साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीजीको बसयात्रा

भएछ के भने बसयात्रा लेखिएको विज्ञप्ति निस्कनुपर्नेमा शवयात्रा चाहिँ लेखिन गएछ क्रान्तिकारी व्यवस्थाका महान् क्रान्तिकारी नेता- उपर क्रान्तिकारी बनेर मन्त्रीको आसनमा पुगेका तिनका पनि थिए को को थिए कुन्नि ।

Nepal Telecom ad

आखिर मनै न हो ! त्यही पनि थरीथरीका अनेक थरी मान्छेको । ठूलाको ठूलै मन । सानाको सानै मन । नेताको नेतामन । मन्त्रीको मन्त्रीमन। भेडाको भेडामन । बाख्राको बाख्रा मन ।

यो देशमा नेता भएपछि मन्त्री नहुने कुरै भएन । मन कालो होस् कि उज्यालो होस् -घुमीफिरी आइहाल्दो रहेछ एक दिन पालो । हुन त उज्यालो मन र मन्त्रीको मिल्ती यदाकदा मात्र हुने रहेछ यो देशमा । सायद बितेको कुनै एक बर्ष उज्यालो मनका मन्त्री भेटेर नेपाली रमाएका थिए । किन रे भने तिनेरूको लोडसेडिङसँग भेटघाट नै भएन रे ! राहूसँग केतुको भेटै नभएको कस्तो समय परेछ त्यो ? नेपाली बबुराहरूको शिरमाथि सधैं राहू बनेर उदाउने मन्त्री नामक प्राणी र बाचुञ्जेलको लागि छैटीको लेखान्त बनेर शिरमाथि रिङ्दै घुम्दै गर्ने कालो केतुको मेलमिलापले नेपाली धर्ती सधैँ सुशोभित भइआएकै थियो । तर त्यही वर्षमात्र कसरी भएन ? हो पुरानो आहानै छ- चन्द्रमासँग भेट हुँदा सबै स्थलचर प्राणीहरूलाई रमाइलो मात्र हुन्छ रे ! तर चोरहरूका लागि त्यही चन्द्रमा शत्रु मानिन्छ रे । किन भने उहिले चोरहरू राती मात्रै चोर्न हिँड्थे अरे !! चोर्न हिँडाउने पनि त मनै न हो- त्यही पनि मान्छेको ।

त कताको कुरो कहाँ पो पुग्न लागेजस्तो छ । लोडसेडिङको अँध्यारो मारमा परिसकेको बेला खोजी गर्दैमा सुकिलो मन कता पो भेट्ने हो र ? मैलो मन हुनेले देश, काल, परिस्थितिसँग भैलो खेलेर आफ्नो औकात अनुसार खेलो गर्न र थैलो भर्नमात्रै खोज्दो रहेछ। नदीमा माछा होस् कि नहोस् जलारीले दुवाली थुन्ने काम मात्रै रोज्दो रहेछ । अघोरीको अवतार लिएर त माथि पदार्पण गर्ने राहूले पनि जतजताबाट दलालीयस्तुर, कमिसनरूपी घाँस, कुँडो सिस्नो वा सिनो जे फेला पर्छ त्यही खान्छु भनेर एकोतार बिहान युक्तो रहेछ । अनि कुराले चै घर्ती नै उचालेको भ्रम छर्दै एक्काइसौँ शताब्दीको विकास यात्रामा छलाङ्ग मार्ने गुड्डी हाँक्ने ठूलठूला बेलुन फुक्तो रहेछ । मनचिन्ते आकाशमा अरुका मन पनि माथिमाथि उहाउँदो रहेछ। सधै ख्यालख्याल मै बराल्दो रहेछ ।

त. मनै न हो ! त्यही पनि बिजाइँ बिठ्याइँको खरबारीमा पलाएको । कुनै दुईखुट्टे भने सम्राट्को यस्तै खाले मनकारी मन्त्री उपाधिधारी नेता नामक पदार्थज्यूलाई एक दिन झन्डा, डन्डा र पण्डा समेत सिटमुनि खुसुक्क लुकाएर काठमाण्डू सहरमा बसयात्रा गर्ने लहड चलेछ । लहड पनि मनकै एउटा क्रिया न हो । तर्कशास्त्रको मौलिक परिभाषामा मनको सामान्य व्यापार । मूले चलिदिन्छ नाहीं कहिलेकाहीँ । त्यसमा पनि मन्त्री हुनु र बसयात्रा गर्नु यो धर्तीमा एकैसाथ विरलै संभव देखिने कुरा हो । नेपाल नामकी धर्ती माताले गणतन्त्र नाउँको गलगाँणतन्त्र भित्र्याएपछि मात्रै पनि धेरै बच्चा बनेका लाउकेहरू व्यहोरिन् । धेरैका थानाथरा धोइपखाली गरिन् । धेरैको फोहोर मैला सह्यारिन् । तिनै फोहोर मैलाका थैलाहरू मन्त्रीको मुकुट, जामा, पगरी भिरेर कौचमाथि चढेको पनि देखिन् । तर बसयात्रा गरेर सर्वसाधारण नागरिकको दुःख, कष्ट, मर्का बुझ्दै हिँड्ने मन्त्री नामक बिजुवा देख्न भने आजसम्म पाएकी थिइनन् ।

तब यो खबर जब के पाएकी थिइन्, उनी पनि अचम्म त पर्ने नै भइन् । अनि त के चाहियो ? आफू पनि उदेक लाग्दो एक खाले सपूतकी महतारी बन्न पाएकोमा खुशीले गदगद् भइछन् । अनि शिरदेखि पाउसम्म हर्षाका पथका छुटेर निक्कै पो सकिछन् ।

त्यही न हो नेताको मन । बनकाली निवासी बजरङ्गवतीको भन्दा के कम ? कहिले के गरौ, कहिले कता जाउँ त हुने नै भयो । त्यसमाथि मन्त्री नै बनिसकेको मनले भ्रामरीको दशाले गाँजे के छटपट गर्नुलाई कपटमात्रै भन्न पनि मिल्दैन । झटपट भ्याउने जति भ्याएर साटसुट बाटो तताउनु पनि एउटा भद्र व्यवहार मानिदै आएको छ । रिसोर्ट भ्रमणलाई यसको सटकट उदाहरण मान्दा खासै फरक पो के पर्ला र ?

त कुनै एक दिन यस्तै खाले एक जना सपूत सन्तानकी महतारी बनिछन् नेपाल आमा । याने मन्त्रीजीको बसयात्रा चल्ने भएछ ।

मन्त्रीक्वाटर, सिंहदरवार मात्रै कति ओहोरदोहोर गरी रहनु ? कहिलेकहीँ त यसो सहरका सडक, बस्ती, बजार हुँदो पनि घुमौ । फुटपाथका पसल हेरौं । लूटपाथको दरभाउ बुझौं । सधै कति विशिष्ट बन्नु ? कहिलेकहीँ त साधारण नागरिकले भ्रमण गर्ने माइक्रोबस चढेर शिष्टमात्रै बनेर पनि डुलौं । अभावको पेट्रोल भर्नेको लाइन हेरौं । भाव याने भएका चीजबीजको भाउ बढाएको हेरौ । अनि त्यसको विरोध गर्न तम्सिनेको पाइन हेरौं । विद्यार्थीका चक्रदहन हेरौं । ट्राफिक जाम हेरौं । सुकुम्वासीका डढेका घरबस्ती र ठाम हेरौं । फूटपाथे व्यापारीको लाइन हेरौं । सडक विस्तारमा उठिबास भएर बिलौना गर्नेहरूको पाइन हेरौं । असली जनताको समस्या स्थलगत बुझौं ।

यस्तै यस्तै रङ्गीचङ्गी कार्यनीति बनाएर मन्त्रीजीको ऐतिहासिक बसयात्रा एकाएक सुरू भएछ । झट्ट सुन्दा कुरो नौलै रहेछ । तर घोरिएर विचार गर्दा एकदमै जायज पनि थियो । सुरू हुने ठाउँ पनि त्यही पवित्र मन्त्री निवास परेछ- रकेट प्रक्षेपण गर्दै आएको अमेरिकी राज्य टेक्सासको ह्युष्टन इलाका जस्तो ।

मन्त्रीजीको इच्छा मुताबिक निर्धारित दिनको एक दिन अगाडि बसयात्रा— कार्यक्रमकाबारे प्रेसविज्ञप्ति निकाल्न पीएलाई मर्जी हुँदो भएछ । रातभरी सेता व्यापारी, विकासभक्त ठेकदार अनि हतियार र मतियारका दलाल दच्काएर अँगेरी पानी दन्काएका निजी सचिवजी न जो परे ? एकाबिहानै ह्याङ्ग ओभरले सताएको हडवडीमा गडबडीपूणर् ढङ्गले पेपर तयार जो गरेछन् । परिणामस्वरूप स्वयं मन्त्रीजीकै निजी सचिवालयबाट प्रेस विज्ञप्ति यस प्रकार जारी हुँदो भएछ-

“फलाना मन्त्रीज्यूको शवयात्रा आज दिनभरी चल्ने छ । युएन पार्कको सुकुम्वासी बस्तीबाट सुरू भएको सो यात्रा कलङ्गी, बालाजु, महाराजगन्ज, चाबेल हुँदै बेलुकी साँझमा पशुपतिमा विर्सजन हुनेछ ।”

मन्त्रीजीका तीन दर्जन सल्लाहकार, हाफ दर्जन स्वकीय सचिव, सहायक, विशेष परामर्शदाता समेत भएर तयार पारिएको कार्यनीति थियो त्यो बसयात्रा योजनामा कुनै कमजोरी र ग्याप खोज्दा पनि भेटिन्नथ्यो । तर सौभाग्यले पीए याने स्वकीय सचिव नै परिदिनुभएछ अकवरी ।

भएछ के भने बसयात्रा लेखिएको विज्ञप्ति निस्कनुपर्नेमा शवयात्रा चाहिँ लेखिन गएछ क्रान्तिकारी व्यवस्थाका महान् क्रान्तिकारी नेता- उपर क्रान्तिकारी बनेर मन्त्रीको आसनमा पुगेका तिनका पनि पिए को को थिए कुन्नि । चाहिँदो योग्यताले भरपूर साला, भाञ्जा, भदा, भतिजा जो जो पनि हुने नै भए अनि भए अनुसार नै सौब्बिका महान् विचारक, बुद्धिजीवी, मुस्तन्ड याने सर्वशक्तिमान् पनि त हुने नै भए । पीएज्यूको मतिमा एकै छिन बसयात्रा शब्दको वणर्विन्यासलाई जिस्क्याउने लहर चलिदिएछ । अर्थात् रात्रीकालीन ओक्तोपीडित पीए महाशयको मनमा एकै छिनको लागि वणर्विपर्याससँग खेल्न रूचाउने छुल्याहा नारद घुस्यो त के बित्याँस पर्‍यो ? यति जाबो कुरालाई लिएर कसले टाउको दुखाइरहने । किन टाउको दुखाइ रहने ?

विज्ञप्तिको नाउमा ‘वि समेत धराधाममा झर्न नपाउँदै सञ्चारक्षेत्र एकाएक शोकाकुल रूपले सकिय बन्यो । रेडियो, एफएम, टिभि, पत्रपत्रिका समेत सबैले निजी सचिवालयको विज्ञप्तिमाथि नयाँ रङ्गरोगनका बुट्टा, फुँदा थप गरे । गर्दै रहे । समाचारजन्य मौलिकताको दोहन गरे । गरी नै रहे । त्यो दिन यस्तै खाले एक जना सपूत सन्तानकी महतारी बनिछन् नेपाल आमा । याने मन्त्रीजीको बसयात्रा चल्ने भएछ ।

खवरको भव्यता र महत्ताको बखान तँछाड मछाड गर्दै छाँटे पत्रिकाहरूले । कतिले असंभव ख़बर भन्दै आश्चर्यका भाका झिके । कतिले खबरको भव्यतालाई भावुक बनेर बढाइ चढाइ अनुजा बनिया बहिनीकै शैलीमा प्रचारप्रसारका पखेटा फिँजाए । भनौ पत्रकारिताको सत्धर्म पालन गरे । तथ्यपरकता र सत्यनिष्ठाको बिैंडो थामे । उपचारको लागि भनेर कहिल्यै विदेश गएको थाहा नपाउँदै एकाएक परमधाम भएको खवर आउँदा उहाँको स्वच्छ छविको बुताले भेटेसम्म राग अलापे । कुनै खाले दुर्घटना वा बिमार परेको थाहा नपाउँदै शवयात्राको खबर आउनुलाई छापाको मेसिन बिग्रिएकोले चल्न गएको हल्ला त होइन भन्ने आशङ्का गरेथे, कतिले भने ।

खबर सुन्दै युएन पार्कको सुकुम्वासीबस्तीमा अर्कै खालको शोककों कुहिरोले ढाकेछ । मन्त्रीजीको शवयात्रा यसै बस्तीबाट किन हुन लागिरहेछ ? यही प्रश्नले खुलदुलीको बाली लगायो । बाग्मती र मनहराकिनारबाट लखेट्छु भनेर जिन्दगीभर खेदो गर्ने मन्त्रीजी इहलीला समाप्त गरेपछि पनि यही बाटो आउनुमा के रहस्य हुन सक्छ ? कि मरेपछि पनि हामीलाई लखेट्ने भनेर आउने हुन् ती ? राम्रोसँग शववाहन गुडाउने ठाउँ पनि छैन । बाँचुञ्जेल खेदो गरे पनि अब माफी देऊ भनीमाग्न आउने पो हुन् कि ? हाम्रा छाप्रामा, टहरामाथि डोजर गुडाउँदै र आगो झोस्तै थिए हिजोसम्म । आज आफ्नै शवदाह गरेर भत्केको बस्तीको माटैसुद्ध दग्ध पार्ने इरादाले आउन लागेका त होइनन् ? यस्तै यस्तै अनेक थरी तर्क र भ्रमको भुमरीमा रन्फनिएछन् बिचराहरू केही बेर त ।

तर गइसकेपछि अब किन खेदो गर्नु ? बाचुञ्जेल उनले जति गुन, बैगुन लगाएका थिए -निधनपछि पनि त्यत्ति नै श्रद्धा र मायाका फूल चढाइदिने भएछन् तिनीहरूले । निर्दोष प्राणीहरूको अन्तरङ्ग आवाज सधैं छलछामविहीन मधुरो हुन्छ रे । सुकुम्बासी टोलको फूलमालासहितको स्वागततयारी देख्ता यस्तै भान हुन्थ्यो । भइरहेथ्यो ।

उता क्रान्तिकारी सरकारले हालै चलाएको डोजर -पेलपालबस्तीमा अर्कै सलमत, सल्ला र हल्ला चल्दै थियो । मन्त्रीजीको शवयात्रा यही बाटो हुँदैछ भन्ने सुनेर उनीहरू पनि असमञ्जसमा परे । आजै जानु थियो त हिजोसम्म किन यत्रो विध्वंश- बखेडा गर्नु थियो ? सयौ बर्ष अघिदेखिको थातवात र श्रीसम्पत्तिको उपभोग र गुजारा गरी बसेका बिचरा जनता चरीलाई बेघरवार बनाएर किन कंसलीला मञ्चन गर्नुपरेको ? बाटो नभएर मान्छे बेघरवार त बन्दैन । गुँड नभए चरीले कहाँ गुजारा चलाउला ? तर बैगुनीलाई गुनले मार्नु भन्छन् । बिचरो शवले के बिगारेथ्यो र हाम्रो ? जाउँ भाइ हो, गरौं फूलमालाले दिवङ्गत कायाको पूजादर्शन ।

उता पशुपतिवरपरको पोलपाल टोलका बासिन्दा अर्कै प्रकारको शोकमा मग्न थिए । कतै जायजेथा, थातवातको थितिठेगान नहुँदा बाबा पशुपतिको छेउछाउ आएर ओतछाहारी रोजेका थियो । यसो दुईचार पैसाको बेपार गरेर पेट पाल्ने मेसो मिलाएका थियौ । एकाएक आएर रातको बेला छाप्राँ जति सबैमा आतङ्ककारी- शैलीमा राज्यले आगो लगाइदिएर बेवारिस बेसहारा बनाइदिएको हिजो मात्रै हो । तिनै आगो झोस्ने महानायक यो मायावी संसार छोडेर आजै आफ्नै कायामाथि आगो झोस्न पशुपति आउँदैछन् भन्ने सुन्दा आश्चर्यका पनि हाँगाविगा पलाएर छुट्टि । डढुवा टोलबासीहरूको सल्ला भयो- हाम्रो बास डढाएर बनीबास गराउने पूजनीय महानायकलाई श्रीखण्ड समिधाको जोरजाम गरेर सुगन्धित धुँवाले युक्त अग्निदहनसाथ बिदा गर्नु कति राम्रो हाला ? दिवङ्गत आत्मालाई चिर शान्ति मिलोस् !

तर यता सहरको निरीक्षण गर्दै मन्त्रीजीको बसयात्रा चल्दो भएछ । उनी ठाउँठाउँमा पुग्दा सहरबासी मानिसहरूले भने शवयात्राको भर्मनमा परेर अन्तिम बिदाइको तयारी गरेछन् । यो थाहा पाएपछि मन्त्रीजी स्वयं जिल्लाराम पर्दा भयाछन् । बस्ती डढेका सुकुम्वासी पनि भूतप्रेतको दिवायात्रा चलेछ भन्ने भयले भागाभाग भएका थिए रे ! यो पनि छिपाको हल्ला हो कि बिपाको सोधभर्ना । या अरू कुनै खाले इन्द्रजाल या महाजाल मात्रै हो ! – उनै मन्त्रीजी जानुन् । बश ।

०००
‘विमोचनको बिगबिगी’- (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x