पिँडालु पण्डितपिँडालुको चियोचर्चो
कोही विद्यालय जाने बच्चाले अभिभावकलाई पिरेझैँ पकेट खर्च बढोत्तरीका लागि कुर्लिरहेछन् ।

पिँडालु सकेसम्म गाउँघर डुल्दैन । अलिक परका छरछिमेकीकोमा मात्र होइन आफ्नै आँगन र करेसो जोडिएका वल्लो घर पल्लो घर जान पनि ऊ हिच्किचाउँछ । आफ्नो स्वभावभन्दा पनि मान्छेले लिने उसको कोक्क्याउने स्वादसँग उसलाई बढी डर छ । सहरका डन, उद्योगी र व्यापारीले नेता तथा अन्य महत्वपूणर् निणर्यकर्ताका निवासमा बिनाअवरोध प्रवेश पाए जस्तै गरी उसलाई पनि मान्छेका भान्सा भान्सामा पस्ने इच्छा छ । तर के गर्नू ! उसको हैसियत अरूका त कुरै छाडौँ आलुको जत्ति पनि छैन । आलुलाई त जसका भान्सामा पनि सजिलै भित्रिने र जसका जिब्रामा पनि सर्लक्क झुण्डिने सौभाग्य छ । उसलाई त्यतिसम्म पनि छैन । छुँदा चिलाउने र खाँदा कोक्क्याउने उसको विशेषताले हुनसम्म पिरोलेको छ उसलाई । शारीरिक बनावट पनि कहाँ आलुको जस्तो चिटिक्क परेको छ र उसको ? आजका एक्काइसौँ शताब्दीका आधुनिक युवतीहरू जस्तो गरी सफा सर्लक्क परेको पातलो लुगामा सजिने आलुका अगाडि हेर्दै घिनलाग्दो झुत्रेझाम्रे लुगा र शरीरभरि मान्छेका जीउमा कोठीझैँ ठडिएका झुसे डल्लाले ऊ कसैको पनि आकर्षणको केन्द्र बत्र सक्तैन । नजिक पर्यो कि एउटा न एउटा भाउँटो आइलाग्छ भनेर जनताका नजिक पर्न नचाहने नेताझै ऊबाट सकेसम्म सबै टाढै हुन चाहन्छन् । ऊसँग नजिकिएर बेफ्वाँकमा ताल न तुलको भाउँटो बेसाउन चाहने पुरुषार्थी अहिलेसम्म कोही भेटिएका छैनन् ।
देशमा लोकतन्त्र आएको कुरा पिँडालुलाई थाहा छ । व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रको विशेषता हो भत्रे पनि उसले राम्रोसँग बुझेको छ । लोकतन्त्रमा घुन लाग्यो भने व्यक्तिगत स्वतन्त्रता मान्छेका जिब्रामा झुण्डिनु बाहेक अरूथोक केही हुँदोरहेनछ भत्रे पनि उसले बुझेको छ । व्यक्तिगत स्वतन्त्रताका सवालमा भोगे भोगाइएका विगतका धेरै अनुभव र पीडा दुवै छन् ऊसँग । उतिखेर भूमिगत बनेका व्यक्तिका स्वतन्त्रताहरू अझै पनि के होला कसो होला भनेर निर्धक्कसँग बाहिरिन सकिरहेका छैनन् । यसै त पिँडालु त्यसमाथि व्यक्तिगत स्वतन्त्रता समेत बेलाबखत भूमिगत हुन थालेपछि यताउति हिँड्ने उसको चाहना र रहर अझै कुण्ठित हुन पुग्छ । अगाडि बढ्न सक्तैन । न त ऊ कसैलाई हारगुहार गर्न नै सक्छ । हार गुहार नै गरे पनि कसले सुत्रे जाबो पिँडालुका कुरा ?
अरू त त्यस्तै हो समाजमा बसेपछि यसभित्रका सामाजिक रहनसहनका कुराहरू बुझ्ने प्रबल इच्छा छ पिँडालुलाई । कानूनका व्यवस्था कत्तिको प्रभावकारी छन् जात्रे अभिलाषा छ पिँडालुमा । नेतृत्व फेरिनेबित्तिकै नारा फेर्न माहिरहरूका बानी बेहोरा र व्यवहारमा के कस्तो परिवर्तन छ जात्र बुझ्न चाहन्छ ऊ । त्यसो हुँदा खतरै मोलेर भए पनि उसको यो चाहना जतिसक्दो चाँडो पूरा गर्न लालायित छ पिँडालु । तर कोक्क्याउँदा कोक्क्याउँदै पनि पात पाए पातै खाइदिने, बोट पाए बोटै खाइदिने र फल पाए फलै लुँड्याइदिने पिँडालुलाई मान्छेका अगाडि उभिएर आफ्नो अभीष्ट पूरा गर्न भने सोचे जस्तो सजिलोचाहिँ पक्कै छैन ।
पिँडालुले खरो निणर्य गर्यो एक दिन । मनमनै कडा निष्कर्ष निकाल्यो र आफैँमा एउटा धारणा बनायो । लोकतन्त्र उसका लागि पनि हो । व्यक्तिगत स्वतन्त्रताको हकदार ऊ पनि छ, जति अरू मान्छे भनाउँदाहरू छन् । त्यसैले परेको बेहोर्ने दृढ अठोटका साथ ऊ कस्सियो । जसो गरे पनि ऊ उसलाई लागेका कुरा अब एक एक गरेर बुझ्न आतुर छ । यसका लागि कहाँ कहाँ जानुपर्ने हो ऊ जान्छ र कस कसलाई भेट्नुपर्ने हो ऊ भेट्छ ।
पानी नपरेको जेठ महिनाको कडा धूप । बाध्यताले हिँड्नै पर्ने मान्छे मात्र हिँडिरहेछन् सडकमा । होइन भने करिब करिब सुनसान छ पूरा सडक । मान्छेबाट जोगिन यही मौका छोप्ने निधो गर्छ ऊ । चिने जानेका एक जना ठूलै कार्यालयका ठूलै ओहदाका सरकारी हाकिम साहेबको कार्यालयमा जाने अठोट गर्छ र पाइला अघि बढाउँछ । फेरि रोकिन्छ । मनमनै सोच्छ र आफैँलाई प्रश्न गर्छ । त्यस्ता कन्जुस हाकिम कहाँ के जाने ? जसका घरमा जाँदा विजुलीको मिटर चढ्छ भत्रे डरले रातको अँध्यारामा समेत बत्ती बालिएको हुत्र । कठ्याङग्रिदो चिसोमा हिटर जलाइएको हुत्र, न त प्रचण्ड गर्मीमा पङ्खालाई नै काम दिइएको हुन्छ ।
फेरि छिनभरमै बदल्छ ऊ आफूलाई र अगाडि बढ्छ । असिनपसिन हुँदै पाइला चाल्छ । चिनेको मान्छे भेट्न सोधखोज गर्दै पुग्छ ऊ आफ्नो गन्तव्यमा । खुइय्य गर्दै भर्याङ उक्लन्छ । उक्लने बित्तिकै कष्टसाथ भित्तामा झुण्डिइरहेको एउटा नेमप्लेटमा आँखा पर्छ । खोजेको मान्छे यिनै हुन् । दङ्ग पर्छ ऊ र भित्र चियाउँछ । कुर्सीमा छैनन् । कार्यालयभित्रै यताउति कतै गएका छन् उनी । पिँडालु पनि यही सोच्छ र यताउति आँखा डुलाउन थाल्छ ।
लोकतन्त्र आएपछिको अवस्थामा अरूबाट काम लिन गाह्रो परिरहेछ । कसैले कसैलाई टेर्दैन । कार्यालयमा जो कोहीलाई काम लगाउनै गाह्रो छ । उसले यहाँ आउनुअघि यी र यस्तै कुराहरू सुनेको हुन्छ । तर उसलाई यतिखेर यस्तो लागिरहेको छैन । हाकिम साहेबको अनुपस्थितिमा पनि अल्छी नमानीकन बडो आज्ञाकारी भएर पङ्खाहरू एकनास घुमिरहेका छन् । कोठाभित्र बाहिरको घाम पसेकै भए पनि विजुली बत्तीहरू चारै भित्तामा झलल्ल भएर आफ्नो कर्तव्य निभाइरहेछन् । ऊ सन्तुष्ट हुन्छ । ऊ अनुमान गर्छ उसले यसअघि सुनेका सबै कुरा बाहियात हुन् ।
हाकिम साहेबलाई पर्खँदै गर्दा त्यहीँका एक महानुभावसँग आफ्ना आशङ्का बारे नहिच्किचाईकन आफ्नो जिज्ञासा राख्छ पिँडालु । ती महानुभाव पनि कसैले काम गर्दैन भत्रे कुरामा असहमति व्यक्त गर्छन् । अझ उनी थप्छन् – यी बत्ती, पङ्खा र जाडोमा बल्ने हिटर मात्र होइनन्, कार्यालयका गाडीहरू पनि आफ्नो स्वरूप र पहिचान बदलेर बिदाका दिनमा समेत आफ्नो कर्तव्य निभाइरहेका हुन्छन् । अफिसका कुर्सी, टेबुल र अरू यस्तै सामग्रीहरू पनि कहिले कसकोमा र कहिले कसकोमा गएर सेवा दिइरहेकै हुन्छन् । ती महानुभावको निष्कर्ष हुन्छ – तपाईंलाई लोकतन्त्र पचाउन नसकिरहेका कुनै प्रतिक्रियावादीले सुनाएका हुन सक्छन् यस्ता कुरा । त्यस्ताका पछि नलाग्नुस् । आँखाले देखेका कुरा मात्र सत्य हुन्छन्, अरू होइनन् ।
डेढ दुई घण्टा भइसक्यो । हाकिम साहेब अभैm आइपुगेका छैनन् । तैपनि प्रतीक्षारत छ ऊ यथावत् । समय कटाउने क्रममा भित्ताको सूचनामा आँखा पर्छ । ‘कार्यालय हाताभित्र धुम्रपान गर्न सख्त मनाही छ ।’ ‘जहीँतहीँ फोहर नफालौँ, कार्यालय हाता सफा राखौँ ।’ यी सन्देशले ऊ अझै खुसी हुन्छ । मनमनै रमाउँछ र सोच्छ – अहा ! कति राम्रो व्यवस्था । दङ्ग पर्छ ऊ ।
भर्याङमुनि मान्छे हिँडे जस्तो आवाज आउँछ । पिँडालु सतर्क हुन्छ र आवाज आएतिर चियाउँछ । तर अझै आइपुगेका छैनन् उसले खोजेका हाकिम साहेब । उभिँदै गर्दा बरू झ्यालबाहिर जस्ताका छानामा उसको आँखा पुग्छ । मङ्सिरमा धान सुकाए जस्तो बिस्कुन छ चुरोटका ठुटाहरूको । बाढी पैरोमा बगेका लास जस्ता कोही ढाडिइरहेछन् कोही सुकिरहेछन् । निकै अनौठो छ दृश्य । तिनलाई साथ दिइरहेछन् पानपराग, गुट्खा, खैनी र यस्तै अन्य बहुरूपी सुर्तीजन्य पदार्थका प्लास्टिक खोलहरूले । उसलाई यी दृश्य अनौठा लाग्दैनन् । ऊ सोच्छ – यिनले पनि अरूझैँ आज्ञाकारी भएर हाकिम साहेबहरूप्रतिको आफ्नो कर्तव्य निभाइरहेछन् । हाकिम साहेबहरूका निकटताबाट टाढिन चाहिरहेका छैनन् । अझै ‘तँ छाड्, म छाड्’ गर्दै आ-आफ्नो बफादारिता देखाउन खोज्दैछन् यिनीहरू ।
समय मध्याह्नको बाह्र नाघिसकेको छ । दुई चार जना सुकिलामुकिला ठम्ठम् आउँछन् । हाकिम साहेबका कोठामा पस्छन् । जिज्ञासु बनेर हेर्दैछ पिँडालु । आगन्तुकहरू हाजिरका पाना पल्टाउँछन् । बाह्र नाघिसक्दा पनि सदाझैँ दस बजेकै प्यास मेटाउँछ हाजिर कपी । तिनीहरूसँग कुनै प्रतिवाद गर्दैन त्यो हाजिर कपी । पिँडालु एकनास हेरेको हेर्यै हुन्छ । यो सानो बसाइमा जात्र बुझ्न खोजेका धेरै कुरा प्राप्त गरे जस्तो लाग्छ उसलाई । सुइराको चामलले पूरै बोराको चामल आकलन गरे जस्तो आकलन गर्दै कसैलाई केही नभनी सुरुक्क बाहिरिन्छ ऊ ।
बाहिरिँदै गर्दा अझै अर्को अनौठो दृश्य देख्न बाध्य हुन्छ पिँडालु । ‘सत्य सेवा सुरक्षणम्’ र यस्तै अरू के के लेखेको साइन बोर्डको छानामुनि मान्छेहरूको भीड छ । के रहेछ ? जात्रे उत्कण्ठा पलाउँछ उसमा । पाइला बढाउँछ त्यतैतिर । भीडमा उपस्थित मान्छेहरू भन्दै थिए – अरूलाई धम्क्याउँदै लुट्पाट कार्यमा संलग्न चार सुरक्षाकर्मीलाई जनताले रङ्गेहात पक्रेर यहाँ बुझाएका छन् । नाबालिकामाथि बलात्कार गर्ने हवल्दार पनि तीन दिनदेखि यहीँ नै छ । हेरौँ, यिनलाई के कारवाही हुँदोरहेछ । होइन भने यिनलाई के गर्नुपर्छ हामीले पनि जानेका छौँ । त्यसै कहाँ छाड्छौँ र हामी पनि !
नहिँड्नु हिँडिसकेपछि एक पटक देशका कानून निर्माताहरूको बस्तीमा छिर्न मन लाग्छ पिँडालुलाई । त्यहाँ त पक्कै यस्ता असन्तुष्टिका अनुभूतिहरू सँगाल्नु पर्दैन भत्रे विश्वास हुन्छ उसमा । पाइला अघि बढाउँछ साविकझैँ । सजिलो रहेनछ उनीहरू कहाँ पुग्न । तर पनि लागेको काममा लागिरहन्छ पिँडालु । अनेकौँ सास्ती र झमेला बेहोरेर पनि ऊ पुगिछाड्छ आफूले चिताएको गन्तव्यमा ।
चाहिँदोभन्दा बढी तडकभडक र रवाफ । किरा फट्याङ्ग्राभैmँ यताउता सल्याङबल्याङ । चित्त स्थिर नभएझैँ बिना योजना भित्र बाहिर नियमित ओहोरदोहोर । मिठा मिठा मुस्कान र कानेखुसी आदि दृश्यले पिँडालुलाई कानून निर्माताहरू पहिचान गर्न समय लाग्दैन । क्षणभरमै सबै अवलोकन गर्न भ्याउँछ ऊ । कसैले नचिनेका भएर पनि उसलाई सजिलो भएको छ घटनाक्रम अध्ययन गर्न । जनतालाई त निर्वाचनका समयमा अनुमानका भरमा चिन्ने तिनले जनताको पनि तरकारी पिँडालुलाई कसरी चिन्नू ? किन चिन्नू ?
यथार्थ यस्तो भए पनि यताउति पल्याकपुलुक आँखा घुमाउन छाड्दैन पिँडालु । कहीँ कतै नदेखेका र नसोचेका दृश्य देख्न बाध्य भइरहन्छ ऊ । कोही दायाँ बायाँ नहेरी भकाभक बासी भात भुक्याउँदै छन् त कोही सामान्य जलपान र चिया चमेनामा रमाउँदैछन् । यी दृश्यहरू हेर्दा लाग्छ – ढुक्क छन् उनीहरू । निश्चिन्त छन् । चिन्ता कसैको छैन तिनलाई आपूm र आफ्ना बाहेकको । निश्चिन्त नहुनु पनि किन ? हुँदो न खाँदो अनेकौँ नाता लगाएर तिनलाई पिरोल्ने जनताको पहुँच छैन त्यहाँ । अलिकति पनि कसैको गुनासो छैन त्यहाँ । बर्खे रोपाइँ सकेर नुहाएका गोरुझैँ न्वागीसम्म अब केही काम छैन जस्तो गरी सुस्ताइरहेझैँ लाग्छन् तिनीहरू । र त, कोही लिटो खाएर लुटुक्क निदाएका बालकझैँ फ्वाँ फ्वाँ निदाइरहेछन् बसेकै ठाउँमा । अगाडि कोही छैनन् जस्तो गरी सुरसाले झैँ मुख बाइरहेछन् लामो लामो हाइ काढ्दै । कोही विद्यालय जाने बच्चाले अभिभावकलाई पिरेझैँ पकेट खर्च बढोत्तरीका लागि कुर्लिरहेछन् ।
अनौठो लाग्छ पिँडालुलाई । तैपनि पलेटी मारेर हेरिरहेछ ऊ यी सब दृश्यहरू । हेर्दा रमाइला तर मुटु छुने पेचिला दृश्यहरू । मन हुनेहरूलाई रूवाउने कारूणिक दृश्यहरू । कति हेर्ने यी उराठलाग्दा दृश्य । हेर्दा हेर्दा वाक्क हुन्छ ऊ । केही बोलूँ भने मान्छेमा जस्तो बोल्ने क्षमता छैन उसमा । नबोलूँ भने कसरी बुझाउने तिनीहरूलाई ? कसरी सुनाउने अरूहरूलाई ? सोच्तासोच्तै ऊ त्यहीँ टोलाउँछ र किचकन्नीझैँ एक्कासि अलप हुन्छ बसेकै ठाउँमा ।
(युवामञ्च, २०७१ चैत)
Subscribe
Login
0 Comments
Oldest







































