सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शिक्षामा मानिला मान्छेका कुरा किन ?

समाजको समयसापेक्ष बिकास गर्न पाका मान्छेको शास्त्रलाई हरेक तहमा अनिवार्य गराउनु मानव समुदायको हितमा अहिलेको प्राथमिक आवश्यक्ता देखिन आएको छ ।

Nepal Telecom ad

नेपालमा अन्य बिधामा जस्तै शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तन भएका छन्, प्रणालीमात्र होइन विषयहरूको विविधता र अध्यापन कार्यका तरिका फेरिएका छन् । एउटा मात्र विश्वविद्यालय र महाविद्यालयले नपुगेर बहुसङ्ख्यामा विभिन्न तहका देशभरिनै सञ्चालनमा छन् । गुणस्तर र स्रोतमा भिन्नता रहे पनि वडा तहमा प्राथमिक विद्यालय र पालिका तहमा विद्यालय तथा महाविद्यालय अहिलेको नेपाली सामाजिक चरित्र बनेको छ । बहुल विश्वविद्यालयको अवधारणाले पहिला उस्तै रहे पनि हिजोआज बजारको आवश्यक्ता भन्दै विषयगत विविधता र भिन्नता देखापरेका छन् । यस सन्दर्भमा पाका मान्छेबारे सरकारी कानुन र नीतिनियम बनेकाले उहाँहरू केन्द्रीत पाठ्यसामग्री हरेक तहमा अध्यापन गराइने चाँजोपाँजोको व्यवस्था पनि अपरिहार्य भएको छ ।

मौजुदा स्थितिः
परम्परागत ज्ञान र सिकाईमा धेरै परिवर्तन भएको मानव समाजमा देखिएको छ । त्यसैको कारण सामाजिक संस्कार र मानविय चरित्रमा उलटफेर भएको देखिन्छ । पछिल्लो शताब्दीमा संसारभरी राजनीतिक परिवर्तन पछिको सामाजिक उथलपुथलले सर्बसाधारण मानिसका व्यवहार र सोचाईमा हिजोको तुलनामा आजभोलि निकै फरक अनुभूति भइरहेछ । हिजो गर्न नहुने, पाप लाग्ने र एकालकाँटेको आरोप खप्नुपर्ने सामाजिक बाध्यताको बन्धनमा बाँधिएका पारिवारिक सदस्यहरू अहिले फुक्काफाल चरित्र देखाइरहेछन् । त्यसमाथि पछिल्लो खेप प्राकृतिक अनुशासन विपरित मानिस प्रजाति विशेषगरी जान्नेबुझ्ने भनाउँदा अति नै नाफानोक्सानको बिचारले बजारवादको घोडा चढ्न पुगेको छ ।

भविष्यको बारेमा स्पष्ट मार्गचित्र बिना आजका निम्नमध्यम बर्गमाथिका वयस्क पुस्ता क्षणिक लाभ र सिमित सामाजिक दायित्वतिर उन्मुख भइरहेछ । यस उमेरसमुह र बर्गले मानिसको सार्वजनिक कर्तव्यबारेमा सोच्न पनि सकिरहेको छैन, फगत आफ्नो काल्पनिक तृष्णा र फत्य नहुने कामनाको उडानमात्र बमन गरिरहेछ । त्यसबाट विकसित चरित्रले करबल र ईज्जतकै लागि भए पनि आफू मुनिको उमेरलाई केही समय हेरे पनि आफू माथिको उमेरसमुहलाई नहेर्ने संस्कार उमारेको छ । आफू र आफ्ना लालाबालाको ख्यालमा आफूमाथिको पुस्ताको बेवास्ता बढेको छ । बेवास्ता मात्र त सकारात्मक नै हुन्थ्यो अझ होचीअर्घेली गर्ने, दुखः दिने र घृणासमेत कुहिरीमण्डल पार्न तम्सिएका घटना पनि छरपष्ट भएका छन् ।

विभिन्न जीवहरूको पाकृतिक नियम र सामाजिक प्रणालीको अध्ययन गर्दा मानव समाजको संयोजन विभिन्न उमेरसमुहका महिला र पुरुषको एकीकृत प्रणाली भएकोमा पर्दछ । यस्तो प्रणाली हुने जीवमा निरन्तरताको लागि व्यक्तिवादी चरित्र प्रजाति बिरोधी हानिकारक नै हुन्छ । त्यसैले त प्रजातिगत अनुशासनमा बाँधिएका स्तनधारी बन्यजन्तुहरू प्राय आफ्नै समुहमा सबै उमेर समुहका एकै ठाउँ रमाउँछन् । स्रोतको अभावले ठूलो बगाल एकै ठाउँ रहन नसक्ने भएमा सन्तुलित विभाजन भई सकेसम्म दुई समुह भई परस्पर मैत्रीभावमा नै नजिकै रहन्छन् । मानिस प्रजातिले त्यहि प्राकृतिक अनुशासनलाई नियमितता दिँदै ठूल्ठूला संयुक्त परिवारमा रमाएको मानव इतिहास अठारौँ शताव्दी आइपुग्दा बिस्तारै छिन्नभिन्न हुन थाल्यो ।

अहिलेको सोचाईः
पाका मान्छेबारेमा अहिले हाम्रो नेपाली समाजमा दुई थरीको बिचार सतहमा सुनिन्छ । एक थरी ‘रकमकलम आफ्नो हातमा हुनुपर्छ अनि आनन्द हुन्छ’ भन्ने छन् । त्यसैकारण कमाएको वा राख्न सक्ने सम्पति कम्तीमा आफ्नै मुट्ठीमा राख्न खोज्छन् र कतिले ‘गुठुरी बनाको छ’ भन्ने गरेको पनि सुनिन्छ । अर्काथरी ‘होइन जेभए पनि आफ्नै सन्तान परिवारले अन्तिममा हेरिहाल्छन् नि’ भनेर आवश्यक्ता अनुसार लालाबालाकै सहयोगी भई बसेका हुन्छन् । अझ साह्रै विश्वास गरेको देखाउने र अति माया गरेको भनिने त आफू सर्वहारा बनेर उमेरमा नै सबै श्रीसम्पति सन्तानको नाममा सारिसक्छन् । यो दुबै पक्रियाले वास्तवमा पाका मान्छेलाई शारीरिक सक्षम छउन्जेलमात्र सघाउ पुग्ला, अशक्त हुँदा काम नदिन सक्छ ।

गर्भमा रहेदेखि आमाको स्वास्थ्य, स्वभाव, वंशको चरित्र सबै लिएर एउटा शिसु सामाजिक स्थितिसँग सिक्तै जुझ्दै हुर्केको हुन्छ । हरेक मान्छेका बोलीचाली, स्वभाव र व्यवहारको समिश्रणयुक्त कुरानै संस्कारजन्य हुन, त्यसलाई परिस्थितिले मलजल गरेको हुन्छ । मानिसको भावनात्मक शोषण गर्न शिपालु कथित प्रजातन्त्रप्रेमी बजारिया महाजनहरू हरेक मानव समुदायको सबल पक्षको साटो आफ्ना कुत्सित नाफामुखी चाहना पुरा गर्न विश्वबजार बिस्तार गर्दैछ । यतिखेर त्यसैले सञ्चारको अचाक्ली साम्राज्यबिस्तार भएको छ । मानिसमा रहेको सामान्य आधारभूत क्रयशक्तिले पनि किन्न सक्नेगरी अल्झाउने उपकरणहरू बजारमा उपलब्ध छन् । चाहिँदा-नचाहिँदा, मिल्दा-अमिल्दा कुराले सामान्य न्युनबर्ग र समुदायका मानिसहरूका बिचारसमेत भत्केका छन् । यस क्षयीकरणको प्रक्रियामा किशोरकिशोरी र वयस्कहरू बढि प्रभावित छन् भने परिस्थितिको चपेटामा पाका मान्छे ‘न सति जानु न अडबाङ्गो हुनु’को स्थितिमा अर्घेलोमा परेका छन् ।

कतिपयमा बजारबादले बिग्रदो सामाजिक बनावट र व्यवहारबाट एउटै कुरामा ध्यान गएको छ, पूँजी वा पैसा । केही दशक अघिसम्म ‘बाबुआमा बाहेक पैसाले सबैकुरा संसारमा पाइन्छ’ भन्ने भनाई पनि खुइलेर अब हाकाहाकी ‘बाँच्नका लागि पूँजी नै सबथोक हो र पैसा भएपछि सबैकुरा सम्भव छ, दामभए काम हुन्छ’ भनेको सुनिन्छ । आफ्नो सप्ठ्यारो पार्न आफ्नै नाममा राख्नुपर्छ भनि कतिपयले नगदी वा अचल सम्पति आफ्नै नाममा राखेर ढुक्क भएको पनि भन्दछन् । के आफ्नो नाममा हुँदैमा सबै कुरा उमेरिदा हुने अशक्त शारीरिक अवस्थामा पुरा गर्न सकिएला त ? दाम भयो भने सम्पूणर् भौतिक सुबिधा त मिलाउन सकिएला, तर मानिसले पाउनै पर्ने भावनात्मक सहयोग र प्रजातिगत स्नेह कायम रहला त ?

कतिपयले पाको उमेरमा अशक्त (?) हुँदा चाहिने भनेर सम्पति जोगाएको पनि देखिन्छ । हातगोडा चलुन्जेल आफूसँग दाम भए ईच्छा लागेको काम गर्न सकिएला, देहले मागेको किनेर खान सकिएला र राम्रो लागेका ठाउँमा जान पनि सकिएला । पाका मान्छेको शरीर स्वस्थ्य रहे अथवा अस्वस्थ्य भए पनि सामान्य काम गर्न सकुन्जेल पूँजी छ भने आफैँ अग्रसर भएर आवश्यक्ता पुरा होला । एक्लै पनि घरमा बस्न, बिस्तारै दैनिक काम गर्न र परेको ठाउँमा हिँडडुल गर्न सकेर दिनचर्या बित्ला । तर शरीरले नसक्दा र अङ्गप्रत्यङ्गले अठोटेको काम गर्न नसक्ने भएपछि अचल त के नगद दाम, सम्पति भए पनि के काम लाग्ला र ? त्यही बसेको ठाउँबाट आफ्ना नगद रुपियाँले एक पित्को औषधिको झोल लिन जान पनि सकिन्न, एक माना चामल बोकेर ल्याउन सकिन्न अनि के काम लाग्छ त सम्पति ? हो, सम्पति छ भने, परिवार नरम आधुनिक छन् भने बृद्धाश्रम नभएर हेरचाह केन्द्रतिर राखिदेलान्, नत्र सार्वजनिक हण्डीका देवालय, शिवालय वा अनाथालय त पाका मान्छेका गन्तव्य होलान, होइन र ? त्यसरी बाँकि जीवन नगुजार्न चाहने नै त बेवारिसी लास बन्ने होलान् नि !

हो, दुर्घटना परेर ठाउँको ठाउँ, अप्रत्यासित मुटु वा मस्तिष्क घात भई तुरुन्त नबिते त अशक्त भई ओच्छ्यान पर्ने समय हरेक मानिसलाई उमेरिदै जाँदा आउँछ नै । त्यस्तो बेलाको लागि सहयोगीको तयारी के हुनसक्छ त ? के परिवार, ईष्टमित्र र चिनेजानेका कोही सहयोगी हुनसक्लान् ? बचत भएको सम्पतिकै सदुपयोग गरेर पाका मान्छेका अन्तिम दिनहरू सुखमय बनाउन सक्लान् ? संस्कारगत हिसाबले पाका मान्छेको हेरचाह र स्याहारसुसार कर्तव्य सम्झिने परिवार छ भने त यो समस्या हुँदै भएन । आफ्नो अभिभावक गुमाउन लागेको पिरलो सबैलाई हुन्छ र अन्तिम स्वास रहेसम्म कसरी निको पार्ने, कसरी अलि सजिलो बनाउने भन्ने नै ध्याउन्ना हुन्छ ।

बिग्रदो अस्थिर सामाजिक बनावट, व्यक्तिगत सुखसुबिधाको ध्यानमा रमाउने व्यक्तिवाद र हरेक मानवबिच आउनुपर्ने मानविय धारणमा नाफानोक्सानको हिसाब लाउने बजारवाद आजको मानव प्रगतिका बाधक हुन् । यस्ता निम्छरा बिचारले मानव समाजलाई भँड्खारोतिर लैजाँदै छ र यस परिस्थितिको चरम अपमानका सिकार पाका मान्छे हुँदैछन् । के आफ्ना आदरणीय, अग्रज र हाम्रो पुस्तालाई बर्तमान स्थितिमा पुर्‍याउन कष्टसाध्य मिहेनत गर्ने आजका पाका मान्छेलाई उचित सम्मान र हेरचाह गर्नुसाटो एक्लै दुखकासाथ बाँच्न बाध्य पारिनु हुन्छ त ? हुँदैन । त्यसैले सानो उमेरदेखि नै पाका मान्छेको अवस्था, स्थिति, मनोविज्ञान र गर्न सकिने हेरबिचारबारे ध्यान पुर्‍याउन पठनपाठनमा जोड गर्नुपर्छ ।

अहिलेका पाका मान्छेहरू त अब जीवनको उत्तराद्र्धमा छन्, जसोतसो सहन्छन् र बाँचुन्जेल बाँच्छन् । उनीहरूमा कम समयमा बिभिन्न सामाजिक, राजनीतिक र आकाश जमिनको परिवर्तनको अनुभव छ । त्यस्ता प्रक्रियाले सहने, बुझ्ने र चित्त बुझाउने गुण आजका पाका मान्छेमा प्रशस्त छन् । बरु अहिलेकैै सामाजिक मनोविज्ञान बढ्दैरहे पछि पाका मान्छे हुने आज हुर्कंदै गरेका सिमीत ज्ञान र असहिष्णु स्वभावका नातिनातिना पुस्ताको के हालत होला ? अहिलेको यस्तो क्षणिक लाभको संस्कारमा हुर्केकाहरू अबको तिनचार दशकपछि पाका बनुन्जेल कति अमिल्दो, अमानविय हेलाँहोचोमा पर्लान् ? कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ । त्यसैले पाका मान्छेको कुरा सुन्नु र त्यहि अनुसार गर्नुभनेको अहिलेका नातिनातिना पुस्ताको हितमा उठाउन लागेको कुरा हो । आफू मुनिका सन्तानको हितमा हाड घोटिरहेका पाका मान्छेले बोलेका हरेक शब्द आफ्नै हितका लागि मात्र भनिरहेका छैनन् है, बुझौँ !

शिक्षाः
समाजको आवश्यक्ता, मानव समृद्धि र सुबिधाका लागि नै हरेक देशमा शिक्षाप्रणाली विकसित गरिएको हुन्छ । हाम्रो देशमा सामाजिक आर्थिक आधारभूत अवस्था बिपरित अमिल्दा विषयहरूसमेत अर्काको माग पुरा गर्न अध्ययन अध्यापन हुन्छ । त्यसैले हरेक विषयमा हिजोआज नेपालमा शैक्षिक सामग्री पाइन्छन् । शिसु कक्षादेखि विद्यालय र महाविद्यालयका विभिन्न तहमा विभिन्न विषयमा अध्ययन अध्यापन हुन्छ । हाम्रो समाजमा देखापरेको अचाडु संस्कार बिरुद्ध सिर्जनात्मक जुझाइमा बल पुर्‍याउन पठनपाठनमा विषय थपगरी सिकाईमा नै सुधारका लागि परिवर्तन ल्याउनु पर्छ । शैक्षिक संस्थाहरूमा अध्ययन गराउनै पर्ने टडकारो विषयमा पाका मान्छेका कुरा देखा परेको छ । नेपालमा करबल केही वर्ष अघिबाट एकदुई तहमा बुढ्यौली शास्त्रको सामान्य परिचय दिने विषय पाठ्यक्रममा राखिएको छ । समाजको खस्कँदो संस्कार, पारिवारिक बिखण्डन र बढ्दो उडन्ते स्वभाव मौलाउन नदिन पाका मान्छेका शास्त्र हरेक तहमा राखिनु अब ढिला भइसक्यो । उमेर समुह र तह अनुसार तपशिलका केहि परिवर्तन गर्न सकिए पनि सामाजिक हिसाबले धेरै सकारात्मक प्रभाव देखिने छन् ।

पूर्वप्राथमिक तहः
प्राथमिक तहमा भर्खरका केटाकेटी खेल्न, रमाउन र आमाबाबुले आफू काममा जाँदा भुलाउने ठाउँ पाएका छन्, आधुनिक बच्चा खेलाउने विद्यालयमा । त्यस्ता केन्द्र कसैकसैमा अक्षरारम्भ गराउने र शिसु कक्षा चलाउने पनि हुन्छ । त्यस्ता शिसु विद्यालयमा शिसुहरूलाई आफूभन्दा ठूलालाई मान गर्न र अभिवादन गर्न सिकाउने पनि हुनुपर्छ । उमेर आङ्कलन गरेर माया गर्ने र भाइबहिनी, दाइदिदी, काकाकाकी, बाआमा, हजुरबाआमा भनि नमस्कार गर्न सिकाउनु पर्छ । त्यस्तै शिक्षक बर्गलाई प्रणाम भनि नमस्कारको अभिवादन गर्न सिकाउनु राम्रो हुन्छ । मान्यजनले भनेको मान्न र आफूभन्दा सानालाई माया गरी हेरबिचार गर्न सिकाउनु पर्छ । गृह कार्यको रुपमा हरेक दिन बिहान घरका मान्यजनलाई हातजोडी अभिवादन गर्न र बिद्यालयबाट फर्केपछि अपरान्हको अभिवादन गर्नुपर्छ भनि पाठ दिनु ठिक हुन्छ । पाका मान्छेका ज्ञानगुन, उपलब्धी र असल परम्पराको कुरा कथाको रुपमा उनीहरूलाई भनिनु पर्छ ।

विद्यालयले बालबालिकाहरूका घरमा भएका पाका मान्छेलाई पालैसँग हरेक हप्ता निम्ता गरेर उहाँहरूका बालख कालका कुरा सुनाउन लगाउनु पर्छ । वर्षमा एकपटक सबै बालबालिकाका घरका रहेका पाका मान्छेलाई बोलाई विद्यालयले हजुरबाआमा र नातिनातिना समुहको पुनर्मिलन गराउनु पर्छ । एकअर्काको राम्रो पक्षको प्रशंसा गरी बालबालिकालाई अशल कामको स्याबासी दिने वातावरण बनाउनु पर्छ । त्यसो गर्दा बालबालिकामा राम्रा कुराको जगेर्ना, अनुशरण गर्न मौका हुन्छ भने पुस्तान्तरणको खाडल मनोवैज्ञानिक रुपले आफैँ पुरिन गएर सौहार्दता पलाउँछ । घरमा पनि परिवारले उनीहरूको अशल काम र पाको व्यवहारको प्रशंसा गर्दै अझै बृद्धि गर्न प्रोत्साहित गर्नुपर्छ ।

प्राथमिक तहः
कक्षा एकदेखि पाँचसम्मका कक्षाका पाठ्यपुस्तकमा पठनपाठनको स्तरअनुसार अङ्ग्रेजी, नेपाली र हिसाब जस्तै पाका मान्छे हितकारी अध्याय भएको सामाजिक शिक्षाको चलन गर्नै पर्दछ । त्यस सामाजिक पुस्तकमा नेपाल देशको निर्माण, सामान्य भूगोल, वातावरण, जातजाति, उमेरसमुह अनुसार जनसङ्ख्या तथा पाका मान्छे बारेको जानकारीहरू हुनुपर्छ । पाका मान्छे किन समाजका अभिन्न अङ्ग हुन भन्ने झल्काउने कथा वा लेखरचना हुनुपर्छ । त्यस विषयको पाठ्यपुस्तक सामान्य स्तरबाट कक्षा र उमेर सापेक्ष गहकिलो बनाउँदै लगेको हुनुपर्छ । कक्षाभार भने ५० पूणर्ाङ्कको हुँदा ठिक होला ।

घरमा यो उमेर समुहका लागि पढाइ, गृहकार्य सकेपछि काम सघाउने, पाका मान्छेसँग बस्ने, आफ्नो पठनपाठनको प्रगति र कक्षा गतिविधि आदि सुनाउने बानी लगाउन परिवारले ध्यान दिनुपर्छ । गृहकार्यमा पनि घरका पाका मान्छेलाई गरिएको व्यवहार र सहयोगको लिखत बुझाउने पाठ हुनुपर्छ । कम्तिमा हप्ताको एक दिन बालबालिकाले आफूले गरेका घरायसी काम, परिवारले गरेका उत्प्रेरक सामाजिक काम सुनाउने मौका दिनुपर्छ । साप्ताहिक पाँच दिन पुरा कक्षा चल्ने परिस्थितिमा बालबालिकाको संस्कार र अभिव्यक्तिको गुण बृद्धि गर्न विद्यालयले छैठौँ एक दिन छुट्ट्याउँदा शैक्षिक नोक्सानी होइन सामाजिक योगदान गरेकोमा गर्व गर्न सकिन्छ । बालबालिकामा आएको प्राकृतिक गुणको बखानले निशुल्क विज्ञापन भएर अमुक विद्यालयको आकर्षण बढ्न गई व्यापारिक फाइदासमेत हुनेमा विद्यालय ढुक्क भए हुन्छ ।

निम्नमाध्यमिक र माध्यमिक तहः
कक्षा छदेखि आठसम्म सामाजिक शिक्षाकै पुस्तकलाई १०० पूणर्ाङ्क भारको बनाइनु विद्यार्थी उमेरसमुह अनुसार ठिक होला । त्यसमा गृहकार्यको रुपमा आफ्ना घरका पाका मान्छेको वणर्नलाई रिपोर्ट बनाई बुझाउने, आगन्तुक पाका मान्छेका कुराको निबन्ध लेख्ने, चिनेका वा सुनेका पाका मान्छेको जीवनी लेख्ने आदि दिन सकिन्छ । विद्यार्थीले आफ्ना घरका पाका मान्छेको अवस्था, गरिएको रेखदेख, कुनै दीर्घ रोगब्याध भए त्यसको लक्षण, निराकरण वा न्युनीकरणमा प्रयोग भएका उपाय आदिको रिपोर्ट बनाउन भन्नुपर्छ ।

कक्षा नौ र दसमा पाका मान्छेको मनोविज्ञान, समस्याहरू र हेरबिचारको तरिकाबारे अरुजस्तै विषयका रुपमा छुट्टै एक विषय पाका मान्छे शास्त्रको स्थापना गरिनु पर्छ । त्यसमा पाका मान्छेको मनोविज्ञान, उमेरिँदा हुनसक्ने रोगव्याधि र गर्नुपर्ने समस्या न्युनीकरणका घरायसी र आधुनिक उपचारका उपायहरू छोटकरीमा वणर्न हुनुपर्छ । आफ्नो गाउँ, टोल र वडा तहका सबैभन्दा पाका मान्छेका दिनचर्या वणर्नको रिपोर्ट पनि अब्बल गृहकार्य हुनसक्छ । पाका मान्छे राखिएका ठाउँहरू, मन्दिर, गुम्बा र मस्जिदतिर बस्ने पाका मान्छे बारेमा अध्ययनभ्रमण अतिरिक्त क्रियाकलापमा गराउन सकिन्छ । ती आश्रयस्थलमा पाका मान्छेसँग वार्तालाप गर्ने व्यवस्था मिलाई उहाँहरूको अवस्था, गुण, अवगुण, सुधार गर्नुपर्ने क्षेत्र तथा समाधान गर्नुपर्ने समस्या बारेमा टिपोट बनाउन विद्यार्थीलाई भन्नुपर्छ ।

पहिलाजस्तो कक्षा दसको टेष्टपछि आठ/नौ विषयमा दैनिक जाँच हुने, परीक्षा केन्द्र आफ्नो विद्यालयबाट टाढा, कहिल्यै नदेखेको ठाउँमा पनि हुनसक्ने, उत्तीणर् हुन सबै विषयमा एकै पटक पास हुनुपर्ने छैन । विद्यालय स्तरमा र सकेसम्म पढिरहेकै विद्यालयबाट दस कक्षासम्म उत्तीणर् हुने र सम्पूणर् व्यवस्थापन तिनै विद्यालयले गर्ने भएर एसएलसीको फलामे ढोका भनिने चलन हराउँदै गएको छ । हिजोआज कक्षा एघार र बाह्रलाई कलेज तह नै भनिए पनि माध्यमिक तहमा नै सरकारी व्यवहार देखिन्छ । कतिपय सक्षम विद्यालयमा त दसपछिका पहिलेका कलेज तहका कक्षा सजिलै लिन सकिन्छ । त्यसो भएमा पाका मान्छेका शास्त्रलाई निरन्तर पढाउन सहजै होला, पढेकै विषय पाउँदा विद्यार्थीलाई पनि सजिलो होला ।

अहिले त्यही कक्षा एघार र बाह्रमा अनिवार्य विषय बहुत कम तर ऐच्छिक विभिन्न विषयहरू प्रस्तावित गरिएका छन् । त्यसमध्ये पाका मान्छेका विषय पनि ऐच्छिक थपिएको छ । तल्ला तहका कक्षाहरूमा जानकारी नभएकाले सुरुवाती समयमा नेपालभरिबाट दुई सय बढिमात्र विद्यार्थीले बुढ्यौली शास्त्र अर्थात पाका मान्छेको विषय रोजेका छन् । खुसीको कुरा परीक्षा दिने सबै विद्यार्थीहरूले राम्रो अङ्कसहित उत्तीणर् गरेका छन् । यसबाट अनुमान गर्न सकिन्छ आफ्नै परिस्थितिका विषयमा विद्यार्थीमा ज्ञान ग्रहण क्षमता राम्रो हुँदो रहेछ । त्यसैले सबै विषय अध्ययन गर्नेलाई कामलाग्ने पाका मान्छेको विषय अनिवार्य रुपमा विज्ञान, मानविकी र वाणिज्यशास्त्र अध्ययन गर्ने सबै शङ्कायमा राखिनु तर्कसङ्गत देखिन्छ । के रैथाने साधन स्रोत तथा आवश्यक्ताका विषयमा अध्यापन गराए नेपाल समृद्धितिर लम्कन बेर लाग्ला र ?

कलेज तहः
स्नातक तहमा अहिले मानविकीतर्फ चौथो वर्षमा राखिएको विषय पाका मान्छेको शास्त्रलाई पाका मान्छेको सामाजिक अवस्था, गरिनुपर्ने सरसहयोग, स्वास्थ्य सम्बन्धी जटिलता आदिको सैद्धान्तिक पत्र बनाइनु पर्दछ । त्यसको आधारमा चौथो वर्षमा शोधपत्र (थेसिस)को तहमा विकास गर्नुपर्ने तर्फ सोचिनु पर्छ । त्यस व्यवस्थाका लागि कम्तीमा तेस्रो वर्षमा सैद्धान्तिक १०० पूर्णाङ्कको अध्यापन गराउनु पर्छ । चौथो वर्षमा थप उन्नतस्तरको अनुसन्धान बिधिसहित १०० पूणर्ाङ्कको सैद्धान्तिक र १०० पूणर्ाङ्कको शोधको व्यवस्था पनि गर्नु बाञ्छनिय हुन आउँछ ।

नेपालमा भएका सरकारी र गैरसरकारी पाका मान्छेको व्यवस्थापन बारेमा अनुसन्धान हुनुपर्छ । देशभित्रका सबै जिल्लाको आँकडा र स्थितिबारेमा अद्यावधिक आँकडा, गरिएका काम र आवश्यक्ताबारेमा अध्ययन निरन्तर भइरहनु पर्दछ । हरेक प्रदेशका केन्द्रमा आफू मातहतका जिल्लामा रहेका पाका मान्छेका आँकडा र व्यवस्थापनको अभिलेख रहनु पर्छ । त्यस आधारमा प्रदेश सरकार वा स्थानिय सरकारले पाका मान्छेको हित अनुकुल नीतिनिर्माण र व्यवस्थापनको जिम्मा लिनु पर्दछ । त्यस परिप्रेक्ष्यको अनुसन्धानमा निरन्तरता प्राज्ञिक तहबाट पनि गरिनु पर्दछ ।

विश्वविद्यालय तहः
हाम्रा नेपालका कलेज तहमा एकै विभागमा अध्यापन हुने विभिन्न विषयहरूलाई विश्वविद्यालयहरूमा विषयको महत्व र गरिनुपर्ने अनुसन्धानलाई ध्यानमा राखेर अलग्गै विभाग स्थापना हुने सामान्य प्रचलन छ । त्यसैले त कलेजस्तरमा गाभिएका धेरै विषयमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा केन्द्रीय क्याम्पस भनेर करिब तिन दर्जन विभागहरू छन् । पाका मान्छेको शास्त्रलाई अब समाजशास्त्र, मनोविज्ञान वा मानवशास्त्रको हाँगा वा गाँसिएको विषयमा सिमित गराइनु हुन्न । किन कि पाका मान्छेको सन्दर्भमा विविध विषयका पाठ्यसामग्री निर्माण गर्न सकिने प्रशस्त विधा छन् । नेपालको हावापानी र आर्थिक अवस्था अनुसार हुनआउने पाका मान्छेका प्रारम्भिक अवस्था, पाका महिला र पुरुषका समानता र भिन्नता, पाका मान्छेका मनोविज्ञान, पाका मान्छेका साम्भाव्य रोगव्याध, सामान्यतया हुने दीर्घ रोगव्याध, पाका मान्छेमा गरिने स्वास्थ्य उपचार, पाका मान्छेका रैथाने ज्ञान, पाका मान्छेका सुखमय र व्यवस्थित जीवनयापन, पाका मान्छेको घरायसी, गैरसरकारी र सरकारी रेखदेख, पाका मान्छेबारेमा भएका नियमकानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धता आदि ।

नेपाली समाजको दश प्रतिशतभन्दा कम सङ्ख्यामा रहेका र प्रयोग हुने भाषा, संस्कृति, व्यवसाय, चालचलन, रैथाने ज्ञान आदि र कम विद्यार्थी आकर्षण रहेका विषय बारेमा विभाग स्थापना गरेर अध्ययन अनुसन्धान हुन्छ । कम विद्यार्थीकै कारण आम्दानीभन्दा खर्च धेरै भएका र विदेशी बजारका लागि पनि विद्यार्थी उत्पादन गर्ने कारखाना जस्ता विभाग पनि छन नेपालमा । अनि नेपालको बिस प्रतिशतभन्दा बढि जनसङ्ख्या भएका पाका मानिसबारेमा विभाग स्थापना गरेर अध्ययन, अनुसन्धान र अरु देशका पनि अनुभव प्रचारप्रसार गर्न किन नहुने ? आफ्नै समाजको समुन्नति र देशकै गौरव गर्ने विषयमा उच्च शिक्षा कार्यान्वयन गर्न किन नहुने ? यस्तो गरेमा हाम्रो समाजका अहिलेका पाका मान्छेको हित मात्र होइन भावी हुने पाका मान्छेको समेत सरल र सुखमय बाटो निर्धारण गरी कम तनावयुक्त नेपाल बनाउन मद्दत गर्ला होइन र ?

अन्त्यमा,
शिक्षाको उद्देश्य मानसिक र शारीरिक रुपले समाजका विभिन्न समुदायमा हरेक उमेर समुहलाई सकृय र उर्जाशील बनाउनु पनि हो । उचित वैज्ञानिक शिक्षाले सबै शान्त, क्रियाशील र समाज उपयोगी भइरहन सघाउने पनि गर्दछ तथा भाँडभैलो र चिन्ता न्युनीकरण गर्न मद्दत गर्दछ । गत शताब्दीदेखिको देशहरू बिच असमान विकास तर भूमण्डलीकरणको समस्याले राम्रा भन्दा नराम्रा कुराको प्रभावद्वारा हरेक क्षेत्र आक्रान्त छ । यस परिप्रेक्ष्यमा पाका मानिस अन्नसँग घुन पिँधिएझैँ गुनासोमा बाँकी जीवन जीउन बाध्य भएका छन् । त्यसैले समाजको समयसापेक्ष बिकास गर्न पाका मान्छेको शास्त्रलाई हरेक तहमा अनिवार्य गराउनु मानव समुदायको हितमा अहिलेको प्राथमिक आवश्यक्ता देखिन आएको छ ।

०००
२०७९ असोज ११
ल.पु. चालिसेडाँडा

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) !फित्कौली डट कम, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्य कुरा बुझौँ ! क्यानाडा नेपाल डट कम, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम, १९ जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्ति भए पुग्छ ! क्यानाडा नेपाल डट कम, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युजनेपाल डट कम, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका र अति पाका मान्छेले कतिगर्न हुन्छ ? मकालुखबर डट कम, १४ अगस्त २०२२, साउन २९, २०७९
१३. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम, २० अगस्त २०२२, भदौ ४, २०७९
१४. पाका मान्छेमा बिर्सनु कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम, २१ अगस्त २०२२, भदौ ५, २०७९
१५. पाका मान्छेको संस्मरण र बिस्मृतीका कुरा ! फित्कौली डट कम, २ सेप्टेम्बर २०२२, भदौ १७, २०७९
१६. पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९
१७. पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ ! फ्रेसन्युजनेपाल डट कम, १७ सेप्टेम्बर २०२२, असोज १, २०७९
१८. अहिले पाका मान्छेका कुरा किन ? फित्कौली डट कम, १९ सेप्टेम्बर २०२२, असोज ३, २०७९
१९. शिक्षामा मानिला मान्छेका कुरा किन ? फित्कौली डट कम, २७ सेप्टेम्बर २०२२, असोज ११, २०७९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे किन पिरलो गर्छन् ?

पाका मान्छे किन पिरलो...

डा. मुकेशकुमार चालिसे
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे