बागमती प्रदेश सञ्चार कार्यालय लामो

रिजालको व्यङ्गयात्रामा ‘को वरिष्ठ ?’

कृतिभित्र शान्त, सौम्य, शिष्ट र शालीन शैली वरण गरिएको छ, गालीगलौज, अश्लीलता तथा अशिष्टताको छाँया पर्न दिइएको छैन ।

अन्यान्य कृतिमा जस्तो सर्जकको परिचय पढ्न पाइने मौका नदिने ‘को वरिष्ठ’ कृति एक/दुई मानेमा कन्जुस छ । सम्पूणर् कृति नै कृतिकारको बकाइ भए पनि यसमा बकाइ धितमर्दो दिन, कृतिको बारेमा दुई शब्द कतैबाट राख्न र प्रकाशकीय गन्तव्यको मन्तव्य प्रचलित संस्कृतिमा भञ्जन उत्पन्न गर्ने कन्जुस्याइँका दृष्टान्तहरू हुन् ।

गाताको अन्तिम पातामा छुस्स परिचयजस्तो पानीको नाममा ओस र अझ परिपक्वको नाममा पठनमा जोस उत्पन्न गर्ने तत्वबाहेक अरु केही पनि छैन । गन्थन पढ्नुभन्दा अन्यत्रको मन्थन नराखेर कृतिलाई छरितो तुल्याउन खोजिएको हुनुपर्छ ।

कृतिमा कृतिकारको परिचय खासै नदिइएको भए पनि आरसी रिजाल नेपाली हास्यव्यङ्ग्य क्षेत्रका स्वनामधन्य सर्जक हुन् भन्दा अत्युक्ति नहोला । रिजालका खरानीभित्रको आगो (२०३६), कुकुरको पुच्छर (२०५५), कण्ठलँगौटी (२०५७), हाकिमको खप्पर (२०६३), भोलारामको आत्मा (२०६६) पूर्व प्रकाशित कृतिहरू हुन् ।

यी कृतिमध्ये खरानीभित्रको आगो आख्यान हो भने बाँकी सबै व्यङ्ग्यकृति हुन् । भोलारामको आत्मा अनुवाद र अन्य मौलिक कृति हुन् । यसरी हेर्दा ‘को वरिष्ठ’ निबन्ध कृतिलाई रिजालको छैटौं कृति हो भने मौलिक व्यङ्ग्यात्राको चौथो र समग्र व्यङ्ग्यसाहित्यको पाँचौं पुस्तक हो । थातथलो हेटौंडा भएका साहित्यकार आरसी रिजालले साहित्यसिर्जनको उर्वर समय व्यङ्ग्य चिन्तन, सिर्जन र विस्तरणमा लगानी गरेका छन् । यिनै सर्वकर्मको प्रतिफल हो- को वरिष्ठ ।

प्रकाशन क्रमको छैटौं स्थान प्राप्त ‘को वरिष्ठ ?’ कृतिभित्र तिन दर्जन रचनाहरू समाविष्ट छन् । कृतिको पहिलो रचना भैरवसित भलाकुसारीदेखि अन्तिमको संस्कारसम्म हेर्दै जाँदा यस सङ्ग्रहमा सामाजिक, सांस्कृतिक, अन्धविश्वास, कुरीति, कुसंस्कार तथा कतिपय परम्पराप्रति प्रहार गरिएको पाइन्छ भने राजनैतिक क्षेत्रमाथि व्यङ्ग्य गरिएको देखिन्छ । कृतिभित्र शान्त, सौम्य, शिष्ट र शालीन शैली वरण गरिएको छ, गालीगलौज, अश्लीलता तथा अशिष्टताको छाँया पर्न दिइएको छैन ।

कृतिको पहिलो व्यङ्ग्य रचना हो- ‘भैरवसित भलाकुसारी’ । म पात्रसित नेपालीय हास्यव्यङ्ग्यका शिखर पुरुष भैरव अर्यालसित सपनामा भेट हुन्छ र सपना चेट भएपछि आलेख सम्पन्न हुन्छ । साहित्यिक क्षेत्रमा व्याप्त विसङ्गतिप्रति सुझाव दिएर कमजोरीप्रति प्रहार गरिएको छ यसमा । दोस्रो सिर्जना हो- ‘को वरिष्ठ ?’ आफूलाई वरिष्ठ भन्दै हिँड्ने र भनाउनलाई पछि नपर्नेप्रति प्रहार गरिएको छ । वरिष्ठताको पनि सीमा र आधार हुनुपर्ने अन्यथा पशुमा पनि वरिष्ठ हुने हुन्छ । मानिससित तुलनाको अवस्था आउन नहुने बताइएको छ यसमा ।

‘नमस्कार’ शीर्षक रचनाले यस संस्कारप्रति सान्दर्भिक व्यङ्ग्य गरेको छ । प्रथम पुरुष दृष्टिबिन्दुमार्फत यसमा अलिक कडै व्यङ्ग्य गरिएको छ । चौथो रचना हो- ‘जिउँदो जुत्ता सहिद’ । शीर्षक हेर्दा कतै कुनै सहिदप्रति अपमानजनक सङ्केत गर्ने व्यङ्ग्य पो हो कि ? भन्ने लाग्नु स्वाभाविक हो तर, त्यस्तो रहेनछ । कसैमाथि जुत्ता प्रहार भएको र सोही जुत्ताको उसले पूजा गर्न थाल्दा दर्शकहरू बढ्न गई आयको स्रोत बनाइएको भन्दै कथालाई अगाडि बढाइएको छ । यसमा जुत्ता आन्दोलन र जुत्ताको मुद्दा न्यायालयसम्म पुगेको रोचकतासाथ प्रस्तुत गरिएको छ । कोरोनाकालमा मानिसले बिना मास्क हिँड्न नहुने र मानिसको मृत्यु धेरै भएको बखतमा मरेर जहाँ मानिस पुग्दछन्, त्यहाँ पनि कोरोना भाइरसको डरले सताएको र त्यहाँका शासकहरूमा पनि त्रास फैलिएको भनेर व्यङ्ग्य गरिएको रचना हो- ‘कोरोना सहिद ।’

आफ्नो देशको माटोमा पसिना चुहाए यस देशको माटो उर्वर हुन्थ्यो भन्ने विचारलाई धोती लगाएर आफ्ना सन्तानलाई विदेशमा पठाउने कामना गर्नेहरूप्रति कडा व्यङ्ग्य प्रहार गरिएको रचना हो- ‘फर्केर नआऊ घर’ । अहिलेका हाम्रा अभिभावक वा घर चलाउनेहरू नजिकको आफन्तलाई विदेश पठाउन खोज्ने, विदेशमा बसेकाप्रति शान बखान गर्ने र घर फर्किँदा नाक खुम्च्याउने विसङ्गति नै यसको मूल कथ्य हो ।

‘हुन्थ्यो’ – शीर्षकको रचनामा मानिसमा अनेक कमीकमजोरी रहेको बताउँदै एउटा आँखा पछाडि भए हुन्थ्यो भनिएको छ । सबै मानिसको अनुहार फरक हुनुको औचित्य नै छैन भनिएको छ । यस्ता सबै कुरा समान हुनुपथ्र्यो भन्ने भाव यस रचनाको रहेको छ । गम्भीर प्रकृतिको विषयलाई समेटेर लेखिएको रचना हो- ‘आमाको बिलौना’ । आमालाई रगतको आवश्यकता पर्दा आमाको कल्पना विपरीत छोराहरू तर्क दिँदै तथ्य प्रस्तुत गरिएको यो रचना मार्मिक छ । यसपछिको रचना हो- ‘कामना’ । कुनै पनि चाडपर्वमा कसैले कुनै कामना गरेर केही हुँदैन भन्ने भाव यसको रहेको छ । स्वास्नीलाई बालबच्चा, परिवार, नाताकुटुम्ब र इष्टमित्रको चिन्ता हुने तर, एक लेखकलाई भने यी सबैभन्दा माथि देशको चिन्ता हुने विषयवस्तुमा आधारित रचना हो- ‘राष्ट्रिय चिन्ता’ । यस्तै, राष्ट्रवादको भावनाले भरिएको रचना हो- ‘मोदीवार्ता’ । यसमा म पात्रलाई मोदीले पनि राष्ट्रवादी मानेको बताइएको छ । यसमा हिन्दी भाषाको बाहुल्य रहेको छ । यसको शैली पनि सम्वादात्मक रहेको छ । कर्मकाण्डको अन्धविश्वास र लोभशास्त्रको चिरफार गरिएको रचना हो- ‘बैतरणी’ । फस्टाउँदै गएको सुन्दर वा सुन्दरी प्रतियोगिताप्रति असन्तुष्टि व्यक्त गरी वास्तविक सुन्दरता उसको कर्ममा हुन्छ भन्ने भाव व्यक्त गरिएको रचना हो- ‘अग्र्यानिक सुन्दरी’ ।

‘झुठको खेती’- कतिपयलाई झुटो कुरो गर्दा ग्लानी हुने तर, कतिपयको त झुठको पेसा नै हुने गरेको कुरालाई पुराण र इतिहासदेखि वर्तमानसम्मका दृष्टान्तहरूको सार्थक प्रयोग गरिएको व्यङ्थ्य रचना हो । सबैभन्दा सजिलो छ कुरा काट्नु । यसका अनेक विधि र तरिकाहरू छन् । कुरा गर्यो कुरैको दुःख विषयलाई समेटेर लेखिएको निबन्ध हो- ‘कुराको दुःख’ । ‘बुहारीको खोजी’- आख्यानात्मक र संस्मरणात्मक शैलीमा लेखिएको निबन्ध हो । यसमा छालाको रङ, मानिसको हाइटभन्दा गुण पक्षलाई महत्व दिइनुपर्ने बताइएको छ ।

छोरोको लागि बुहारी खोज्दाको रमाइलो अनुभूति प्रस्तुत भएको एउटा निबन्ध छ । गर्भदेखि नै छोरीको हत्या गर्ने भ्रुण हत्यासम्बन्धी अनेक काण्डप्रति असहमति जनाउँदै भ्रुण हत्याप्रति पूणर्तया असहमति जनाइएको व्यङ्ग्य हो- ‘गर्भबाटै अन्माई’ । यसैगरी, एक महिलाले जीवनको अन्तिम घडीतिर आफ्ना छोराहरूबाट भोग्नु परेको दुःख र पीडाको शृङ्खला मार्मिक किसिमले प्रस्तुत गरिएको आख्यानात्मक शैलीको आत्मपरक निबन्ध हो- द्रौपदी दिदी । कतिपय बच्चाको जन्म सात महिनामा हुन्छ भने कतिपयको दश महिनामा । व्यक्तिको शारीरिक तथा वंशानुगत अवस्थाले गर्दा महिलाले बच्चा जन्माउने समयमा केही तलमाथि हुन सक्छ । यही यथार्थप्रति सहानुभूति राखिएको रचना हो- ‘चित्तमा लागेको’ ।

भोक र भोजनको सबालमा मानिसलाई हेप्नु र कुकुरलाई सम्मान गर्नु दरिद्र मानवताको उपज भएको निष्कर्ष छ- ‘टमीबाबु’ । जस्तासुकैलाई पनि महान बनाइदिने जीवनी लेखनले महानलाई कमजोर मूल्याङ्कन गर्ने परिपाटीको विकास नहोओस् भन्ने भावको निबन्ध हो- ‘जीवनी’ । कतिपय सबालमा कुकुर बफादार हुने र मानिसले इमानदारी बिक्री गर्ने तर्क दिने निबन्ध हो- ‘कुकुर धर्म’ । अध्ययन नगरी वा कसैको पूरा कुरा नसुनी फेसबुकमा कमेन्ट मारिहाल्ने प्रवृत्तिको उछितो काढिएको व्यङ्ग्य हो- ‘फेसबुक कमेन्ट’ । यसमा जथाभावी कमेन्ट लेख्ने पात्रहरूको प्रवृत्तिलाई उजागर गरिएको छ । सर्वधर्मको सार एउटै मानव कल्याण भएको र सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षाले भावकलाई यथार्थबोध गराउने गर्दछ भन्ने भाव भएको निबन्ध हो- ‘प्रयोगात्मक कक्षा’ । ‘पश्चात्ताप’- आख्यानप्रधान निबन्ध हो । यसको शैली पूणर्तया कथात्मक रहेको छ । अन्त्य लघुकथाको जस्तो छ । विषयवस्तुको प्रस्तुति गम्भीर प्रकृतिले भएको छ । चुनावमा भ्रष्टाचारीहरू विजयी हुन्छन् तर, इमानदार अभिभावकले नै आफ्ना सन्तानलाई आशीर्वाद दिन हिच्किचाउने गरेको प्रसङ्गमा केन्द्रित निबन्ध हो- ‘नाफा’ ।

सधैँभरी आफूले साथ दिएर त्याग गरेको मानिसले पनि धोका दिन सक्छ भन्नु नै हो- ‘मन्द विष’ । रित्तो गाग्री वा बाटो काटेको बिरालो अपशकुन नभएर नेता यस देशको लागि अपशकुन भएको पोखिएको निबन्ध हो- ‘अपशकुन’ । आफ्नै ठाउँमा छ- यो निबन्धले थेगोवादीलाई झापड दिएको छ । आफ्नो विचार, दर्शन, सिद्धान्त र चिन्तन नहुनेले केही भन्न सकेर यही उत्तर दिन्छ- आफ्नै ठाउँमा छ । सम्वादात्मक शैलीको यो सुन्दर व्यङ्ग्य निबन्ध हो । जिउँदोमा मातापिताको सम्मान, सत्कार, रेखदेख नगर्ने तर, शेषपछि पिण्डदान गर्नेहरूप्रति पितापुर्खासमेतले अपमान अनुभव गर्ने गरेको कल्पनात्मक भावाभिव्यक्ति हो- ‘पिण्डार्पण’ । ‘स्वस्थानीमाता’- यस निबन्धमा स्वस्थानीको कथाप्रति अविश्वास प्रकट गरिएको छ । गालीपुराणको इतिवृत्ति कथात्मक शैलीमा प्रस्तुत गरिएको निबन्ध हो- ‘धार्मिक गाली’ । ‘माइतीलाई पत्र’- शीर्षकको निबन्धमा तराई मधेसमा प्रचलित बालविवाह, तिलक प्रथा र दाइजो प्रथाप्रति कडा प्रहार गरिएको छ । ‘श्राद्र्धकर्म’- भन्ने निबन्धमा शीर्षकजन्य अन्धविश्वास र कुरीतिको विरोध गरिएको छ । ‘पुर्पुरो’- दुनियाँ र देश पीडामा हुँदा पनि कतिपय मानिस किन लुट्न पाइएन भनेर दुःख मनाउ गरिरहेका हुन्छन् भन्ने यथार्थलाई सरल तरिकाले प्रस्तुत गर्ने निबन्ध हो । र, यस सङ्ग्र्रहको अन्तिम निबन्ध हो- ‘संस्कार’ । बालबालिकाहरू अभिभावकबाटै संस्कार सिक्ने गर्दछन् र बालबालिकाले संस्कारजन्य विभेद अनुभूति गर्दा रहेछन् भन्ने कुरो यसमा देखाइएको छ ।

यस निबन्ध सङ्ग्र्रहका केही सीमाहरू छन् । कतिपय निबन्धमा व्यङ्ग्यात्मकताको अभाव पाइनु, व्यङ्ग्यात्मकता लघुकथाको जस्तो हुनु, कतिपय निबन्धमा निबन्धात्मकतामाथि आख्यानात्मकता हावी हुनु, विषयवस्तुको पुनरावृत्ति हुनुजस्ता सीमाहरू रहेका छन् । निबन्ध यत्रै हुनुपर्छ भन्ने होइन तर, यस कृतिमा परेका कतिपय निबन्ध प्रचलित लघुकथा आकारका पनि रहेका छन् र प्रस्तति पनि उही अन्तिम वाक्यले झट्का दिएको शैलीमा रहेका छन् । कुनै-कुनै निबन्धमा व्यङ्ग्यभन्दा गम्भीरता पाइन्छ । व्यङ्ग्यले खोज्ने हास्यरसको कतिपय निबन्धमा सर्वथा अभाव छ । कतिपय निबन्ध पढ्दा यस्तो अनुभूति हुन्छ- औपचारिक कार्यक्रममा उभिएर पढ्दा यसले दर्शकलाई अलिकति हास्यरस प्रदान गथ्र्यो कि ? हुन त निबन्ध आफैँमा असीम विधा हो तर, कुनै-कुनै निबन्धको सीमा के हो ? भन्ने छुट्याउने आधारको खोजी प्रबुद्ध पाठकले गर्नुपर्ने हुन्छ ।

समग्रमा, आरसी रिजालको साहित्यात्राको यो कृति एउटा उपलब्धि हो । रिजालका रचनामा कठोर र आश्रयहीन कल्पनाहरू छैनन् । विकृति विसङ्गतिमा धेरै लेपन गरिएको छैन । पाठकलाई जस्ताको तस्तै देखाउने काम गरिएको यस निबन्ध सङ्ग्रहमा प्रारम्भदेखि समापनसम्म पाठकलाई जोडिइरहने अद्भूत क्षमता छ । यही ताकतले आद्योपान्त पाठकलाई बाँधिइरहन्छ । निबन्धकार रिजालको यो परिपक्व कृति नेपालीय व्यङ्ग्य साहित्यको एक सङ्ग्रहणीय कृति हो । अनुज पुस्ताको लागि उदाहरणीय पुस्तक हो । साहित्यका अनेक क्षेत्रमा निरन्तर क्रियाशील रिजालको निबन्धयात्रामा यस कृतिले थप पहिचान स्थापित गर्न मद्दत गरोस् भन्ने शुभकामना छ ।

गरुडा, राैतहट

बागमती प्रदेश सञ्चार कार्यालय लामो
असली बाजेको खोजी

असली बाजेको खोजी

सञ्जय साह मित्र
सबैभन्दा खत्तम म

सबैभन्दा खत्तम म

सञ्जय साह मित्र
दुई नम्बरी अन्याय

दुई नम्बरी अन्याय

सञ्जय साह मित्र