सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाका मान्छे किन पिरलो गर्छन् ?

पाका मान्छेका पिरलो उमेरका कारण र भोगाईको दशकौँको अनुभवले अरुलाई जसरी निमिट्यान्न पार्न गाह्रो हुन्छ । त्यसैले चिन्ता गर्ने स्वभाव रोगको रूपमा लाग्नु अघि बेलैमा आफन्त र परिवार सदस्यले घटाउने, हटाउने र अभिभावको चित्त बुझाइदिने कर्तव्य अरुले लिनैपर्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

मानिसहरूका जुनसुकै उमेरसमूहमा आआफ्नै तहका चिन्ता, फिक्री, मनको ताप र विभिन्न सुर्ताले घर गरेर छोडेको देखिँदैन बरू आफैँलाई मात्र परेझैँ उत्पात पिरलो परेको सुनाउँछन् । केटाकेटीको खेलकुद, पढाईलेखाई र साथीभाइको दोस्ती र डाढोको चिन्ताले मननै कुरीकुरी खाइरहेको भन्छन् । कतिपय कामकाजी बाबुआमा भएका घरमा कतिखेर आउलान र खान पाइएला भन्ने तापले ओठमा कलेटी पारेर केटाकेटी कुरिरहेका भेटिन्छन् । अलिकति उमेर बढेपछि त्यहि केटाकेटी कसैले राम्रो भन्यो कि नराम्रो भन्छ, बाआमालाई केहि कुरा उल्टापाल्टा लगाइदिएर गाली खाइने हो कि भन्ने चिन्ता गर्छन् । अर्कोतिर कसैले उमेर पुग्न लागेकाले जिस्क्याउने र नजिक पर्दा शरीरमै छोएर अब त बराँठ हुने जिउडाल भयो नि भनी चिमोटिदिएको रिस नजिक नढिम्कने अठोटको चिन्ता र कसैलाई मज्जा लागेर फेरि भेट्ला कि नभेट्ला भन्ने चिन्ताले सताएको हुन्छ !

किशोरकिशोरी उमेर नाँघेपछि आफू पनि कोपिलाबाट फूल र भुसुनाबाट बारुलो भएको तुजुक अनि शारीरिक मजबुतीले भुइँनै भत्काउनेगरी हिँडने सनक, के चाहियो ? कसैले करे आँखाले हेरे पनि जाइलाग्न भद्रो हेर्नै नपर्ने ! जसोतसो सुमरिने उमेर नाघेपछि केहि त गर्नै पर्‍यो भनि योग्यतानुसार कतै अल्झो लाग्ने दौडधुप, अनि बाँधिएको भन्दै महिनावारी तनखा बुझ्न केन्द्रित भई पुराना अहम ‘रायोसागको पात घमाइला दिनमा लुत्रुक्क परेझैँ’ बिहान भातखाएर चिसै हातले कार्यालय र बेलुका थकित भई घर आएर ‘खाजा छ कि’ भन्ने आाश ! वैँशमा त अब कहिले पदोन्नति होला ? भन्ने रनाहमा हाकिमका ढोकामा बेहानबेलुकिको दर्शन भेट, नभए कुन दलको वर्चश्व छ तिनै दलको मुखियाको ढोकामा दिनरात टहलको मेसो ! अचेल त झन कति पिरलो होला सेटिङ बुझ्न र कार्यकारीनै भनिने धतुरे भेट्न ! गाह्रो छ हो गणतन्त्रमा वयस्कले आनन्दले आफ्नो ज्यान पाल्न भने जहान छोराछोरीको के हालत होला ? त्यसैले पिरैपिरमा कर्मचारी भएका र महिनावारी टन्न बुझ्नेले पनि सुईसुई गर्दै काम नगरेका होलान् !

यता गर्‍यो उता गर्‍यो उमेर ढाँटेरै जागिर चप्काएको भए पनि सेवानिवृत्त हुने दिनले झम्टी हाल्ने, कतै चोचोमोचो मिलाएको भए अलि गाँठ सोहोर्नेतिर विज्ञ भई सुलसुले पसेझैँ पस्ने होला ! बेलामा नमिलाएको भए त ‘आ घरै थच्ची’ त हो धेरैको, पर्खे उहीँ मन्सेको जस्तो पहेँला अक्षेतारुपी वृद्धभत्ता दाउलाउने उमेर कुर्नुपर्ने पिरलोले गाँजेको हुन्छ । उमेरिदै जाँदा जागिर छँदाको फुर्तीफार्ती सेलाउन थालिहाल्छ, भनसुन र सम्पर्क अप्रभावित स्तरमा खसी सक्छ, त्यस परिस्थितिमा मानिस केन्द्रित हुन थाल्छ आफैँतिर । पाका मान्छेलाई अधिकार र कर्तव्यबाट पञ्छाइदिँदा बाँकि रहने भनेको हिजो के गर्न सकिएन, के गरेको भए अलि राम्रो भनेजस्तो हुन्थ्यो भन्ने तर नलाग्ने पिर र ‘घरैमा पिँढीकुरुवा’ भइयो अब के गर्न सकिएला ? भन्दै पिल्पिल्याउँदो भई कोठाचोटा रङमङ्गिने धङ्गधङ्गी बाहेक !

अहिले संसारमा चिन्ता गर्ने वस्तुको कमी छैन, विभिन्न समयमा भएका घटनाले सबैलाई उत्सुक र चिन्तित गराउँछ । अस्थायी चिन्ता लागेमा मस्तिष्कको सक्रियता देखिएर स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ भने नियमित र लगातारको चिन्ता भएमा चिन्तित हुने सामान्य रोगलागेको बुझ्नु पर्छ । बाहिरफेर निस्कने काममा ओझेल परेपछि शुरुशुरुमा यसो अह्रनखटनमा चिलाउने मुख परिवारले टेर्न छाडेको झझल्को सुन्या नसुन्यै गर्दै उस्तैपरे ‘आफैँ पनि गर्दा के बिग्रन्छ ?’ भनाईमा पुग्दा पाका मान्छे झस्किँदै चिन्तित हुन थाल्छन् मेरा दिन सकिएछ भनेर । घरायसी यस्तै परिस्थितिको उपज अहिले अमेरिकीहरूमा कुल पाका मान्छेमा करिब ५.७ प्रतिशत चिन्ता रोगी भएको आँकडा मस्तिष्क स्वास्थ्य सम्बन्धि राष्ट्रिय प्रतिष्ठानले निकालेको छ । अवशरबिहिन रोग, भोक, अशिक्षा र निमुखा स्थितिका नेपाली पाका मान्छे कतिपटक व्यवस्था फेर्दा पनि ‘सुख भन्ने कुरा आकाशको फल’ भएकाले कति चिन्ताग्रस्त होलान ?

चिन्ताग्रस्त अवस्थाः
हरेक मानिसमा विशेषगरी खासखास परिस्थितिमा सामान्य चियोचर्चाको कनकन नियमित घर गर्न थाल्यो भने हानीनोक्सानी गर्ने र हरेक दिन नकारात्मक उत्तेजित हुने अवस्था आउँन सक्छ । सामान्य चिन्ताको अवस्थामा हरेक कुरामा शङ्का गर्ने, भाकामा उपस्थित नभएको भन्ठान्ने, भइरहेको काम बिग्रने र दुर्घटना हुनसक्ने सम्भावना बारे चिन्ता गरिरहने बानी हुन्छ । चिन्ता गर्दागर्दै बानिको रूपमा बिग्रिएर मानिस मानसिक हिसावले तनावयुक्त हुन जान्छ । दैनिक हरेक कुरामा मन कुढ्याउने मात्र नभई सामान्यतया हरेक पलपल चिन्ताग्रस्त र त्रसित हुने मानसिक स्थितिले मानिसलाई थुप्रै असामान्य लक्षण देखाउने बनाउँछ । अरु उमेर समुहमा क्षणिक चिन्ता अथवा उमेरजन्य अवसरको चिन्तामा एकपछि अर्को उपाय गरेर स्थायी नहुनसक्छ । पाका मान्छेमा फुर्सदको बेला, परिवारको जिम्बेवारी अनुभूति र अनुभवका खातले जान्ने भएको घमण्डले चिन्ता बढेको हुन्छ ।

. चाहिँदो नचाहिँदो र सम्बन्धित असम्बन्धित सबै प्रकारका समस्यामा लगातार छ महिनासम्म औडाहा भई पिरोलिनु ।
. जतिखेर पनि अति थाकेको अनुभव हुनु, अनिद्राको समस्या बढनु, छटपटी लागिरहनु ।
. ध्यान केन्द्रीत गर्न सकस हुनु, विविधताले मनमा बुर्कुसी मारी तुलबुलिनु, धर्यसाथ काम गर्न नसक्नु ।
. किचकिचे हुनु, सल्टेको कुरामा उम्रीउम्री गनगन गरिरहनु, दोमन गरिरहनु, राम्ररी कुरा नबुझी झडङ्गी हुनु ।
.हात, पाखुरा, पिँडुला, तिघ्रा, छाती, करङका माँशपेसी बाउँडिनु, फर्कनु, दुख्नु र मरिन्छ भनि डराउनु ।
.छिनछिनमा उतर्सिनु, अरुका कुरा नसिद्धिँदै प्रतिवाद गर्नु र जुनसुकै कुरामा सशङ्कित अभिव्यक्ति दिनु ।

चिन्ताग्रस्त भएको रहेछ भने भौतिक-शारीरिक लक्षणहरू पनि सामान्यतया देखापर्न सक्दछन् । मुटुको चाल बेढङ्गसँग तलमाथि हुनु, यस्तो अनियन्त्रित चाल कहिले त्यहि काममा हुनु कहिले नहुनु, मुख एकतमासले सुक्नु, अखरक्क पर्नु, थुक नआउनु पनि हुनसक्छ । पेटमा सुम्ला पर्नु, गड्यौलिनु, वाकवाकी लागेझैँ हुँडलिनु, शरीरमा जहीँका मांसपेशी अरट्ठ्ठो हुनु, कैँडा लाग्नु, एक्कासी चिसा पसिना चिटचिट आउनु चिन्ताग्रस्त रोगका लक्षण हुन् । धरमराउनु, शरीर लगलग काम्नु, घुँडा वा गोडानै पुरै काम्नु, हात उचालेर केहि देखाउन खोज्दा काम्नु, नातागत भएको भान हुनु, र झर्कोफर्को स्वभाव नियमित हुनु समस्या जटिलता तिर अग्रशर भएका थप शङ्केत हुन् । यस्ता लक्षण भएमा शरीरका अन्य भागमा नकारात्मक असर परेर भित्री जैविक प्रणालीमा समेत भएको कुप्रभावले श्वासप्रश्वासको समस्या भई कुरा गर्दागर्दै दम बढने, बिचैमा स्याँक्कस्याँक्क भएर श्वास लिन गाह्रो भई बोली अड्ने हुन सक्छ । मुटुको चालमा विविधता नियमित बढ्दै गएर टाउको टन्किने र कहिल्यै आशङ्का नगरिएको हृदयघात समेत थपिन सक्छ ।

पाका मान्छेका चिन्ताः
पाका मान्छेमा चिन्ता पलाउने थुप्रै कारणहरू हुन्छन्, त्यसमध्ये सोझै सम्झ्यो कि औडाह चल्ने केहि सबैलाई हुनसक्छ ।

१. स्वतन्त्रताको कमीः
वयस्क हुँदाजस्तो मनखुसी स्वतन्त्रता पाका मान्छेलाई नभएको बोध हुन्छ । मानसिक-शारीरिक आफ्ना समस्या उमेरिँदा सबै पाका महिला पुरुषलाई हुन्छ भने उमेर ढल्केकाले धेरै कुरामा पहुँच कम भएर अरुको भर गर्नुपर्ने अवस्थाले प्रायः पिरोलेको हुन्छ । धेरै वर्ष मनखुसी वयस्क जीवन व्यतित गरेका पाका मान्छेलाई हरेक कुरामा अरुको आशय बुझेर चल्नुपर्ने समय आउँदा शुरुमा त भाउन्नै हुन्छ । पछि बानी लाग्न सक्छ तर साह्रै पेलाहा र निकृष्ट जहान परे भने त पाका मान्छेको नियमित आत्मग्लानीको विजोकले चिन्ता रोगको विकास गर्न थाल्छ । ‘न उठे सुख न बसे सुख’ गराउने दुर्मुखा परिवार सदस्य भए, पाका मान्छे पिञ्जडाका सुगाझैँ मनका कुरा नभनी बोल्नैपरे अरुका मनपर्ने कुरा बोल्ने भएका पाइन्छन् । यो परिस्थिति उहाँहरूका लागि सबैभन्दा कष्टकर र स्वाभिमान माटोमा मिलाउने दुर्व्यवहार भनी बुझ्नु पर्छ ।

घरायसी निणर्यमा सामेल हुन धकाउने आफ्नै सन्तानका अघि स्तरच्यूत भएमा पाका मान्छे प्राय कम बोल्ने, धेरै सामाजिक नहुने र आफ्नै बाँकी दिनको चिन्ताले रुगरुगाउँदो बन्न थाल्छन् । क्रमशः मानसिकरूपले कमजोर हुँदै चिन्तित, उत्साहहीन, दिक्क मानिरहने र वितृष्णाको शिकार हुनथाल्छन् । सामान्य स्वभावमै परिवर्तन आई जिउँदो लासझैँ घरको एक कुनामा धुमधुमती टिठलाग्दो गरी बसिरहेका देखिन्छन् । उन्मादको डरलाग्दो लक्षण देखिनु अघिनै परिवारले माया गरेर सामाजिक काममा भाग लिन लगाउने, समयमा ओखति गर्ने, खाना रुचि अरुचि सोधपुछ गर्ने, समयानुसार लुगाफाटोको बन्दोवस्त गर्ने र उहाँको वरपर झुम्मिन खोजे समस्या बिग्रनु अघि पन्छाउन सकिन्छ ।

२. आर्थिक सुरक्षाः
पाका मान्छे प्राय सेवानिवृत्त हुने उमेर नजिक भएका वा भईसकेका हुन्छन् । आफैँले अर्थोपार्जन गरेर मनखुसी परिवारको हेरविचार गरिरहेका पाका मान्छे बिस्तारै निवृत्तभरणसहित वा रहित सेवाबाट विमुख हुन थालेको नयाँ स्थिति हुन्छ । अब खर्चबर्चलाई सिमित स्रोत हुन्छ वा अरुको भरपर्नुपर्ने हुनआउँछ, ईच्छालाग्दा खल्तीबाट झिकेको जस्तो सहज अरुको भरपर्दा विचार र स्वार्थको कचेलमडाईले नमिल्न सक्छ । सिमित नगदी र जिन्सी वचतले आवश्यकतालाई खुम्च्याउन खोजेको डरलाग्दो बेला भोग्ने परिस्थिति बन्न थाल्छ भने आकस्मिक रोगव्याधको बेला त हुनसम्म पिरलो पार्छ । यो पाटोले बहुसङ्ख्यक मध्यमस्तरीय पाका मान्छेमा चिन्ता बढाउने प्रमुख कारणरहेको पाईन्छ भने कतिपयले परिवारको बोझ नबन्न औषधोपचारनै नगरेर सहज मृत्युको बाटो पहिल्याएको कारुणिक अवस्थासमेत भोगिरहेको भेटिन्छ ।

३. स्वास्थ्य समस्याः
वयस्क हुँदा सामान्यतया स्वास्थ्य समस्या कमनै देखापर्छन भने पाको भएपछि धेरैमा जटिल स्वास्थ्य समस्याहरू आउन सक्छन् । पहिले कहिल्यै कुनै लक्षण नदेखिएका र स्वास्थ्य सामान्यरहेका मानिसमा पनि उमेरिदा हृदयघात र उन्मादका समस्या आउन सक्छन् । यसै सम्भावनालाई विचार्दै पाका मान्छे जीवनको ओरालीमा अति रकम खर्च गराउने र परिवारलाई भार नपर्ने होस् भनी बढी चिन्तित भएको पाइन्छ । कहिल्यै मादक पदार्थ सेवन नगरेकालाई समेत कलेजो काम नलाग्ने मापसेविहीन सिरोसिस् रोग लागेर मृत्युभएको खबरले पाका मान्छे अति चिन्तित र आत्तिन्छन् । दैनिक कामको कमी, व्यायामको अभाव र उमेरिएको ज्यानले बेलैमा होस नगरे शरीरलाई दुखदिएकै पाईन्छ र अरु नभएपनि चिन्ताले आक्रान्त पारेकै हुन्छ । क्षमता, परिस्थिति र पहुँचको अभावमा पाका मान्छेमा सुर्ताले भुटभुटिएर रोग निम्त्याएकै पाइन्छ ।

४. प्रियजनको विछोडः
वयस्क उमेरमा पुरुष र महिलाका आआफ्ना हित्तचित्त मिल्ने साथी मात्र होइन परिवार बढाउन र सघाउन जोडी बाँध्ने मानिस प्रजातिको पुरानै चलन हो । भवितव्यले कसैको मात्र उमेर छँदै जोडी छुट्छ अन्यथा जसोतसो जोडी पाको उमेरसम्म रहेकै हुन्छ । पाको उमेरमा पुग्दा रोगव्याध र बेलाको अनगिन्ती धामाले जोडी कसैको पनि एकसाथ सधैँ कायम रहँदैन । जति उमेर ढल्क्यो उति सँगसँगै जीवन र परिवारको रथ हाँकेका जोडीलाई एकअर्काको सहयोग चाहिन्छ र ढुकुरका जोडीजस्तै एकै ठाउँ चलफिर र बसाई मन पराईन्छ । पाको उमेर मिल्ने साथीभाइको निधन हुँदा त कति खल्लो हुन्छ, अझ आफ्नै जोडीमा एकको अभाव अर्को एकललाई असह्य पीडादायक बन्छ । त्यसैले त नेपाली समाजमा ‘बुढाको बुढी नमरून् वा बुढीको बुढा नमरून्, बालखको आमा नमरून्’ भन्छन् नि ! त्यस्तो पीडामा परेका एकल महिला वा पुरुषलाई तपाईंको माया र सहानुभूति अति जरुरी हुन्छ, अन्यथा उनीहरू अटुट पिडाले चिन्ताग्रस्त भएर मानसिक रोगनै बेसाउँछन् ।

५. एक्लोपनः
आफन्त र प्रियजनको विछोडले पाको उमेरमा ‘मुख बोल्ने साथी नभएर’ पाका मान्छे विधुर र विधुवा जीवनका साथै एक्लो भएको उराठलाग्दो समय काटिरहेका हुन्छन् । उमेर र भावना नमिलेर परिवारका अरुसँग खासै ख्वाहिस राखेर र मन खोलेर कुरासमेत गर्न सक्तैनन् । उमेरिँदाको भोगाई र शारीरिक निर्वलताले हरेक पाइला पछाडि तान्न थाल्छ तर होस्टेमा हैँसे गर्ने सहयात्री हुँदैन, अनि हरेक काम र विचारमा उत्सुकता मर्दै गएर पाका मान्छे अनन्त चिन्ताको सिकार हुन थाल्छन् । त्यस परिस्थितिलाई विचार गरी आफन्तले बेलाबेला सम्पर्क गर्ने, मनका बह पोख्न मौका दिने, सकेमा निम्ता गर्ने र कतै घुमाउन लैजाने गरेमा चिन्ताग्रस्त एकल पाका मान्छेमा स्फूर्ति आउँछ । अन्यथा एकै ठाउँमा डल्लिएर गुमेका प्रियजनको साथका रमाइला सम्झनाले कोक्किएर धरधरी रुँदै डाहले रन्थनिनुले मानसिक रोग निम्त्याएको मात्र भेटिन्छन् । हिजोआज नेपालमा अवसर खोज्न विदेश दौडने रोगले च्यापेका सन्तानका बाआमाको हालत के होला सोचौँ त ?

चिन्ताको उपचारः
पाका मान्छेलाई चाँडै दपेट्ने चिन्ताबाट मुक्त गराउनै पर्छ भने अरु उमेरसमूहमा आइलाग्ने रोगकै रूपका चिन्ताबाट सबैले पर रहनै पर्छ । विज्ञ चिकित्सकले समस्या भएको भनी आउने मानिसमा चिन्ताग्रस्त अवस्था भए नभएको खुट्ट्याउन सक्छन् अन्यथा कसैको त समुह, समुदाय र क्षेत्रअनुसार बानीनै त्यस्तै हुन पनि सक्छ ! त्यसैले विज्ञको अगाडि बिरामी भनिएकामा भएका समस्या आफन्तले वा बिरामी भनिएकाले खुलस्त जानकारी दिएपछि मात्र समस्याको निरोपण हुनसक्छ । सुरुवाती अवस्थामा सामान्य केही सरल र सहज औषधोपचारले पनि समस्या जटिल हुनबाट रोकथाम गर्न सकिन्छ ।

सामान्यतया चिन्ता, औडाह, पिरलो र भूटभुटी भइरहने मानिसलाई रोगकै रूपमा त्यस्ता लक्षण देखापरेमा मनोचिकित्सकले उपयुक्त सरसल्लाह गरेर उपचार अघि बढाउन सक्छन् । समस्याग्रस्तले चिकित्सकको सल्लाह अक्षरस पालन गर्ने मानसिकता बनाएको चाहीँ हुनैपर्छ । कोही ‘आफूनै ठिक अरुले भनेको बेठिक भनि रोगनै होइन’ भनी अड्डी लिनेलाई भने सामान्य तरिकाले उपचारमा संलग्न गराउन गाह्रो पर्छ । हार्वाड मेडिकल स्कूलको चिन्ता र तनाव समस्या विभागको भनाईमा त्यस्ता बिरामीलाई थप सुरक्षा र प्रविधिबाट नियन्त्रित कक्षमा उपचार थाल्नुपर्ने हुनसक्छ ।

थेरापीः
मनोवैज्ञानिक तवरले उपचार गरिने पद्धती त्यस्ता सामान्य चिन्ताका बिरामीलाई फाइदाजनक हुनसक्छ । विज्ञले विभिन्न प्रश्न गरेर ‘अमुक सवालमा कसरी सोच्नुहुन्छ, यस्तो कुराहरू सुन्दा मनमा कस्ता कुरा खेल्छन्, यस्तो समस्या आएमा कसरी हल गर्नुहुन्छ ?’ भनि बिबिध कोणबाट बिरामीको बुझाई र मानसिकता परिक्षण गर्छन् । सामान्य सोचिने र प्रतिउत्तर दिनेभन्दा फरक भएमा कुन तह र कुरामा बिरामीको धारणा सुनेर खटकिने ठाउँको पत्तो लगाउँछन र त्यसलाई समन गर्ने उपायबारे सल्लाह दिन्छन् । सुनिएका समस्यामा बिरामीको अतिशयोक्ती आशय, अनावश्यक र असाम्भाव्य कल्पनातीत कुराको निरोपण र समस्या बल्झाउने बैचारिक आधारलाई निमिट्यान्न पार्ने सहज तरिका सुझाउँछन् ।

ध्यानलाई एकाग्र गर्न योगसाधना गर्नेले एकोहोरो ‘ओम’ भन्न लगाएझैँ र शवासनगर्न लगाएझैँ हरेक समस्यालाई जति हो त्यति मात्र मुल्याङ्कन गरी अतिरञ्जीत नगर्न सिकाउँछन् । अचेल विभिन्न नामका योग र एकान्तबासका बजारिया अभ्यासका विज्ञापन अनावश्यक चिन्तित हुने चिन्ताका बिरामीलाई तह लगाउने राम्रो व्यापारिक स्थल बनेका छन् । सामाजिक विकासबारे नबुझ्ने, विविध नयाँ उत्सुकताले भरिएका पहिले थाह नभएका समस्याबारे पत्तो नपाउने र व्यक्तिगत नाफा नोक्सानबारे अति लग्गुपनाको लुब्धताले ग्रसित न्यून पूँजिवादी सोच पाल्ने आधुनिक भनाउँदामा यो समस्या महामारीको रूपमा देखापर्न थालेको छ । मानिसको एकबारको जीवनमा बहुजन हिताय सोचाई, कामकार्वाही र प्रयासोन्मुख गतिविधि मात्र मानवीय हुन् भन्ने सोचाई राखेमा यस्ता अवैज्ञानिक ध्याउन्ना र औडाह आफैँ निस्तेज हुँदै जान्छन् । हरेक सामाजिक र व्यवहारिक कुरामा विज्ञानसम्मत धारण राख्ने प्रयास गरेमा कसैलाई कुनै उमेरमा अझ शारीरिक रूपले कमजोरी भएको पाको उमेरमा त चिन्ता हुँदै हुन्न ।

ओखतिः
मस्तिष्कमा कामगर्ने विभिन्न जैविक रसको धेरथोरले मानिसमा प्राकृतिक सहन क्षमतामा ह्रास ल्याउन सक्छ । लगातारको त्यस्तो असामान्य स्थितिले मानसिक-शारीरिक परिवर्तन आएर रहँदाखाँदाको सग्लो स्वस्थ्य मान्छेमा विक्षिप्तता बढ्न थाल्दछ । सामान्य मानसिक केन्द्रित कुराले मात्र चिन्ता घटाउन नसकिने अवस्थामा चिकित्सकले न्यून क्षमताका चिन्तारोधक ओखती दिन्छन । कतिपय बिरामीलाई शारीरिक सँरचना र जैविक रसको उत्पादन क्षमता जाँचेर उपयुक्त सेरोटोनिन प्रतिरोधि ओखति दिइन्छ भने अवस्था हेरेर सँगै निद्रा लाग्ने ओखति पनि सुझाउँछन् । कतिपयलाई मस्तिष्कमात्र होइन मिर्गौलाको विविध काम उत्तेजित पारी जैविक रस उत्पादन गराई डरत्रास हराउने अवस्था सिर्जनागरी उपचार पनि गरिन्छ ।

साँझ प्रयोग गर्ने धेरैथरिका ओखति बजारमा पाइन्छन् भने बिहान एकमात्रा खाइ दिनभरी प्रशन्न रहने ओखती पनि विकास भएका छन् । धेरैजसो मनोविज्ञानसँग सम्बन्धित लक्षणले गर्दानै सुर्ता र मानसिक विचलनका समस्या आउने हुनाले स्नायु प्रणालीलाई तह लगाउन के कस्ता रसले काम गरिरहेको हुन्छ, त्यसैको धेरथोर भएको आधारमा मान्छेमा ओखति प्रयोग हुन्छ । रोगको स्तर, बिरामीको शारीरिक अवस्था र हुनसक्ने नोक्सानीको मापन गरेर विज्ञ चिकित्सिकले अल्पकालीन र दीर्घकालीन ओखति सेवन सुझाउन सक्छन् । मानसिकता र जैविक रसको खेलामा परेको यस्ता रोगका ओखती सेवनमा हेलचेक्र्‍याइँ गर्नै हुन्न नत्र बिरामीलाई बेला नकुबेला औँसी पूणर्े लागेर ज्याननै खतरामा पर्न सक्छ ।

उमेरजन्य अनुभवको पूर्वाग्रह, घरमा आफैँ पाकोको उपल्लो हदमा भएको प्राणी र हिजोसम्म भनेको टुपुटुपु मान्ने सन्तान आज दुईचार अक्षर पढेर, दशबिस ठाउँमा घुमेर ‘मैँ हुँ जान्ने भनि सुन्या नसुनेझैँ गर्ने मात्र होईन मुखमुखै लाग्दा’ पाका मान्छेमा औडाहको बाढी आएको हुन्छ । क्षिण भएको शरीर छ भने त मानसिक रोगले घर गर्न धेरै बेर पनि लाग्दैन, मन मरेर ‘अब त बाँचिन्न’ भनि पिलपिलाउँदो भई माघ काट्न गाह्रो पर्न सक्छ । पाका मान्छेमा देखापर्ने औडाह र गरिने गतिविधि बेलैमा रोकथाम गर्नु आवश्यक छ, नभए घर उजाड, रुखो र भावना मरेको खण्डहर बन्न बेर लाग्दैन ।

अन्त्यमा,
उमेर अनुसार पिरका तह र प्रभाव अलिअलि फरकनै हुन्छन् । कम उमेरकालाई हुने पिरलो घरपरिवार, इष्टमित्र र सहृदयी साथीभाइहरूले हल गर्न पनि सम्भव हुन्छ । पाका मान्छेका पिरलो उमेरका कारण र भोगाईको दशकौँको अनुभवले अरुलाई जसरी निमिट्यान्न पार्न गाह्रो हुन्छ । त्यसैले चिन्ता गर्ने स्वभाव रोगको रूपमा लाग्नु अघि बेलैमा आफन्त र परिवार सदस्यले घटाउने, हटाउने र अभिभावको चित्त बुझाइदिने कर्तव्य अरुले लिनैपर्छ, अन्यथा होस् नभएकी बुहारीले उतिखेर गल्ती गरेको महसुस गरी ‘पोहोर मरिन सासु अहिले आयो आँसु’ भन्ने कथन चरितार्थ हुन बेर लाग्दैन । अहिलेका बुझक्की परिवारजनले पछितो हुने काम त गर्दैनन् होला है !

०००
चालिसे डाँडा, ललितपुर
फागुन १८, २०८०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे