नरनाथ लुइँटेल‘दोषी’को व्यङ्ग्य कविताकृति : स्वागतयोग्य उपस्थिति
प्रस्तुत सङ्ग्रहका कविताहरूमा पर्याप्त विषय-विविधता देखिन्छ । हामीले भोगिरहेका भुक्तमान, समस्या, बिब्ल्याँटा स्थिति र विसङ्गतिका जरा पहिल्याएर तिनमाथि काव्यात्मक प्रहार यस सङ्ग्रहका कविताहरूको प्राप्ति हो ।

नरनाथ लुइँटेल :
योगमाया नेपाली कवितामा हास्य-व्यङ्ग्यको प्रयोग गर्ने प्रथम नारीप्रतिभा हुन् । पुरेतवादी चिन्तनका विरूद्ध विधवा विवाह, जातीय मिश्रणलाई जोड, राणाशासनको विरोध, मूर्तिपूजाको विरोध जस्ता विषयमा आधारित भएर सहज-सिर्जनाको आसुकवित्वद्वारा जनतालाई प्रभावित गर्नु योगमायाको विशिष्ठता हो । हास्य-व्यङ्ग्यको साहित्यिक मूल्य कमै भए पनि प्रयोगका दृष्टिले उनका कविता राम्रा रहेका छन् र निकै व्यङ्ग्यात्मक पनि छन् ।
अहिलेसम्म ललित त्रिपुरासुन्दरीलाई पहिलो महिला लेखक मानेर चर्चा गरिन्छ । तथापि उनीभन्दा अगाडि योगमाया रहेकी छिन् । भक्तकुमारी राणा, लोकप्रियादेवी, कुसुम मञ्जरी, गोमा, सावित्री सुन्दास र पुण्यप्रभा ढुंगाना उनीपछिका महिला प्रतिभा हुन् । यिनीहरू मध्ये केही त फुटकर लेखनमै रहेका छन् र केहीले मात्र आफ्ना रचना-सङ्ग्रहलाई ढिलो भए पनि प्रकाशित गरेको पाइन्छ । लेखन, मञ्चन, अङ्कन र प्रवचनमा प्रयोग गरिंदै आएको यो विशिष्ठ-शिल्पलाई कलाको तहमा उचाल्न निरन्तर साधना चाहिन्छ । यस्तो शिल्प-चातुर्य फुटकर रचनामा फाटफुट फेला परे पनि कृतिगत लेखन-परियोजनमा राम्रोसँग अभिव्यक्त गर्न गराउन सकिन्छ । जुन काम नारी-लेखनका क्षेत्रमा अझै अभाव छ ।
नेपाली कविता-यात्रामा देखापरेका नारी-हस्ताक्षरहरूले मूलतः सामान्य शैली नै अपनाउने गरेका छन् । चारवटा सङ्ग्रह प्रकाशित विद्यादेवी आचार्य दीक्षित, तीनवटा सङ्ग्रह प्रकाशित गर्ने रमोलादेवी शाह (छिन्नलता), दुई कवितासङ्ग्रह र तीन खण्डकाव्य प्रकाशित गर्ने गोमा, दुई कविता सङ्ग्रहसमेत थुप्रै संस्मरण, कथा र उपन्यास लेखिका पारिजात, एउटा कविता सङ्ग्रह लेख्ने र हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्ने पहिलो महिला सम्पादक बनेकी आशासिंह शाह (सिम्रिक), दुई कवितासङ्ग्रह र एउटा काव्य लेखिका बानिरा गिरी, आधा दर्जन कृति प्रकाशित गरिसकेकी झमक घिमिरे, एक एकवटा सङ्ग्रह प्रकाशित कुन्ता शर्मा, शिला विष्ट, शारदा शर्मा, श्यामा ओझा, भद्रा घले, बाबा बस्नेत, भारती खरेल, मञ्जु काँचुलीहरू र फुटकर लेखन्ताहरूमा प्रेमा शाह, शशिकला, विजया शर्मा, कुन्दन शर्मा, विनिता