डा. मुकेशकुमार चालिसेपाका मान्छेमा पिनासका समस्या !
पिनासले प्राय पाका मान्छेलाई नाक थुन्निएर तथा नाक वरपर र माथी दुखेर लखतरान नै पार्छ । उमेरिएकाले जीवनको सबैभन्दा कमजोर शारीरिक र मानसिक अवस्था हुनसक्ने कालखण्डमा धेरै होसियार रहनैपर्छ ।
डा. मुकेश चालिसे :
मानिसहरूमा जन्मेदेखिनै अनुहारको अघिल्लै भागमा चारओटा जोडा–जोडा कुड–कुडे हाडले छेकिएका अन्तरअङ्ग खालीठाउँहरू पाइन्छन् । तिनिहरू एकअर्कामा मसिनो दुलोबाट जोडिएकाले खाली ठाउँमा भएका पदार्थ सजिलै एकआपसमा मिसिन र थपिन सक्छन् । तिनै ठाउँले चिप्लो जैविक उत्पादित पातलोे (सिँगान) जम्मा गरिरहेको हुन्छ र आवश्यक्तानुसार नाकमा प्रवाहित गर्छ । यस प्रक्रियाले नाकको डाँडीको भित्रीभाग आद्रसाथै सफाराख्न मद्दत गर्छ, शुक्ष्म जीवाणुहरू, प्रतिक्रिया गराउने कणहरू तथा बाहिरी अरु खालका नकारात्मक बस्तुहरू र हfवाद्वारा भित्रपस्न खोज्ने रोगका किटाणुहरू पञ्छाउन मद्दत गर्छ । पिनास हुनु भनेको तिनै खाली ठाउँहरूका भित्री पत्रका तन्तुहरू शुक्ष्म र अतिशुक्ष्म किटाणुहरूबाट शङ्क्रमित भएर उत्तेजित भइ सुन्निनु हो । त्यसोभएमा नाकको भित्रीभाग विभिन्न प्रतिक्रियाले निक्लिएका फोहोर लेदोले भरिन थाल्छ र त्यस्ता त्याज्य बिकारले पुरै अनुहारमा दवाव परेर टन्किन थाल्छ तथा नाकले स्वास फेर्न गाह्रो हुने किसिमले बन्द हुन थाल्छ । नाक बन्द भएकाले मुखबाट स्वास फेरेर बस्नुपर्दा मुख चाँडै सुकेर हैरानी हुनथाल्छ । यसबाहेक अरु खालका लक्षणहरू पनि पिनासले देखाउन सक्छन् ।
एकपटक ज्याक बेन्नेले भनेकी छिन्ः– कुनैप नि खास कुराका लागि दिमाग नै जिम्बेवार हुन्छ, मगजले महत्व नदिए केही कुराले पनि महत्व राख्दैनन् । संसारमा विविध पक्षमा विज्ञानको विकास सँगसँगै ओखती तथा प्रविधिको द्रुत विकासले अब उमेरिएका पाका मान्छेहरू बुढाबुढी हुन् भनी एकठाउँ थच्चिएर बस्न नै हुन् भनी निच मारेर बसिरहने सोचाई पुरानिएको मान्नु बेश हुने देखिएको छ । हो, उमेरिएका पाका मान्छेहरूमा देखिने अनेक जटिलता हुन्छन् यो पनि मान्नैपर्छ र गम्भीर हुन आफैँ तथा हेर–बिचार गर्ने हेरालु हुनैपर्छ । यस्तो परिस्थितिमा पाकाहरूमा पिनासका समस्या भएमा नाकभित्र र आँखीभूइँ बरपर सङ्क्रमण बिरुद्धमा आन्तरिक प्रतिरोध गर्दै रहेकाले सुन्निने, पोल्ने र टन्किने भएर अति दिक्क हुने अवस्था आउँछ भन्ने सम्झाई दिनु पर्छ । नाकसहित अनुहार पुरै झर्लाजस्तो भएर मुण्टो उठाउनै मन नलाग्ने भएको हुन्छ र फोहोरी खकार, सिँगान घाँटीतिर पो आएझैँ लाग्छ अनि थप सङ्क्रमण भएर घाँटी दुख्ने हुन्छ । मुखले स्वास फेर्न बाध्य भएर घाँटी सुक्ने, जीब्रो कक्रक्क पर्ने, टाउको पुरै दुख्नथाल्ने, कान दुख्ने, स्वास गन्हाउन थाल्ने र नाक बन्द भएर गन्ध पनि हराएको अनुभूत हुन्छ । यस्तो अवस्था सिर्जना भएपछि पाका मान्छे आत्तिनु स्वभाविकै हो र सहयोगगर्न चाहनेले एकीकृत स्वास्थोपचारको व्यवस्था गराउनु पर्छ ।
उमेरिएका मानिसले पाको हुँदै गएपछि स्वभाविक शारीरिक परिवर्तन र मानसिकतामा पनि पहिलेको उमेरमाभन्दा उलटफेर हुने स्विकार गर्नुपर्छ । हुनेले आफ्ना पहिलाका र अहिलेका फोटाहरू दाँजेर हेर्नुपर्छ अनि आफ्नैमा आएका परिवर्तनहरू थाह पाइन्छ । लौ, भएमा विद्यालय जाँदा, एसएलसीको, नागकिताको, बिबाहाको, जागिरे हुँदाको, पहिलो बच्चाको पास्नीको तथा बृद्धभत्ताको आशमा अहिले खिचाएका फोटाहरू एकैठाउँमा राखेर हेर्नुहोस् त ! कति फरक तथा अनौठो लाग्छ, होइन, कस्तोबाट कस्तो भएको अनुहार जीउडाल ? अनि अहिले पाको भइसक्दा उमेरिएको अवस्थामा आफ्नो ज्यानले, कहाँ भर्खर बैँश सिद्ध्याएर वयस्क हुँदाको बर्कत र फूर्ति देखाउन सक्ला त ? हिजोको पुष्ट भरिलो नाकको सट्टा भित्री कुडकुडे हाड खिइएर चुच्चे नाकका टुप्पाबाट थोपाथोपा सिँगान नचुहिएर अहिले के अमृत झरोस् त ? सामान्य घरेलु रोकथामका उपायहरूले नाक केहिबेर सफा होला ! तर उमेरिएको शरीरले थाम्ला र ? आन्तरिक प्रतिरोधी शक्ति घटिरहेकाले विशेष केहि ओखती उमेरले मागिरहेको हुन्छ नै, त्यसमा धकमान्ने र लाजमान्ने कुरा के होला ? यस्ता कुरा, दुख, अशक्त अवस्था र रोगव्याध त हाम्रा उमेरका गहना हुन् !
उमेरिएका पाका मान्छेहरू दीर्घरोगका विभिन्न ओखती प्रयोग नगरिरहेका कमै हुन्छन्, त्यस्तोमा थप पिनासको ओखती लामो समय प्रयोग गर्नु कत्तिको फाइदाजनक होला ? अरु नभए पनि कोशहरूमा हुने भिटामिन डि जस्तो महत्वपूर्ण पदार्थलाई घटाउन लगातारको पिनासको ओखती प्रयोगले गरेर समस्या बनाइदिन्छ, अनि ? यो भिटामिनको कमीले शरीरमा हाडको मर्मत र थप बन्ने प्रक्रिया नै अवरुद्ध हुन्छ तथा दुर्घटनामा परेर वा उमेरले खिइएका हाडहरूको नविकरण पूर्ताल कसरी होला ? उमेरिदा हाड खिइनु स्वभाविक हो, यस्को ओखतीले पनि डि भिटामिन घटाइरहेको हुन्छ अनि पिनासको ओखतीले थप घटाउँदा पाका मान्छेको हालत के होला ? अनुभवी चिकित्सकले भिटामिन डि नबढाई धेरै उमेरिएकालाई पिनासको ओखती दिँदा निकै होस पुर्याउने गर्दछन् । धेरैसमय नाक खोल्न नाकको प्वालमा प्रयोग गरिने झोल ओखतीले पिनासभएकै क्षेत्रका, नाककै रक्तनलीहरू समेत साँघुर्याउन बल गरेका हुन्छन् । पाका मान्छेमा थाइराइड ग्रन्थीको अतिउत्पादनले पनि हाड खिइने रोगबाट ग्रसित हुन्छन्, त्यस्ता उमेरिएकाले नाक खोल्ने झोल बढि प्रयोग गरेमा मुटु र रक्तसञ्चार प्रणालीमा समेत नकारात्मक असर हुनसक्छ ।
पाका मान्छेलाई भएको भनिएको पिनास कहिँ उमेरिदाको असरले नाकको भित्री आकारमा परिवर्तन भएर त होइन ? त्यसको टुङ्गो बेलैमा हुनैपर्छ । त्यसकोलागि सर्वप्रथम नाक र शरीरको जैव–रसायन अवस्थाको पूर्ण जानकारी चिकित्सकले थाह पाउनै पर्छ । अनि उमेरिएका बिरामीको कुनै ओखतीले एकअर्काको प्रभावमा उल्टो असर नपर्ने गरेर मिल्दो उपचार गर्ने एकीकृत पद्दती लागु गर्नु पर्छ । पाकालाई मौसमी परिवर्तनमा वातावरणमा हुने बिभिन्न गन्ध र परागहरूका कारण पनि नाक बन्द हुने र पिनासजस्तै पुरा टाउको दुख्ने हुनसक्छ । त्यसैले सबै जानकारी पश्चात चिकित्सकले सामान्य शल्यक्रिया वा जैविक प्रतिरोधस्वरुप हुने एलर्जी भनिने लक्षणहरू हो भनि वैकल्पिक उपचारले पिनासको शङ्का निवारण गर्न सक्छन् । पाकामा पिनासले हुने विभिन्न दुखाइमा टाउको फुटलाजस्तो हुने दुखाइको बिरुद्ध, खप्न नसकिने अवस्था पुगेका उमेरिएकाहरूलाई छुटकारा कसरी पाउने भन्ने नै उपचारको केन्द्रबिन्दुको प्रमुख मानेर अघि बढ्नुपर्ने हुन्छ ।
पाका माछेलाई पिनासहुँदा आँखा दुखेर खस्लाजस्तो हुने, नाक, गाला र निधारमा समेत टन्केर अनौठो पीडा भई रक्तचाप बढेझै पुरा अनुहार झोल्लिएर खस्न लागेको अनुभूति हुन्छ । यस्तो भएका उमेरिएका मान्छेहरू ‘अहिले नै निको पार्देओ मर्न आँटे दुखेर’ भनि रुन बेर लाउँदैनन् । उनिहरूका ‘नाक बन्दभएर स्वास फेर्न गाह्राे भएर घाँटी दुख्न थालेको र निल्नै अप्ठ्यारो भएको’ भनि पिलपिल गर्न लागेको कसरी हेरिबस्नु, ओखती गर्न दौडाउनै पर्छ । पिनासले हुने पाकाको टाउको दुखाईले अचम्भलाग्ने लक्षणहरू देखिन्छन् । मन्दहुँदै लाटो किसिमले अति दुखाई एकतमासले रहिरहने र दुखाई विकसित भएर मुटुको चालझैँ दुखेका ठाउँमा धकधक वा टनटन गरेझैँ बल्कन थाल्ने पनि हुन्छ । यस्ता दुखाई कतिपय उमेरिएकालाई कहिलेकाहीँ भएकै हुन्छ भने कतिलाई दुर्भाग्यबस पिनास हुनासाथ निको नभएसम्म भईराख्छ । यस्तो दुखाइलाई ध्यान दिँदै ‘टाउको दुखाई र माइग्रेनको रोकथाम तथा उपचार’ भन्ने ४९ पाने विशेष स्वास्थ्य प्रतिवेदन हार्वार्डका विज्ञहरूले निकालेका छन् । त्यस प्रतिवेदनमा टाउको अति दुख्दा चाँडै पीडाबाट छुटकारा पाउन पाकाले आफैँ गर्ने प्रावधानहरू तथा उपचारमा चिकित्सकहरूले गर्ने वैकल्पिक तरिका बारेमा बिस्तारमा बर्णन गरिएको छ ।
टाउको दुख्ने !
पिनासहुने ठाउँ भनेको हवाले भरिएका आँखाको वरीपरी र नाकको दुइतिर हुने खाली प्वालहरू हुन् । ती ठाउँहरूले गर्दा नै हामीले भित्र लिएको स्वासको हवालाई तताउने र आद्रतासहित फोक्सोमा पठाउन मद्दत गर्दछ । बढि भएको पानीलाई चुहाएर नाकबाट सिँगानजस्तो झार्न र नाकको नलीमा हवा सबैतिर परिचालनगर्न सघाउँछ । ती खाली ठाउँहरू सङ्क्रमणभई सुन्निने र पोल्न थालेपछि हामी पिनासभएको भन्छौँ तथा यसो भएपछि सामान्य लक्षणमा चाप बढेर दुख्न थाल्छ । अति शुक्ष्मकिटाणुले आक्रमण गरेर नै पिनास हुने कारण भए पनि अरु किटाणहरू, ढुसी र बाहिरी कारणले हुने जैविक प्रतिक्रियास्वरुप पनि हुनसक्छ ।
कहिलेकाहीँ ‘साँढेसात लागेकोमा, भाँमरी पनि थपिएमा’ पिनासको दुखाई र रक्तचापलाई उत्तेजित पार्ने काम दोश्रो तहका बस्तु र स्वभावहरू– धुमपान, अत्तर प्रयोग, सुँघ्ने गरेका रसायन, नसको धुलो आदि नाकमा असर गर्ने बस्तुको प्रभावले पिनास बल्झाउन सक्छ । स्वासप्रस्वासको मार्गमा नाकको भित्रीभागमा गिर्खा निक्लनु, गाँठो बन्नु, दुइप्वाल छुट्ट्याउने कुडकुडे हाडको पर्दा बाङ्गिनु, दुखेर सुन्निने भएमा पिनास हुने खाली ठाउँबाट जैविकरस चुहावट हुन नसकि जमेर सङ्क्रमण भई रोग उत्पन्न गराउन सहायक हुन्छन् । सुन्निन नभए पनि अकस्मात भित्री खाली ठाउँहरूमा हवाको चाप तलमाथि भएमा पनि दुख्न सक्छ र दुखाई अनुहारभरी फैलिएर टाउको उठाउनै नसक्ने बनाउन सक्छ ।
उपचारः
पिनासको कारणले हुने टाउको दुखाईको उपचारमा सुन्निएका भाग घटाउने उपायसाथै नाक बन्द र खाली भित्री भागमा फोहर भएको खुलाउने काम नै प्राथमिकतामा पर्छन् । त्यसबाहेक निम्न उपचारका प्रयाशहरू गर्दा पिनासको पीडा कमभएर निको हुने बाटोमा लाग्न थाल्छ ।
नाक खोल्नेः
पिनास हुने मानिसलाई धेरैजसो देखिने वा नदेखिने अवस्थामा नाकमार्फत सहज हवा आवागमन भएको हुँदैन । नाकमा भएको पीडा तथा फोहोर सङ्कलनले स्वासप्रस्वासमा व्यवधान गरिरहेकै हुन्छ भने नजिकै भित्र रहेका खाली भागबाट नचाहिने पदार्थ नाकका प्वालमार्फत चुहिन पनि पाउँदैन । त्यस अवस्थामा सङ्क्रमणको पीडाले उत्तेजित भई फुलेका नाकभित्रका रगतका नसाहरूले ती चुहिने प्वालहरूको बाटो साँगुरो पारिदिएका पनि हुन्छन् । बिरामीले नाकका प्वाल र स्वास आउजाउ गर्ने बाटो सफा राख्नैपर्छ, त्यसैले खाने चक्की सुडाफेड वा सुँघ्ने, नाकभित्र हाल्ने बिभिन्न नामका झोल ओखती सेवन गरेर नाक खोल्ने गर्नुपर्दछ । त्यस्ता नाकमा हाल्ने ओखतीबारेमा कोरोना कालमा भोगेका हाम्रो देशका पाका मान्छेले धेरै अनुभव बटुलेका छन् । आफुलाई फाप्ने नामका ओखती किनेर खाई वा नाकमा हाली पिनासले बन्द भएको नाकको अल्झोलाई सल्टाउन सकिन्छ । हो, त्यस्ता प्रभावकारी ओखतीहरू वास्तवमा हाम्रा जैविक लागुपदार्थः गाँजा, भाङ्ग, धतुरो, चरेस जस्तै क्षारिय रासायनिक पदार्थका जस्तै लक्षणभएकाले पिनासको पीडामा खाँदा वा झोल हाल्दा सङ्क्रमण वरपर मन्द स्तरमा लट्ठ्याउँछ । त्यस प्रक्रियाले नाक सफा गर्न सजिलो भएर सङ्क्रमित अङ्गलाई प्राकृतिक काममा नै फर्काउन मद्दत गर्दछ ।
हामीले कोरोना कालमा भोगिसकेका अति ओखती प्रयोगले नाकले गन्ध सुँघ्न समस्या भएको, प्राकृतिकरुपले नै नाक सफा गर्न नाकका स्नायु अल्छी भएका र मानिस पनि आफैँ खस्खस लागेझैँ हालिरहने समस्या देखापरेथ्यो । त्यस्तै पिनास हुँदा ओखती बढि सेवनले निद्रा नलाग्ने, नाडी छिटोछिटो चल्ने र हरेक कुरामा झर्कोफर्को गर्दै उत्तेजित हुने मनोदशा पलाउन सक्छ । उच्च रक्तचापको समस्याभएकाले यस्ता ओखती प्रयोग नगर्ने वा अति कम गर्ने गर्नु सुरक्षित रहनु हो । हृदयरोगका बिरामी तथा अरु कडा रोगका आन्तरिक प्रतिरक्षा प्रणाली दबाउने ओखती सेवन गर्नेले पनि चिकित्सकको सल्लाह लिएरमात्र प्रयोग गर्नुपर्छ । खाने ओखती कमै हुन्छ त्यसैले सजिलो भनेर विभिन्न नामका ओखतीहरू बजारमा पाइन्छन् र फापेअनुसार प्रयोग गर्छन् । ती नाकमा छर्कने र दल्ने झोल ओखतीले नाक र खाली चार ओटा स्थानिय अङ्गमा असर गर्ने हुनाले शरीरका अरु भागमा प्रतिकुल प्रभाव नपर्ने हुनसक्छ । पिनास भएको केहि दिन राहतका लागि प्रयोग गरे पनि नियमित धेरैदिन प्रयोग नगर्नु स्वास्थ्यको हिसाबले ठिक हुनेकुरा विज्ञहरूले जानकारी दिएका छन्, नत्र पिनास बिग्रेर अन्य सङ्क्रमण हुने थप खतरा रहेको अनुभवीको भनाई छ ।
नसुन्निने ओखतीः
पिनास हुँदा अनुहार घुप्प फुल्ने हुन्छ नै, नभए नाक वरपर र आँखीभौँ त पक्कै सुन्निन्छ । सुन्निने खासकारण हाम्रो शरीरमा कुनै पनि अङ्गमा घाउ, चोटपटक तथा पिडाभएमा त्यसको प्रतिक्रियामा सम्बन्धित ठाउँमा पुग्ने रसायन हो । यसले गर्दा नै पिनासको सङ्क्रमणले आन्तरिक प्रतिक्रियास्वरुप टाउको दुख्ने साथै नाकभित्रको पहिलो बाहिरी पत्र सुन्निदा सिँगान धेरै उत्पादन गरिदिने हुन्छ । बिभिन्न रोग र बाहिरी बस्तुबाट हाम्रो शरीर उतर्सिएमा एलर्जी भएको भन्छौँ, त्यस्तै कारणले टाउको दुखेमा शरीरमा उत्पादित बढि हिस्टामिन रसायनलाई प्रभावहिन बनाउन यसको बिरोधी एन्टीहिस्टामिन ओखती खानुपर्छ । यो खालका ओखती रोगपिच्छे फरक–फरक नाम र कामका बजारमा सामान्यतया पाइन्छन् । अर्थात पिनास हुँदा दुखाइको आधार र नाकबाट स्वासप्रस्वास हुने अवस्था हेरेर ओखतीको जोहो गर्ने तथा पिनासको कारणको जड जानकारीका आधारमा अरु ओखती सेवन गर्न विज्ञ चिकित्सकको सल्लाह लिनु नै चाँडै समस्याबाट छुटकारा पाउने उपाय हुन्छ ।
विशेष ओखतीः
नाकको नली सिँगान वा अन्य झोलले भरिएर स्वासप्रस्वास नै त्यस मार्फत गर्न नसक्दा निकै कष्ट हुन्छ । पिनास भएपछि त झन नाक बन्दहुने मात्र होइन आँखामुनी र आँखीभौँ माथिको भागका भित्री खालीठाउँमा सङ्क्रमण तथा लेदो भरिएर दुख्न थाल्छ । त्यस्तो दुखाई नाकभित्रको पहिलो मासुको पत्र सुन्निने हुनाले झन बढेको हुन्छ । विशेषगरी आन्तरिक रुपले केही अवस्था नफापेर प्रतिक्रिया हुनेगरेका (एलर्जी) मानिसमा रोगले अत्त्यासपूर्ण अवस्था हुनजान्छ । त्यस्ता पाका बिरामीले विशेष खालको प्राकृतिक जैविकरस (स्टेर्वाइड) शरीरमा नपुगी रसायनबाट बनेको ओखतीको रुपमा लिनुपर्ने हुन्छ । अनिमात्र पिनासको असरले भएको दुखाई र भित्रीभाग सुन्निने घटाउँदै लैजान सकिन्छ । यस्ता रासायनिक पदार्थबाट बनेका नाकमा हाल्ने झोल छुसछुस पार्ने वा नाकको भित्र छर्कने झोल बजारमा किसिम–किसिमका किन्न पाइन्छन् र चिकित्सकले भनेकै किन्नु ठिक हुन्छ ।
अङ्गहरू र रोगअनुसार यस्ता स्टेर्वाइड बिभिन्न रोगहरूका लागि भिन्न रसायनका मात्रा मिलाएर बनाइएकाले ओखती किन्दा सतर्क हुनैपर्छ । पिनासमा उपयोगी नाकमा हाल्ने/छर्कने यस्ता रसायन प्रयोगको फल एकहप्ता सेवनपछि प्रष्ट देखिन थाल्छ भने दुइदेखि तिन हप्तापछि पुरै निको नभए पनि धेरैनै फाइदा पुर्याएको देखापर्छ । यस्तो बाहिरी रसायन प्रयोग गर्नै पर्ने भएका बिरामीलाई तिन हप्ता भन्दा बढि समय लगातार प्रयोग गर्ने सल्लाह दिइएकै हुन्छ । त्यसैले ‘अब निको हुन्छ, किन पैसा खर्च गर्नु ?’ भनि अनियमित नगर्न चिकित्सकले सल्लाह दिएका हुन्छन् । रोग निको पार्न अनुमानित अवधि चिकित्सकले विचार गरी निर्धारण गरेका ओखती सेवन गर्न भनेकोमा विरामी र हेरालुले उन्नाइस–बिस नगर्नु हाम्रै भलाईमा हुन्छ भन्ने बुझ्नु राम्रो हो ।
नुनिलो झोलः
सफा नुनमा उमालिएर मनतातो भएको सफा पानी मिसाई बनाइएको नुनिलो झोलले पनि सिँगान र खकारको लेदोले भरिएको बन्द नाकलाई खोल्न सक्छ । यसमा कुनै थप ओखती मिलाइरहनु पर्दैन, त्यसैले खासै थप खर्च पनि लाग्दैन । त्यस्तो नुनिलो झोल बनाउन जान्नेपर्ने प्रविधिको प्रयोग गर्नु नपरेकाले घरायसी समाधान सजिलै हुन्छ । यस्तो नुनिलो झोल हालेमा नाकभित्र स्वासप्रस्वास गर्ने नलीमा आद्रता थपिन्छ तथा कटकटिएको र बाक्लो भई लेदोबनेको सिँगान पातलो हुने, सुन्निएका कोशहरू आरामपाई बस्ने साथै मनतातो नुनिलो पानीले किटाणुहरू पखाल्ने/झार्ने गर्छ । त्यसैले सामान्य प्रक्रिया र प्रविधिको प्रयोगले सस्तोमा अति नभइसकेको पिनासको असरलाई घटाउन सकिन्छ । पिनासको प्रारम्भिक अवस्थाको सङ्क्रमणमा रोगले बिरामीलाई सघन पिडादायी स्तरमा पुग्नबाट बचाउन यो सरल तथा किफायती उपाय मानिन्छ ।
पीडा र सङ्क्रमण नासकः
पिनास भएमा अनुहार सुण्डिने र दुख्ने त सामान्य नै हुन्छ । दुखाई खप्न नसक्ने अवस्थामा पुगे दुख्न कम गर्ने पीडानासक ओखतीहरू आफ्नै तथा अन्य असर कम गर्ने रोज्नै पर्छ । यस्ता ओखतीमा टाइलेनोल (एसिटामिनोफेन), बुप्रोफेन, नाप्रोजेन र केहि नपाए पारासिटामोल नियमित सेवन गर्नुपर्ने भित्र पर्छन् । यस्ता ओखतीले शरीरका अन्य भागका साथै पिनासको दुखाई कम गराउन मद्दत गर्छन् । सङ्क्रमणको कारणले भएको पिनास र पिनास भएपछि बल्झेको सङ्क्रमणलाई घटाउन, हटाउन तथा निकोपार्न जैविक शुक्ष्मकिटाणु मार्ने पेन्सिलिनका बिभिन्न थरीका ओखती खानुपर्ने सल्लाह चिकित्सकबाट पाइन्छ ।
बजारमा ती ओखतीमा लेभोफ्लोक्सासिन, मोक्सीफ्लोक्सासिन, एमोक्सीसिलीन जस्ता नाममा परजीवी नासगर्ने मानिसका लागि उपलब्ध छन् । तिनको पिनास सङ्क्रमण बिरुद्धको सफलता ९०% भन्दा बढि पाइएको छ । एमोक्सीसिलीन सिपोडोक्सीम प्रोक्सेटिल, केफेक्सीम, सेफुक्सीम एक्जेटील र ट्राइमेथोप्रिम सल्फामेथोक्साजोलको उच्चमात्राले ८० देखि ९०% पिनासको जैविक सङ्क्रमण निको पारेको अनुसन्धानले देखाएको छ । त्यस्तै, क्लिण्डामाइसिन, डोक्सिसाइक्लिन, सिफ्प्रोजोल, एजिथ्रोमाइसिन, क्लारिथ्रोमाइसिन र इरिथ्रोमाइसिन जस्ता शुक्ष्मजिवाणु बिरुद्धका ओखतीले ७० देखि ८०% पिनास निकोहुने देखिएको छ । सिफाक्लोर ओखतीले ५० देखि ६०% जीवाणुबिरुद्ध सफलता पाउने अनुसन्धानले प्रमाणित गरेको छ ।
त्यसैले पिनासको अवस्था र कारणको पहिचान भएपछि जीवाणुले भएमा पीडा र सुण्डिने हेरेर चिकित्सकले कुन तहको ओखती खाने भन्ने सल्लाह दिन्छन् । पिनासका बारेमा धेरैजसो शुक्ष्मजिवाणुको बदमासी कमै देखिन्छ तरपनि राम्रो जाँच–पडतालले खुट्ट्याएर ओखतीगर्न पछि पर्नु हुँदैन । परम्परागत कथामा नागले नागिनीलाई सुनाएको ‘अनिरुद्ध पाँणाै भनि नाम धरेका…’ श्लोक सुनाएर पिनासको असहनिय पीडा र अनुहारको सुजन घटाउन सकिन्न र विज्ञानसम्मत उचित उपचारमा लागेर रोग निको पार्न सकिन्छ भन्ने आशा तथा विश्वास राख्नैपर्छ ।
पिनासबाट राहत कसरी ?
पिनास भनेकै अनुहारमा नाक र यस्का दुइ छेउ तथा आँखीभौँका भित्रीभागमा रहेका खाली ठाउँबाट सरल तरिकाले जम्मा हुन सक्ने झोलपदार्थ सहजै चुहिँदै नगएर हुने सङ्क्रमण हो । यसरी भएको प्रक्रियामा नाक भित्र सुन्निनु र नाक स्वासफेर्न नसक्ने भई टाल्लिनु हो । यसोहुँदा टाउको र सम्पूर्ण मुण्टो नै उचाल्न गाह्रो हुने र दुखाईले चिजविज हेर्न आँखा खोल्नसमेत अप्ठ्यारो अनुभूत हुन्छ । यस अवस्थामा समस्यालाई हलुका पार्न निम्न उपायहरू प्रयोग गरे राहत हुने चिकित्सक र अनुभवी पीडितको छ ।
१) सिँगानलाई पन्यालो र पातलो बनाएर नाकको बाहिर चुहाउन प्रशस्त पानी पिउनुहोस् । २) अनुहारमा न्यानो कपडा वा पानीको तातो रबडको झोलाले सेक्ने गर्नुहोस् । ३) कोरोन कालमाझैँ पानीको वाफ सुँघ्नुहोस् । नुहाउदा समय लगाएर सहन सक्ने तातोपानी प्रयोग गर्नोस् । नुहाउन तातोपानीको पोखरी वा मूलमा डुबुल्की लगाउने अवशर पहिल्याउनु होस् । पिनास हुँदा चिया, खोले वा वाफ उडदैगरेका तरल र ठोस खानेकुराबाट निस्किरहेका वाफ सुँघ्न पछि नपर्नुहोस् । यस्तो वाफ सेवन दिनमा तिन–चार पटक गर्न सकृय रहनुहोस् । ४) काँश वा पित्तलका करुवामा पानी हालेर टुटीले एक नाकको प्वालबाट पानी हाल्नुहोस् र घाँटीबाट पेटतिर जान नदिई अर्को नाकको प्वालबाट निकाल्न कोशिस गर्नुहोस् । यो पानी शुद्ध, छानेको, र उमालेर सामान्य तापक्रमको वा सहने मनतातो हुनुपर्छ, नत्र नाकभित्रको नरम मासुको तह बिग्रन सक्छ । ५) ओच्छ्यानमा पल्टँदा वा सुत्दा टाउको ठाडो अर्थार्त उत्तानो सुताई गर्नुहोस् । यसले नाक ठाडो भई सिँगान वा अरु झोल नाकबाट घाँटीतिर गई नाक बन्द हुन पाउँदैन । यदि एकातिरको कम्पारोमात्र दुखेको छ भने नदुख्ने कम्पारो तकियामा थिचेर सुत्नुहोस् । ६) पिनासलाई हलुका पार्न समय–समयमा नुनिलो पानी प्रयोग गरेर सिँगान पातलो पारेर नाक बाहिर चुहाउने कोशिस गर्नुहोस् ।
अन्त्यमा,
पिनासले प्राय पाका मान्छेलाई नाक थुन्निएर तथा नाक वरपर र माथी दुखेर लखतरान नै पार्छ । उमेरिएकाले जीवनको सबैभन्दा कमजोर शारीरिक र मानसिक अवस्था हुनसक्ने कालखण्डमा धेरै होसियार रहनैपर्छ । भन्दा चलनचल्तीका कडा रोगजस्तो नदेखिए र नभनिए पनि पिनासले थलापार्न सक्नेहुन्छ । पाका मान्छेको यस्तै हो भनि वास्ता नगर्दा सामान्य पिनासले सङ्क्रमण हुने अवस्थामा पुर्याएर टाउको दुख्ने, आन्तरिक बिपरित प्रतिक्रिया बढ्ने तथा उमेरिएका मानिस ठाडो भएर हिँड्न पनि गाह्रो पर्ने अवस्था आउन सक्छ । यसले त पाकालाई हायल–कायल त बनाउँछ भने परिवारजनलाई दुखमात्र होइन ‘बेलामा बुद्धि नपुर्याएर, त्यस्तो रजगजको स्थितिमा सन्तानले अभिभावकलाई दुख दिएका’ गुनासोले तिनको सामाजिक इज्जतसमेत खोला लाग्नसक्छ । अहिलेका बाठा तथा ओखती विज्ञानका पारखी सन्तान–दरसन्तानले अवगाल आउने काम त कवै गर्दैनन्, कस्लाई थाह छैन र ? अझ हार्वार्ड मेडिकल कलेजका पिनासले हुने टाउकाका पीडा हटाउने प्रतिवेदन अध्ययनले झन राम्रो देखरेख र उपचार गर्न पो तम्सिएलान् ! होइन र भन्या ?
०००
पुस १९, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest





































