सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भिखमङ्गा

मागेर मोज गर्ने जमानामा मेहनत गरेर महल ठड्याउँछु भन्नु त ‘बालकले सूर्य टिपेर खेलाउँछु’ भन्नु जस्तै हो ।

Nepal Telecom ad

भिखारी भन्नोस् या माग्ने भन्नोस्, मगन्ते भन्नोस् या भिखमङ्गा यी सबै चीरपरिचित महामनुवाहरू हुन् । ढोका अगाडि ङिच्च दाँत देखाउँदै हात पसारेर ‘आलोक’ गरेपछि काम सकिने सबभन्दा सजिलो पेशा अपनाउने चलाख अल्छीदासहरूलाई नचिन्ने को होला ? ‘जोगीको घरमा सन्यासी पाहुना’ भने झैँ स्वदेशी मात्रै होइन विदेशी भिखमङ्गा पनि मौजुदा छन् यहाँ ।

त्यसो त अरुकुरामा पुछारबाट पहिला हुने हामीहरू माग्ने कुरामा सिरानबाटै पहिला छौँ । काम गर्नको अल्छीले जोगी हुने जेहेन्दारहरू प्नि थुप्रै छन् यहाँ । जोगी भएको भोलिपल्ट भोकै रह्यो भनिन्थ्यो तर भिख मागेर महल ठड्याउदै आफूलाई महाजन बनाउने भिखमङ्गा जोगीहरू प्नि पाइन्छन् यहाँ खोजी पस्ने हो भने । भीख मागेर छोराको बिहे मात्र होइन नातिको न्वारन र पनातिको पास्नी गर्न थालिएको छ आज भोलि । सियो चोरे पनि चोर नै हो सिक्री चोरे पनि चोरै हो भने एकमुठी चामल माग्ने पनि भिखमङ्गा नै हुन्, अनुदान आलोक गर्ने पनि भिखमङ्गा नै हुन् । भिखको भरमा बजेट चलाउन हुन्छ भने भोको पेट भर्न किन नहुने ? देश नै भिखमङ्गा छ भने जनता भिखमङ्गा हुन पनि त कुनै अनौठो भएन । दिन भन्दा लिन नै मजा आउने हुनाले नै दिने भन्दा लिने धेरै भएका अरे । ठ्याक्कै भन्ने हो भने माग्ने जति सबैलाई दिने हो भने भोलिपल्टदेखि आफू पनि उनीहरूकै हुलमा सामेल हुनु पर्ने छ । यसो भन्दैमा माग्नै नहुने पनि त होइन नि । मागेर राज्य पाएको कुरा पनि हामीले सुनेका छौँ नि होइन त ? फेरि माग्नु अपराध पनि त होइन नि ।

दुख नगरिकन दाम पाइन्छ भने किन काम गर्ने ? जम्लेहातले जदौ गर्‍यो काम खतम । ‘न पुर्पुरोमा असिना, न निधारमा पसिना’ ! बिना सित्ती किन दुख बेसाउने ? दशनङ्ग्रा ख्याएर खेतमा खट्दा पनि मुखमा माड लाग्न धौ धौ पर्छ अनि के गर्ने त ? ‘भवति भवति भिक्षाम् मे देही’, कति सजिलो नारा । धुलो हात फुलो हात दाताले दिए खातै खात नदिए पुर्पुरोमा हात । हैन त ?

एकजना विद्यार्थीले प्रथम श्रेणीमा स्नातकोत्तर पास गरेर छन् । तर ‘नाफचा’ (नातावाद, फरियावाद र चाकरीवाद) को प्रमाणपत्र पेश गर्न नसकेकोले जागिर पाएनछन् । फेरि पढेको मान्छेले सानो तिनो काम गर्न हुँदैन भन्ने कुरा उनलाई पनि पूरा थाहा रहेछ । त्यसैले ‘तै रिन तै रिन बुढी भैँसी’ किन भन्ने सूत्रलाई सुटुक्क समातेर विद्यावारिधि गर्ने निधो गरेर छन् । शोध पत्रको ‘शीर्षक भिखमङ्गा समस्या र सामाधान’ परेछ । उनको दिमागमा ‘प्राक्टिस मेक्स म्यान पर्फेक्ट’ अर्थात प्रयोगले मानिसलाई पोख्त बनाउँछ भन्ने अंग्रेजी उखान आएछ । र उनी आफैँ थोत्रो कचौरा र झुत्रो लुगा लगाएर सडकको पेटीमा भिखमङ्गा भएर बसेछन् । यसरी मागेको पैसाले दिनको लागि अन्न पानी मात्र होइन रातको बिजुलीपानी पनि पुग्न थालेछ । त्यसपछि को जाओस् जदौ भन्दै जागिरमा भनेर पेशेवर भिखमङ्गा हुने निणर्य लिएर धन्दा चालु राखेछन् । न हातलाई दुख न खुट्टालाई सकस कति हाइ सञ्चो । टोपीलाई भिक्षापात्र बनाएर बनाउन परे पनि खल्ती भरिन्छ भने माग्नेको माहोलमा सामेल भए हुन्छ ।

एक दिन मैले भुसतिघ्रे माग्नेलाई काम गरेर पो खानु पर्छ भन्न मात्र के भ्याएको थिएँ उसले झण्डै बिताइदिएको । उसले के भन्यो थाहा छ ? ‘घर पनि लड्यो बन पनि डढ्यो । काम गर्ने ठाम पनि छैन मुखमा माम पनि छैन अनि के गर्ने त ? सत्ताले स्वेतअपराध गर्न हुने, कर्मचारीले घुस खान हुने, ब्रम्हचारीले व्यभिचार गर्न हुने हामीले माग्न किन नहुने ? कुन कानुनमा लेखेको छ माग्न हुन्न भनेर ? भोकालाई भात दिनु, नाङ्गालाई कपडा दिनु र रोगीलाई औषधी दिनु त सबैको कर्तव्य हो’ । उसको कुरा सुनेपछि म त नाजवाफ पो भएँ । मलाई त अन्तर्राष्ट्रिय भिखमङ्गा संघको अध्यक्ष नै आएको जस्तो लाग्यो ।

भिक्षालाई झोलीमा हाल्न पाइन्छ भने शिक्षालाई छ्या ! भनेर फालि दिए पनि हुन्छ । मागेर मोज गर्ने जमानामा मेहनत गरेर महल ठड्याउँछु भन्नु त ‘बालकले सूर्य टिपेर खेलाउँछु’ भन्नु जस्तै हो । नदुखेको कपाललाई डोरी लगाएर किन दुखाउने ? दुई दिनको जिन्दगीमा किन मरिमेट्ने ? मरी लानु के छ र ? ‘अन्त्यमा यावत जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा घ्रीतम् पिवेत’ । होइन त ?

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल