सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गोर्खे काँध

गोर्खे काँधमाथि अरुलाई नै मपरी गर्न दिएर समस्त गोर्खे जातिलाई फुटबलजस्तै बऩाइसकेको देखिन्छ । जसले पायो उसैले डङ् कि डङ् किक लाउँछन् ।

Nepal Telecom ad

पाखुरा जोडिएको जोर्नीदेखि गर्दनसम्मको शरीरको भागलाई काँध भनिन्छ । कु्म, स्कन्ध यसका पर्यायवाची शब्दहरू हुन् ।

यो संसारमा काँधको महत्त्व लरतरो छैन । झन् यो गोर्खे काँध ता अचेल सबैभन्दा महत्त्वपूणर् भएको देखिन्छ । संसारमा भएका अन्य जातिहरूको काँधमध्ये सबैभन्दा सस्तो काँध चाहिँ गोर्खे काँध नै हो भन्दा कुनै टुटा नपर्नुपर्ने । यो गोर्खे काँधमा प्रायः सबैले नै बन्दुक तेस्र्याएर आफ्नो दुनो सोझ्याएको कुरा नयाँ होइन । संसार थर्काउऩे यो दह्रिलो छिप्पेको गोर्खे काँधले इतिहास कायम गरेको कुरा हामीलाई मात्र होइन संसारैलाई थाहा छ । आज यो गोर्खे काँध छिप्पेर जस्तै गह्रौं भार पनि वहन गर्न सक्षम भएको कुरा थाहा नहुने विरलाकोटी मात्रै होलान् । यो छिप्पेको काँधमाथि चढ़ेर रजाइँ गर्न अन्य जातिहरूलाई बड़ो सजिलो र ढुक्का भएको कुरा कतै पनि लुकेको छैन ।

पहिलो र दोस्रो महायुद्धमा, फकल्याण्ड युद्धमा, कारगील युद्धमा चौड़ादार छाती थापेर गोर्खे सन्तानले आफ्नो वीरत्व देखाएर संसारलाई छक्क पारेको इतिहास हामीसित छ । कति ठूलो समर्पण ! कति ठूलो त्याग र बलिदान ! तर हिजोआज गोर्खे काँधमाथि अरुलाई नै मपरी गर्न दिएर समस्त गोर्खे जातिलाई फुटबलजस्तै बऩाइसकेको देखिन्छ । जसले पायो उसैले डङ् कि डङ् किक लाउँछन् ।

साँच्चै, यो गोर्खे काँध बड़ो सजिलो भयो । सुठीसाह्रै सजिलो भयो । सबैको खेलाँची भयो । कसैको गरी खाने भाँड़ो भयो भने यो गोर्खे काँध अरुको निम्ति मामाको घोड़ा मेरो हिही भयो । राजनैतिक बन्दुक यहाँ गोर्खे काँधमा तेर्सिन्छ । पक्षपातित्वको एस.एल.आर. यही गोर्खे काँधमाथि नै तेर्सिन्छ । षड़्यन्त्रको धनुकाँढ यही गोर्खे काँधमाथि नै तेस्र्याइन्छ । तर पनि हाम्रो यो गोर्खे काँध एक रति डग्मगाउँदैन । आँ….उँ…केही गर्दैन । साह्रै सोझो यो गोर्खे काँध । हल न चल भएर सबै सहिबस्छ । विचरा तर यो निर्जीव गोर्खे काँधको पनि के दोष र ? गोर्खे काँधका मालिक नै हुतिहारा, निमुखा र आबा न चाबा भएपछि कसको के लाग्छ र ज्यू…कसको के लाग्छ ? आफ्नो काँधलाई सम्हाल्न र गोहार्न नसक्ने हुतिहारा यो जातिलाई धिक्कार छ ।

अफिस, अड्डा-अदालतमा पनि यो गोर्खे काँधले बग्रेल्तै षड़यन्त्रको गह्रौं भार वहन गर्नुपर्छ । साँच्चै यो गोर्खे काँधलाई कतै शान्ति छैन, ठ्याम्मै सञ्चो छैन । काँधका मालिकहरूले आफ्नो काँध लाजै पचाएर अर्कालाई सुम्पेपछि यो गोर्खे काँधले पनि जसो जसो बाहुनु उसै उसै स्वाहा गर्नै पर्‍यो । सामान्य स्वार्थको निम्ति आफ्नो काँधमा अरुका लागि बन्दुक तेस्र्याउऩे अनुमति दिएपछि हामी नाथु बोलेर के गर्नु ? त्यति पनि कहाँ र अरुको बन्दुक आफ्नो काँधमा तेस्र्याएर आफ्नैहरूमाथि बन्दुक पड़्काउन लाउनेहरू खाँटी कलङ्क हुन् । घरका शत्रु विभीषण झैं कुलाङ्गार हुन् । यस्ता कुलाङ्गारले आफ्नो काँधमाथि बन्दुक तेस्र्याइदिएर अरुलाई मनपरी, सही सही बिसही बिसही गर्न दिएर आफ्नै सन्तानलाई सत्यानाश नपारी छोड्लान् र !

यो गोर्खे काँधमा एउटा सिङ्गो जातिको इतिहास लुकेको छ । पिता-पूर्खाको आशीर्वाद परेको यो गोर्खे काँध । ठूला-बड़ाको स्यावाशी बोकेको यो गोर्खे काँध । के छैन यो गोर्खे काँधमा ? यो काँध मामुली र खेलाँची काँध होइन ठ्याम्मै । किनभने, यो गोर्खे काँधमा शहीद दुर्गामल्ल र दलबहादुर गिरीको आशीर्वाद परेको छ । वीर वलभद्र, भीमसेन थापा, अमरसिंह थापा, सुकराज शास्त्रीजस्ता वीर गोर्खा शहीदहरूका माया, स्नेह र वीरता थप्थपिएको छ यो गोर्खे काँधमा । हामी कति भाग्यशाली छौं… हाम्रो यो काँध कति शक्तिशाली… संसारको जस्तै गह्रौं भार पनि वहन गर्न सक्षम । तर अचेल यो गोर्खे काँधको मान-मर्यादा क्रमशः ह्रास हुँदै गइरहेको देखिँदो छ । यस्ता वीर योद्धा काँधलाई अरुले नै आफ्नो पेवा बनाई उनीहरूकै रिमोटले इच्छानुसार आफ्नो काममा व्यवहार गरेको पनि नदेखिएको होइन ।

हाम्रो समाजमा जस्तै गह्रौं भार पनि वहन गर्नसक्ने खालका काँधवाला व्यक्तित्वहरू पनि छैन भन्न मिल्दैन । हाम्रा पीर-मर्का, दुःख-कष्ट सबै नै सकी-नसकी आफ्नो काँधमा बोकी ठिक ठाउँमा पुर्‍याउँछु भनी विचरा ठीक ठाउँमा नपुगेका होइनन् । उनको यो काँधमा काँध मिलाएर लक्ष्यमा पुग्ने जल्पना-कल्पनामा हामी तम्सिएकै हौं; जुर्मुराएकै हौं । मच्चिएकै हौं; उफ्री-पाफ्री गरेकै हौं । आहा… कस्तो जोश थियो त्यसताका । यो गोर्खे काँध कति सल्बलाएको थियो उबेला । उबेलाको दमन, धम्की, डाङ्डाङ् डुङ्डुङ्लाई यो गोर्खे काँधले ह्याँकुलाले मिचेरै धुरी कट्टाइदिएकै हो । यो गोर्खे काँधलाई उबेला आफ्नो लक्ष्यमा पुग्ने धुनसवार भएको थियो । भुरा-भुरीदेखि बूढ़ा-बूढ़ीसम्मैका काँधहरू जुर्मुराएका देखेर समस्त विश्ववासीहरू लाटाले पापा हेरेको हेर्‍यै जस्तै आँ….परेका थिए । तर हाम्रा पीर-मर्का, दुःख-कष्ट आफ्नो चट्टानजस्तो काँधमा वहन गरेर अघि-अघि हिँड़्ने वीर काँधवाल नाइकेले आफ्नो त्यस्तो मूल्यवान काँध बीच बाटामै कसैलाई हरेक मालको हिसाबमा बेचिदिँदा पो सर्वनाश भएको हो; समस्त योजना बिल्लीबाठ भएको हो । नत्र यो गोर्खे काँधले ठीक ठाउँबाट ठीक कुरा नै लिएर आउनसक्ने थियो ।

हाम्रा ती हुतिहारा नाइकेले आफ्नो यत्रो मूल्यवान, संसारले मानेको काँध मात्रै हरेक मालको हिसाबमा बेचेनन् तर आफ्नो डुप्लिकेट पानीमरुवा काँधमाथि लुखास्त (!)- को रकेट लञ्चर ल्याएर उफ्री-पाफ्री गर्ने निमुख, सोझा-सिधा दह्रो काँधहरूलाई लुम्रुङ-लम्रुङ पारेर तिनका जनता-जनार्दनलाई थाङ्ना बनाएका छन् । यसैकारण, अचेल हामी सबै लुलीहात (केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई हल्लाई उसका हातले उसैलाई लबट्याउने खेल) खेल्ने भएका छौं । असली काँध बेचेर नै हामीलाई लुलीहाते खेल्ने बनाइएको हो ।

मेरो कुरो पत्याउनुहुन्न भने, तपाई आफ्ना दुवै काँध आफैले छाम्नोस्… केही फरक खुट्याउनु सक्नु भएन भने जानोस् सोझै महाकाल बाबाका थानमा । महाकालबाबालाई तपाईहरूका दुवै काँध देखाउनुहोस् । यो गोर्खे काँध देखाउनोस्… यतिउति गर्न लाउनोस्… । किनभने अचेल ता हाम्रा महाकालबाबा सबैसित हाकाहाकी बोल्न थालेका छन् । होइन र ? त्यो पनि भएन भने तपाईका गाउँ-घरका माता, गुरुजी, रिम्पुचे, झाँक्री-फेदाङ्बाहरूलाई तपाईको हुतिहारा गोर्खे काँध देखाएर यसो झार-फुक गर्न लाउनोस् । किनभने अब हाम्रा समस्याहरू समाधान गर्न सक्छन् भने एकमात्र हाम्रै माता, गुरुजी, रिम्पुचे तथा धामी-झाँक्रीहरूले मात्र सक्छन् । बड़े-बड़े चट्टानजस्तो काँधवाला महामहिमले केही लछारपाटो लाउन सक्दैनन् । काँध होस् न केही गरोस् बुबुराले । फेरि हरेक मालको भाउमा सुटुक्कै बिक्री गरिसकेको गोर्खे काँधलाई अब ता पत्याउन र विश्वास गर्ने कुरो पनि ता आएन ।

हाम्रा ठूला-बड़ाहरूले आफ्नो काँध बेचेजस्तै यहाँका प्रत्येक अफिस, अड्डा-अदालतका भारेभुरेहरूले समेत आफ्नो दुनो सोझ्याउन आफ्नो गोर्खे काँध बेच्ने गर्छन् । कसैले ता अचेल बन्दकी पनि राख्न थालेका देखिन्छ । आफ्ना मुखियालाई खुशी पार्न, आफू सद्धे हुन्, आफ्नै सहकर्मीलाई उछानेर, पछारेर वा लङ्की लगाएर आफू सिङसाँढ़े हुने दाउ र लोभमा आफ्नो गोर्खे काँधमा आफ्ना मुखियालाई मनपरी रकेट लञ्चर पड़्काउन दिने पनि कम्ति छैनन् । साह्रै सजिलो भयो, अति नै सस्तो भयो हाम्रो यो गोर्खे काँध ।

मुखियाको जात न हो….यस्तै काँध बेचुवाहरूलाई मुखियाहरू आफ्नो झोलामा हाल्ने ताकमा हुन्छन् । अघि-पछि केही नबुझ्ने, नसोंच्ने, आफ्नो-पराय नचिन्ने हुतिहारा, लुइतामे, पाङ्दुरे, मूल्याहा काँध बेचुवाहरूलाई मन माफिक हात पारेपछि यी मुखियाहरूले यी काँध बेचुवाहरूका गोर्खे काँधमाथि मनग्गे ढलिमली गर्छन् । तर यी काँध बेचुवाहरूलाई मुखिया हड्डी मात्र चपाउन दिएर निष्फिर्कीसँग आफूलाई चाहिँदो लिने र उपभोग गर्ने गरी आफ्नो दुनो सोझ्याउन हाम्रैहरूमाथि खुट्टा घुमाएका के थाहा ! आफ्नो काँधमा मुखियालाई विराजमान गराएर यी काँध बेचुवाहरू हड्डी मरक-मरक चपाउनमै सन्तुष्ट हुन्छन् । यस्ता काँध बेचुवाहरूको के भरोसा…के विश्वास ? यस्ताहरूले आफ्नो काँध ता बेचे-बेचे आफ्नो जाति, समाज सबै बेच्न सक्छन् है…साह्रै साह्रै पर्‍यो भने आफ्नै स्वास्नी समेत बेच्न बेर लाउँदैनन् नि मोराहरूले । लाखेस् !!

आफ्नै काँध बेच्ने काँध बेचुवा साथी ! लाखेस् ! सामान्य स्वार्थ र लोभको निम्ति तपाई किन त्यति तल झर्नुहुन्छ ? तपाईलाई के को कमी छ हजूर ? तपाईका दह्रिला दुई काँधले तपाईकै जातिको, समाजको भार वहन गर्न सक्नुपर्छ । तपाईमाथि ठूलो जिम्मेवारी आइलागेको छ । किन तपाई आफ्नो दह्रो, सक्षम काँधमाथि अरुलाई बन्दुक तेस्र्याउन दिनुहुन्छ ? तपाईलाई के त्यस्तो वाध्यता र विवशता छ ? सावधान काँध बेचुवा साथी ! सावधान ! तपाईको काँधमा यसरी तपाईका मुखियाले बन्दुक तेस्याउँदा कुन दिन मौका हेरेर तपाईमाथि नै घो़ड़ा चढ़्न बेर लाउँदैनन् है बेर लाउँदैनन् । त्यसपछि तपाईको निमुखा समाज, निरीह जातिको काँधमाथि नै बुइ चढ़ेऱ तपाईको सुन्दर समाज र जातिलाई धोती न टोपी पार्नेछन् । अझैसम्म तपाईजस्ता बुजुर्ग व्यक्तिले गुहु र गोबरमा कुनै भिन्नता खुट्याउऩ सक्नुभएन ? धिक्कार छ तपाईजस्तो काँध बेचुवा हुतिहारालाई । तपाईले पोखरीबाट माछा पनि समात्छु; पानी पनि छुदिनँ भन्नुहुन्छ । यो ट्याक्टिक्स सामान्य केही दिनसम्म खपत होला तर थुञ्चेले छोप्दा-छोप्दा डोकोले छोपेको दिन चैँ के होला (?) त्यो पनि हजूरले सोंच्नुभएको छ के ?

यसकारण, यो काँध तपाईको हो । तपाईको काँध लरतरो र मामुली छैन । तपाईको काँध सामान्य मरञ्च्याँसे काँध नभएर एउटा सिङ्गो खाँटी गोर्खे काँध हो । तपाईको काँधमाथि रुपियाँमा सोह्रै आना तपाईंको अधिकार छ । यो तपाईको व्यक्तिगत अत्यन्त निजी सम्पत्ति हो । तपाईंका यी दुवै काँधमा तपाईकी प्राणप्रिय आमाको कोमल हातले कैयौं वर्षसम्म मालिस गरेर तपाईका यी दुवै काँधलाई कति सबल, सक्षम बनाइदिएकी छन् । आफ्नी आमाका कोमल हातहरू सल्बलाएका यी दुइ काँधमा अन्य कसैलाई ढलिमली गर्न दिनुभयो भने तपाईका जाति र समाजले मात्र होइन तपाईले समेत शान्ति पाउँने छैनन् । यसकारण, तपाईको गोर्खे काँध जोगाउनुहोस्, सम्हाल्नोस् अनि दिन-रात स्याहार्नुहोस् । यो काँध तपाईको व्यक्तित्वको सही छाप हो । यो काँध तपाईको अस्तित्त्वको प्रतीक हो । यो काँध तपाईको वंशको चिन्हारी हो । तपाईको यो काँध कसैको स्वार्थ बिसाउने स्ट्याण्ड होइन । कुनै अवस्थामा पनि बन्दुक तेस्याउने कसैको ठाउँ होइन । तपाईकै काँधमा आफ्नो इच्छानुसारले बन्दुक तेर्स्याएर तपाईकै जाति, समाजलाई ढ्याङ् पारी रजाइँ गर्ने प्लेटफार्म होइन तपाईको मायालु काँध । तपाईको काँध कसैको फुटबल खेल्ने खुल्ला मैदान पनि ठ्याम्मै होइन । यसकारण, मेरो के निवेदन छ भने, दया गरेर तपाईको काँध जोगाउनुहोस् ।

म पनि दुई काँधका धनी हुँ । मेरा यी दुवै काँध खाँटी गोर्खे काँध हुन भन्ने सगर्व घोषणा गर्न चाहन्छु । यसमा लुकाउने, छक्याउने कुरै छैन । मेरो काँधमा पनि बन्दुक तेस्र्याउऩ खोज्ने मेरा चारैतिर होलान् भन्न सकिँदैन । मान्छेको किसिम दाउ हुन्छ तर मेरा यी दुई काँध कसैको पेवा होइन न ता कुनै विर्ता नै हो । यसकारण अन्य स्वार्थीहरूलाई मेरो काँधको पेवा बनाउऩे कुरै आएन । मेरो आफ्नै बल-बुता र बुद्धिले दह्रो बनाएको यी दुवै काँधलाई सकेसम्म अरुको बन्दुक तेस्र्याउन दिने छैन भन्ने मैले प्रण गरिसकेको छु । यसैले मेरा यी दुई काँधमा कसैले थाहै नपाई बन्दुक पो तेस्र्याएका छन् कि भनेर रात-दिन म मेरा काँधलाई बड़ो सावधानीपूर्वक सुम्सुम्याउने गर्छु । किनभने, मेरा यी दुई खाँटी गोर्खे काँध कसैको टाइम पास र स्वार्थपूर्ति गर्ने अखड़ा होइन ।
पिलो फुटेको राम्रो बादल फाटेको झन् राम्रो ।

सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे