सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुनाव आयो आन्द्रा तन्काउँदै गर्नुहोस्

ठूला-ठूला घोषणापत्रमा गर्नुपर्ने योजनाहरू देखाएर उनीहरू भेडालाई उल्लु बनाउने जादु रचिरहेका छन् ।

Nepal Telecom ad

‘लौ न हजुर लौ न हजुर आयो निर्वाचन, हाम्रो गाउँ नगरमा आयो निर्वाचन’ यो मैले भनेको होइन । यो नेपाल टेलिकमले बढी बोलेको हो । एकपटक, दुई पटक भनेको भए म यसलाई सूचना पनि मान्न सक्थेँ । तर, हरेक पटक फोन लगाउँदा ऊ यसरी नै मेरो कानलाई दोकान मानेर रोएपछि मलाई मेरा कान बेच्दिउँ-बेच्दिउँ लाग्छ । ए ! साँच्ची कोही छ किन्ने ? या चुनाव नसकिउन्जेल भाडामा लैजाने ?

चुनाव आएकै हो । ठिक हो आन्द्रा तन्काउँदै गर्नुहोस् । दाँत तिखार्दै गर्नुहोस् । कलेजो कनाउँदै गर्नुहोस् । मासु भात ! टन्न रक्सी ! छोयला (सुकुटी, तारेको-झानेको, चिउरा मासु, भुटन पाङ्ग्रा । ओहो मुखमा पानी आयो ? ठिक हो, चुनावपछि आँखामा आउँछ । खसी, कुखुरा, राँगा, बङ्गुर के-के हो, के-के बली चढ्दै छन् । कसाइरुपी नेताद्वारा भगवानरुपी जनताका लागि । ल ! भगवान्हरू आ-आफ्नो कसाइका अघिपछि लागेर भ्या गर्नुहोस् । अलिक कस्सिएर ! भ्या !

मलाई थाह छैन, दशैँलाई कनि ठूलो चाड मानिन्छ । खास चाड त यो हो । गढीमाई भन्दा धेरै बली त अहिले चढाइन्छ । दारु पनि विदेशी र स्वदेशी छानीछानी । ह्वीस्की, रम, भोड्का, जीन अनेक छ है । कलेजो त तयार छ नि ?

‘भोट केमा ? हिमालमा छ’ नभन्नु होला । पार्टीको कुरा गरेको । पार्टी भनेको रक्सी-मासुको होइन हौ, हत्तेरीका ! काकाको सालीको ससुराको झट्केलो ज्वाइँको पड्केको छोराको साथीको आमाको माइतीको दाइको ससुरालीको भाइको सम्धी उठ्दैछन् है चुनावमा । म त ‘मतदान’ तिनैलाई दिने हो भनेर सोचिसक्नु भयो होला । आफ्नैलाई त हो जिताउने । ‘नराम्रो चिताउने राम्रैले हो बिताउने’ भन्ने त गीत पनि बनिसकेको छ । राम्रोलाई त दिने कुरा पनि भएन नि । फेरि तिनै रुखको छहारीमा बसुँबसुँ लागेको होला । त्यही सूर्यलाई अर्घ दिऊँ दिऊँ लागेको होला । उही हलोले जोतूँ जोतूँ लागेको होला । तिनै गाईलाई घाँस हालूँ हालूँ लागेको होला । गजब हो । अलिक कस्सिएर ! भ्या‘ गर्नुहोस् ।

देशले रगत मागे जेहेनतेहेन बन्दोबस्त गर्न सकिएला तर भोट ? अहँ ! कुनै पनि हालतमा त्यसैलाई दिने हो । जो चिनेको छ ।

राम्रोलाई जिताए त उधुम भइहाल्छ नि । बाटो बन्लान्, धुलो खान कता जानु ? अस्पताल बन्ला, या बनेका अस्पतालमा डाक्टर आउलान् । उपचार पाइएला, गाह्रो हुन्छ । अस्पताल भएन भन्ने गुनासो सकिएला । नयाँ गुनासो कता खोज्नु ? प्राइभेट अस्पताललाई जग्गा बुझाउन नपाइएला । रोजगारी पाइएला, परदेश कसरी जानु ? सस्तोमा शिक्षा पाइएला, बिचरा बोर्डिङ खोलेकाहरूको कति बिचल्ली हुन्छ । सचेत नागरिक भएपछि सोच्न परेन । कारखाना खुल्लान्, समाज सम्वृद्ध होला । चोर-लुटेराहरूले के खाने ? प्रतिव्यक्ति ऋण कसरी बढाउने ?

