सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तितरीको मुखै बैरी

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्दै राजनीतिमा हाम्फालेर हिँडेको एकदशक नबित्दै देशमा बहुदल आयो । आउन त आयो तर ‘हात्ती आयो हात्ती आयो फुस्सा ।’

Nepal Telecom ad

‘अगुल्टोलाई पनि नठोसी आगो बल्दैन’ भन्ने सम्झी ठोसठास गर्न खोज्यो, झिल्का उछिट्टिएर जुँगै पो पोल्न खोज्छ । जुँगाले जुत्ता खाएपछि कलम सिरानी हालेर बसौँ कि भन्ने पनि नलागेको होइन- तर ‘रिस खा आफू, बुद्धि खा अर्को’ भन्ठानी फेरि धसिएको छु लेखनलीलातिर । ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ भन्छन्, आफ्नो त कलम पनि अकबरी परेन । बरु वीरबले परेछ कि क्या हो, आधुनिक अकबरहरूको उछितो नै काढ््न खोज्छ । ‘जुन गोरुको सिङ छैन, उसकै नाम तिखे’ भनेर मेरा पिठ्यूँ पछाडि कुरा काटे पनि पिठ्यूँ अगाडि भने ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्से’झै हुन्छन् ।

रामनामी बदल्दै हिँड्न नजान्ने म जस्ताको निम्ति यो प्रजातन्त्र पनि ‘कागलाई बेल पाकी हर्ष न विस्मात’ भइरहेको छ । निर्वाचन ताका धुरीमा ‘चार तारा’ फहराएको भए ‘भाग्यमानीको भूतै कमारो’ हुन्थ्यो । के गर्नु ‘अघि राँड जानिन, पछि त राँड मानिन ।’ अब यतिखेर ‘हगिसक्यो दैलो देख्यो’, पो हुँदैछ । नत्र बाढीपीडितको मौसममा राजनीतिक पीडितहरूले राहत कुम्लाएको टुलुटुलु हेर्दै घुटुघुटु थुक निल्नुपथ्र्यो र ? कान्छा कँडेलले त भन्दै थिए- मुलङखरे ! ‘अर्ती भनेको त घर्तीको पनि लिनुपर्छ ।’ ‘अघाएको बनियाँलाई गुँड तीतो’ भए झैँ उनको पनि कुरा सुनिएन । त्यही चवन्नी सदस्यताले अहिले कत्रो उद्धिम गरिरहेछ । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भनेको यही त हो, भन्दै म भने पुर्पुरामा हात लाएर बसिरहेको छु ।

यति बिघ्न भूमिका बाँधेर के भन्न खोज्यो भन्नुहोला ‘आँ गर्दा अलङ्कार बुझिन्छ’, सिंगै मुलुक कांग्रेसमय बनेको बेला ‘जसो जसो पुरेत बाजे उसै उसै स्वाहा’ नगरेर म भने वामेको वामे नै बनिरहनु ‘अल्प विद्या भयंकरी’ भएन त ? ‘आँटे भलो कि स्वाँठे भलो’ गर्दै एउटा वक्तव्य दन्काएर रेडियो र गोरखापत्रतिर पठाइ दिउँ कि भन्ने झोंक पनि बेला-बेला चल्दैछ । तर सुन्छु, तीन वर्षअघि नै पोइल जानेहरूको वक्तव्य त भर्खर रेडियोले पढ्दो रहेछ, अनि म ‘तीन न तेह्रकाको’ पालो कहिले आउने कहिले ! ‘आफ्नो जुँगा मुसार्न अर्काको जुँगा मसार्नु पर्ने’ यो जमानाको रंग मैले बुझ्ने सकेन छु- ‘ढङ्ग मरू, कसो गरूँ ।’ ‘आफ्नै हात जगन्नाथ’ गरिरहेका हरूसँग ‘आश गर्दा गर्दै सास जान्छ’ तर केही पाइन्न । त्यसो त ‘आश लाग्दो केटो जेठाजु परिसके’ पछि चुक्चुकाएरै पो के हुन्छ र फेरि ? यो सबै सम्झेर ल्याउँदा आफू त गर्भमा कांग्रेस भएर जन्मिन पाएको भए पनि हुन्थ्यो भने झैँ लाग्छ तर ‘अभागी कुन्नि के गर्न बस्यो तीन वित्ताको काठ पस्यो’ भने झैं मेरी आमा भने छिमेकीलालाई ‘तेरा घरमा कांग्रेस पसिहालोस्“ भन्दै सराप्नु हुन्थ्यो । यसरी आज मुलुकमै कांग्रेस पस्छ भन्ने थाहा पाएकी भए विचरी मेरी आमा त्यस्तो सराप किन गर्नुहुन्थ्यो होला र !

‘कुरो र कुलो जता लगे पनि जान्छ ।’ तर म मट्ठुको दिमाग जहाँको तहीँ । ‘हुने बेलामा गोरु पनि ब्याउँछ’ भन्छन् मेरो भने गाई पनि ब्याउँदैन । कति गरेर हातमुख जोर्ने एउटा सानो तिनो जागीरको मेसो गरेँ । ऊ बेला प्रहरी प्रतिवेदनले ढाड सेक्थ्यो, अहिले त प्रजातन्त्र आएको छ, कांग्रेसी प्रतिवेदनले लिस्टमा रातो रेजा लगाइदिन्छ । ‘जसको लाठी, उसकै भैंसी’ त रहेछ नि यो संसार । कसको हातमा लाठी छ र को भैंसी बनेर गोदिइरहेको छ ? यो भनि रहनु पर्छ र ? सत्य, धरोधर्म म अहिले जागीर हैन, कांग्रेस नहुनुको पीडा खाएर बाँचिरहेको छु । ‘न्याउरी मारी पछुतो’ गरेर के हुन्छ ? ! ‘जता मल्को उतै ढल्को’ गर्न सकेको भए आज मेरो यस्तो हविगत हुने थिएन । ‘ताक परे तिवारी नत्र गोतामे’ को परिपाठ जानेको भए यो बेला कति काम लाग्ने रहेछ । आफूले न त ‘कानाको देशमा आँखा चिम्लन’ सकियो न ‘खोरण्डाको देशमा खुट्टो खोच्याउन’ सकियो ।

‘मरे पछि डुमै राजा’ भन्दै मन बुझाउन पनि सक्दिन । नत ‘आए आँप गए झटारो’ नै गर्न सक्छु । ‘भीरको चिण्डो उँधो न उँभो’ भएर विगत आगतलाई धारे हात लाउँदै सराप्नु बाहेक अर्को विकल्प पनि छैन । यसो गर्दा पनि ‘आकाश थुकी मुखभरी छिटा’ हुने त हो नि । ‘कि खान्छ आँटले, कि खान्छ ढाँटले’ भन्छन्, म घोइरो भने न आँट्न सक्छु न ढाँट्न जान्दछु ।

‘ढाँटेको कुरा काटे मिल्दैन’ भन्ने आदर्शको आडमा बाँच्न खोज्नेहरूले मेरो जस्तै वर्तमान भोग्न तयार हुनु पर्छ । होइन भने ‘हाँसका बथानमा बकुल्लो’ नबनी धरै छैन । निम्छरो र लाक्षी हुनुको परिणाम त हो नि यो सबै । यतिखेर म मेरा अग्रज गुरुहरूलाई सम्झदै मनमनले सराप्दै छु- ‘जिब्रो चबाएर बोल्न’ र ‘पाए अन्त नपाए लखन थापाको जन्त’ गर्न उनीहरूले किन सिकाएनन् ? फेरि ‘झिंगाको सरापले डिंगो किन मथ्र्यो ।’ मेरो सराप त उनीहरूलाई अझै फलिफाप पो बनिरहेछ ।आफू भने ‘भीरको ढुङ्गो उही टुङ्गो ।’ एवं रितले मेरो दिन दुनियाँ बित्दो छ ‘अक्करको गिट्ठा’ भएर हजार ठक्कर खाँदा पनि चेत्न सकिरहेको छैन । ‘एक ठक्कर खाए सात बुद्धि आउँछ’ भन्नु पनि वाहियात रहेछ, कमसेकम मेरा लागि ।

‘एक मानु खानु, शहरमै बस्तु’ मेरा हजुरबा भन्नु हुन्थ्यो । गाउँमा कांग्रेसको उखरमाउलो खप्न नसकेर म शहर पसें । मेरी वास्सै ! यहाँ झन् चर्को रहेछ । ‘नेपाल गए, कपालसँगै, बर्मा कर्मसँगै’, भने झैँ यहाँ पनि ‘उपियाँ फड्के जुम्राको काल’ नै पो हुनेरहेछ । होइन ‘घरै पिंडालु, बनै पिंडालु, दिक्क लागेर ससुराल गएँ झन् बाह्र हातको पिडालु’ भनेको यही हो कि कसो ? जे होस्, ठुटे कलम लिएर म बसें बस्न ता तर के गर्नु ‘धाकभन्दा धक्कु ठूलो, हिंड्न लाग्यो खुुट्टा लुलो ।’ उही बेलादेखि लेखिरहेको भए यतिखेर केही घिउ लागिसक्थ्यो होला । बेलामा बुद्धि पुगेन । ‘कि पढेर जानिन्छ कि परेर जानिन्छ’ भन्छन्, मैले भने चारपटकसम्म पञ्चायती पुलिसको धुर्मुस खाँदै जेल पर्दा पनि ‘भुटे भाङ पोले पिँडालु’ केही जान्न सकिनछु । पढाइको कुरा पनि खै के गरौं, जावो ‘बुर्जुवा शिक्षा’ पढ्न भन्दा बहिष्कार गर्न जाती सम्झिइयो- ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्दै राजनीतिमा हाम्फालेर हिँडेको एकदशक नबित्दै देशमा बहुदल आयो । आउन त आयो तर ‘हात्ती आयो हात्ती आयो फुस्सा ।’ आन्दोलनका बेला गाउँका भुईं कांग्रेस समेत बनारसी पुरी चाख्न पुगे, यता गोली खाँदै आन्दोलन उराल्ने कम्युनिष्ट । भरे त ‘काम गर्ने हनुमान पगरी गुथ्ने ढेड़ू ।’ यता पनि भएन, उता पनि भएन । हुँदा हुँदा त म आफू पनि ‘काम सर्‍यो भाँडो आफल तेरो ठाँडो’ पो बनिरहेको । जहाँ र जता पनि चंख कोइलीहरूकै स्वर मधुर, म कागको काग । ए यस्तो त भएन भनी बोल्न खोज्यो- ‘उठेर बोलौं हावाले उडाउँछ, बसेर बोलौं कसैले सुन्दैन ।’

‘जति कुरा गरे पनि आखिर कुराले च्युरा भिज्ने होइन’ धत्तोरीका ‘कुरै कुरामा जुग बुढ्यो ।’ ‘जति लामो डोरी बाटे पनि गाँठो एउटै ।‘ गाँठी कुरा चै के हो भने कसैले पनि पश्चाताप र पछतो मान्नु बेकार छ । ‘भालुलाई पुराण सुनाएर के हुन्छ ?’ ‘भनूँ भने आफ्नो मान्छे, नभनूँ भने गाँडु मान्छे ।’ प्रिय पाठकहरू ‘अचनाको पीर खुकुरीले जान्दैन’ भन्ने कुरा तपाईहरूलाई थाहै छ । त्यसै कारण यति भनिहालेँ, ‘रुचेको गाँस मात्र खाइन्छ’ चित्त नबुझे नपढे पनि हुन्छ । ‘आमाको दूध चुस्दा भएन, बाबुको घुँडा चुस्ने’ मतितिर नलागे पनि लेख्न र बोल्न भने म कहाँ छोड्छु र ? ‘हिङ नभए पनि हिङ बाँधेको टालो त हुँ ।’ बोली र गोलीको ठेगान नभएको मुलुकमा हिङ बाँधेको टालाको पनि कति महत्व हुन्छ, त्यो त पछि नै थाहा होला । ‘क्वै बेलाको बोली क्वै बेलाको गाली’ हुन्छ । आखिर ‘तितरीको मुखै बैरी हो ।’ यसको मर्म पनि मैले राम्रैसँग बुझेको छु क्यारे !!

०५० भदौ १४
‘छेपन’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०५१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’