साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा ढुकढुकीका समस्या !

एक किसिमको तनावरहित हुन ध्यान भनेझैं, के गर्दा शरीर र दिमागलाई सुप्रभाव हुन्छ त्यो थाह पाएपछि हरेक अप्ठ्यारोमा आफूलाई जोगाउन गर्नुपर्ने उपाय गर्न सिकिन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिसहरू शिशु, बालबालिका, किशोरकिशोरी, जवान, वयस्क, अधबैशेँ, पाको, पाका, अतिपाका र शताव्दि मान्छे भनि उमेरका आधारमा वर्गीकरण गरिएको पाइन्छ । शरीरका अङ्गहरू आमाको पेटमानै सबै विकसित भइसकेका भए पनि तिनका आधारभुत रुपरेखा त हुन्छन् तर पूर्ण विकसित र गर्नुपर्ने काम दुरुस्त गर्नसक्ने भइसकेका हुँदैनन् । जन्मेपछि उमेर बढ्दै जाँदा क्रमैसङ्ग उमेरअनुसार सक्रिय हुनुपर्ने अङ्गहरू त्यस उमेरमा पुगेपछि सकृय हुन सुरु हुन थाल्छन् । अनि चाहिने आकार, भित्री जैविक रसको सकृयतामा बाहिर देखिने प्रभावको रुपमा अङ्गहरूमा आकार, रुपरङ्ग र सकृयता विभिन्न तरिकाले बढेको पाउँछौँ । त्यसै अनुसार नै शारीरिक बनावट मात्र होइन भावनात्मक तरङ्गमा पनि फेरबदल भइरहेको महिला–पुरुषमा प्रष्ट देखिन थाल्दछन् । एक कालखण्डसम्म जतिसुकै परिवर्तन भए पनि शरीर तथा मस्तिष्कले त्यति अप्ठ्यारो रोग–व्याधको अंशको रुपमा भोग्नु नपर्ला साथै चिन्तित भइरहनु नपर्ला । पाको उमेर सुरु भएपछि भने हरेक फरक शारीरिक मानसिक परिवर्तन शङ्का र चिन्ताको विषय बन्नथाल्छ । अरुलाई नभए पनि पाका आफैँलाई हरेक नयाँ आएका फरकपनले कम्तीमा केहि समय सताएर थलानै पार्छ होला !

मानिसको मुटुः
सबै मानिसको मुटु छातीको बिचभन्दा अलिकति देब्रेतिर हुन्छ । माथितिर अलि फुकेको र तलतिर अलि चुच्चिएको आकारको उही मानिसको मुट्ठी बटार्दा जत्रोनै लगभग हुन्छ । औसत पुरुषको मुटु २८०–३४० ग्रामको हुन्छ र महिलामा २३०–२८० ग्राम जति तौलका मुटु भएको अनुसन्धानले देखाएको छ । वयस्क मानिसको मुटु प्रत्येक मिनेटमा ६०–१०० पटक ढुकढुक गरेको हुन्छ भने भर्खरै जन्मेको शिशुको ढुकढुकी वयस्कको भन्दा छिटोछिटो भएर ९०–१९० सम्म चलेको देखिन्छ । छिटो चल्नुमा मुख्यकारण शिशुको आन्तरिक जैविक क्रिया (चयापचया वा मेटाबोलिज्म) प्रक्रिया शारीरिक बृद्धिको अवस्थामा रहेकाले भित्री उर्जा बढि चाहिने भएर द्रुतगतिमा अक्सिजन र पोषक पदार्थ शरीरका बिभिन्न भागमा पुर्‍याउन मुटु छिटोछिटो चल्नै पर्दछ ।

शरीरको आकार र आयतन हेरेर हरेकपटक ढुकढुक गर्दा रगतको चाप सन्तुलित गर्नुपर्ने भएकोले थोरै रगत चाँडै सबैतिर पुग्न ढुकढुक छिटो भएको हुन्छ । धेरै रगत बिस्तारो ढुकढुक गर्दा पनि सबैतिर पुग्ने र वयस्कहरूमा शारीरिक बृद्धि कम भए अनुसार धेरै उर्जा केटाकेटीलाई जस्तो नचाहिने हुनाले ढुकढुकी बच्चाहरूमा भन्दा कम हुन्छ । तर मुटु, नसा र रगतका रोग तथा मानसिक कारणले छिटो हुने चाहिँ हुन्छ, त्यसको बेग्लै व्यवस्थापन गर्नुपर्छ ।

केटाकेटीको मुटु र रक्तनलीहरू विकसित हुँदै गरेको अवस्थामा रहेकाले छिटोछिटो चलेका हुन तर मानिस वयस्क भएपछि रक्तसञ्चालन प्रणाली परिपक्व भएर मुटुको चाल कम हुँदै गएको हो । अर्को कारणमा केटाकेटीहरू चनमते र धेरैजसो सकृय रहन्छन् त्यस्तो गतिविधिले उनीहरूका मुटुको चाल बढि हुनु स्वभाविक हो । वयस्कको मुटुले शरीरभरी रगतलाई पुर्‍याउन प्रतिदिन छदेखि सात हजार पाँचसय लिटर रगत घच्याडेको हुन्छ । त्यसो गर्न एकदिनमा मुटुलाई एकलाख पटक ढुकढुक गर्नुपर्ने हुन्छ भने करिब ९० वर्ष बाँचेमा तीन अर्ब पटक ढुकढुक गरेको हुनेछ ।

ढुकढुकीः
मुटुको सामान्य मानिएको ढुकढुकी तलमाथि कहिलेकाँही शारीरिक र मानसिक अवस्थाका कारणले हुनु स्वभाविक नै मानिन्छ । तर लगातार चालमा गडबडी हुनथाल्यो भने त्यस्तो अवस्थामा हृदयरोग विशेषज्ञलाई राम्रोसँग जँचाई मुटुसहित अरु कारण भएमा एकीकृत जाँचबुझ गरी उपचार गरिने स्वास्थ सम्स्थामा सम्पर्क गर्नु उपयुक्त हुन्छ । साधारणतया हरेक मासिलाई आफ्नो मुटुको धडकनको हेक्का रहँदैन् र केही पल उच्च भएको चाहिँ थाह भइहाल्छ । यस्तो अल्पसमयमा हुने बढि धडकन– हिँडदा, बसिरहँदा, उभिइरहँदा र सुतिरहँदा पनि हुनसक्छ । जीवनशैलीमा परिवर्तन र घरायसी उपायहरूले पनि यस्ता एक क्षणका लागि हुने धडकनको उच्चता रोक्न र नियन्त्रण गर्न सम्भव हुन्छ ।

के कहिल्यै तपाइँको मुटुले छाती/कोखामा हान्छ ? के कुनैबेला मुटुको चाल एकपछि अर्को धडकन फड्किएर चलेझैँ लाग्छ ? घाँटी र छातीमा छाम्दा जोडले ढुकढुकी भएको आभाष हुन्छ वा त्यस ठाउँमा बाहिरबाटै ढुकढुकी देखिने हुन्छ ? त्यसो हो भने तपाइँको धडकन बढेकै हो । स्वस्थ मानिसलाई पनि धडकन बेलबेला बढ्ने हुनाले कारण चाहिँ पत्ता लगाएमा उपचार गर्न सजिलो पर्छ । आत्तिने, अति डराउने र कमजोर मानिसकता भएका मानिसहरू सामान्य उत्साह वा दुर्घटनाका कारणले पनि यो समस्यामा पर्ने पाइएको छ । नेपालका बहुप्रचारित चिकित्सक ओम मुर्ति अनिलका अनुसार स्वस्थ व्यक्तिमा पनि केहि कामको अवधिमा मुटुको धडकन बढ्ने हुन्छ । जस्तैः व्यायाम गरिरहँदा र त्यसको लगत्तै केही क्षण, डरलाग्दा, आत्तिएका बेला, सुतिरहेकोमा व्युँझेर जुरुक्क उठ्दा, देब्रेतिर कोल्टेर सुत्दा, धेरै दुब्लो व्यक्ति, चिया, कफि धेरै सेवन गर्ने, सूर्ती, सुपारी र त्यस्तै अम्मल गर्ने तथा महिनावारी सुकेका महिलाहरूमा (रजश्वला बन्द) स्वस्थ भए पनि बेलाबेला धडकन उच्च भएको पाइन्छ ।

अस्वस्थ पाका मान्छेमा त अनेक शारीरिक समस्या पहिले कहिल्यै अनुभूत नभएका देखापर्छन् भने शरीरमा उर्जा र पोषण सञ्चार गर्ने रक्तसञ्चार प्रणालीमा कुप्रभाव परेको नै पाइन्छ । त्यसो हुँदा मुटुमा कमजोरी आउनु, रक्तनियन्त्रक मुटुका कपाटहरू (भल्भ) का समस्या भएका उमेरिएकाहरू, जन्मजात मुटुरोग भएका, धडकन अनियमित भएकाहरू, थाइराइड बढि सकृय भएका, अनियन्त्रित रक्तचाप हुने, मद्यपान गर्नेहरू साथै मुटुका मुख्य रक्तनलीका रोग भएकालाई पनि अचानक धडकनको समस्या देखा पर्नसक्छ । यस्ता बिरामीले चिकित्सकको सल्लाहमा इसिजी, इको, होल्टर, थाइराइड, हेमोग्लोबिन आदिको माध्यमबाट परीक्षण गराएर समस्याको टुङ्गो लगाई ओखती सुरु गर्नु पर्छ ।

धड्कन ठिक गर्नेः
उमेरिएका मानिसहरूमा बेलाबेला मुटुको धडकन तलमाथि भइरहन्छ, धेरै पाकाहरू यसैको कारण आत्तिने र परिवारमा सदस्य पनि हत्तपत्त अस्पतालको आकस्मिक कक्षको शरणमा पुगेको देखिन्छन् । कहिलेकाहीँ कुनै–कुनै शारीरिक तथा मानसिक कारणले पनि मुटुको चाल धेरै बढाउनुमा भूमिका खेलेको हुन्छ । प्रायजसो उमेरिएका पाकाहरू हरेक कुरामा अति चिन्तित हुने र साना समस्याले दिमागनै हुँडलिने गरी अस्वस्थ भई मुटुको चालनै बिगार्छन् । यसको अर्थ मानसिक बोझले त्यसको प्रतिरोधमा आन्तरिक जैविकरस उत्त्पन्न भई अनेक प्रणालीका प्राकृतिक काममा प्रभाव पारे जस्तै मुटुलाई असर पर्ने गरेर धडकनमा समेत असामान्य अवस्था गराउने हुनसक्छ । अहिले विज्ञानसम्मत अनुसन्धानले खुसीको समाचार ल्याएको छ, घर बसीबसी मुटुको धडकन बढ्ने र ढुकढुकीलाई ठिक्क गतिमा बिस्तारै गराउने उपायहरू पत्तो लगाएका छन् । मुटुको स्वस्थ अवस्था र सम्भावित समस्याका लक्षण, गर्नुपर्ने काम र निराकरणका उपायहरू बारेमा प्रकाशित हार्वार्डका प्रकाशन तथा प्रतिवेदनहरू नियमित अध्ययन गरी लाभ लिन समेत भनिएको छ । यस्तै क्रियाकलाप गर्ने नेपालको गङ्गालाल मुटुरोग स्वास्थ्य प्रतिष्ठानको बृहत्  प्रचार तथा क्रियाकलापको पनि रहेको पाइन्छ भने आफै गर्न सकिने केही प्रयाश पनि सुझाइएका छन् ।

१. आनन्द मान्नेः
सम्पूर्ण स्वास्थ्य प्रतिष्ठान तथा हृदयरोग विज्ञका अनुसार मुटु र रक्तसञ्चारका सबै समस्याका सुरुवातमा आधारभूत अवगुण मानसिक स्वास्थका कारण भएकै पाइन्छन् । मानसिकतामा आएको नकारात्मक प्रभावले प्रतिरोधी साथै नियमित विपरित जैविकरस उत्पादन गरिदिएर सबै आन्तरिक प्रणालीमा कुप्रभाव पार्नसक्छ । त्यसैले भुक्तभोगीहरू अचेल भेटघाटमा हरेकलाई सबै कुरामा ‘सकारात्मक सोच राख्ने र हरेक अवस्थामा खुसी रहने’ सल्लाह दिन्छन् । मुटुका ढुकढुकी अनियमित हुने पहिलो तथा प्रारम्भिक कारणमा तनाव र नसुल्झिने चिन्ताले नै हो भनी सबै स्वास्थविज्ञहरू सहमत छन् । आफ्नो पालामा भएको रिति–थिती तथा सामाजिक क्रियाकलाप समाजमा मात्र होइन, आफ्नै घरमा र आफन्तले नगर्दा उमेरिएर पाको अवस्थामा पुगेकाहरूले पिरोलिने बानी प्राय सबैका घरमा पाइन्छन् । यस्ता मान्छेले भित्री तबरले नै चिन्तित रहने बानी बसालेका छन् भने उहाँहरूले पहिला नभए पनि अब मुटुका समस्या उमारेरै छोड्नु हुन्छ ।

क) त्यस्तो परिवेशमा परिवारले सबै घरायसी नीतिखोजीमा भागलिई उहाँहरूलाई निश्चिन्त रहन भन्नै पर्छ भने फरक परिवेशमा काल परिस्थिति अनुसार यसो गरेको भनि चित्त बुझाउन सघाउनै पर्छ । नत्र फेरि चिन्ताको सञ्जालमा अल्झेर पाकाहरूले परिवारलाई नै अति बिरहमा पार्नसक्ने अवस्थाले राइँदाइँ खेलाउने हुनजान्छ । पाकाले आफैँ बुझेर चिन्तित हुने होइन बरु हटाउने केहि उपायहरू गर्न पनि अघिसर्नु पर्छ । चिन्ता नगर्न र भएमा निराकरणका लागि गर्न सकिने अभ्यासमाः कोरोना कालदेखि आन्तरिक उर्जा बढाउन साथै मानसिकता स्वस्थ राख्न खुव प्रचारित अचेल सबैका मुखैमा झुण्डिएको ‘योग अभ्यास प्रतिदिन गर्ने’ तथा सँधै रचनात्मक, सकारात्मक सोचाई राख्ने क्रियाकलापलाई प्रमुख अभ्यास मानेका छन् ।

नेपालमा धेरै पहिलेदेखि सुनिदै आएको योग, ध्यान, बिहानकै बेलादेखि नबोली खाना खाएपछि बोल्ने अभ्यासलाईनै आधुनिक भनाउनेले पश्चिमाको स्वरलाई स्वर दिई अचेल योगा भन्न थालेका हुन् । योग साधना पूर्विया चलनको आन्तरिक उर्जा उत्पादनको पुरानै पद्दती हो, यसले एकचित्त मात्र होइन शरीरले सक्ने, नबिगार्ने कसरतको अभ्यास हुन्छ । त्यस्तै शरीरलाई दुख नदिई गरिने चिनियाँ पुरातन धेरै व्यायामका पद्दती छन्, तिनीहरूमा ताइ चि सबैतिर फैलिएको छ । यसमा पनि योगका जस्तै शारीरिक अभ्यास र सुस्त व्यायाम गरिन्छ, यसले पनि नशा–जोर्नीलाई नदुखाई दैनिक व्यायामले विभिन्न अङ्गहरूलाई चलाउने तथा सकृय बनाउन मद्दत गर्दछ । यी दुबै अभ्यासमा बाहिरी प्रणालीको मात्र होइन भित्री श्वासप्रश्वासकाे व्यायाम पनि सँगै हुनेभ एर भित्र्याँसको पनि सकृयता बढ्छ र चाहिने प्राणवायु सञ्चारित भई उर्जा उत्पन्न गर्न सजिलै सकिन्छ । यस अभ्यासलाई नियमित गर्नेमा चिन र जापानका नागरिकले तन्मयकासाथ लागु गर्ने भएर नै शताव्दि उमेरका पाका मान्छे धेरै भएको भनिन्छ ।

ख) हिजोआज प्रविधिको विकाससँगसँगै मानिसले हरेक समस्याका समाधानमा प्रमाणिक उपायहरू प्रविधिमार्फत नै खोज्दैछन् । शरीर उमेरिदा हिजोसम्मका रमाइला कुरा बिरक्त लाग्ने, ‘ढुङ्गामा पछारे पनि ऐय्या नभन्ने ज्यान’ अहिले सजिलो नरम ओछ्यान बिझाउने, फाप्ने खानेकुराले बिगार गर्ने, अलिकति खोक्दा कोखानै फुट्लाजस्तो हुने भएर शरीरमा कता दुख्छ भन्न नसकी बडो चिन्तामा हुन्छन् । त्यस्ता शारीरिक मानसिक पीडाबाट छुटकारा पाउन अचेल जैविक प्रतिक्रिया मापन मेसिनबाट परीक्षण गरेर कहाँ के भएको छ ? अथवा कहाँ दुख्छ र बेचइन होइन्छ जान्नलाई कम्प्युटरमा तारहरू सम्बन्धित ठाउँमा जोडेर परीक्षण गरिन्छ ।