हाम्रो भए पो एक दुई हजार ख्वाएपछि नागरकिता आउँछ । सित्तैमा हुने काम, आठदश हजारमै गरिदिन्छ । पान र गुट्खा खाएर जहाँ मनलाग्छ त्यही थुक्न पाइन्छ । बाटो र खोलामा फोहोर मिल्क्याउन पाइन्छ । सार्वजनिक शौचालयमा अरू छिर्नै नमिल्ने बनाउन सकिन्छ । अलिअलि ठग्न पाइन्छ, लुट्न पाइन्छ, अलिअलि गुण्डागर्दी गर्न पाइन्छ । पाप लाग्ला है अरूलाई जिताउँदा । पितृले सराप्लान्, कुल देउता रिसाएर र फुल्लिएर ‘फुल देउता’ होलान् । ग्रह बिच्किएर चिनाबाट निस्किएर हिनामिना गर्लान् । बेलैमा होस् पुर्‍याऔँ । दारुको ह्यांगमा हाम्रोलाई दिनुपर्ने ठाउँमा राम्रोलाई दिइएला नि फेरि ।

टाउको मुडुलो बनाएर, चार पाटा कसेर, कालो मोसो दलेर, गधामा बसाएर सोह्र गाउँ कटाउनु पर्ने हाम्रो बुद्धिमा पनि भ्रष्टाचार भएको छ सायद । त्यसैले हाम्रो बुद्धि खोजिखोजी तिनै अनुहारको मायामा पर्छ । पिरतीमा फस्छ । जुन अनुहार ‘आची’मा नुहाएको छ । ठ्याक्कै जनता र प्रतनिधि सुहाएको छ ।

ठूला-ठूला घोषणापत्रमा गर्नुपर्ने योजनाहरू देखाएर उनीहरू भेडालाई उल्लु बनाउने जादु रचिरहेका छन् । हामीले जानेको एउटा काम हामी गरिरहेका छौँ, थपडी बजाइरहेका छौँ । मुर्गा भात र ‘जिन्दा-स्वाद’ भनिरहेका छौँ । ए माफ गर्नुहोला, ‘मुर्दावाद र जिन्दावाद’ भनिरहेका छौँ । ए अँ, घोषणापत्रको कुरा । खसीको सातपत्र खाएपछि त्यो भत्तैभत्ताले सिँगारिएको घोषणापत्र भुले भैगो नि ! हरेक चुनावअघि आउने र चुनावपछि हराउने यस्ता घोषणापत्रले हाम्रो चुनावलाई चुना लगाएर कुरीकुरी गरिरहेका छन् । प्रत्येक चुनावअघि घोषणापत्रको मोहनीमा परेर हामी धुरन्धर गायक बनिदिन्छौँ । त्यसको गुणगान गाइदिन्छौँ । जुन कहिल्यै भएन । प्रत्येक पटक तिनैको र त्यसैको आस गर्ने ‘आशाराम’ हो हामी । हामी त्यही बाठो काग हौँ जो मुखमा भएको मासुको चोक्टोलाई बर्सिएर फ्याउरोको गीत गाउँछौँ ।

‘लुट्न सके लुट, कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन, फलानो देशमै हो छुट’ । फलानो देश कुन हो आफैँ बुझ्नुहोला । जबजब यस्ता गीत सुन्छौँ, राँके भूतले आक्रमण गरे जसरी हामी भित्र एक किसिमको राष्ट्रभक्ति बल्छ । हामी सामाजिक सञ्जालभरि राष्ट्रभक्ति वाक्छौँ र छेर्छौ र पाद्छौँ । प्रणालीलाई माझी औँला देखाएर हिरो पनि बन्न खोज्छौँ । तर मतदान केन्द्रमा पुगेपछि हामीभित्रबाट स्वाट्ट राष्ट्रभक्ति बाहिर निस्किएर भाग्छ । आँखाअघि तिनै धोकेबाजका कारुणिक अनुहार नाच्न थाल्छन् । ‘धोका दिनेलाई के भनौँ र खोइ, तिमी हाँस भो मै बाँचम्ला रोइ’ गाउँदै हात अघि बढ्छन्-
र, ढ्याप्प !
विकासको ढोका- ढ्याप्प !
सुशासन- ढ्याप्प !
समृद्धि- ढ्याप्प !
शिक्षा- ढ्याप्प !
स्वास्थ्य- ढ्याप्प !
ढ्याप्प ! ढ्याप्प- ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प ! ढ्याप्प- ढ्याप्प – ढ्याप्प र ढ्याप्प ।

‘हिमाल दर्पण’ अनलाइन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
हन्ते भुँडी

हन्ते भुँडी

सुरज पराजुली
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई