साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिजालको व्यङ्गयात्रामा ‘को वरिष्ठ ?’

कृतिभित्र शान्त, सौम्य, शिष्ट र शालीन शैली वरण गरिएको छ, गालीगलौज, अश्लीलता तथा अशिष्टताको छाँया पर्न दिइएको छैन ।

Nepal Telecom ad

अन्यान्य कृतिमा जस्तो सर्जकको परिचय पढ्न पाइने मौका नदिने ‘को वरिष्ठ’ कृति एक/दुई मानेमा कन्जुस छ । सम्पूणर् कृति नै कृतिकारको बकाइ भए पनि यसमा बकाइ धितमर्दो दिन, कृतिको बारेमा दुई शब्द कतैबाट राख्न र प्रकाशकीय गन्तव्यको मन्तव्य प्रचलित संस्कृतिमा भञ्जन उत्पन्न गर्ने कन्जुस्याइँका दृष्टान्तहरू हुन् ।

गाताको अन्तिम पातामा छुस्स परिचयजस्तो पानीको नाममा ओस र अझ परिपक्वको नाममा पठनमा जोस उत्पन्न गर्ने तत्वबाहेक अरु केही पनि छैन । गन्थन पढ्नुभन्दा अन्यत्रको मन्थन नराखेर कृतिलाई छरितो तुल्याउन खोजिएको हुनुपर्छ ।

कृतिमा कृतिकारको परिचय खासै नदिइएको भए पनि आरसी रिजाल नेपाली हास्यव्यङ्ग्य क्षेत्रका स्वनामधन्य सर्जक हुन् भन्दा अत्युक्ति नहोला । रिजालका खरानीभित्रको आगो (२०३६), कुकुरको पुच्छर (२०५५), कण्ठलँगौटी (२०५७), हाकिमको खप्पर (२०६३), भोलारामको आत्मा (२०६६) पूर्व प्रकाशित कृतिहरू हुन् ।

यी कृतिमध्ये खरानीभित्रको आगो आख्यान हो भने बाँकी सबै व्यङ्ग्यकृति हुन् । भोलारामको आत्मा अनुवाद र अन्य मौलिक कृति हुन् । यसरी हेर्दा ‘को वरिष्ठ’ निबन्ध कृतिलाई रिजालको छैटौं कृति हो भने मौलिक व्यङ्ग्यात्राको चौथो र समग्र व्यङ्ग्यसाहित्यको पाँचौं पुस्तक हो । थातथलो हेटौंडा भएका साहित्यकार आरसी रिजालले साहित्यसिर्जनको उर्वर समय व्यङ्ग्य चिन्तन, सिर्जन र विस्तरणमा लगानी गरेका छन् । यिनै सर्वकर्मको प्रतिफल हो- को वरिष्ठ ।

प्रकाशन क्रमको छैटौं स्थान प्राप्त ‘को वरिष्ठ ?’ कृतिभित्र तिन दर्जन रचनाहरू समाविष्ट छन् । कृतिको पहिलो रचना भैरवसित भलाकुसारीदेखि अन्तिमको संस्कारसम्म हेर्दै जाँदा यस सङ्ग्रहमा सामाजिक, सांस्कृतिक, अन्धविश्वास, कुरीति, कुसंस्कार तथा कतिपय परम्पराप्रति प्रहार गरिएको पाइन्छ भने राजनैतिक क्षेत्रमाथि व्यङ्ग्य गरिएको देखिन्छ । कृतिभित्र शान्त, सौम्य, शिष्ट र शालीन शैली वरण गरिएको छ, गालीगलौज, अश्लीलता तथा अशिष्टताको छाँया पर्न दिइएको छैन ।

कृतिको पहिलो व्यङ्ग्य रचना हो- ‘भैरवसित भलाकुसारी’ । म पात्रसित नेपालीय हास्यव्यङ्ग्यका शिखर पुरुष भैरव अर्यालसित सपनामा भेट हुन्छ र सपना चेट भएपछि आलेख सम्पन्न हुन्छ । साहित्यिक क्षेत्रमा व्याप्त विसङ्गतिप्रति सुझाव दिएर कमजोरीप्रति प्रहार गरिएको छ यसमा । दोस्रो सिर्जना हो- ‘को वरिष्ठ ?’ आफूलाई वरिष्ठ भन्दै हिँड्ने र भनाउनलाई पछि नपर्नेप्रति प्रहार गरिएको छ । वरिष्ठताको पनि सीमा र आधार हुनुपर्ने अन्यथा पशुमा पनि वरिष्ठ हुने हुन्छ । मानिससित तुलनाको अवस्था आउन नहुने बताइएको छ यसमा ।

‘नमस्कार’ शीर्षक रचनाले यस संस्कारप्रति सान्दर्भिक व्यङ्ग्य गरेको छ । प्रथम पुरुष दृष्टिबिन्दुमार्फत यसमा अलिक कडै व्यङ्ग्य गरिएको छ । चौथो रचना हो- ‘जिउँदो जुत्ता सहिद’ । शीर्षक हेर्दा कतै कुनै सहिदप्रति अपमानजनक सङ्केत गर्ने व्यङ्ग्य पो हो कि ? भन्ने लाग्नु स्वाभाविक हो तर, त्यस्तो रहेनछ । कसैमाथि जुत्ता प्रहार भएको र सोही जुत्ताको उसले पूजा गर्न थाल्दा दर्शकहरू बढ्न गई आयको स्रोत बनाइएको भन्दै कथालाई अगाडि बढाइएको छ । यसमा जुत्ता आन्दोलन र जुत्ताको मुद्दा न्यायालयसम्म पुगेको रोचकतासाथ प्रस्तुत गरिएको छ । कोरोनाकालमा मानिसले बिना मास्क हिँड्न नहुने र मानिसको मृत्यु धेरै भएको बखतमा मरेर जहाँ मानिस पुग्दछन्, त्यहाँ पनि कोरोना भाइरसको डरले सताएको र त्यहाँका शासकहरूमा पनि त्रास फैलिएको भनेर व्यङ्ग्य गरिएको रचना हो- ‘कोरोना सहिद ।’

आफ्नो देशको माटोमा पसिना चुहाए यस देशको माटो उर्वर हुन्थ्यो भन्ने विचारलाई धोती लगाएर आफ्ना सन्तानलाई विदेशमा पठाउने कामना गर्नेहरूप्रति कडा व्यङ्ग्य प्रहार गरिएको रचना हो- ‘फर्केर नआऊ घर’ । अहिलेका हाम्रा अभिभावक वा घर चलाउनेहरू नजिकको आफन्तलाई विदेश पठाउन खोज्ने, विदेशमा बसेकाप्रति शान बखान गर्ने र घर फर्किँदा नाक खुम्च्याउने विसङ्गति नै यसको मूल कथ्य हो ।

‘हुन्थ्यो’ – शीर्षकको रचनामा मानिसमा अनेक कमीकमजोरी रहेको बताउँदै एउटा आँखा पछाडि भए हुन्थ्यो भनिएको छ । सबै मानिसको अनुहार फरक हुनुको औचित्य नै छैन भनिएको छ । यस्ता सबै कुरा समान हुनुपथ्र्यो भन्ने भाव यस रचनाको रहेको छ । गम्भीर प्रकृतिको विषयलाई समेटेर लेखिएको रचना हो- ‘आमाको बिलौना’ । आमालाई रगतको आवश्यकता पर्दा आमाको कल्पना विपरीत छोराहरू तर्क दिँदै तथ्य प्रस्तुत गरिएको यो रचना मार्मिक छ । यसपछिको रचना हो- ‘कामना’ । कुनै पनि चाडपर्वमा कसैले कुनै कामना गरेर केही हुँदैन भन्ने भाव यसको रहेको छ । स्वास्नीलाई बालबच्चा, परिवार, नाताकुटुम्ब र इष्टमित्रको चिन्ता हुने तर, एक लेखकलाई भने यी सबैभन्दा माथि देशको चिन्ता हुने विषयवस्तुमा आधारित रचना हो- ‘राष्ट्रिय चिन्ता’ । यस्तै, राष्ट्रवादको भावनाले भरिएको रचना हो- ‘मोदीवार्ता’ । यसमा म पात्रलाई मोदीले पनि राष्ट्रवादी मानेको बताइएको छ । यसमा हिन्दी भाषाको बाहुल्य रहेको छ । यसको शैली पनि सम्वादात्मक रहेको छ । कर्मकाण्डको अन्धविश्वास र लोभशास्त्रको चिरफार गरिएको रचना हो- ‘बैतरणी’ । फस्टाउँदै गएको सुन्दर वा सुन्दरी प्रतियोगिताप्रति असन्तुष्टि व्यक्त गरी वास्तविक सुन्दरता उसको कर्ममा हुन्छ भन्ने भाव व्यक्त गरिएको रचना हो- ‘अग्र्यानिक सुन्दरी’ ।

‘झुठको खेती’- कतिपयलाई झुटो कुरो गर्दा ग्लानी हुने तर, कतिपयको त झुठको पेसा नै हुने गरेको कुरालाई पुराण र इतिहासदेखि वर्तमानसम्मका दृष्टान्तहरूको सार्थक प्रयोग गरिएको व्यङ्थ्य रचना हो । सबैभन्दा सजिलो छ कुरा काट्नु । यसका अनेक विधि र तरिकाहरू छन् । कुरा गर्यो कुरैको दुःख विषयलाई समेटेर लेखिएको निबन्ध हो- ‘कुराको दुःख’ । ‘बुहारीको खोजी’- आख्यानात्मक र संस्मरणात्मक शैलीमा लेखिएको निबन्ध हो । यसमा छालाको रङ, मानिसको हाइटभन्दा गुण पक्षलाई महत्व दिइनुपर्ने बताइएको छ ।

छोरोको लागि बुहारी खोज्दाको रमाइलो अनुभूति प्रस्तुत भएको एउटा निबन्ध छ । गर्भदेखि नै छोरीको हत्या गर्ने भ्रुण हत्यासम्बन्धी अनेक काण्डप्रति असहमति जनाउँदै भ्रुण हत्याप्रति पूणर्तया असहमति जनाइएको व्यङ्ग्य हो- ‘गर्भबाटै अन्माई’ । यसैगरी, एक महिलाले जीवनको अन्तिम घडीतिर आफ्ना छोराहरूबाट भोग्नु परेको दुःख र पीडाको शृङ्खला मार्मिक किसिमले प्रस्तुत गरिएको आख्यानात्मक शैलीको आत्मपरक निबन्ध हो- द्रौपदी दिदी । कतिपय बच्चाको जन्म सात महिनामा हुन्छ भने कतिपयको दश महिनामा । व्यक्तिको शारीरिक तथा वंशानुगत अवस्थाले गर्दा महिलाले बच्चा जन्माउने समयमा केही तलमाथि हुन सक्छ । यही यथार्थप्रति सहानुभूति राखिएको रचना हो- ‘चित्तमा लागेको’ ।

भोक र भोजनको सबालमा मानिसलाई हेप्नु र कुकुरलाई सम्मान गर्नु दरिद्र मानवताको उपज भएको निष्कर्ष छ- ‘टमीबाबु’ । जस्तासुकैलाई पनि महान बनाइदिने जीवनी लेखनले महानलाई कमजोर मूल्याङ्कन गर्ने परिपाटीको विकास नहोओस् भन्ने भावको निबन्ध हो- ‘जीवनी’ । कतिपय सबालमा कुकुर बफादार हुने र मानिसले इमानदारी बिक्री गर्ने तर्क दिने निबन्ध हो- ‘कुकुर धर्म’ । अध्ययन नगरी वा कसैको पूरा कुरा नसुनी फेसबुकमा कमेन्ट मारिहाल्ने प्रवृत्तिको उछितो काढिएको व्यङ्ग्य हो- ‘फेसबुक कमेन्ट’ । यसमा जथाभावी कमेन्ट लेख्ने पात्रहरूको प्रवृत्तिलाई उजागर गरिएको छ । सर्वधर्मको सार एउटै मानव कल्याण भएको र सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षाले भावकलाई यथार्थबोध गराउने गर्दछ भन्ने भाव भएको निबन्ध हो- ‘प्रयोगात्मक कक्षा’ । ‘पश्चात्ताप’- आख्यानप्रधान निबन्ध हो । यसको शैली पूणर्तया कथात्मक रहेको छ । अन्त्य लघुकथाको जस्तो छ । विषयवस्तुको प्रस्तुति गम्भीर प्रकृतिले भएको छ । चुनावमा भ्रष्टाचारीहरू विजयी हुन्छन् तर, इमानदार अभिभावकले नै आफ्ना सन्तानलाई आशीर्वाद दिन हिच्किचाउने गरेको प्रसङ्गमा केन्द्रित निबन्ध हो- ‘नाफा’ ।

सधैँभरी आफूले साथ दिएर त्याग गरेको मानिसले पनि धोका दिन सक्छ भन्नु नै हो- ‘मन्द विष’ । रित्तो गाग्री वा बाटो काटेको बिरालो अपशकुन नभएर नेता यस देशको लागि अपशकुन भएको पोखिएको निबन्ध हो- ‘अपशकुन’ । आफ्नै ठाउँमा छ- यो निबन्धले थेगोवादीलाई झापड दिएको छ । आफ्नो विचार, दर्शन, सिद्धान्त र चिन्तन नहुनेले केही भन्न सकेर यही उत्तर दिन्छ- आफ्नै ठाउँमा छ । सम्वादात्मक शैलीको यो सुन्दर व्यङ्ग्य निबन्ध हो । जिउँदोमा मातापिताको सम्मान, सत्कार, रेखदेख नगर्ने तर, शेषपछि पिण्डदान गर्नेहरूप्रति पितापुर्खासमेतले अपमान अनुभव गर्ने गरेको कल्पनात्मक भावाभिव्यक्ति हो- ‘पिण्डार्पण’ । ‘स्वस्थानीमाता’- यस निबन्धमा स्वस्थानीको कथाप्रति अविश्वास प्रकट गरिएको छ । गालीपुराणको इतिवृत्ति कथात्मक शैलीमा प्रस्तुत गरिएको निबन्ध हो- ‘धार्मिक गाली’ । ‘माइतीलाई पत्र’- शीर्षकको निबन्धमा तराई मधेसमा प्रचलित बालविवाह, तिलक प्रथा र दाइजो प्रथाप्रति कडा प्रहार गरिएको छ । ‘श्राद्र्धकर्म’- भन्ने निबन्धमा शीर्षकजन्य अन्धविश्वास र कुरीतिको विरोध गरिएको छ । ‘पुर्पुरो’- दुनियाँ र देश पीडामा हुँदा पनि कतिपय मानिस किन लुट्न पाइएन भनेर दुःख मनाउ गरिरहेका हुन्छन् भन्ने यथार्थलाई सरल तरिकाले प्रस्तुत गर्ने निबन्ध हो । र, यस सङ्ग्र्रहको अन्तिम निबन्ध हो- ‘संस्कार’ । बालबालिकाहरू अभिभावकबाटै संस्कार सिक्ने गर्दछन् र बालबालिकाले संस्कारजन्य विभेद अनुभूति गर्दा रहेछन् भन्ने कुरो यसमा देखाइएको छ ।

यस निबन्ध सङ्ग्र्रहका केही सीमाहरू छन् । कतिपय निबन्धमा व्यङ्ग्यात्मकताको अभाव पाइनु, व्यङ्ग्यात्मकता लघुकथाको जस्तो हुनु, कतिपय निबन्धमा निबन्धात्मकतामाथि आख्यानात्मकता हावी हुनु, विषयवस्तुको पुनरावृत्ति हुनुजस्ता सीमाहरू रहेका छन् । निबन्ध यत्रै हुनुपर्छ भन्ने होइन तर, यस कृतिमा परेका कतिपय निबन्ध प्रचलित लघुकथा आकारका पनि रहेका छन् र प्रस्तति पनि उही अन्तिम वाक्यले झट्का दिएको शैलीमा रहेका छन् । कुनै-कुनै निबन्धमा व्यङ्ग्यभन्दा गम्भीरता पाइन्छ । व्यङ्ग्यले खोज्ने हास्यरसको कतिपय निबन्धमा सर्वथा अभाव छ । कतिपय निबन्ध पढ्दा यस्तो अनुभूति हुन्छ- औपचारिक कार्यक्रममा उभिएर पढ्दा यसले दर्शकलाई अलिकति हास्यरस प्रदान गथ्र्यो कि ? हुन त निबन्ध आफैँमा असीम विधा हो तर, कुनै-कुनै निबन्धको सीमा के हो ? भन्ने छुट्याउने आधारको खोजी प्रबुद्ध पाठकले गर्नुपर्ने हुन्छ ।

समग्रमा, आरसी रिजालको साहित्यात्राको यो कृति एउटा उपलब्धि हो । रिजालका रचनामा कठोर र आश्रयहीन कल्पनाहरू छैनन् । विकृति विसङ्गतिमा धेरै लेपन गरिएको छैन । पाठकलाई जस्ताको तस्तै देखाउने काम गरिएको यस निबन्ध सङ्ग्रहमा प्रारम्भदेखि समापनसम्म पाठकलाई जोडिइरहने अद्भूत क्षमता छ । यही ताकतले आद्योपान्त पाठकलाई बाँधिइरहन्छ । निबन्धकार रिजालको यो परिपक्व कृति नेपालीय व्यङ्ग्य साहित्यको एक सङ्ग्रहणीय कृति हो । अनुज पुस्ताको लागि उदाहरणीय पुस्तक हो । साहित्यका अनेक क्षेत्रमा निरन्तर क्रियाशील रिजालको निबन्धयात्रामा यस कृतिले थप पहिचान स्थापित गर्न मद्दत गरोस् भन्ने शुभकामना छ ।

गरुडा, राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x