साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले भैरव अर्याल भएका भए

अहिले साँच्चै अर्यालबा बाँचेका भए हास्य र व्यङ्ग्यको बाढीमा समाजलाई बगाउँथे र आफू बुढो बाँदरझैँ ऊबेलाका कथा युवा र युवाका बुबासमेतलाई सुनाउँदै हँसाउँथे होलान् ।

Nepal Telecom ad

भैरव अर्यालले हास्यव्यङ्ग्य निबन्ध लेखेको समयताका हास्य र व्यङ्ग्यका विषयवस्तुलाई चाहिने कुरा अहिले जति पाइँदैनथ्यो र पनि देखेभोगेका कुरामा मनग्गे हँसाउँदै र व्यङ्ग्य वाण चलाउँदै लेखेकै थिए । त्यसबेला व्यङ्ग्य पनि लुकेर गर्नुपर्थ्याे । आफ्नो छँदाखाँदाको नामलाई चाइनिज छाताझैँ चार ठाउँमा भाँचेर, सकेसम्म छाँटेर त्यो भनेको म नै हुँ भन्ने कसैले चिन्न नसकोस् भनी ढाँटेर लेख्नुपथ्र्यो । अहिले भने जहिलेसुकै गाईजात्रा, जतासुकै नाटक, जहाँसुकै हास्यव्यङ्ग्यका पोकापुन्तुरा देखेर अर्यालबाले ठेलीका ठेली हास्यव्यङ्ग्यका पुस्तक निकाल्ने थिए होलान् ।

अर्यालबा जन्मेका १९९३ सालमा हो । राणाशासनको क्रुरताको पराकाष्ठाको सुरुवात भएको समय थियो त्यो । त्यसताका यस्तो लेख्ने त स्वतः जेलमा जाकिनुमात्र होइन परमधामको बाटो तताउनु नै पथ्र्यो । सात सालमा निरङ्कुश राणाशासन अन्त्य भएर प्रजातन्त्र त आयो तर वाक् स्वतन्त्रता भने शासककै पोल्टामा मात्र पारियो । प्रजातन्त्रको उपयोग कसरी गर्ने भनेर सुरुवाल सुर्किंदा सुर्किंदै पन्ध्र सालसम्म पर्खनुपर्‍यो । पन्ध्र सालमा चुनाव त भयो तर प्रजातन्त्रको औसानी हाल्ने मन्त्र नेताहरूले भुसुक्कै बिर्सेछन् रे अनि औसानी हाल्न नै नपाई सत्र साल लाग्यो । यही सालदेखि सुरु भयो एकतन्त्रीय पञ्चायती प्रजातन्त्र । त्यस व्यवस्थामा पनि राजाप्रति बफादार हुने नै राष्ट्रप्रति बफादार भएको मानिन्थ्यो र त्यसलाई राष्ट्रिय डफेदार बनाइन्थ्यो । डफेदारले जे गरे पनि पुरस्कार र अरूले त्यही गरे तिरस्कार गर्ने चलन थियो । राजाका त कुरै नगरौँ, राजपरिषद् सदस्य, राष्ट्रिय पञ्चायतका सदस्य, अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारीको विरुद्धमा कुनै शब्द कतै ओकलियो भने कि त हनुमान ढोका ताक्नुपथ्र्यो कि त बलिको बोका बन्नुपथ्र्यो ।

त्यस समयमा लेख्नेले कसरी लेखे होलान् । आफूलाई सधैँ तरबारको धारमा लम्पसार पारेर कि वार कि पारको सारमा राख्नुपथ्र्यो । भैरव अर्यालले च्यापुलाई भन्दा आफूलाई च्यापेर लेखेका छन् अनि आफू र च्यापुको बिचमा कपास र त्यसको ज्यापुलाई पनि घानमा परेका छन् । त्यस समयका शासक र शासनको भन्दा समाज र सामाजिक कुरीतिको भण्डाफोर गर्न अघि सरेका कुरा उनका निबन्धमा देखा परेका छन् । छुसी कलम कताबाट चिप्लेर कता पुग्थ्यो र कतैबाट हप्की खाएको खप्कीको बयान पनि अर्याल बाजेले आफैँ गरेका छन् ।

अहिले साँच्चै अर्यालबा बाँचेका भए हास्य र व्यङ्ग्यको बाढीमा समाजलाई बगाउँथे र आफू बुढो बाँदरझैँ ऊबेलाका कथा युवा र युवाका बुबासमेतलाई सुनाउँदै हँसाउँथे होलान् । अहिले सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार मात्र होइन आफ्नो दरकार नभएको ठाउँमा खुट्टा घुमाएर सरकारको चिरफार गर्नेसम्मकाले गाईजात्रे नाटक र नौटङ्की देखाएका छन् । त्यस्तै झन्डाको भागवण्डमा आफ्नो डण्डा घुमाउने अड्डा-कचहरीदेखि सरकार फुटाउन र जुटाउनका लागि बाटामा बसेर हामी यहाँ छौँ भन्ने कुर्सीवादी नेतालाई दामासाहीले कोटामा पार्ने प्रचलनलाई कसरी व्यङ्ग्यवाण हान्थे होलान् ? राम्रा मान्छे पन्छाएर हाम्रा मान्छे भित्र्याउने प्रचलनको नाम के राख्थे होलान् ? जनयुद्ध भनेर धनयुद्ध गर्ने पार्टीका नेताहरूको आलिसान महल र बालुवाटारको घडेरी घेरेर आफ्नो बनाउने नेतालाई के भन्थे होलान् ? हामी साधारणको त कलमको टुप्पो रिसले रातो हुन्छ भने उनको के हुन्थ्यो होला ? उनले लेखेरै कतिको तालु खुइल्याइदिएका थिए भने कतिको आलु उखेलिदिएर फल्नै नसक्ने बनाएका थिए रे ।

उनलाई बामे भन्ने गर्थे रे पञ्चायतका चाकरीबाज । बामे भनेको कम्युनिस्ट भन्ने बुझिन्थ्यो त्यसबेला । अहिले कम्युनिस्ट हाँडी फुटेझैँ फुटेर टुक्राटुक्रा भएको छ । नेकपा एमाले, नेकपा बीमाले, सीमाले, माओवादी, कमाओवादी, खाओवादी आदि । कुन चाहिँ पार्टीमा लाग्थे होलान् ? कि फुट्न खोज्ने तर फुट्न नसकेर चाउरिएको चनाजस्तै बनेको काङ्ग्रेस पो बन्थे कि ? भावना जे भए पनि नाम सद्भावना राखेका पार्टीतिर पो लाग्थे कि ? वा पहाडी मर्चा हालेको तीनपानेले नछोएपछि उनी पनि मधेसी मोर्चातिर पो लाग्थे होलान् ।

कतै नलागे त कोटामा पर्ने सम्भावना पनि हुँदैन अनि न प्रज्ञा न प्रतिष्ठान, न मन्त्री न राजदूत, न उपकुलपति न निर्देशक । स्वतन्त्र बुद्धिजीवी हुनुभन्दा त पार्टीको हनुमान् उत्तम होला भनेर स्वतन्त्रलाई परतन्त्रमा परिणत गर्थे होलान् । पछिपछि हिँड्नेले पाउँछ भन्ने नेपालको परिपाटीले कपाल दुखाएर, मुख सुकाएर कराउनुभन्दा साँढेका पछि हिँड्ने स्याल बनेकै राम्रो भनेर अरूलाई अर्ति पनि दिन्थे होलान् अर्यालबा । कतै नलागेर स्वाभिमानी हुने विचार गरे भने स्वाभिमानी नै अभिमानी हो भन्ने पगरी गुथाएर गुरु हुँदाहुँदै चेलालाई बुद्धिजीवीको पदवी दिएको समारोहमा ताली बजाउने निम्तो मान्न जान्थे होलान् कि ? पढ्नुभन्दा लड्नु नै परम कर्तव्य ठानेर कलेजका झ्याल फोड्ने स्यालका फौजको नाइके सहपाठी हरिलठ्ठक हनुमान मन्त्री बनेपछि उसैको भव्य उद्घाटन समारोहमा दर्शकदीर्घाको अघिल्लो रोहमा सम्मानसाथ विराजमान गराइनेमा पर्थे कि ?

अर्यालबाले चाकरी चाप्लुसी गरेनन् रे । नोकरी बचाउन गरिने ओखतीमूलोको धुलो कसैलाई चटाएनन् रे । आफ्नै कारिन्दाको काममा खोट देखाएर आफू नोटले मालामाल भएनन् रे । काम गराएर दाम नदिने दार्शनिकको दर्शन सुन्न गएनन् रे । त्यही भएर पछि परे अनि २०३३ सालमा गोकणर्को खोँचबाट आफैँ झरे । हरे शिव !

यतिखेर भए परेवाले पोखरीमा पर्दा पौडेर पार भएझैँ आफैँ जान्ने हुने थिए । आफू बाँच्न बालबच्चा बचाउन चुलाको कसौँडी तताउन गर्नैपर्ने दैनिकीहरूमा चाचुचाका कार्यहरू पार्थे र चाहेको मौसममा मनग्गे काफल झार्थे । मैले गर्दा यो सदनको काम थालिएको, त्यो सदनको छानो टालिएको, अर्को सदनको गानो फालिएको भनेर फेसबुकमा फोटा हाल्दै आफ्नो विज्ञापन आफैँ गर्थे होलान् । नत्र एक्लै पर्थे होलान् ।
मन्त्री खान नपाएर पार्टी फुटाउने नेता, अर्काको प्रगति देखेर रिसाउने अभिनेता, छोरीलाई चुनाव जिताउन मतपत्र च्यात्न लगाउने बाउ र आफ्नै दाताको खैरो खन्ने माउको मुद्दामा कति कलम चलाउने थिए, भैरव अर्याल भएका भए । हामीले यी विविध ज्ञानबद्र्धकदेखि रछ्यानबर्द्धकसम्मका कुराको चुरो अझै बुझ्नै बाँकी नै थियो । छोरी मरी ठुला घर परी भनेझैँ उनलाई हाइसन्चो हामीलाई बिसन्चो पो भयो । उनी पूरा र हामी अधुरा पो भयौँ त । जय भैरव ! जय हास्यव्यङ्ग्य !!

‘आलेख’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x