नरनाथ लुइँटेलहुस्सुकान्तले फेरि हावा खायो
हुस्सुकान्त जस्ता त्यागी, इमान्दार र लामो राजनीतिक जीवन व्यतित गरेका लठुवाहरूले कहाँ टिकट पाउँछन् ? टिकट पाए पनि कहाँ जित्छन् ? कठैबरा !!

आखिर हुस्सुकान्त यसपटक पनि नराम्रोसँग हिस्सियो । यसरी हिस्सिनुपर्ला भनेर उसले कल्पनासम्म गरेको थिएन । हिस्सिनु र हिस्स पर्नु कुरा एउटै हो । हुस्सुकान्तको हिस्स पराइ साँच्चि नै बडो स्वादको छ । त्यसो त हुस्सुहरू प्रायः सबै स्वादले नै हिस्स पर्दछन् । बेलामा बुद्धि नपुर्याउने लठुवाहरू यसैगरी हिस्सिन्छन् । यो तपाईं हाम्रा निम्ति त्यति अनौठो मानिन्न । तर हिस्स पर्ने हुस्सुहरूका निम्ति टाउकामा पहाड खसेभन्दा भयावह हुने गर्छ । हुस्सुकान्त अहिले त्यही भयावह स्थितिको चपेटामा परेर आक्रान्त मुडमा छन् र उनी कल्पना गर्छन्- “आखिर म जस्तो कर्तव्यनिष्ठ, इमान्दार, सोझो, त्यागी र छक्कापञ्जा नगर्ने मान्छे पनि हिस्स पर्ने जमाना आएछ हगि ?”
यस्तो परिस्थितिको सिर्जना कसरी भयो भनेर सोच्दासोच्दै हुस्सुकान्तको सोझो मस्तिष्क वरिपरि चालीस वर्षको राजनीतिक इतिहास चाकाचुली खेल्न थाल्यो । इतिहासका हरेक प्रतिकूल र अप्ठ्यारा मोडहरूमा हुस्सुकान्त सुदृढ खम्बा बनेर उभिएको थियो । आफू वरिपरिका चपरचण्डालहरू प्रतिकूल परिस्थितिको आभाष हुनासाथ काखीमा टोपी च्यापेर भाग्दथे तर उसले कहिल्यै भाग्न र लुक्न जानेन । त्यसो गर्नु अवसरवाद हो, कायरता हो, धुमधामको धोका हो भन्ने अर्थ लगाउँथ्यो र निर्भयका साथ आफ्नो ठाउँमा उभिन्थ्यो । यसो गरे बापत धेरैचोटि उसले पञ्चायती मण्डलेहरूको लाठो खानुपर्यो, धेरैचोटि पुलिसको जुत्ता र पेटी खानुपर्यो, अनि पटकपटक जेलका छिंडीमा बास बस्नुपर्यो । के यो सबै हुस्सु प्रमाणित हुनका लागि थियो ? हुस्सुकान्तका मनमा यो बडेमानको प्रश्न तेर्सिएर बस्यो । अहँ, जवाफको पोको कतैबाट फुकेन । साँच्चै ऊ यसपटक पनि नराम्रोसँग हिस्स पर्यो ।
तपाईं भन्नुहोला- हुस्सुकान्त हिस्स पर्दा तँलाई केको टाउको दुख्यो ? हैन, हैन टाउको मेरो दुखेको हुँदै होइन । टाउको त बेस्मारी हुस्सुकान्त जस्तै हिस्स पर्ने अरु थुप्रै हुस्सुहरूको दुखिरहेको छ । दुखाई यति बिघ्न छ कि सबका सब टाउको समातेर चरिफाइँ परिरहेका छन् । इण्डियन एनासिनको सेवनले पनि यो टाउको दुखाइलाई आराम दिन सकेन, अनि चाइनिज भिक्सले पनि दुखाई कम गर्न सकेन । हुस्सुकान्तहरू तत्क्षण आरामी प्रदान गर्ने प्रभावी औषधिको खोजीमा छन् । बडेबडे डाक्टरहरू हैरान भइरहेका छन्- अब कुन औषधि “प्रेस्काइभ” गर्ने ? यस्तो बेजोडसँग हुस्सु हुनुपर्दाको पीडापूर्ण स्वादबारे पूर्ण जानकारी नभइकन डाक्टरले औषधि लेख्ने कुरै भएन । यस्तै किसिमको पीडानुभव भएका अनुभवी डाक्टर पनि कहाँ धेरै छन् र हामीकहाँ । फेरि हुस्सुहरूको उपचार र सेवामा मात्रै निर्लिप्त हुने समय पनि उनीहरूसँग हुनुपर्यो नि ! यसरी स्थिति अनपेक्षित ढङ्गले बिग्रिँदैछ र बटारिँदैछ । यो स्थितिले पनि हुस्सुकान्तहरूको मस्तिष्कमा नकारात्मक प्रभाव छोडिरहेको छ र टाउको टन्टनाउने क्रम बढिरहेको छ ।
हुस्सुहरूको एउटा निकै ठूलो हूल एकजना हुस्सुको निवासमा जुट्यो । जुटेकाहरूमध्ये कोही प्रथम पटक हुस्सु बनाएकाहरू थिए भने कोही पटक पटक हुस्सु बनाइएका पटके हुस्सुहरू पनि थिए । अधिकांशले टन्टनी कसिएको आ-आफ्नो टाउको समातेका देखिन्थे । हस्याङ्फस्याङ् गर्दै हुस्सुकान्त पनि त्यो हुलमा मिसिएर एक हातले तालु समाउँदै अर्को हात हावामा हल्लाउँदै कराउन थाल्यो । सरकार बहुमतको बन्दैछ, स्थितिले यही भन्दैछ । अनि पार्टी र प्रजातन्त्रका निम्ति आजीवन समर्पित हामीहरूले चाहिँ हावा खानुपर्ने भएको छ । दुई पैसा कानो कौडीको योगदान नभएका लठुवाहरू चाहिँ लाठ्साहेब बनेर कुर्सीमा हावा खाने भएका छन् । यो घोर अनर्थ भयो, चिताउनै नसकिएको अन्याय भयो । शास्त्रमा पनि लेखेको छ “अन्याय सहनु पनि ठूलो अन्याय हो ।” हुस्सुहरूको हूल एकै स्वरमा करायो- ‘हो ! हो !!’ त्यो स्वरको घोर सकिएपछि कुनाबाट एउटा हुस्सुको मसिनु बोली हूलमाथि खस्यो “तर हामी के नै गर्न सक्छौ र ?”
त्यो प्रश्नले सबै हुस्सुहरूको मथिङ्गल हल्लायो । बैठककोठा निकैबेर शान्त र मौन बन्यो । टाउको समातेको समात्यै एउटा गठिलो हुस्सु बसेको ठाउँबाट जुरुक्क उठ्यो । “साथीहरू ! हुस्सु बनेर नखानु हावा नै खानु परेपछि बाँकी के नै रह्यो त ?” ऊ अझै जोडले आफ्नो भनाइ राख्न थाल्यो- “मसँग छ, यो टाउको दुखेको शमन गर्ने औषधि, तपाइँ हामी सबैसँग छ । हुस्सु त भइनै सक्यौं तर हतास हुनुहुन्न ।”
“छिटो बताऊ, औषधि के हो ।” हूल करायो । सबैभन्दा चर्को स्वर हुस्सुकान्तको थियो । हठिलो गठिलो हुस्सुले खल्तीबाट एउटा ठोस बस्तु झिक्यो र उपस्थित सबैलाई बाँड्न थाल्यो । “लौ लिनोस् कसलाई कति मात्रा चाहिन्छ, स्वेच्छाले लिनुहोस्, यो रामवाण औषधि हो । यसको नाम पनि थाह पाइराख्नुस् ‘विद्रोही-जन्तर’ अथवा ‘बागी-मन्तर’ । हुस्सुकान्त त्यो औषधि हातमा लिएर हेरेको हेर्यै भयो ।
भोलिपल्ट बिहान हुँदा नहुँदै हुस्सुहरूका बीच रामवाण औषधि वितरण भएको हल्लीखल्ली चोक र गल्ली नाघेर नेताबाबुको हबेलीसम्म पुग्यो । हुस्सुहरूको हातबाट त्यो जन्तर-मन्तर तुरुन्त फुस्काउनका निम्ति अब के गर्नुपर्ला भनेर नेताहरूबीच तन्त्रणा मन्त्रणा सुरु भएको छ । उता टिकट नपाउने हुस्सुहरू रामवाण बोकेर परेडमा निस्किएका छन् । यता टिकट पाउनेहरूमध्येकै पनि कतिपय वक्तव्यवाण लिएर परेडमा उत्रिएका छन् । कोही पाएर हिस्स परेका छन् त कोही नपाएर हिस्स परेका छन् । परिस्थिति यस्तो सङ्गीन बनेको छ कि हिस्स पर्ने र हिस्स नपर्नेहरू एकैसाथ हुस्सु भएका छन् । रामवाण र वक्तव्यवाणले अहिले यो भूमिको ध्वनि प्रदूषणलाई तीनगुणा बढाएको छ ।
यो हुस्सु पङ्क्तिकार भने ध्वनिप्रदूषणबाट कानको श्रवण-शक्ति सुरक्षा गर्न कान थुनेर हुस्सुहरूको हिस्सिने खेल-मनोरञ्जन काइदासँग हेरिरहेको छ । हेर्दाहेर्दै हुस्सुकान्त यसपटक पनि नराम्रोसँग हिस्स भयो । उसले बेस्वादसँग हावा खायो । यसरी जानाजान हुस्सु हुनुपरेको पीडा शमन गर्न उसले एउटा विज्ञप्ति जारी गरेको छ । त्यो विज्ञप्ति नै उसको निर्वाचन उम्मेद्वारीको घोषणापत्र पनि हो । हुस्सुकान्त आफ्नो घोषणापत्रका साथ चुनाव प्रचारमा हेलियो ।
शहर बजार र गाउँबेँसीका खोला खोल्सामा पानी धेरै बगिसकेको छ । पार्टी र नेतालाई सबभन्दा धेरै नजराना चढाउनेले नै टिकट पाउने अनि पैसाको खोलो बगाएर भोट किन्न सक्ने जवाँमर्दले मात्र चुनाव जित्ने परिपाटी पन्पिसकेको भेउ यी हुस्सुकान्तहरूले पाएकै छैनन् । मनी र मसलको प्रतिष्पर्धा नै चुनावको पर्याय हुने गरेको वर्तमान परिप्रेक्ष्यमा हुस्सुकान्त जस्ता त्यागी, इमान्दार र लामो राजनीतिक जीवन व्यतित गरेका लठुवाहरूले कहाँ टिकट पाउँछन् ? टिकट पाइहाले पनि कहाँ जित्छन् ? कठैबरा !!
चुनाव सकियो । परिणाम घोषणा भयो । विचरा हुसुकान्तले फेरि पनि हावा खायो । जततातै हुस्सुकान्तहरू यसरी नै हावा खाइरहेका छन् । हुस्सु हुनु, हावा खानु र हिस्स पर्नु उनीहरूको नियति बनेको छ !!
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































