
मरूभूमि नारायणका गजलमा व्यङ्ग्य
व्यङ्ग्यात्मक शैलीलाई नै आत्मसात गरी रचना गरिएको सिङ्गै गजलसङ्ग्रह प्रकाशित भएको जानकारी कमसेकम मलाई थिएन । यसर्थमा सम्भवतः छेपारोको रङ' नेपाली गजल संसारमा पहिलो व्यङ्ग्य गजल सङ्ग्रह पनि हो ।

नरनाथ लुइँटेल :
यो देशमा तानाशाही नायक चाहिन्छ
धोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।
गजलमा यस्तो व्यङ्ग्यात्मक बान्की लिएर उपस्थित हुनुभएको छ मरूभूमि नारायण । वर्तमानमा युवा र नवयुवा पुस्ता गजलमा रमिरहेको छ । प्रेम र प्रणय प्रसङ्गको परम्पराबाट अघि बढेको नेपाली गजलले आज समसायिक सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक प्रसङ्गलाई समेत प्रभावपूर्ण ढङ्गले अभिव्यक्त गरिरहेको छ । विषय र प्रसङ्गले यस किसिमको विविधतालाई समेट्न थालेदेखिनै नेपाली गजल बढी लोकप्रिय बन्न थालेको हो भन्ने मलाई लाग्छ ।
अहिले मेरो हातमा मरूभूमि नारायणको गजल सङ्ग्रह ‘छेपाराको रङ’ को टङ्कण प्रति छ । यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित उहाँका केही गजलहरुको रसास्वादन गर्ने अवसर पाइएको थियो । उहाँका गजलमा अभिव्यक्त व्यङ्ग्य शैलीले मेरो ध्यान तानेको कुरा स्मरण गर्दै सङ्ग्रहका गजलहरुलाई सरसर्ती पठन गरें । गजल सिद्धान्तका बारेमा म त्यति धेरै जानकार व्यक्ति होइन । सिद्धान्त र मत-मान्यताका कसिमा मरुभूमिका गजल के कस्ता छन् भनेर निर्क्याेल दिने क्षमता पनि मसित छैन । म त उहाँका गजलमा अभिव्यक्त व्यङ्ग्यात्मक शैलीका बारेमा आफ्ना केही पाठकीय धारणा राख्न चाहन्छु ।
गजलशिल्पी मरुभूमिको गजल सिर्जनामा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसङ्गत पर्यावरण रहेको छ । यही विसङ्गतिबोधले उहाँलाई समसामयिक युवा गजलस्रष्टाहरु भन्दा अलिक भिन्न कित्तामा उभ्याएको छ । ‘छेपारोको रङ’ गजलसङ्ग्रहमा परेका अधिकांश गजलले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिरहासपूर्ण तरिकाले प्रस्तुत गरेका छन् । गजलमा अभिव्यक्त भावभूमिको केन्द्रीय विषय यही रहेको देखिन्छ ।
मरूभूमि आफ्ना हरेक गजलका फाँकीहरूमा हामीले भोगिरहेको बिब्ल्याँटो परिस्थितिलाई कोट्याउनु हुन्छ । हाम्रो सामाजिक राजनीतिक जीवनका प्रतिकूलताहरुलाई उहाँका गजलहरुले यसरी ठुँगेका छन् :
बिपनामा तर्सन्छु सपनामा झस्कन्छु
के मैले चोरेको छु र गैंडाको खाग ?
खाए गिद्धले झै नेपाल खोक्रो बनाएर
देशलाई चिलाउनेको बोक्रो बनाएर ।
नाच्नेलाई नचाउँछ रिमोट कन्ट्रोलले
बुझ्नेलाई त इशारा काफी उतै छ ।
हाम्रो देशको राज्य व्यवस्थाको उपल्लो तहमा गैँडाका खाग चोर्ने तस्कर, आन्द्राभुँडी लुछ्ने गिद्ध र रिमोटद्वारा नियन्त्रित यन्त्रहरु पुगेका छन् । उनीहरुकै अकर्मण्यताको शिकार भएर देशले अधोगति लिइरहेको कटु यथार्थलाई सङ्ग्रहमा परेका अधिकांश गजल-पङ्क्तिले उद्घाटन गरेको देखिन्छ । नेपाली राजनीतिज्ञहरूको विकृत मनोदशालाई चित्रण गर्न मरुभूमि ‘नाच्नेलाई नचाउँछ रिमोट कन्ट्रोलले’ भन्न समेत पछि पर्नुभएको छैन ।
नेपाली राजनीतिको पछिल्लो विसङ्गत पर्यावरणलाई हँसिमजाक गर्ने याे सङ्ग्रह भित्रको एउटा अर्काे फाँकी यस्तो छ :
अर्काकै काँध चढी फटाफट हिन्नु पर्छ अब
करोडौं पैसा तिरी सभासद किन्नु पर्छ अब ।
प्रेम र प्रणयको सन्दर्भ पनि मरूभूमिका गजलमा भिन्न तबरले प्रस्तुत भएको देखिन्छ । उदाहरणका रुपमा केही फाँकी यहाँ उद्धरण गरौँ :
तिमी मेरी म तिम्रो जुठो माया छ हाम्रो
लोडसेडिङ्गा बत्ती निभाई भेट्न नआऊ प्रिय ।
बल्ल एउटी भेटे सेकेण्ड ह्याण्ड रैछ
त्यो पनि गई हजुर बाइक नभएर ।
फनक्क फन्की रनक्क रन्क्यौ तिमी
गुन्द्रुके कपालले मुख छेक्दा डराएँ ।
नेपाली समाजमा व्याप्त विसङ्गत पर्यावरणमाथि यसरी व्यङ्ग्यात्मक ढङ्गले गम्भीर प्रहार गर्ने मरूभूमिका गजलहरू ‘छेपारोको रङ’ मा सङ्गृहीत छन् । यसर्थ व्यङ्ग्य शैलीको प्रधान पक्ष यस सङ्ग्रहको मूल विशेषता हो । गजल-लेखनमा रमिरहेको युवा पुस्ताका बीच विषयवस्तु, कथ्य र शैलीका दृष्टिले मरूभूमिको पृथक प्रवृत्ति र पहिचान प्रष्ट हुन्छ ।
नेपाली गजलको पुरानो पुस्ता र नयाँ पुस्ताका गजलकारहरूले गजलका फाँकीहरुमा यदाकदा व्यङ्ग्य र हँसिमजाक गरेको पाइए पनि व्यङ्ग्यात्मक शैलीलाई नै आत्मसात गरी रचना गरिएको सिङ्गै गजलसङ्ग्रह प्रकाशित भएको जानकारी कमसेकम मलाई थिएन । यसर्थमा सम्भवतः छेपारोको रङ’ नेपाली गजल संसारमा पहिलो व्यङ्ग्य गजल सङ्ग्रह पनि हो । यस हिसावले नेपाली गजल परम्परामा यस किसिमको नयाँ प्रवृत्ति देखा पर्नु हामी हास्यव्यङ्ग्यका पारखीहरूका निम्ति ज्यादै खुसीको कुरा पनि हो ।
विभिन्न विधाको आड लिएर हुर्कदै र मौलाउँदै गैरहेको हास्यव्यङ्ग्य अब गजल जस्तो गेयात्मक विधामा पनि ओर्लिन थालेको यस शुभसङ्केतलाई हास्यव्यङ्ग्यकर्मीका नाताले म हार्दिक सुस्वागतम् गर्दछु । व्यङ्ग्य गजलस्रष्टा मस्भूमिलाई हृदयदेखि बधाई ज्ञापन गर्दै उहाँबाट अझ धेरै परिहासपूर्ण व्यङ्ग्य र हास्य गजल प्राप्त गरी नेपाली हास्यव्यङ्ग्य साहित्य समृद्ध हुन सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
०००
२० पुस ०७०
कलङ्की, काठमाडौं
छेपाराकाे रङ (२०७०) माथि भूमिका मन्तव्य
महत्वपूर्ण समीक्षा। गजलकार एवम् समीक्षक दुबैमा बधाई छ।