साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दरका कुरा

रमाइलो गर्ने भनेकै बाँचुञ्जेल हो । आफू नमरी स्वर्ग देखिदैन । स्वर्ग देखेँ भनेर कोही आएको छैन । भोकै बसेर व्रत बस्नु सरासर मूर्खता हो । जानीजानी कसैले आफ्नो खुट्टामा बन्चरो हान्छ ? हान्दैन । हान्नु हुँदैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

दरको नाम, थर, गोत्र केलाउँदा यसको मूल अनेकार्थी शब्दका रूपमा फेला पर्दोरहेछ । एउटा शब्द दरले धेरै अर्थसँग घर गरेको रहेछ । व्यापारीको घरमा दरले मूल्य वा भाउसित नाता लाउँदो रहेछ । सिकर्मीसँग रहँदा ढोका बनेर ठडिँदो रहेछ । बलियोपनका लागि आड र तीजको खान्कीको बान्कीसँग मिलाउँदा पर्वको रूपमा गर्व गर्दोरहेछ ।

परिवर्तन हुनु संसार र संसारबासीको विशेषता हो । यहीँ परिवर्तनशीलताले ढुङ्गे युगको मान्छे रकेट युगमा आइपुग्यो । नाङ्गे युगबाट परिवर्तन हुँदै उत्कर्षता स्वरूप बुङ्गे युगमा आइपुग्यो । जसरी हुन्छ मानिसलाई अरु भन्दा भिन्न हुनु छ । न्याय गरेर होस् या हरेर, सत्य बोलेर होस् या पोलेर सफलताको शिखर चुम्नु छ । ऐश आरामका साथ देश देशान्तर घुम्नु छ ।

यथास्थितिवादी चिन्तनको दोहोलो काढेर अगाडि बढ्नु नै प्रगतिशील हुनु हो । परम्परागत मूल्यमान्यता ध्वस्त पारेर छोड्नु क्रान्तिकारी बन्नु हो । हामीले प्रगतिशील चिन्तनलाई आत्मसात् गर्दै क्रान्तिकारी भावलाई ऊर्जाशील बनाउनु पर्छ ।

संसार कहाँबाट कहाँ पुगिसक्यो ।भाषाका जगतमा अल्झिने र बल्झिनेहरूले खोइ कुरा बुझेको ? परम्परावादीहरूले भाद्र शुक्ल द्वितीयालाई दर खाने दिन तोके । दरलाई एक दिनमा सिमित राखे । हिजका पाखेहरूले एक दिनलाई मात्रै दर खाने दिन राखे भनेर आजको पुस्ता सिमित हुने कुरा रहेन । तीजका अघिल्ला रात स्त्रीहरूले खाने विशेष दरिलो भोजन भनेर स्त्रीहरूमा मात्रै दरलाई खुम्च्याइयो । स्त्रीहरू मात्रै दरिला हुने कुरा पक्षपाती छ । यत्ति मात्रै हो र ? तीजको अघिल्लो रात १२ः०० बजेभित्र शुद्ध शाकाहारी भोजन खाने भनियो । खीर, दूध, दही, घिउ, फलफूलमा सिमित गराइयो । तीजको दिन दिनभर पानी पनि नखाई व्रत बसाल्ने कुरा न्यायोचित छैन । यसरी भोकभोकै बसेर कतै व्रत हुन्छ ? यस्ता ढर्राका पछाडि लाग्नु सरासर गलत हो । दिनभर भोकै बस्दा रिङ्गटा लाग्दैन ? मान्छे चिलिम फर्कियो भने के हुन्छ ? तीज त पर्व हो । पर्वमा टन्न खानपिन गर्नुपर्छ । टन्न भुँडी भर्नु पर्छ । यसर्थ जमानामा लेखिएका शास्त्र, पुराणहरू संशोधन गरिनुपर्छ । शब्दकोशमा नयाँ अर्थ दरिनुपर्छ । आवश्यक परे आन्दोलन गरिनुपर्छ । देश र जनताको आन्दोलनबाट पटकपटक संविधान फेरिएका छन् भने नाथे सांस्कृतिक मान्यता यथावत रहनुपर्छ भन्ने छैन ।

विगत केही वर्षयता साउन सुरु भएसँगै तीजको रौनक सुरू भएका छन् । महिलाहरू हरिया चुरा र साडीहरूमा सजिने गरेका छन् । पार्टी प्यालेसहरूमा दर पाक्ने गरेका छन् । अर्थतन्त्र चलायमान भएको छ । कमाउनेहरूले कमाएका छन् । रमाउनेहरू रमाएका छन् । समाउनेहरूले समाएका छन् । जनचाहना अनुसारका गीतहरू घन्किने गरेका छन् । रसिकहरू गीत सङ्गीतमा भन्किने गरेका छन् । तीजले सबैलाई आनन्द दिएको छ । रमाइलो गराएको छ । माहोल तताएको छ । अनि पो तीज तीज जस्तो भएको छ ।

आफ्नो त साउन लागेदेखि घरको चुलो जलेको छैन । जुठा भाँडा दल्नु परेको छैन । भान्सामा रङ्सिनु परेको छैन । आहा ! तीजले कति सुनौलो वहार ल्याइदिएको छ ।

साउन के सुरू भएको थियो दर नखाएको दिन छैन । संघ संस्थाहरूको निम्तो मान्न भ्याइनभ्याई छ । दिनमै दुईचार वटा पार्टीमा सहभागी भइएकै छ । साथी समूह मिलेर ठाउँ ठाउँमा दर खान गइएकै छ । कहिले कसको पालो कहिले कसको पालो; पालो गरी गरी थरीथरीका दर दबाइएकै छ । घरका खानाले बिग्रिएको थुतुनाले फेरिने मौका पाएको छ । चिकन, मटन, बफ, पोर्क, बिफका परिकारहरूले भुँडी भरिएको छ । ह्विस्की, वाइन र वियरहरूको स्वादले जिब्रो समेत दङ्ग परेको छ ।

खाने कुराले मात्रै होइन लगाउने कुराले शरीरले सजिने मौका पाएको छ । शरीरका अङ्ग अङ्गहरूले गहना लाएका छन् । नयाँ नयाँ डिजाइनका पोसाक पाएका छन् । कपडा र गहना पसलहरूले ग्राहक पाएका छन् । तीजले गर्दा सबैका मनोकाङ्क्षा पूरा भएका छन् । यस कुरामा कुनै द्विविधा छैन ।

लेखकले आजै मात्र जमानाको नौलो अभ्यास देख्यो । तीजको तीन दिन अगाडि मादल घन्काएर भैली गीत भट्याउने युवा युवतीहरूको करामत भेट्यो । साउनदेखि तीज सुरू भएपछि भदौदेखि तिहार लाग्नु कुनै अनौठो विषय भएन । एक दिन मात्रै पर्व मनाउने पुरानो परम्परा आफैमा ठीक छैन भन्ने कुराको राम्रो उदाहरण हो यो । त्यसैले जसलाई जतिबेला जे तह पर्छ त्यो मान्न वा मनाउन दिनुपर्छ । मुस्किलले जमघट भएका बखत जे मन लाग्छ त्यो गर्न पाउनु पर्छ । चाडपर्व रमाइलाका लागि हुन् । मौका मिले मनाइहाल्नु पर्छ । कथाले मागे अनुसारको अभियन गर्नै पर्छ । अनि पो देशले कोल्टे फेर्छ । संस्कृतिले फड्को मार्छ । सांस्कृतिक रूपान्तरणबाट अग्रगामी छलाङ् मार्न पुरातनवादको झेंको झार्न वर्तमान पुस्ता अगाडि सर्नै पर्छ ।

मानिसले कमाउने के का लागि हो ? उत्तर सजिलो छ – रमाउनका लागि । रमाउन नै पाइएन भने कमाउनुको अर्थ छैन । रमाउने कसरी ? खाएर । लाएर । गाएर । बजाएर । नाँचेर । हाँसेर । आनन्दसित बाँचेर । हाम्रा पति, पत्नी, पुत्र र पुत्रीहरू परदेश कमाउन भनेर गएका छन् । उनीहरूले कमाएको धनमा घरमा रहनेहरू नरमाएर भयो ? यो हुनै सक्दैन । दुःख गरी कमाएको धनमा नरमाउने हो भने कमाउने मनहरू दुःखी हुन्छन् । रमाइलो गर्ने भनेकै बाँचुञ्जेल हो । आफू नमरी स्वर्ग देखिदैन । स्वर्ग देखेँ भनेर कोही आएको छैन । भोकै बसेर व्रत बस्नु सरासर मूर्खता हो । जानीजानी कसैले आफ्नो खुट्टामा बन्चरो हान्छ ? हान्दैन । हान्नु हुँदैन । त्यसैले वर्षैभरि तीज, दशैँ, तिहार मानौँ । रक्सी तानौँ । मासु हानौँ । यति कुरा त सबैले मानौँ । औँशी, पूर्णे, एकादशी जेसुकै होस् सपेटा तानौँ । सराद्धे गर्दा होस् कि किरिया बस्दा मन लागेको खाऔँ । लाऔँ । जीवन आफ्नो लागि हो । आफ्ना लागि बाँचौँ । कसले के भन्छ भनेर आफूलाई किन खुम्च्याउने ? मन लागेको गरौँ । सांस्कृतिक परिवर्तनको लागि आन्दोलनको शङ्खघोष गरौँ ।

दरका कुरा नितान्त मेरा निजी विषय होइनन् । घरघरका कुरा हुन् । जनजनले र मनमनले चाहेका विषय हुन् । मैले त विषयको उठान गरिदिएको हो । बाँकी तपाईंको जो विचार !

०००
रेसुङ्गा न पा २, तम्घास गुल्मी
२०८१।०५।१९

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

घर घरका दरका कुरा, कोर्ली र बहरका परस्परका कुरा,ठाउँ न ठहर बेमौसमी रहरका कुरा

Ramprasad panthi
Ramprasad panthi
1 year ago

धन्यवाद युगल सर

Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
2
0
Would love your thoughts, please comment.x
()
x