सिंह, शर्मिला पोखरेल, शान्ता श्रेष्ठ, प्रतिसरा सायमी, सानुमति राई, आरती राई, भुवन ढुंगाना, उषा दीक्षित, सावित्री अर्याल, गार्गी शर्मा, सुलोचना, शुभ श्रेष्ठ, सीता पाण्डे, शारदा शर्मा, उषा शेरचन, तोया गुरूङ, इन्दिरा प्रसाई, भागिरथी श्रेष्ठ, अनिता तुलाधर, रमासिंह, लक्ष्मी उप्रेती, वेञ्जु शर्मा, माधुरी भट्टराई, नम्रता गुरागाइँ, शोभा गौतम, गौरा रिजाल, लक्ष्मीदेवी अर्याल, शुष्मा मोक्तान, लीला लुइँटेल आदि थुप्रै नामहरू संझन सकिन्छ । यिनीहरूमध्ये पनि हास्यव्यङ्ग्य शैलीलाई नै प्राथमिकता दिएर सिर्जना कार्यमा संलग्न रहेकाहरू औँलामै गन्न पनि नपुग्ने अवस्था छ ।
कौवा प्रकाशनले छपाएको ‘छ्याकन’ सङ्ग्रहमा एकमात्र महिला व्यङ्ग्यकार परेकी छिन्- विद्यादेवी दीक्षित । उनको त्यो रचना ‘सन्दूस’ कविता सङ्ग्रहबाट झिकिएको भए पनि सिंगो सङ्ग्रह व्यङ्ग्यमा दरिँदैन । नरबहादुर दहालको सम्पादनमा निस्केको ‘सेलको माला’ मा भने तीनजना महिला व्यङ्ग्य-कवि भेटिन्छन्- उमा साम्पाङ राई, सुश्री ढंग हराएकी र अरूणा । यो सङ्ग्रह भारतीय नेपालीहरूले दार्जिलिङबाट छपाएका हुन् । वासुदेव शर्मा लुइँटेलद्वारा सम्पादित ‘डाढो’ सङ्ग्रहमा जम्मै पुरूष लेखक छन् र यो सङ्ग्रहमा सबैले एउटै शीर्षकमा लेख्ने विशेष प्रयोग गरेका छन् । ‘जस्ता तस्तै’ मा पनि नारीहस्ताक्षर छैनन् । ‘भालुपुराण’मा पनि कुनै लेखिकाको नाम पाइँदैन । त्यसपछिको अर्को महत्वपूर्ण विवरण बन्न आइपुगेको ‘हास्य-व्यङ्ग्यकार नालीबेली’ मा पनि कुनै महिलाको नालीबेली छैन ।
माथि उल्लेख भएको सन्दर्भ हास्यव्यङ्ग्य सिर्जना र समीक्षामा सक्रिय विष्णु प्रभातको ‘एघारौँ अवतार’ (२०५८) मा प्रस्तुत ‘हास्यव्यङ्ग्यमा नारी हस्ताक्षर….’ आलेखबाट आंशिक उद्दरण गरिएको नालीबेली हो । यस नालीबेलीमा पर्न नभ्याएका महिला स्रष्टा हुन्- सुमी लोहनी, ललिता दोषी, हरिमाया भेटवाल, हरिकला उप्रेती र गायत्री लम्साल । तीन वटा हास्यव्यङ्ग्य कृति प्रकाशित गरिसकेकी उप्रेती हास्यव्यङ्ग्य लेखनमा अहिले निस्क्रिय जस्तै देखिन्छिन् । लोहनी, दोषी र भेटवाल भन्दा हास्यव्यङ्ग्यमा बढी क्रियाशील देखिएकी छन् लम्साल । गायत्री परिरोशनीको नामबाट ‘फित्कौली’ मासिक र अहिलेको फित्कौली डटकममा समेत रोशनीराग स्तम्भ अन्तर्गत उनका झण्डै चार दर्जनभन्दा बढी हास्यव्यङ्ग्य सिर्जना प्रकाशित भइसकेका छन् । ‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रह नै प्रकाशित गरिसकेकी सुमी लोहनीका रचना अहिले फाट्टफुट्ट मात्र फेला पर्दैछन् भने हरिमाया भेटवाल र जयन्ता पोखरेलले हास्यव्यङ्ग्य लेखनलाई चटक्कै माया मारेजस्तै देखिन्छ ।
हास्यव्यङ्ग्य लेखनलाई नै मूख्य लेखन-क्षेत्र नबनाए पनि व्यङ्ग्यात्मक भावभूमिमा लेखिएका डा.गार्गी शर्मा, तारा निरौला, तारा पराजुली, ज्योति जङ्गल, इन्दिरा प्रयास, तिला लेकाली, दुर्गाकिरण तिवारी, निभा शाह, निशा केसी, भवानी क्षेत्री, भूमिका खनाल, यसोदा अधिकारी, यमुना शिवाकोटी, राधा दाहाल, राधिका कल्पित, राधा भट्टराई, रेजिना आपगाइँ, विमला अधिकारी देवकोटा, शारदा घिमिरे, शारदा पुडासैनी, शारदा पौडेल, श्रेष्ठ प्रिया पत्थर, संगीता थापा, सङ्गीता पनेरु, सपना घिमिरे, सम्झना रेग्मी सानु, सरस्वती दुमी राई, राधा कार्की, सरिता ढुङ्गाना, सविना सिन्धु, सावित्रा लुइँटेल घिमिरे, सीता तिवारी, सीमा आभाष, सुनिता सापकोटा, सुमित्रा आचार्य, सुशीला प्रधानाङ, सृजना अर्याल, सृजना सरोबर, सोनु त्रिपाठी, अस्मिता निरौला, आचार्य प्रभा, नम्रता गुरागाई, इन्दिरा गौतम, इन्दिरा ढकाल, उषा घिमिरे, उषा शेरचन, उषा हमाल, ऋचा लुइँटेल, एलिसा पौडेल, कल्पना पौडेल आचार्य, कुन्ता शर्मा, गङ्गा अभिलाषी, गरिमा आचार्य, गीता त्रिपाठी, गौरी दाहाल, जयन्ती सत्याल, जयन्ता पोख्रेल, जीविका अश्रु, जुनी भण्डारी आदि पुराना स्थापित र नवागत लेखिकाहरूका एक वा एक भन्दा बढी व्यङ्ग्य गजल, मुक्तक, कविता र निबन्ध सिर्जनाहरू फित्कौली डटकममा प्रविष्ट भएका देखिन्छन् ।
फित्कौली डटकम अनलाइन पत्रिकामा रुपान्तरण भएको सवा एकवर्षे अवधिमा फित्कौली मार्फत हास्यव्यङ्ग्य लेखनमै उतारू भएका नयाँ महिला लेखिकाहरूमा दार्जिलिङकी नगिता लेप्चा राई, धादिङकी अप्सरा सुनार, हेटौंडाका अमृता लामिछाने र स्वस्तिका दाहाल, काठमाडौंकी अन्जु शर्मा, अमेरिकाबाट दुर्गा पौडेल देखिएका छन् । यता आएर बिनुबाबा घिमिरे र दुर्गा रिमाल अधिकारीहरू पनि तातेताते गर्न थालेका छन् ।
पृष्ठभूमिमा यति कुरा गरिसकेपछि म प्रवेश गर्दैछु ललिता दोषीको यो व्यङ्ग्य कविता सङ्ग्रहतर्फ । इमाडोल, ललितपुरमा २०२५ साल कार्तिक १६ गते गजुरेल परिवारमा जन्मिएकी ललिता गजुरेल खरेल नै नेपाली साहित्यमा ललिता ‘दोषी’का नामले सुपरिचित छिन् । ४ वटा कथासङ्ग्रह, २ वटा लघुकथासङ्ग्रह, २ वटा कवितासङ्ग्रह, एउटा हाइकुसङ्ग्रह, एउटा गीतसङ्ग्रह, एउटा उपन्यास, एउटा नाटक कृति, एउटा लोककथा सङ्कलनका अतिरिक्त ९ वटा बालकथासङ्ग्रह, आधा दर्जन बालकवितासङ्ग्रह, ५ वटा बालकाव्य, बालगीत र बालउपन्यास समेत प्रकाशित गरिसकेकी ललिता दोषी बहुप्रतिभा सम्पन्न नारी स्रष्टा हुन् । दुई दर्जनभन्दा बढी साहित्यिक संघसंस्थाहरूमा समेत उनको संलग्नता र सक्रियता लोभलाग्दो किसिमको रहेको छ ।
नेपाली विषयमा स्नातकोत्तर तहको औपचारिक शिक्षा हासिल गरेकी कवि दोषी निकै पहिलेदेखि हास्यव्यङ्ग्य कविताहरू लेख्दै र विभिन्न साहित्यिक जमघटहरूमा सुनाउँदै आइरहेकी छिन् । उनका कविता विभिन्न साहित्यिक पत्रपत्रिका र अनलाइन पत्रिकाहरूमा पनि प्रकाशित भएका छन् । तिनै हास्य र व्यङ्ग्य कविताहरूलाई सङ्कलन गरी तयार गरिएको सङ्ग्रहको टङ्कण प्रति अहिले मेरो हातमा छ, जुन एउटा सिङ्गो कृतिका रूपमा पाठकसमक्ष प्रस्तुत हुने अन्तिम तयारीमा छ ।
‘दधीचि काठमाडौं’ नाम दिइएको दोषीको व्यङ्ग्य कविता कृतिभित्र तीन दर्जन कविता सङ्गृहीत गरिएको छ । यी कविताहरू कुनै यसअघि विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित भएका हुन् भने कुनै चाहिँ पहिलोपटक यही सङ्ग्रहमा परेका छन् । कविताले हाम्रो सामाजिक जीवनमा देखिएका अनेकन उकुचहरूलाई अनावरण गरेका छन् । विसङ्गत पर्यावरणको चित्रण गर्दै सङ्गतिको आग्रह प्रस्तुत गरेका छन् । समयको चाप र बदलावसँगै गाउँदेखि शहरसम्म हुर्किदै आएको विकृत मनोदशालाई सङ्ग्रहका कविताले हिर्काउन खोजेका छन् । राजनीति पनि दुर्गन्धयुक्त खेलमा परिणत भएको देखेर दोषीलाई उच्चाट लाग्ने गरेको छ । त्यही उच्चाटको अनुभूति रमरम हास्यसहित व्यङ्ग्यको कुलेसो खन्दै कविता बनेर व्यक्तिएको देखिन्छ ।
राजधानी बाहिरका मानिसहरूको काठमाडौं शहरप्रति छुट्टै आकर्षण छ । गणतन्त्रले ‘गाउँगाउँमा सिंहदरवार’ भने पनि केन्द्रीकृत शासन प्रणालीको मानसिक जरो हाम्रा अगुवाहरूमा अझै नराम्री गाडिएकै छ । ग्रामीण नागरिकले पाउनु पर्ने आधारभूत सेवा सुबिधाका सबै अवसर अहिले पनि मुठ्याएर राजधानीमै राखिएको छ । त्यसैकारण पनि रोजगार, शिक्षा, स्वास्थ्योपचार आदिको सेवा र अवसर खोज्दै सुदूर गाउँबाट काठमाडौं प्रवेश गर्ने, काठमाडौँबाट फड्का मारेर अन्य मुलुकतिर पलायन हुने क्रमलाई अहिलेको लोकतन्त्रले कहाँ रोक्न सक्यो र ! यसरी राजधानी पस्नेहरूको अत्यधिक चापले हिजोको हराभरा, सुन्दर र शौम्य काठमाडौंलाई उही रुपमा टिकिरहन कहाँ दिएको छ र ! यही यथार्थलाई व्यङ्ग्यात्मक वाणी दिँदै दोषी आफ्नो शीर्ष कवितामा भन्छिन्-
‘नाङ्गो खुट्टा, नाङ्गो आङ लिई आयौ तिमी
मेरै दया मायाले बन्यौ रिमीझिमी
सर्प रहेछौ मलाई डस्ने दूध दिएँ हाय !
गाउँफर्क मेरोभन्दा गाउँको माया भए ।’
(दधीचि काठमाडौं)
सङ्ग्रहभित्रका कविताहरूले राजनीतिको विद्रूपीकरणलाई केन्द्रमा राखेर व्यङ्ग्य प्रहारलाई पहिलो प्राथमिकता दिइएको देखिन्छ । सङ्ग्रहमा यस्ता कविताहरूको बाहुल्यता छ । ‘अहो ! मयको कोल्टो’, ‘खेलौना’ ‘तुच्छ खेलहरू’ र ‘सराप्ला चिताले’जस्ता कविताले नेता र नेतृत्वको अकर्मण्यता र व्यभिचारी प्रवृत्ति प्रस्तुत राजनीतिक वैपरित्यको राम्रो चित्रण गरेका छन् । राजनीतिक विसङ्गतिमा केन्द्रीत हुँदै नेतृत्व राष्ट्रवादी नभएको चिन्ता व्यक्त गरिएका थप कविता हुन् ‘मुटुमै राष्ट्र खोपौँ’ र ‘देश हाँक्छन् दुई कौडीले’ । सङ्ग्रहको ‘त्रास’ शीर्षकको कवितामा चाहिँ शहिदहरूप्रति भइरहेको अपमानको प्रसङ्ग उठाउँदै व्यङ्ग्य गरिएको छ । ‘देश हाँक्छन्…’ शीर्षकको कवितामा दोषीको व्यङ्ग्यात्मक कथन छ-
‘स्वर्गजस्तो देशमा छन्
बुद्धिभ्रष्ट नेता
बुझ्ने शक्ति छैन तिनको
नेपालीको व्यथा ।’
त्यसै गरी ‘तिमीलाई यस्तो लाग्दैन ?’ र ‘तीतो सत्य’ कविताले शान्ति हराएको यथार्थबोध, ‘नाङ्गो प्रतिबिम्ब’ ले आमनागरिकको समस्याबाट बेखबर नेतृत्वका क्रियाकलाप र ‘ऊ र हामी’ ले व्यक्तिस्वार्थ, लोभ र पदीय मोहले देश बर्बाद पारेको निस्कर्षलाई व्यङ्ग्यात्मक परिधानका साथ प्रस्तुत गरेको छ । ‘रक्त रङ्गीन कात्रा’ कवितामा रसातलतिर लागिरहेको देशको चिन्ता र चासोलाई व्यक्त गरिएको छ भने अर्को कविता ‘फुलेको लोकतन्त्र’ मा निरिह नागरिक भाषण र आश्वासनमै बाँच्नु परिरहेको विवशता व्यक्त गरिएको छ । ‘लोकतन्त्रको फूल’ मा राजनीतिक नेतृत्वले नै लोकतन्त्रलाई बली चढाएको प्रसङ्ग उल्लेख गरिएको छ । हास्यमिश्रित व्यङ्ग्यको एउटा फाँकी पढौँ त-
‘देश हाँक्छु भन्नेहरू हो
सधैँ ङ्यारङ्यार-ङुरङुर किन ?
सधैँ कोलाहल-कोलाहल
पलाएन राष्ट्र मोह किन ?’
(ल्याउँछौ सधैँ आँधी)
सङ्ग्रहका कविता मार्फत सामाजिक सांस्कृतिक विसङ्गतितर्फ पनि ललिता दोषीको व्यङ्ग्यदृष्टि पुगेको छ । ‘दुई-चार पेग ह्विस्की…’ मा जँड्याहा संस्कृतिमाथि, ‘मुसुक्क मुस्कुराउँछिन्’ मा फेसेनेबुल महिलाहरूको फेसनमोहमाथि तीब्र कटाक्ष गरिएको छ भने अर्को कविता ‘काटौँकाटौँ लाग्छ’ ले धर्म परिवर्तनको नाममा हाम्रो मौलिक संस्कृति र संस्कारमाथि भैरहेको प्रहारलाई उल्लेख गरेको छ ।
त्यसैगरी ‘ए बूढी’ कविताले विपतमा परेका नागरिकलाई दिइने राहतमाथि समेत हुने गरेका भ्रष्टाचारको पोल खोलेको छ भने ‘च्याम्पुटी गीता’ कविताले आधुनिकताको नाममा छोरीचेलीहरूकै उपद्रवको चित्रण प्रस्तुत गरेको देखिन्छ ।
कवि ललिता दोषीले कवि साहित्यकारकै विद्रूप व्यवहार र आचरणमाथि पनि व्यङ्ग्य गर्दै कविता सिर्जना गरेकी छिन् । ‘बूढाबूढी गन्थन’ कविताले कविहरूमाथि नै परिहास गरेको छ भने ‘देख्दा उदेक लाग्छ’मा कवि पत्नीको मनोदशाको आड लिँदै कविकर्ममाथि नै मजाक गरिएको छ । अर्को कविता ‘यहाँ यस्तै छ भाइ’ मा कवि मरेपछिमात्र पूजित हुने परम्परा, ‘भालेपुरका चल्ला’मा प्रतिभाहीन स्रष्टा नै चाकडीको भरमा पुरस्कृत भैरहेको यथार्थ र ‘सुरक्षित’ कवितामा स्वाभिमान गुमाउने कवि नै सम्मानित हुने गरेको सन्दर्भसहित व्यङ्ग्य गरिएको छ ।
सङ्ग्रहको एउटा कविता ‘नेपालको माइकल..’ ले विकृत संस्कारको आहालमा डुबेका युवाहरूको चरित्रमाथि प्रहार केन्द्रीत गरेको छ । ‘ए महत्वाकाङ्क्षीहरू !’ कवितामा चाहिँ आस्था मरिसक्यो र विश्वास भत्किसक्यो भन्ने भावलाई मुखरित गर्दै मजाक मारिएको छ । ‘जीर्ण भएँ आमा’ शीर्षकको कवितामा दोषी भन्छिन्-
‘मरेपछि मात्र यहाँ
सम्मान राम्रो गरिन्छ
बाँचेसम्म भावनामा
मात्र विष छरिन्छ ।’
‘बालेन जस्तो नेता’ कविता चाहिँ बूढा पुराना नेताबाट देशको लागि केही हुन नसकेकोमा विरक्तिएको मन अभिधार्थमै ओर्लिदै नयाँप्रतिको आशा-भरोशा र विश्वास व्यक्त भएको कविता हो ।
हास्य कम व्यङ्ग्यात्मक कविता भए पनि व्यङ्ग्यको धार अलि भुत्ते हुनु, कतिपय कविताहरू अभिधामूलक शैलीमै रुमलिनु, परिमार्जन र परिष्कार नपुगे जस्तो देखिनु, कतिपय कविताहरू अलि आभ्यासिक जस्ता लाग्नु यस सङ्ग्रहका कविताका केही कमजोर पक्ष हुन् जस्तो मलाई लागेको छ ।
यति हुँदाहुँदै पनि लयात्मक र गेयात्मक पद्य संरचनामा प्रस्तुत सङ्ग्रहका कविताहरूमा पर्याप्त विषय-विविधता देखिन्छ । हामीले भोगिरहेका भुक्तमान, समस्या, बिब्ल्याँटा स्थिति र विसङ्गतिका जरा पहिल्याएर तिनमाथि काव्यात्मक प्रहार यस सङ्ग्रहका कविताहरूको प्राप्ति हो । हास्यव्यङ्ग्यको कित्तामा महिला लेखिकाहरूको कमजोर उपस्थितिका बीच सग्लै व्यङ्ग्यकृति लिएर ललिता दोषी उपस्थिति भएकी छन् । उनको यो उपस्थितिले यस क्षेत्रका हामी सबैलाई हर्षित बनाएको छ ।
ललिता दोषीका कविताले हाम्रो राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक क्षेत्रमा विद्यमान असङ्गतिहरूलाई पहिल्याएका छन् । धार अलि भुत्ते भए पनि र भेदन सशक्त नभए पनि प्रहार पर्याप्त देखिन्छ । नेपाली व्यङ्ग्य साहित्यमा ललिता दोषीको उपस्थिति अत्यन्त स्वागतयोग्य हो । परिमार्जन र परिष्कारमा समुचित ध्यान दिई व्यङ्ग्य अभिव्यञ्जना अझ तीक्ष्ण पार्ने सुझाव दिँदै आगामी सिर्जनाले व्यङ्ग्य-सिपमा परिपुष्टता हासिल गर्न सकोस् भन्ने शुभेच्छा जाहेर गर्दछु । कृति प्रकाशनको यस अवसरमा दोषीप्रति हार्दिक शुभकामना र बधाई त छँदै छ ।
०००
२६ साउन २०८०
फित्कौली अड्डा, कलङ्की, काठमाडौं
ललिता दाेषीकाे ‘दधीचि काठमाडौं’ कृतिमा समावेश भूमिका ।
Subscribe
Login
0 Comments
Oldest


































