सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बड़ो मापाको जीवन यो !

सुक्खा खोरसानीले झानेको दालजस्तो यो जीवन साँच्चै बड़ो मापाको छ । जहिले पनि, जतिबेला पनि हाच्छ्यूँ कि हाच्छ्यूँ !

Nepal Telecom ad

“मलाई दुःखै-दुःख छ; पीरै-पीर छ” कसैले भनेको सुनिँदैन अचेल । भनेको सुनिन्छ बरु “चल्दैछ…जसोतसो ।” कसरी चल्दैछ ? यसबारे छानबीन गर्ने आवश्यक पनि छैन । मृत्युसित डर छैन । बाँचे बाचुँला; मरेँ मरुँला । नो प्रोब्लेम । यसको अर्थ जीवनमा शान्तिका मात्रा बढ़ेको छ भन्ने ठ्याम्मै होइन । पेपरमेण्ट (अत्तर) जस्तो जीवन भएको छ पनि भन्न मिल्दैन ।

जीवनमा अशान्ति भन्नु नै सुक्खा खोरसानीले झानेको दालजस्तै हो । हाच्छ्यूँ गर्दा-गर्दाको जात्रो हुन्छ । सोझी, आबा न चाबाकी श्रीमतीभन्दा छुच्ची, मुखाली, एक्टिभ श्रीमती दोबर-तेबर राम्रो । यसै सन्दर्भमा भन्नुपर्दा शान्तिभन्दा अशान्ति हजारौं गुणा उत्तम । अशान्ति एउटा ‘इन्गेज्मेण्ट’ हो भने शान्ति निभिसकेको आगाको भुङ्रो जत्तिकै । पुरानो घरमा बसेजस्तै हो । मूसाहरू दुगुरिरहेका हुन्छन् एक तमासले आफ्नै धुनमा । भित्ताभरि धमिराका सरल रेखाहरू । साङ्लोहरूको रगरगी । फुटिसकेको प्लाष्टिकको एउटा पुरानो बाल्टी । खाटको चेप-चेपमा कमिलाका ताँती । भित्तामा पुरानो एउटा नक्सा । कुनै एउटा समयमा मुखभरि हाँसो थियो, आँखामा गज्जब तेज । अहिले ठण्डा मौसमजस्तै जीवन । सबै चिसो…सबै उजाड़ ।

उबेला युवतीहरूका नाम फूलकुमारी, धनसरी, मनमाया, धनमाया, गमसफूल, च्याउँकी आदि हुन्थे । युवकहरूका नाम पनि उस्तै गम्बु, गोम्बे, धनबहादुर, बखते, प्रेमबहादुर, मननारायण, धननारायण, चरिचुच्चे आदि आदि । अचेलका युवतीहरूको नाम प्रतिष्ठा, प्रणिता, एनाक्षी हुन्छन् भने युवकहरूका नाम प्रणय. प्रणेश, सिद्धान्त आदि सुनिन्छन् । उबेलाकी बुहारी शीलस्वभावकी हुन्थिन् । सखारै उठी सासू-ससुरालाई ओछ्यानमै चिया पुऱ्याएर ढोग गर्थिऩ् । सीपमा सीप…रुपमा उस्तै रुप । राखन् धारनमा सिपालु । माइत घरमा जत्तिकै भाँड़भैलो, हुँड़ीबिड़ी मच्याउने, रँड़ाको लाउने भए पनि ससुराली आएपछि शान्त, सौम्य । सासू-ससुरालाई मुख लाउनु ता परै जावोस् नारायण ठाड़ो नजरले पनि हेर्ने आँट गर्दिनथिइन् । बुहारी भित्र्याएपछि उबेलाका सासू-ससुरालाई हाय-सुख हुन्थ्यो । वरको सिन्का पर सार्नु नपर्ने । नन्दहरू भाउज्यू भनेपछि हुरुक्कै र भुतुक्कै । भाउज्यू पनि नन्दाहरूसित सुठीनै मिल्ने । दाँत र गिजाजस्तो । सारांशमा भन्नु हो भने, उबेला बुहारी वा भाउज्यू होइन घरमा लक्ष्मीले प्रवेश गरेकी जस्तो लाग्थ्यो ।

अचेल छोरोले बुहारी भित्र्यायो कि सासू-ससुरा लिङ्लिङ… थुरथुर । अझ कलेजको तर्क प्रतियोगितामा वर्षैपिच्छे सर्वश्रेष्ठ तार्किनको पुरस्कार, मेडल, प्रमाण-पत्र हत्याउने वा कलेजको एनसीसीमा सी सार्टिफिकेट प्राप्त गर्ने सिनियर अण्डर अफिसर भएर प्यारेडमा मैदानै थर्काउने बुहारी घरभित्र पसिन् भने सर्वनाश… मेरी बास्सै ! सर्वनाश । अझ मार्शल आर्ट सिकेर ब्ल्याक बेल्ट भिरिसकेकी बुहारी घरभित्र पसिन् भने ता हे शिव ! लोग्ने, नन्दा, जेठी-सासू र सासू-ससुरालाई कति बेला फ्लाइङ किक हानेर रँड़ाको नमच्चाई चूपो लागि बस्ने हुन् र ? नन्दाले मुखाँ हानी सक्दा नसक्दै कति बेला कोखामा हानेर भुर्कुट पार्ने बेर लाउँदिनन् अचेलका मोडर्न बुहारी ।

राति बाह्र बजेसम्म टिभीमा धारावाहिक अथवा मोबाइलमा च्याटिङ गरेपछि सखारै उठी सासू-ससुरालाई थलैमा चिया वा तातो पानी दिन सक्लिन् र ! केही भनिसक्नु छैन । सासू-ससुराको वाक्शक्तिमा एमबार्गो लाग्न थाल्छ । माओवादीको भूमिका पालन गर्ने बुहारी छोरो वा उनका पति महोदय समेतलाई कँज्याएर राखेपछि इन्द्रेको बाबु चन्द्रे आए पनि केही लछारपाटो लाउन सक्ने होइन क्यारे । सियो बनेर पसेकी बुहारी फालीमा परिणत । एनाकोण़्डाले काँचुली फेरेजस्तै उनले पनि हिटलरको काँचुली फेरी ससुराली घरमा रँड़ाको मच्याउँछिन् । ससुरालीको लाइन अफ कण्ट्रोल क्यापचर्ड । उल्टा ओछ्यानमै चिया वा तातो पानी पुऱ्याइदिनुपर्ने नयाँ माओवादी बुहारी शासन जारी । नौ-दसबजीभन्दा अघि ओछ्यान छोडि़न् भने ता धरती पल्टिेला तर कुम्भकर्णे निद्रामा मस्त सुतेकी बुहारी नानी चल्मलाइन् ता के । एक फ्वाँक रजनीगन्धा वा कुनै जर्दा मुखमा नहालेसम्म टोयलट नभएर फिटीफिटी ।

उबेलाकी बुहारीलाई एक डिब्बा क्रिम महिना दिनसम्म पुग्ने । अचेलकी बुहारीलाई हप्तैपिच्छे पार्लर नगई हुँदैन । ससुराकै छेउमा ओँठका डिलभरि लिपस्टिक पोतेर उभिनु गाह्रो, अप्ठ्यारो मान्थिन् उबेलाकी बुहारी । अचेलकी ता ओँठ रातै पारेर रजनीगन्धा कि ता बबल् गम् क्याचाक्-क्याचाक् पार्दै ससुरासित डिस्कस गर्न पोख्त । उबेलाकी बुहारी सासू-ससुरा, देवर-नन्द तथा लोग्नेकै केयर गर्न मस्त र व्यस्त हुन्थिन् । अचेलकाहरू हेल्थ केयर र जिरो फिगर बनाउनमै व्यस्त र मस्त । ससुराली घरका सबै जहाँसुकै जाउन् म चाहिँ ब्यूटी हुनैपर्छ भन्ने सिद्धान्तमा अडिग । म मैजस्तै हुनुपर्छ अरुलाई ड्याम् केयर ।

त्यसपछि, लाला-बालाको आगमन । हुङ्कार, गर्जन, पिट्पाट आरम्भ । ठाकठाक-ठुकठुक ता साधारण कुरा । बेलाबखत भाकभाक र भुकभुक, पाकपाक र पुकपुक…डाङ़्डाङ् र डुङ्डुङ… । कहाँ सुःख, कहाँ दुःख ? सबै चमेराजस्तो झुण्डिरहन्छन् । आ-आफ्नो अस्तित्व जोगाउनै भरमग्दूर प्रयासमा तल्लीन । आत्मघाती बम बोकेकी बुहारीलाई चलाउने गाह्रो नारायण छुनै गाह्रो । सामान्य चलायो कि छोयो कि ढ्याङ ।

अन्त्यमा, दाजु-भाइमाझ काटामार । पैतृक सम्पत्ति भागबण्डा । घरको माझमा ठूलो पर्खाल । किनभने मेरो सुख अर्धाङ्गिनीको सुख । कोर्ट-कचहरी धाऊ । बाबुलाई कोर्टमा उभ्याऊ । झगड़ा गर, मुद्दा गर । जोरीपारीलाई भक्कुमारी हँसाऊ । र ता मर्ने बेलामा भन्न सकिन्छ, जीवन यति साँघुरो किन ?

सुक्खा खोरसानीले झानेको दालजस्तो यो जीवन साँच्चै बड़ो मापाको छ । जहिले पनि, जतिबेला पनि हाच्छ्यूँ कि हाच्छ्यूँ !

सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे