरेर अध्ययन अनुसन्धान हुन्छ । कम विद्यार्थीकै कारण आम्दानीभन्दा खर्च धेरै भएका र विदेशी बजारका लागि पनि विद्यार्थी उत्पादन गर्ने कारखाना जस्ता विभाग पनि छन नेपालमा । अनि नेपालको बिस प्रतिशतभन्दा बढि जनसङ्ख्या भएका पाका मानिसबारेमा विभाग स्थापना गरेर अध्ययन, अनुसन्धान र अरु देशका पनि अनुभव प्रचारप्रसार गर्न किन नहुने ? आफ्नै समाजको समुन्नति र देशकै गौरव गर्ने विषयमा उच्च शिक्षा कार्यान्वयन गर्न किन नहुने ? यस्तो गरेमा हाम्रो समाजका अहिलेका पाका मान्छेको हित मात्र होइन भावी हुने पाका मान्छेको समेत सरल र सुखमय बाटो निर्धारण गरी कम तनावयुक्त नेपाल बनाउन मद्दत गर्ला होइन र ?

अन्त्यमा,
शिक्षाको उद्देश्य मानसिक र शारीरिक रुपले समाजका विभिन्न समुदायमा हरेक उमेर समुहलाई सकृय र उर्जाशील बनाउनु पनि हो । उचित वैज्ञानिक शिक्षाले सबै शान्त, क्रियाशील र समाज उपयोगी भइरहन सघाउने पनि गर्दछ तथा भाँडभैलो र चिन्ता न्युनीकरण गर्न मद्दत गर्दछ । गत शताब्दीदेखिको देशहरू बिच असमान विकास तर भूमण्डलीकरणको समस्याले राम्रा भन्दा नराम्रा कुराको प्रभावद्वारा हरेक क्षेत्र आक्रान्त छ । यस परिप्रेक्ष्यमा पाका मानिस अन्नसँग घुन पिँधिएझैँ गुनासोमा बाँकी जीवन जीउन बाध्य भएका छन् । त्यसैले समाजको समयसापेक्ष बिकास गर्न पाका मान्छेको शास्त्रलाई हरेक तहमा अनिवार्य गराउनु मानव समुदायको हितमा अहिलेको प्राथमिक आवश्यक्ता देखिन आएको छ ।

०००
२०७९ असोज ११
ल.पु. चालिसेडाँडा

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) !फित्कौली डट कम, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्य कुरा बुझौँ ! क्यानाडा नेपाल डट कम, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम, १९ जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्ति भए पुग्छ ! क्यानाडा नेपाल डट कम, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युजनेपाल डट कम, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका र अति पाका मान्छेले कतिगर्न हुन्छ ? मकालुखबर डट कम, १४ अगस्त २०२२, साउन २९, २०७९
१३. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम, २० अगस्त २०२२, भदौ ४, २०७९
१४. पाका मान्छेमा बिर्सनु कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम, २१ अगस्त २०२२, भदौ ५, २०७९
१५. पाका मान्छेको संस्मरण र बिस्मृतीका कुरा ! फित्कौली डट कम, २ सेप्टेम्बर २०२२, भदौ १७, २०७९
१६. पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९
१७. पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ ! फ्रेसन्युजनेपाल डट कम, १७ सेप्टेम्बर २०२२, असोज १, २०७९
१८. अहिले पाका मान्छेका कुरा किन ? फित्कौली डट कम, १९ सेप्टेम्बर २०२२, असोज ३, २०७९
१९. शिक्षामा मानिला मान्छेका कुरा किन ? फित्कौली डट कम, २७ सेप्टेम्बर २०२२, असोज ११, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x