सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अहिले भैरव अर्याल भएका भए

अहिले साँच्चै अर्यालबा बाँचेका भए हास्य र व्यङ्ग्यको बाढीमा समाजलाई बगाउँथे र आफू बुढो बाँदरझैँ ऊबेलाका कथा युवा र युवाका बुबासमेतलाई सुनाउँदै हँसाउँथे होलान् ।

Nepal Telecom ad

भैरव अर्यालले हास्यव्यङ्ग्य निबन्ध लेखेको समयताका हास्य र व्यङ्ग्यका विषयवस्तुलाई चाहिने कुरा अहिले जति पाइँदैनथ्यो र पनि देखेभोगेका कुरामा मनग्गे हँसाउँदै र व्यङ्ग्य वाण चलाउँदै लेखेकै थिए । त्यसबेला व्यङ्ग्य पनि लुकेर गर्नुपर्थ्याे । आफ्नो छँदाखाँदाको नामलाई चाइनिज छाताझैँ चार ठाउँमा भाँचेर, सकेसम्म छाँटेर त्यो भनेको म नै हुँ भन्ने कसैले चिन्न नसकोस् भनी ढाँटेर लेख्नुपथ्र्यो । अहिले भने जहिलेसुकै गाईजात्रा, जतासुकै नाटक, जहाँसुकै हास्यव्यङ्ग्यका पोकापुन्तुरा देखेर अर्यालबाले ठेलीका ठेली हास्यव्यङ्ग्यका पुस्तक निकाल्ने थिए होलान् ।

अर्यालबा जन्मेका १९९३ सालमा हो । राणाशासनको क्रुरताको पराकाष्ठाको सुरुवात भएको समय थियो त्यो । त्यसताका यस्तो लेख्ने त स्वतः जेलमा जाकिनुमात्र होइन परमधामको बाटो तताउनु नै पथ्र्यो । सात सालमा निरङ्कुश राणाशासन अन्त्य भएर प्रजातन्त्र त आयो तर वाक् स्वतन्त्रता भने शासककै पोल्टामा मात्र पारियो । प्रजातन्त्रको उपयोग कसरी गर्ने भनेर सुरुवाल सुर्किंदा सुर्किंदै पन्ध्र सालसम्म पर्खनुपर्‍यो । पन्ध्र सालमा चुनाव त भयो तर प्रजातन्त्रको औसानी हाल्ने मन्त्र नेताहरूले भुसुक्कै बिर्सेछन् रे अनि औसानी हाल्न नै नपाई सत्र साल लाग्यो । यही सालदेखि सुरु भयो एकतन्त्रीय पञ्चायती प्रजातन्त्र । त्यस व्यवस्थामा पनि राजाप्रति बफादार हुने नै राष्ट्रप्रति बफादार भएको मानिन्थ्यो र त्यसलाई राष्ट्रिय डफेदार बनाइन्थ्यो । डफेदारले जे गरे पनि पुरस्कार र अरूले त्यही गरे तिरस्कार गर्ने चलन थियो । राजाका त कुरै नगरौँ, राजपरिषद् सदस्य, राष्ट्रिय पञ्चायतका सदस्य, अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारीको विरुद्धमा कुनै शब्द कतै ओकलियो भने कि त हनुमान ढोका ताक्नुपथ्र्यो कि त बलिको बोका बन्नुपथ्र्यो ।

त्यस समयमा लेख्नेले कसरी लेखे होलान् । आफूलाई सधैँ तरबारको धारमा लम्पसार पारेर कि वार कि पारको सारमा राख्नुपथ्र्यो । भैरव अर्यालले च्यापुलाई भन्दा आफूलाई च्यापेर लेखेका छन् अनि आफू र च्यापुको बिचमा कपास र त्यसको ज्यापुलाई पनि घानमा परेका छन् । त्यस समयका शासक र शासनको भन्दा समाज र सामाजिक कुरीतिको भण्डाफोर गर्न अघि सरेका कुरा उनका निबन्धमा देखा परेका छन् । छुसी कलम कताबाट चिप्लेर कता पुग्थ्यो र कतैबाट हप्की खाएको खप्कीको बयान पनि अर्याल बाजेले आफैँ गरेका छन् ।

अहिले साँच्चै अर्यालबा बाँचेका भए हास्य र व्यङ्ग्यको बाढीमा समाजलाई बगाउँथे र आफू बुढो बाँदरझैँ ऊबेलाका कथा युवा र युवाका बुबासमेतलाई सुनाउँदै हँसाउँथे होलान् । अहिले सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार मात्र होइन आफ्नो दरकार नभएको ठाउँमा खुट्टा घुमाएर सरकारको चिरफार गर्नेसम्मकाले गाईजात्रे नाटक र नौटङ्की देखाएका छन् । त्यस्तै झन्डाको भागवण्डमा आफ्नो डण्डा घुमाउने अड्डा-कचहरीदेखि सरकार फुटाउन र जुटाउनका लागि बाटामा बसेर हामी यहाँ छौँ भन्ने कुर्सीवादी नेतालाई दामासाहीले कोटामा पार्ने प्रचलनलाई कसरी व्यङ्ग्यवाण हान्थे होलान् ? राम्रा मान्छे पन्छाएर हाम्रा मान्छे भित्र्याउने प्रचलनको नाम के राख्थे होलान् ? जनयुद्ध भनेर धनयुद्ध गर्ने पार्टीका नेताहरूको आलिसान महल र बालुवाटारको घडेरी घेरेर आफ्नो बनाउने नेतालाई के भन्थे होलान् ? हामी साधारणको त कलमको टुप्पो रिसले रातो हुन्छ भने उनको के हुन्थ्यो होला ? उनले लेखेरै कतिको तालु खुइल्याइदिएका थिए भने कतिको आलु उखेलिदिएर फल्नै नसक्ने बनाएका थिए रे ।

उनलाई बामे भन्ने गर्थे रे पञ्चायतका चाकरीबाज । बामे भनेको कम्युनिस्ट भन्ने बुझिन्थ्यो त्यसबेला । अहिले कम्युनिस्ट हाँडी फुटेझैँ फुटेर टुक्राटुक्रा भएको छ । नेकपा एमाले, नेकपा बीमाले, सीमाले, माओवादी, कमाओवादी, खाओवादी आदि । कुन चाहिँ पार्टीमा लाग्थे होलान् ? कि फुट्न खोज्ने तर फुट्न नसकेर चाउरिएको चनाजस्तै बनेको काङ्ग्रेस पो बन्थे कि ? भावना जे भए पनि नाम सद्भावना राखेका पार्टीतिर पो लाग्थे कि ? वा पहाडी मर्चा हालेको तीनपानेले नछोएपछि उनी पनि मधेसी मोर्चातिर पो लाग्थे होलान् ।

कतै नलागे त कोटामा पर्ने सम्भावना पनि हुँदैन अनि न प्रज्ञा न प्रतिष्ठान, न मन्त्री न राजदूत, न उपकुलपति न निर्देशक । स्वतन्त्र बुद्धिजीवी हुनुभन्दा त पार्टीको हनुमान् उत्तम होला भनेर स्वतन्त्रलाई परतन्त्रमा परिणत गर्थे होलान् । पछिपछि हिँड्नेले पाउँछ भन्ने नेपालको परिपाटीले कपाल दुखाएर, मुख सुकाएर कराउनुभन्दा साँढेका पछि हिँड्ने स्याल बनेकै राम्रो भनेर अरूलाई अर्ति पनि दिन्थे होलान् अर्यालबा । कतै नलागेर स्वाभिमानी हुने विचार गरे भने स्वाभिमानी नै अभिमानी हो भन्ने पगरी गुथाएर गुरु हुँदाहुँदै चेलालाई बुद्धिजीवीको पदवी दिएको समारोहमा ताली बजाउने निम्तो मान्न जान्थे होलान् कि ? पढ्नुभन्दा लड्नु नै परम कर्तव्य ठानेर कलेजका झ्याल फोड्ने स्यालका फौजको नाइके सहपाठी हरिलठ्ठक हनुमान मन्त्री बनेपछि उसैको भव्य उद्घाटन समारोहमा दर्शकदीर्घाको अघिल्लो रोहमा सम्मानसाथ विराजमान गराइनेमा पर्थे कि ?

अर्यालबाले चाकरी चाप्लुसी गरेनन् रे । नोकरी बचाउन गरिने ओखतीमूलोको धुलो कसैलाई चटाएनन् रे । आफ्नै कारिन्दाको काममा खोट देखाएर आफू नोटले मालामाल भएनन् रे । काम गराएर दाम नदिने दार्शनिकको दर्शन सुन्न गएनन् रे । त्यही भएर पछि परे अनि २०३३ सालमा गोकणर्को खोँचबाट आफैँ झरे । हरे शिव !

यतिखेर भए परेवाले पोखरीमा पर्दा पौडेर पार भएझैँ आफैँ जान्ने हुने थिए । आफू बाँच्न बालबच्चा बचाउन चुलाको कसौँडी तताउन गर्नैपर्ने दैनिकीहरूमा चाचुचाका कार्यहरू पार्थे र चाहेको मौसममा मनग्गे काफल झार्थे । मैले गर्दा यो सदनको काम थालिएको, त्यो सदनको छानो टालिएको, अर्को सदनको गानो फालिएको भनेर फेसबुकमा फोटा हाल्दै आफ्नो विज्ञापन आफैँ गर्थे होलान् । नत्र एक्लै पर्थे होलान् ।
मन्त्री खान नपाएर पार्टी फुटाउने नेता, अर्काको प्रगति देखेर रिसाउने अभिनेता, छोरीलाई चुनाव जिताउन मतपत्र च्यात्न लगाउने बाउ र आफ्नै दाताको खैरो खन्ने माउको मुद्दामा कति कलम चलाउने थिए, भैरव अर्याल भएका भए । हामीले यी विविध ज्ञानबद्र्धकदेखि रछ्यानबर्द्धकसम्मका कुराको चुरो अझै बुझ्नै बाँकी नै थियो । छोरी मरी ठुला घर परी भनेझैँ उनलाई हाइसन्चो हामीलाई बिसन्चो पो भयो । उनी पूरा र हामी अधुरा पो भयौँ त । जय भैरव ! जय हास्यव्यङ्ग्य !!

‘आलेख’बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फालौँ लुतो

फालौँ लुतो

परशुराम पराजुली
भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

भैरव अर्याल र रमेश...

परशुराम पराजुली
सिउरजस्तो कपाल पारी

सिउरजस्तो कपाल पारी

परशुराम पराजुली
म-त-दाता

म-त-दाता

परशुराम पराजुली
नारी जागरण ?

नारी जागरण ?

परशुराम पराजुली