साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बागी 

घरैपिच्छे एक एक कमण्डलु वितरण गरी ‘एक घर एक रोजगार’ को नीतिलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने छ ।

Nepal Telecom ad

सानो छँदा कता कता पढ्दाखेरि फाट्टफुट्ट यस्तो भेटिन्थ्यो- ‘नेता’को स्त्रीलिङ्गी रूप ‘नेती’ । ‘केटा’को ‘केटी’ । ‘ठिटा’को ‘ठिटी’ । ‘तरुनो’को ‘तरुनी’ । ‘भोटे’को ‘भोटिनी’/‘भोटेनी’ । ‘नेवार’को ‘नेवारनी’ । ‘बाहुन’को ‘बाहुनी’ । ‘दमाई’को ‘दमिनी’ । आदि इत्यादि । यसो भन्दा फेरि ‘आदि’को स्त्रीलिङ्गी रूप ‘इत्यादि’ र’छ भनेर पिँडालु पण्डितका झैँ ठाउँ कुठाउँ पण्डित्याइँ छाँट्न थाल्नु होला । कुरो त्यसो होइन । यहाँनिर आदि र इत्यादि भनेको यी र यस्तै अर्थमा मात्र सीमित छ । पुलिङ्गी र स्त्रीलिङ्गी रूपको अर्थमा कदापि होइन ।

यतिविधि अथ्र्याई सकेपछि पनि तपाईं ‘बाग’ भनेको बगैँचा भनेर बुझ्ने मान्छेले उपबुजु्रक बनेर ‘बागी’ भनेको बगैँचाको स्त्रीलिङ्गी रूप र’छ भन्ठान्न सक्नु हुन्छ । यसो भन्नु भयो भने नेवार भाषा सिक्दै गरेको एउटा गैर नेवारलाई नेवार भाषाका गुरुले सोधेको प्रश्नमा नेवार भाषी शिष्यले उपबुजु्रक बनेर हतार हतारमा जवाफ दिए जस्तो परिणाम हुन्छ । गुरुले सोधेछन्- “नेवार भाषामा ‘हेँ’ भनेको हाँस हुन्छ, ‘घेँ’ भनेको घाँस हुन्छ भने ‘ढेँ’ भनेको के हुन्छ ?”

प्रश्न सुन्ने बित्तिकै गैर नेवार भाषी शिष्यले उपबुजु्रक बनेर फ्याट्ट जवाफ दिइहालेछ- ‘ढाँस’ । शिष्यको उत्तर सुनेपछि गुरुको त के कुरा उसका कुरा सुन्ने र बुझ्ने जति सबै गलल्ल हाँसे । नबुझ्ने जति यी किन हाँसे भनेर लोली मिलाउन हाँसे । नहाँस्नु पर्ने कारण पनि थिएन किनकि नेवार भाषामा ‘ढेँ’ को अर्थ हुन्छ- ‘उडुस’ । त्यसैले यहाँ पनि ‘ढेँ’ सँग ‘ढाँस’ को कुनै सम्बन्ध नभएझैँ ‘बाग’ सँग बागीको कुनै नाता सम्बन्ध छैन । ‘बाग’ को बगैँचा हुन्छ भने ‘बागी’ को अर्थ हुन्छ- ‘विद्रोही’, ‘विप्लवी’, ‘क्रान्तिकारी’, ‘ईर्ष्यालु’ र अन्य यस्तै यस्तै । त्यसैले यहाँ बागको कुनै चर्चा परिचर्चा हुनेवाला छैन, हुन्छ भने बागीको हुन्छ किनकी, अहिलेको जमाना नै बागीको छ । विद्रोहीको छ ।

जमाना नै बागीको छ भने म मात्र किन सोझो र निरर्थक रूपमा कसैको समर्थक भएर बसुँ भन्ने लागेर बागी बन्ने सोचमा डुबुल्किएँ । कहाँ, कतिखेर, के निहुँ झिकेर, के विषयमा बागी बनुँ ? भन्ने चिन्ता गर्दै थिएँ, त्यत्तिकैमा निर्वाचनको इज्जतदार सुनौलो मौका भेट्टाएँ बागी बन्ने र तत्काल घोषणा ठोकिहालेँ- यसपालीको निर्वाचनमा म बागी उम्मेदवार । पार्टीले जसलाई उठाए पनि म बागी । बागी बन्नबाट मलाई अब कसैले रोक्न सक्ने छैन । अब म बोलीमा बागी, व्यवहारमा बागी । हिँडाइमा बागी, डुलाइमा बागी । मेरो लवाइ बागी, खवाइ बागी । पढाइ बागी, लेखाइ बागी । म हरेक कुरामा बागी । सानोभन्दा सानो कुरामा बागी, ठूलोभन्दा ठूलो कुरामा बागी । यतिसम्म कि अरूले हाँसे म रोइदिन्छु, अरूले रोए म हाँसिदिन्छु । अरूले पानी पिए म जुस पिइदिन्छु, अरूले जुस पिए म पानी पिइदिन्छु । त्यति मात्र कहाँ हो र ! अरूले बनाए म भत्काइदिन्छु । अरूले भत्काए म बनाइदिन्छु । मबाट हरेक काम कुरामा यही नीति लागू हुन्छ । अब मेरो पाइला बागीबाट पछाडि फर्किँदै फर्किँदैन । बागीमा पाइला परेपछि पर्‍यो पर्‍यो । पछाडि फर्केर ढुलमुले हुन थाल्यो भने त आफ्नै मतदाताले पनि पत्याउँदैनन् । म त देश बनाउने मान्छे पो त ! अरू जस्तो हो र ?

म बागी बनेको थाहा पाएपछि टिकट दिन्छु भनेर आस देखाउने पनि आए । त्रास देखाउने पनि आए । बास दिन्छु भनेर घडेरी देखाउने पनि आए । मुड्की उठा’र सलाम गर्नेदेखि दस औँला जोडेर प्रणाम गर्नेसम्म को को आए, आए । म कसैको लोभ लालच र जालमा फसिन । मतदाताले मत दिन्छु भनिसकेपछि अरूसँग अरू अरू कुरा मैले किन लिने ? मलाई थाहा छ नि- निर्वाचनमा मलाई नङ्ग्याउन पनि यस्ता आश्वासन आएका हुन सक्छन् । म कतै फसेँ भने त मेरा प्रतिस्पर्धीहरूले त त्यसैलाई चुनावी मुद्दा बनाउन पनि सक्छन् । उनीहरूको चलाखीसँग म पूणर्तः परिचित छु । म आफैँ पनि पार्टीमा हुँदाका अवस्थामा कस्ता कस्ता ठाउँका कस्ता कस्ता व्यक्ति कहाँ कस्ता कस्ता आश्वासन लिएर ग’को थिएँ । यस्तै आश्वासनले कतिलाई बल्छीमा पारियो, कतिको प्राण बिसर्जन र कतिलाई घाइते बनाएर छाडियो । त्यो त जम्मै मलाई थाहा छ नि । कुरै नबुझी त्यसै म पनि कहाँ बागी भा’छु र ?

त्यसो भनेर तपाईंले मलाई साह्रै अतिवादी आँखाले हेरिहाल्नु पनि पर्दैन । बागीका पनि अनेक किसिम छन् । तह र वर्ग छन् । मेरो वाद भनेको अवसरवाद हो । त्यसैले म गेरुवाधारी बागी हुँ । गेरुवाधारी भनेपछि मेरो तह र वर्ग त्यसै पनि थाहा लागिहाल्छ । पल्लाघरे जेठो क्रान्तिकारी बागी हो । उसको वाद भनेको मेरो जस्तो अवसरवाद नभएर लिँडेवाद हो । ऊ मुलुकमा प्रजातन्त्र आउँदा व्यवस्थाकै बागी बनेर निर्दलीय व्यवस्था ठिक भन्थ्यो । निर्दलीय व्यवस्था आएपछि दलीय व्यवस्था चाहिन्छ भन्थ्यो र नारा जुलुस गरिटोपल्थ्यो । दलीय व्यवस्थाको पुनर्बहाली भएपछि गणतन्त्रतिर मुन्टो फर्कायो । गणतन्त्र आएपछि अहिले ऊ राजतन्त्र नै ठिक भन्न थालेको छ । वैदेशिक सम्बन्धका बारेमा पनि उसको बागी नीति क्रान्तिकारी नै छ । दक्षिणतिर सम्बन्ध राम्रो हुन थाल्यो भने उत्तरतिर पो राम्रो सम्बन्ध कायम गर्नु पर्छ भन्छ । उत्तरतिर सम्बन्ध राम्रो हुन थाल्यो भने दक्षिणतिर पो राम्रो सम्बन्ध कायम गर्नु पर्छ भन्छ । पूर्व र पश्चिमका हकमा पनि ऊ यस्तै कुरा ओकल्छ । जे कुरामा पनि ऊ त्यस्तै क्रान्तिकारी बागी । त्यसैले मैले यो भन्नै पर्छ कि म गेरुवाधारी बागी हुँ, पल्लाघरे जेठो जस्तो जड क्रान्तिकारी होइन । अलचक होइन । यति भनिसकेपछि तपाईंले मलाई अनेकौँ शङ्का र उपशङ्का गरिरहनु पर्दैन ।

आउँदो निर्वाचनसम्म मेरो बागीपनमा कुनै उतार चढाव आउने छैन । म पक्कापक्की बागी उम्मेदवार । घोषित निर्वाचन अघि कुनै पनि हालतमा मेरो गेरुवा उत्रँदैन । मतदाताले मलाई काँधमा थापिसकेका छन् । मेरो निर्वाचन घोषणा पत्रमा समाविष्ट विषय मेरा कार्यकर्तामार्पmत परामर्शका लागि मतदाताका कान कानमा सम्प्रेषाण भइसकेका छन् । ती विषयलाई उनीहरूले सकारात्मक रूपमा लिएका छन् । त्यसै भएर पनि म बागी बन्न हौसिएको छु । रौसिएको छु । पार्टीभित्रकाले मेरो चाल बुझेकै छैनन् । म त पार्टीमा दह्रोसँग खारिएर बाहिरिएको मान्छे पो त । राजनीतिको ‘र’ देखि कूटनीतिको ‘क’ सम्म सप्पै था’छ मलाई । त्यसैले त म बागीमा पनि पाको बागी । त्यसैले अरू जस्तो लरतरो बागी म कहाँ हुँ र ? जो पायो उही मान्छेले चिनेकै छैनन् मलाई ।

मेरो निर्वाचन घोषणा पत्रको दुई चारवटा बुँदा राजनीतिक पार्टी र अरू उम्मेदवारलाई नखुस्काउने शर्तमा तपाईंलाई मात्र खुसुक्क सुनाउँछु । यति सुनिसकेपछि तपाईं आफैँ भन्न थाल्नु हुन्छ, निर्वाचन गराइरहनै पर्दैन । तपाईंलाई त्यस्सै प्रमाण-पत्र दिए हुन्छ । निर्वाचन गरा’र हुँदो न खाँदो राष्ट्रको ढुकुटी मात्रै किन नास गर्ने ? यस्तो घोषणा पत्र पढिसकेपछि जतिसुकै राम्रो भए पनि अरूको घोषणा पत्र मतदाताले पढ्दै पढ्दैनन् । कथङ्कदाचित उनीहरूका अघि साखुल्ले बन्नैका लागि पढिनै हालेछन् भने पनि त्यसमा विश्वास गर्ने भेटिन्नन् । त्यसका पछि लाग्ने कोही हुँदैनन् । आफ्नो घोषणा-पत्रलाई बढ्ता बढाइ चढाइ गर्‍यो भन्ठान्नु हुन्छ भने तपाईं आफैँ पढ्नुस् न कस्ता छन् मेरा घोषणा पत्रका बुँदा –

 जनतामा आस जगाउने र तिनको बास डगाउने कुरामा व्यर्थमा कसैले चिन्ता र चासो लिइरहनु पर्दैन, त्यसको जिम्मा म लिन्छु ।
 उड्नेमा चरादेखि गुड्नेमा गुच्चासम्मलाई समान अधिकार स्थापित गरिने छ ।
 कराउनेको कर्कलोदेखि नकराउनेको नर्कटसम्मको संरक्षणको व्यवस्था मिलाइने छ ।
 परम्परादेखि भन्दै आइएको ‘आईमाई’ शब्दलाई ‘गईमाई’ र ‘लोग्ने मान्छे’ शब्दलाई ‘ढोग्ने मान्छे’ भनेर सम्मानजनक सम्बोधनको व्यवस्था मिलाइने छ ।
 घरैपिच्छे एक एक कमण्डलु वितरण गरी ‘एक घर एक रोजगार’ को नीतिलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने छ ।
 पक्ष र विपक्षमा मान्छे जुधाएर जिन्दगीभर शरीर र सम्पत्ति दुवै शिथिल बनाउने अदालती व्यवस्थालाई खारेज गरी छोटो छिटो न्याय दिन ‘जसका लाठ उसका भैँस’ नामक सृष्टिकालीन व्यवस्थालाई पुनर्स्थापन गरिने छ ।
 ‘सोझालाई सुली, चोरलाई चौतारो’ भन्ने आरोपबाट मुलुकलाई मुक्ति दिलाउन मुलुकभित्र रहे भएका सम्पूर्ण चौतारा मासिनेछ र सुली निर्माण र त्यसको बेचबिखनमा प्रतिबन्ध लगाइने छ ।
 किसानलाई मल र विरामीलाई जलको व्यवस्था गर्ने अधिकार र स्वतन्त्रता पीडित किसान एवम् विरामीलाई नै दिइने छ ।
 साउने निकास र असारे विकासलाई कानुनमै लिपिबद्ध गरिने छ ।
 मट्टितेल र भट्टीतेल मिसावट कार्यलाई कानुनी मान्यता दिइने छ ।
 निःशुल्क शिक्षा र स्वास्थ्य सेवाले शिक्षा र स्वास्थ्यको गुणस्तरलाई खस्काउँदै लगेको जनगुनासोलाई सम्बोधन गर्न दिन दुगुना, रात चौगुना शुल्क वृद्धि गरी शिक्षा र स्वास्थ्यको गुणस्तरलाई उकास्ने नीति र गति अवलम्बन गरिने छ । यस्तो नगर्ने निजी विद्यालय र स्वास्थ्य संस्थाहरू ठाडै खारेजीमा पर्नेछन् ।
 पशुपालन र दुग्धजन्य वस्तुको उत्पादन कार्य झन्झटिलो बन्दै गएकाले यस्ता वस्तुको उपभोग कार्यमा जनतामा वितृष्णा पैदा गरिने छ र सो सम्भव नभएमा त्यस्ता वस्तु आयात गर्ने नीति अङ्गीकार गरिने छ ।
 पुस्तकी पढाइ र कलमी कोराइलाई मसाल र ब्यानरले विस्थापन गरी शिक्षक विद्यार्थी दुवैलाई केही हदसम्म भए पनि पारम्परिक काम र झन्झटबाट मुक्त गराइने छ ।
 हाजिर वापतको माम र काम वापतको दाम समय सापेक्ष बनाउने पूणर्ण स्वायत्तता रोजगार वर्गलाई नै प्रदान गरिने छ ।
 नेता र कार्यकर्ताका विषयमा चाहिँदा नचाहिँदा कुरा गरेर समय खेर नफाल्न सर्वसाधारण जनतालाई विनम्रतापूर्वक आग्रह गरिने छ ।
 कुनै पनि पदाधिकारी, कर्मचारी र कामदारलाई देखिने रूपमा राजनीतिमा संलग्न गराउने कार्यलाई प्राथमिकताका साथ बढावा दिई पारदर्शिता कायम गरिने छ ।

मेरो निर्वाचन घोषणा पत्रमा उल्लिखित माथिका केही बुँदाको अध्ययन र मननले नै मेरो राजनीतिक दृष्टिकोण र क्रान्तिकारी सोच छर्लङ्ग हुनेछ । यस अवस्थामा निर्वाचनमा मैले पाउने मतमा कसैले घुन पुतली लगाउने अवस्था म देख्दिन । त्यसैले पनि मेरो उम्मेदवारी बागीका रूपमा कायम रहनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने दिन आउन अझै बाँकी भएकाले म मेरा मतदातालाई अहिले नै यही चिह्नमा मतदान गर्नुस् भनेर ठ्याक्कै भनिहाल्न चाहिँ असमर्थ छु । मेरो समस्या तपाईंहरूले पक्कै पनि बुझिदिनु हुनेछ । त्यसका लागि मेरा आदरणीय मतदाताहरूले केही समय अझै पर्खिनु पर्छ । अन्त्यमा म के भन्न चाहन्छु भने – “आदरणीय मतदाताहरू रातभरमा अग्राख पलाएर समयले कोल्टे फेरेन भने हेर्दै जानुस् निर्वाचनसम्म के के हुन्छ के के ?”

(युवामञ्च, २०७४ फागुन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x