साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी जागरण ?

कविता हुन्छ चारानाको, फोटो हुन्छ बारानाको । ‘चाराना का मुर्गी मे बाराना का मसला’ भनेझैँ । फोटो कहाँको राजा राम, कविता कहाँको गङ्गु तेली झैँ ।

Nepal Telecom ad

नारी जागरणलाई अहिले के कसरी लिइएको छ, त्यो त थाहा भएन तर मैले भने यो जागरणलाई रणका लागि जाग है भनेको नै हो भन्ने ठानेको छु । अहिले महिला हिंसाका कुराहरू आइरहेका समयमा महिलाले वास्तवमै जाग्नै पर्ने भएको छ । यो समयको माग पनि हो । तर कतिपय नारीहरूको व्यवहार र कर्मको सर्जमिन गर्दा लाग्छ उनीहरूले निम्नानुसारका कर्म यताउता र आफ्नै घरमा अपनाएका छन् कि ? भन्ने आशङ्काको जिकिर मैले पेश गर्न लागेको छु । शङ्काले लङ्का जलाए पनि जलाओस् ।

पहिलो जागरण भनेको छिमेकी राष्ट्र भारतका भारतीय च्यानलबाट प्रसारित हिन्दी सिरियलले सिकाएको जस्तो जागरण नै हो भन्ने लागेको छ । जहाँ आफ्नो वर्चस्व स्थापना गर्न पति, परिवार सबैलाई दाउमा लगाउँछन् र बलिको बोको बनाउँछन्- जनताले भोट हालेर माथि पुर्‍याएका नेताले जसरी हामीलाई नै बोको ठानेर जतिखेर मन लाग्यो त्यतिखेर बलि चढाउन तयार बनाएजस्तै ।

दोस्रो हो- त्यहाँबाट प्रसारित हुने सिरियलले जुन शिक्षा दिइरहेको छ, त्यसको अर्थ र भाव भनेको वास्तवमा के हो नबुझी त्यसको विपरीत बुझेर आफ्नो व्यक्तित्व विकासमा चाहिने आवश्यक तत्व भनेकै सम्पत्ति र शक्तिका लागि लड्नु, गहना र कपडा महँगा लगाउनु, विलासी र आडम्बरी जीवन जिउनु हो भन्ने नै ठानेका होलान् । यसरी हेर्दा जागरणको अर्थ जाग र यस्ता शक्ति, सम्पत्ति र सुन्दरताका पछि लाग भन्ने पो मानेका छन् कि भन्ने हाम्लाई लाग्या छ ।

यस पटकको नारी दिवसमा पनि महिला जागरणका कामहरूका लागि खेत बाँझो राखेर भए पनि नमिलाई नहुने चाँजोपाँजो मिलाउनुपर्ने भएकाले मलाई केही नलेखी नहुने बाध्यताबाट बाहिर बस्न नमिल्ने भयो र यो लेख लेखेको हुँ । कसैको जीवनसँग मेल खान गएमा व्यङ्ग्यवाण हानेको नठानी तरबार नै चलाएको ठानिदिनुभए बेस होला ।

साँच्चै यस वर्षको नारी दिवसमा महिलामा जागरण ल्याउने भनेर होला मेरी घरमूली भातभान्साको साँचो म घरमूलालाई सुम्पेर बडो तन्मयताका साथ भाषण लेख्न, पढ्न र प्राक्टिस गर्न तल्लिन छिन् । माथिबाट ‘समृद्धिका लागि महिला जागरण’ भन्ने मूल नारालाई भाषणमा मुख्य आसन बनाउनुपर्ने आदेश आएर खलखल पसिना निकाल्दै घोरिएकी छिन्, एकोहोरिएकी छिन् । महिला जागरण त सजिलै बुझिन्छ र बुझाउन पनि सकिन्छ तर यो समृद्धिको काउसो किन थपिएको होला भन्ने श्रीमतीजीको आलाप बेलाबेला नसुनिएको पनि हैन । यसका बाबजुद आफ्नो तयारी आफैँ गर्नुपर्ने मान्यताअनुसार आफूले गर्ने भाषण, भाषण गर्दा पहिरिने आभूषण, लगाउने सारी, भाषण सुन्ने नारी लगायत क्रिम, पाउडर, लिपिस्टक, नङपालिस, अत्तर सबैको व्यवस्था आफैँ गर्नुपर्ने हुनाले कागजमा हतार हतारले लत्तरपत्तरको योजना बनाउन थालिन् ।

भातभान्साको पोको मेरो डोकोमा अघि नै सुम्पेकै थिइन् । ढुक्क साथ मक्ख पर्दै सरासर ड्रेसिङ टेबलको अगाडि उभिएर भटाभट भाषण भटभटाउन पो थालिन् । साथीहरूलाई फोन गर्नुपर्ने भन्दै भाषणको आधा रिहर्सल पनि नसक्दै थचक्क बसेर फोन गर्न लागिन् । लाग्छ आज उनलाई फुर्सदै छैन । विद्यालयमा पढाउँदै सुइटर बुन्दै गर्न सक्ने बहु प्रतिभाशालीलाई आजको चटारो त लिङ्गे पिङको लठारो झँै भएको थियो । पाँच छ जनालाई फोन गरेपछि फेरि दराज खोलेर सारी र चोलोको म्याचिङ्मा उत्रिन् । यी दुईको म्याचिङ मिले अरू त स्वतः मिल्छ भनेझैँ गरी । अस्ति सिलिगुडीबाट सानीमासासूले ल्याइदिएको सिफनको सारी र रुबियाको रातो चोलो निकालेर सेल्फी खिच्न ठिक्क परेकी सुन्दरीले पारेको मुख जस्तो गोलो मुख पार्दै मुस्कुराइन् । भात खाँदा दाल, तरकारी नभएर किक्लिककिक्लिक भए पनि हिँड्दा झिलिकमिलिक हुनै पर्ने फेसन पनि अचम्मकै छ । सारी चोलाको म्याचिङपछि क्रिम पाउडरको अनि तिलहरी, त्यसैसँग म्याचिङ गर्ने चप्पल सबै मिलाएर लगाइन् ।

सवा घण्टाको छोटो समयमा नै सबै म्याचिङ सहितको शृङ्गार र सजावट सकिएपछि मक्ख पर्दै भान्सामै आएर मलिन स्वरमा मलाई सोधिन्- “भनिस्यो त हजुर, मेरो म्याचिङ कस्तो लाग्यो ?” मलाई भन्न त मन लागेको थियो- ‘मबाहेक सबैलाई राम्रो लाग्ला ।’ तर मनले मानेन । बनावटी मुस्कान साथ दुई दिनदेखि नमाझेको दाँत देखाएर खिस्स हाँसे र भनेँ- “एक नम्बरकी देखिएकी छ्यौ नै । आज कति जना बिजुलीको पोलमा ठोक्किने हुन् ।” उनी भने मन नै चसक्क हुनेगरी मसक्क मस्किएर ‘उस्’ भन्ने साङ्केतिक हाउभाउसाथ मक्ख पर्दै आफ्नै धुनमा लागिन् । म पनि तर्कारी पकाउन तातेर धुवाँ आइसकेको भुटुनमा हाल्नका लागि प्याज काट्न थालेँ ।

महिला जागरण कि त हिन्दी च्यानलले देखाउने धाराबाहिक सिरियलमा हुन्छ कि त कतै हिँड्नुपरे हाम्रो घरमा हुने फेसनको अभ्यास र विन्यासमा हुन्छ । तर हिजोदेखि हिन्दी च्यानलको पनि दर्शन पाइएको छैन । टिभीले पनि भैपरी आउने बिदा पाएझैँ फुर्सद पाएको छ । नत्र दिउँसोको सो र रातीको सो गरेर एउटा सिरियल दुई पटक देखाए पनि त्यसले भने छुट्टी पाउँदैन । रिसको बेला औँलो ठड्याएजस्तै रिमोट ठड्याएर त्यसलाई सम्पूणर् ओकल्न लगाइन्छ । पहिले पहिले लोडसेडिङको जमानामा त इन्भर्टरको समेत व्यवस्था गर्नुपर्‍याथ्यो । त्यसैबेला चाहिँ विभिन्न परीक्षा- छोराको एसईई परीक्षा, छोरीको वार्षिक परीक्षा, आफ्नो भने धैर्यताको परीक्षासमेत सबै गर्दा गोडा तिनेक परीक्षाका बिच पनि उनको इच्छाले फल्नफुल्न पूरै मौका पाएको थियो । त्यसरी इच्छा दबाउनु परेको भए महिला हिंसाका कुरासमेत जोडेर नारी जागरणको आवाजका साथ आएको दबाबले मेरो खुइलिएको तालुमा हात पुर्‍याउन बाध्य बनाउने थियो नै ।

एक दिनको कुरा हो । जेठा मामाससुरा सिकिस्त बिरामी परेको खबर आयो । एउटै मामाकी एक्ली भान्जी भएकाले जसरी भए पनि जानु नै पर्ने थियो । अब आपत् आइलाग्यो । यसो गरौँ कि उसो गरौँ भन्दै आत्तिन पो थालिन् । कहिले आत्तिने अनि कहिले मात्तिने स्वभाव भए पनि यो अत्तालो केका लागि भनेर बुझ्दा त बिरामी हेर्न जाँदा कुन सारी, कुन चोलो, कस्तो पोते, कत्रो तिलहरी आदि लगाउने भन्ने कुरामा पो रहेछ । आफ्नो भने दारी पनि काटेको थिएन । दाँत दुखेर सुपारी चपाएको जस्तो मुख भएको बेला हाँस्न पनि सकिनँ ।

तर नहाँसेकै बेस । बिरामी हेर्न जानु छ, हाँसेको मुहारभन्दा रोपाईं गर्ने खेतमा भर्खर तासेको आलीझैँ अनुहार नै उचित भन्दै म भने गाडी लिएर अनाडीझैँ गेटको अगाडि उभिएको एक घण्टा भइसकेको थियो । उनी भने सारीमा पारी नमिलेको र चोलोको गला गोलो नभएकोमा कानका इयररिङ हल्लाउदै टेलरिङलाई तथानाम गाली पो गर्दै रहिछन् । श्रीमतीको शृङ्गार सकीवरी बल्लतल्ल जाममा परेर जाम कि नजाम भन्ने लाग्दालाग्दै फोन आएको दुई घण्टामा साढे दुई किलोमिटर टाढाको मामा ससुराल पुगियो । उनी त एक घण्टा अघि नै परमधाम गइसकेछन्, बिचरा ! बरु एक्ली भान्जी जसरी आएकी भए पनि सास त भेट्ने थिइन् भन्ने मामाको आस थियो कि ?

बोल्दा जँड्याहाको जिब्रो बटारिएझैँ लेख्दा मेरा कुरा पनि बटारिएर ‘काम कुरो एकतिर माघ मैना लेखतिर’ भनेझैँ पो भयो । अँ त म जागरणका कुरा पो गर्दै थिएँ ।

यो जागरणले पनि नजानिँदो पाराले महिलालाई रणका लागि तयार पार्ने हो कि भन्ने पो लाग्न थाल्यो । नत्र तीजजस्तो सुन्दर र सुसंस्कृत सांस्कृतिक चाडलाई उच्छृङ्खलको खलाँती चलाएर घनको चोट हान्न लागेको जस्तै लाग्छ । तीजको महिमा, रौनक, महत्त्व, संस्कृति, संस्कार कस्तो थियो आमा, हजुरआमाका पालामा, आहा ! सम्झँदा पनि मन खुसी हुन्छ । अहिले हाम्रा राम्राहरूका पालामा तीजलाई रिमिक्स बनाएर, मन लाग्दी मनाएर, संस्कृतिमाथि पुङ न पुच्छरको आकृति थपी भएको संस्कृतिलाई चारभन्ज्याङ कटाउने काम गर्लान् झैँ लागेको छ । एक डेढ महिना अगाडिदेखि सारीचोलो प्रदर्शन प्रतियोगिता, गहना गन्ने होडबाजी, खाना खाने-खुवाउने पालो चलेझैँ लाग्छ । हरेक वर्ष हुने र वर्षमा झन्डै बाइसपटक मनाइने यस्ता तीजे कार्यक्रममा नयाँ नयाँ लुगा र गहना चाहिने संस्कारले घरबारीमात्र होइन खेतबारीका समेत कति आनाहरू नाना र गहनाका नाउँमा सहिद भएका छन् हिसाब गरेर साध्यै छैन ।

त्यतिमात्र होइन हिजोआज आएको नवीन जागरण त फेसबुकमा फोटा हाल्ने आएको छ । दिनमा एउटा फोटो हालिएन भने बाँचेको सार्थक नै भएन नि भन्ने सिद्धान्तलाई आत्मसात गरिएको छ । तसर्थ फेसबुकमा फोटा हाल्नका लागि मात्र भए पनि नयाँ लुगा र गहना चाहिने भएको छ । हिजो हालेको फोटाका लुगागहना र आज हाल्ने फोटाका लुगागहना एउटै त हुनुभएन नि । देख्नेले पनि के भन्छ । बिचरीसँग एउटामात्र लुगा र एउटैमात्र गहना रहेछ भन्यो भने इज्जत कता गयो । बुझक्कडले यो बुझ्नै पर्छ । यो जागरणलाई बुझी बुझी बुझ पचाउन पाइन्न है ।

त्यसमाथि पनि हिजो आजका कविहरूका कविता, गजल वा मुक्तकले फेसबुकमा पाएको लाइकको हिसाबकिताब राख्न त यमलोकको चित्रगुप्तले पनि सक्दैन होला । फोटो र रचना हालेको चार मिनेटमा चार सय लाइक आउँछन् । कविता चाहिँ थार मरुभूमिको बालुवा जस्तो फुङ्ङ उडेको भएपनि हुन्छ तर फोटो चाहिँ पश्चिम नेपालको खप्तडभूमि जस्तो मनोहर हुनैपर्छ । त्यति राम्रो खप्तडभूमि छाडेर जतासुकै बिझाउने प्रवृत्तिको बालुवा मात्र पाइने मरुभूमि कसले हेर्छ र ! कविता हुन्छ चारानाको, फोटो हुन्छ बारानाको । ‘चाराना का मुर्गी मे बाराना का मसला’ भनेझैँ । फोटो कहाँको राजा राम, कविता कहाँको गङ्गु तेली झैँ । त्यसमाथि पनि मेरो कवितामा तपाईंको कमेन्ट र लाइक केही पनि आएन नि भन्दै पाखुरा सुर्कीसुर्की घुर्की देखाउन थाल्छन् कति त । तपाईंको कवितालाई कि फोटोलाई कमेन्ट गरूँ भन्नु जस्तो ।

यसरी माथि बताइएका नारी जागरण लागु गर्नका लागि पनि कम्तिमा ६/७ सेट गहना र त्यत्तिकै मात्रामा सारीचोलो अनि त्यसमा म्याचिङ गर्ने सर्दाम त चाहिने नै भयो । त्यसका लागि कोको सहिद र कोको बलि चढिसकेका होलान्, बिचराहरूलाई मेरो सलाम छ नारी जागरणमा साथ दिएकामा !

गौरादह नगरपालिका ७, ठकठके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x