सुरज पराजुलीहन्ते भुँडी
एकैछिन ल ! मेरा आन्द्राहरू बटारेर ऊ आन्दोलन गर्दैछ म उसको भोकको माग पुरा गर्छु मलाई थाह छ, उसले एकदिन खर्लप्पै निल्नेछ यो पृथ्वी पनि ।

विन्ध्याचल पहाड झैँ पुटुक्क उठेर
छोपिएको छ कि छैन लाज, ऊ जान्न दिँदैन
लाउँ-लाउँ खाउँ-खाउँकै उमेरमा
आफ्नै मित्रबाट काकाको उपमा भिराउँछ
कुनै कोठामा पस्दा पहिला उसैलाई पस्नुपर्छ
मभन्दा अघि सबैका आँखा, उसैमा धस्नुपर्छ
अलिकति हिँड्यो कि थाक्छ,
ऊ थाक्छ, म थचक्क बस्नुपर्छ
मासु देख्यो कि र्याल चुहाउँछ
खान्न-खान्न भन्दै तिन थाल बजाउन लगाउँछ
अझ औंला चाट्नु भन्छ
बियर उसैलाई चाहिने,
उड्नेदेखि गुड्ने सबै उसका दाहिने
कसैले खाडीको खाप्साबाट आएको उपहार स्वरुप
उसलाई बोकेर आउँछन्
सरकारी फाइलको पुल, बाटो चपाएर अघाउँछ
बाघका छाला, गैंडाका खाग, हात्तिका दाह्रा
खोला, पहाड, रुख, प्रकृति
पाए सबै चपाउँछ
ब्लडप्रेसरलाई रगतसँग मित लगाइदिन्छ
कोलस्ट्रोललाई सिन्दुर हालेर भित्र्याउँछ
सुगरलाई प्रेमीका सम्झन्छ,
बडो गजबको पिरती गाँस्छ
दुनियाले जिस्क्याएपछि
रिस फेर्न
बिहानै उठाएर जगिङमा कुदाउँछ
जिमखाना लगेर कसरत गराउँछ
साउना बेल्ट किन्न लगाउँछ, घरि आयुर्वेदिक औषधी खुवाउँछ
घरि जुम्बा नाच नचाउँछ
आफैंलाई थिचेर मारूला झैँ गर्छ
दुई सिँढि उक्लिन हुँदैन, सास रोक्न खोज्छ
सार्वजनिक यातायातमा
दुई जनाको सिटमा ठसमस्स भएर बस्छ
पल्टिरहुँ केहि नगरूँ सकभर भन्छ
पसिनादेखि आतिन्छ, डराउँछ
धेरै मिहिनेत नगर भन्दै कराउँछ
बेलुन झैँ फुल्ने खाद्य पदार्थको भण्डार गृहलाई
मैले थेग्न पर्ने
गोलो-गोलो बनाई मलाई, आफू सुन्दर बन्न खोज्छ
एकैछिन ल ! मेरा आन्द्राहरू बटारेर ऊ आन्दोलन गर्दैछ
म उसको भोकको माग पुरा गर्छु
मलाई थाह छ, उसले एकदिन खर्लप्पै निल्नेछ यो पृथ्वी पनि ।
०००
Subscribe
Login
0 Comments
Oldest






