अनि कसरी, के माध्यमबाट आफूलाई बिसञ्चो लागेको र दुखेको– मगजको तरङ्ग, श्वासप्रश्वासको गति, हृदयगति, माङ्सपेशीको शङ्कुचन, पसिना ग्रन्थीको क्रियापलाप, मौसम र तापक्रम आदिको सन्दर्भमा हेरिन्छ । ती अङ्गहरू, तिनका सतर्क र शान्त अवस्थाको मापन गरेर अमुक मानिसको शरीरमा हुने प्रभावलाई ध्यान दिइन्छ । दुबै अवस्थामा आउने शारीरिक तथा मानसिक तनाव कहाँ, कसरी परेर अप्ठ्यारो/सप्ठ्यारो अनि दुख अनुभूत हुन्छ भनि पत्तो लाग्छ । एक किसिमको तनावरहित हुन ध्यान भनेझैं, के गर्दा शरीर र दिमागलाई सुप्रभाव हुन्छ त्यो थाह पाएपछि हरेक अप्ठ्यारोमा आफूलाई जोगाउन गर्नुपर्ने उपाय गर्न सिकिन्छ । यसबाट नकारात्मक अवस्थाले गर्ने हानी थाह भई प्रभावकारी सकारात्मक आनिबानी बनाउन मद्दत हुनेनै छ ।

ग) तनाव बढ्ने अवस्थामा वा बढ्ने सम्भावना भएमा ध्यान अन्यत्र केन्द्रित गर्नको लागि लामो–लामो श्वासप्रश्वास गर्नु र अमुक नकारात्मकताबाट पर सर्नु स्वास्थको लागि फाइदाजनक हुन्छ । पलेटी कसेर ठाडो बस्नु तथा ध्यान आफ्नो स्वासप्रश्वासको गतिमा दिएर कतिबेर लगाएर गरिन्छ मनमनै गन्नुले तनाव प्रतिको चासो विकेन्द्रित भएर आनन्द लाग्न थाल्छ । तनावले हुने अङ्ग–प्रत्यङ्गका पीडा शान्त हुन बल पुग्छ । सामान्य मालिस वा जीउमा केन्द्रीत जर्‍याक–जुरुकले पनि ध्यान दुखाइतिर भन्दा कामतिर जाने हुन्छ । त्यसमा अझ साँच्चिकै व्यायाम गर्ने वा कतै अल्पकालिन हिँडाईमा लागे भएको पीडा बिर्सेर आनन्दित हुने अवस्था आउन सक्छ । कतै नगए मेचमा बसेर कहिले गोडा खप्टेर तथा कहिले फट्ट्याएर बिस्तारै र सकेको लामो श्वासप्रश्वास गरेमा प्राणवायुको प्रबिष्टीको मात्राले शरीरलाई सामान्य आनन्द पार्ने अवशर पाइन्छ ।

२. भेगस स्नायु जिल्ल्याउनेः
भेगस स्नायुले दिमागलाई पाचन प्रणालीसँग गहिरो सम्बन्ध बनाउँछ, त्यसैले त मनमा खसखस हुने घिनलागेमा पेट हुँडल्न थाल्छ । त्यस्तै पेटले कुफत खाएको अनुभव गरेमा दिगमिग लागेको सूचना दिमागलाई दिन्छ र बेफाइदा गर्ने बस्तु रहेछभने बान्ता गराउन घाँटीदेखिको भेगस स्नायुलाई उराल्छ । पेटको कुरा घाँटीतिर नफर्कियोस् भनि भएको कपाट पनि खुकुलो भई घाँटीतिर खाना फर्काउन सजिलो पारिदिन्छ । यस स्नायुले खाना पचाउने मात्र होइन हृदयगति, श्वासप्रश्वासको दर, खोकी, हाच्छ्युँ, निल्ने, ओकल्ने तथा सर्कँदा समेत त्यहाँका अङ्गहरूलाई काम लगाउने र नियन्त्रण गरिरहेको हुन्छ । मुटुको धडकन बढ्ने भएमा यही भेगस स्नायुलाई प्राकृतिक परिचालन गराउन तह लगाउनु पर्छ । त्यसको लागि तीन ओटा प्रक्रिया पुरा गर्न सकिन्छः चिसो पानीले नुहाउने र त्यसपछि हातगोडा चिसै पानीमा केहि क्षण डुबाएर राख्ने । आफूलाई मनपर्ने कुनै वाक्य एकसुरले ‘ओम’ जपे जस्तै भनिरहने गरेमा पनि बढि भइरहेको हृदयगति शान्त हुन्छ । श्वास टन्न लिएर एकछिन रोकेर पेट दुखेको बेलामा थिचेझैँ कन्नुहोस् त्यसले पेटमा बल पर्छ र हृदयगतिमा नियन्त्रण हुन्छ ।

भेगस स्नायुलाई तह लगाउने राम्रो तरिकामा कानमा पानी पसेर बन्द भएको अनुभव हुँदा श्वास टन्न लिएर नाकका दुबै प्वाल थुनेर बल गरेमा प्वाक्क भई पानी निस्केर हलुका भएझैँ पेट थिचेर त्यस्तै प्रक्रिया गर्दा मुटुको चाल सामान्यमा फर्किन्छ । यस अगाडि हृदयगति ढिलो वा चाँडो हुने, एकपछि अर्को धडकन फड्किने, टाउको दुख्ने, चक्कर लाग्ने, छाती सामान्य दुख्ने र श्वास छिटो–छिटो हुन खोज्ने हुन्छ । यस्तो समस्यामा माथि भनिएको बाहेक विज्ञसँग जानकारी लिने र ओखती गर्नैपर्छ ।

३. पर्याप्त पानी पिउनेः
मानिसलाई स्वस्थ रहन दैनिक पानीको सेवन गर्नै पर्दछ । हाम्रो शरीरमा करिब ७० प्रतिशत पानी विभिन्न प्रणालीमा रहेकाले पहिला–पहिला जलमा भएको जीवन भन्ने चलन नै थियो । त्यसैले साँझ धेरै झोलिलो पदार्थ खान हुन्न भन्ने भनाई पनि थियो भने अब वयस्कहरूलाई शरीर स्वस्थ रहन कम्तीमा तीन लिटर पानी दैनिक सेवनको आवश्यक्ता भएको भनिन्छ । मौसम र खानेकुराको गुण हेरेर थपघट हुनसक्छ भने केटाकेटी देखिको बानी र स्थानियताको आधारमा पनि पानी पिउने मात्रा फरक पर्न सक्छ । पानी येथेष्ठ भएन भने शरीरमा कमी भई मुटुको धडकन बढ्न सक्छ अनि शरीर लु (तातो हवा) लागेझैँ हुनसक्छ ।

यसोहुँदा शरीरको अति आवश्यक रगत बाक्लो भएर मुटुलाई चाहिँदो काम गर्न र रगत घच्याडेर ठाउँ–ठाउँमा पुर्‍याउन र अशुद्ध रगत फिर्ता गरी ल्याउन र सफा गरी फेरि प्राणवायुसहित पठाउन गाह्रो पर्छ । यसले मुटुमा नभएको रोग बल्झन सक्छ र विशेषगरी मुटुभित्रका नियन्त्रक कपाट (भल्भहरू)मा असर गर्ने तथा रक्तनलीमा अवरोध आउन सक्छ । यस प्रक्रिया अवधिमा हृदय गति कि सबैतिर रगत घच्याड्न बढि चल्न खोज्छ वा बाक्लो रगत नसकी बिस्तारै हुन थाल्छ । यस्तो भएमा आराम गरेर बिस्तारै–बिस्तारै पानी पिउन थाल्नोस् र अलि धेरै पानी पिउन खोज्नोस् । आराम र पानीको आपूर्तिले धडकन सामान्य चालमा आउन सक्छ । पूर्णआराम र सामान्य ढुकढुकी भएपछि विज्ञ चिकित्सकसँ सल्लाह गरी ओखती गर्नुपरे अग्रसर हुनुहोस् ।

४. इलेक्ट्रोलाइटको सन्तुलनः
हाम्रो शरीरमा रहेका जैविक झोल र पानीको मात्रामा बिद्युतिय तरङ्ग पैदा गर्न सक्षम सोडियम (नुन सम्बन्धित), पोटासियम र अन्य तत्वहरू उचित मात्रामा हुनैपर्छ । यस्ता तत्वहरूको अभावमा शरीरका जैविक प्रणालीहरूले सन्तुलित भएर काम गर्न सक्तैनन् । नुन, पोटास जस्तै आवश्यक तत्वहरूको समिश्रणले शारीरिक र मानसिक सबै प्रणालीलाई जीवित तथा सकृय बनाइरहन सक्छ । असन्तुलन वा एकको अभाव वा बढि भएमा प्रणाली सञ्चालनमा असर गर्छ र त्यस्तै भएर पनि मुटुको चाल तलमाथि भएको हुन्छ । पर्याप्त सन्तुलनको अभावले रगत लगायत अरु द्रविय पदार्थको घनत्वमा प्रभाव पारेकाले मुटुले राम्ररी काम गर्न नसकेर रगत घच्याड्न र तान्न धडकन बढाएको हुनसक्छ । त्यस्तो शरीरका अङ्ग र प्रणालीमा प्रत्यक्ष असर पार्ने तत्वहरूमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम र सोडियम प्रमुख रुपले रहेका छन् ।

यस्ता तत्वहरू सहजै खानाबाट प्राप्त गर्न सकिन्छ र घनाहरिया पात हुने दानादार गेडागुडी, सागपात साथै दुग्धजन्य बस्तु खाने गरेमा क्याल्सियम आपूर्ति राम्रै हुनेछ । यस्तै रङ्गका पात भएका ओखरजस्तै भित्री गुदीखाने फलहरू र माछा खानाले म्याग्नेसियम पर्याप्त पाउन सकिन्छ । त्यस्तै बजारमा पाइने थप खुराकी भनिने ओखतीमा यस्ता समिश्रण भएको हुनाले चिकित्सकको सल्लाहमा सेवन गरेर आपूर्ति हुनसक्छ । सोडियमको लागि हामी नेपालीहरू भातबाहेक धेरै खाद्यबस्तुमा नुन हालेर खाना तयार गर्ने हुनाले ठिक्क नुनले यो तत्वको आपूर्ति सहजै हुन्छ, थप आवश्यक भए बजारमा सोडियम अन्य ओखतीजस्तै पसलमा उपलब्ध छ ।

५. उत्तेजित गराउने सेवन बन्दः
धेरैजसो नशालु अम्मलहरूले एकक्षण भए पनि शरीरलाई उत्तेजित गराउँछन् र त्यस्को तुरुन्त सोझो प्रभाव मुटु, फोक्सो, भित्री अङ्गहरू तथा प्रणालीहरूमा परिरहेको हुन्छ । सँधै सेवनले बानी लागेर सुरुमा जस्तो अप्ठ्यारो नपारेको हुनसक्छ तर नराम्रो भनेको राम्रो कहिल्यै हुँदैन । तिनले गरेका असरले प्रभावित भएर बाधा पर्ने प्रणाली र अङ्गहरूमा एकैपटक तपाइँलाई थला पार्न पनि सक्छ । त्यसमाथि उमेरिएको ज्यानले ‘केटाकेटी देखिको अम्मल अब के होला र ?’ भनि तलतलको दाश बन्नु चाहिँ हुन्न है । यस्तो निचमार्ने प्रवृत्तिले पाका मान्छेलाई ‘न जुरुक्क न हिरिक्क’ को स्थितिमा थला पार्न सक्छ । त्यसै अठोट्न नसके अचेल बजारमा पाइने आफूलाई सहयोगी नशामुक्ति ओखती, विज्ञको सल्लाहमा सेवन गर्न थालिहालौँ । संसारमा अम्मलको दाश भएर मर्नुभन्दा त्यसलाई जितेर केही थप वर्ष बाँच्नु लाभकारी होइन र ?

शरीरलाई उत्तेजित गराई बेफाइदा गर्नेमा क्याफिनयुक्त पेय तथा खानेकुराहरू, सुर्तिजन्य बस्तुहरू, गाँजा, भाङ, धतुरो, मद्यपान, कुनै चिसो र खोकीका ओखतीहरू, भोक नलाग्ने ओखती, मानसिक रोगका ओखतीहरू, उच्च रक्तचापका ओखतीहरू, विभिन्न देशहरूमा प्रतिबन्धित लागु पदार्थहरू सबै स्वस्थ शरीर र विभिन्न प्रणालीलाई नोक्सान पुर्‍याउने बस्तुहरू हुन् । यस्ता कुरा बाहेक आफूले खाँदा लागेजस्तो हुने र मुटुको धडकन बढाउने कुनै खानेकुरा छन्‌ भने त्यस्ता सामान्य बस्तु पनि खान छोड्नोस् । आफूले नियमित प्रयोग गर्ने ओखतीको कारण हो भने सम्बन्धित चिकित्सको सल्लाहमा मात्र फेरबदल गर्नु बान्छनिय हुन्छ ।

६. सन्तुलित भोजनः
सकेसम्म जेथाले भ्याएसम्म सन्तुलित भोजन खान नियमित गरौँ, ‘पाएमा अपबितो र नपाए भोकै’ को स्थिति नरहोस् । बरु समस्यामा पर्ने डर छ भने फारोतिनो र पुर्‍याइ–पुर्‍याइ खान सिकौँ, हुँदा हुरेल–दुरेल गर्ने अल्लारे बानी त्यागौँ । असन्तुलित त्यस्तो खानाले पनि धडकनको समस्या भएको अनुसन्धानले देखाएको छ । पोषिलो सन्तुलित आहारामा ताजा फलफूल, सागपात, पूर्ण दानेदार बस्तु, ठिक्क प्रोटिन, गुदीखाने बियाँ र माछाका तेलिय पदार्थ स्वास्थलाई फाइदा पुग्ने खाद्य हुन् । मुटुका समस्या भएकाहरूले केही सँधै खानसक्ने बस्तुहरूको खपत कम गर्नु राम्रो हुन्छ । जस्तो, सन्तृप्त बोसो, काँचो बोसो, नुन, चिनी तथा बनिबनाउ बजारिया हलुका खाजा र छाक टार्ने खानेकुरा नखानु ठिक हुन्छ ।

७. नियमित व्यायामः
हरेक मानिसले जीउँदो रहुन्जेल बसिबसी खाने आराम गर्ने होइन, सकेको व्यायाम स्वस्थ रहन गर्नैपर्छ अन्यथा उमेरिदा त रोगले समाउन आइतबार पर्खिनु पर्दैन । कसरतले शरीरका धेरै भागको चलखेल गराउनुका साथै मुटु र यसको धडकन ठिक्क बनाउन धेरै मद्दत गरेको हुन्छ । अमेरिकामा त्यहाँको चिकित्सक सङ्घले स्वस्थ मानिसले कम्तीमा हप्ताको अढाई घण्टा पसिना निक्लने व्यायाम गनुपर्ने जनाएको छ । धेरै समय खर्च गर्न नसक्नेले सवाघण्टा निस्लोट थकाई लाग्ने व्यायाम गरे हुने पनि सिफारिस गरेको छ । उमेरिएकाले शरीर ठिकै छ भने समय धेरै लगाएर भए पनि व्यायाम नछोड्नु आयु बढाउने उपाय नै हो । हो, व्यायामले पाकालाई थलापार्ने होइन सकृय र फूर्तिलो बनाउने हो भन्ने मनमा राखी कसरत नियमित गर्नु रोग लागेकालाई पनि उचित कार्यमा पर्छ । व्यायामले तौल घटाउन, रक्तचाप सन्तुलनमा राख्न र भित्र्याँसका समस्या हल गर्न सघाउँछ ।

अन्त्यमा,
पाका माछेका मुटुको अनियमित चाल र धडकन हुनु तथा बेलाबेला हुनु पनि खतराको सङ्केत हो । ‘जिउँदाको मुटु ढुकढुक नगरे के मरेकाको गर्छ त ?’ भनि ठस्के रुखो जवाफ लगाउने परिवार परे भने त घाटजाने बाटो बनाइदिनु हो । त्यसो होइन, पुरानिएको शरीरले धेरै चाकडी खोज्नसक्छ, बेलैमा गरिएको थोरै हेरबिचारले आफ्ना अग्रजलाई थप वर्ष नगिच हुन र सेवा गर्न पाइन्छ भन्ने सदाशयले अघिपछि लागेर समस्या सल्ट्याउँ । आजका विवेकशील घरका जिम्बेवारले पछि पछितो लागेर ‘पोहोर मरिन सासु, अहिले आयो आँसु’ भन्ने उखान अब प्रयोग नगर्ने घोषणा गरिसकेकाले पाकाहरू ढुक्क भएका बुझिएको छ ।

०००
पुस २६, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
अब म केही बोल्दिनँ

अब म केही बोल्दिनँ

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x