साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसीको बिहे र हाम्रो राजनीति

हुन पनि हाम्रो देशको राजनीतिमा कुनै पनि तन्त्रहरू कहिल्यै पुरा नहुने मुसीको बिहेजस्तो मात्र ठूलठूला सपना देख्ने र देखाउने मात्र भएको छ ।

Nepal Telecom ad

बिहान उघ्रेपछि लब्ली डाँडोमा मर्निङवाकमा उक्लनेहरूको लर्को लाग्छ । आज म पनि लर्कोमा परेँ । हिजोअस्ती यतिखेर म फर्किसकेको हुन्थेँ ।

हतारोमा डाँडो उक्लँदा स्वाँस्वाँ हुनु स्वभाविक नै भयो । छाति पनि गरुङ्गो भएर आयो । रुख नभएको पहिलो विसौनीको चौतारोमा एकछिन अल्झिएँ । हिजोअस्ती म यहाँ अल्झिन्नथेँ माथि थाप्लोमा पुगेर मात्र रोकिन्थेँ ।

चौतारो वरपर छरपस्ट रामदेव स्वामीका चेलाचेलीहरू घरी यताको घरी उताको नाकको प्वालको पोर्रा फुलाउँदै “स्वींफ्वीं, स्वीफ्वीं” गरिरहेका थिए । कोही अटाइ नअटाइ खाएर फुलेका पेट “ख्वार्लाक-ख्वार्लाक” हल्लाइरहेका थिए । “हाहा हा, हाहा हा” गर्दै डाँडो नै थर्कायमान हुने गरी रावण हाँसो हाँस्नेहरूको संख्या पनि कम थिएन ।

चौतारोमा बसेर व्यायाम गरिरहेकामध्ये एकले हत्केलाको सूर्ति दुई औँलाले चेपेर ओँठमा कोच्दै भने- “यार आज त अचम्मकै सपना देखियो नि ! ?”
“कस्तो सपना देख्यौ र त्यस्तो ?” नाक थुन्दै, छोड्दै “स्वींफ्वीं स्वींफ्वी” गरिरहेका नजिकैका साथीले जिज्ञासा राखे ।

अलिपर लम्तन्न परेर घरी दायाँ गोडा, घरी बायाँ गोडा तलमाथि गरिरहेका साथीले जिस्काउँदै भने- “के सपना देख्थ्यो यसले ? उही राष्ट्रपति, प्रधानमन्त्री बस्ने कुर्सीको सपना देखेको त होला ?”
“नकरा तँ, बिहान-बिहान उडाउने कुरा गर्छस् ।” सपनाको कुरा गर्ने साथी अलि झर्किए ।
“के उडाउने कुरा ?” गोडा उडाइरहेका साथी गोडा झारेर पलेँटी कस्दै भने- “तँ बिहान उठेदेखि बेलुकी नसुतेसम्म हाय कुर्सी ! हाय कुर्सी ! भन्दै बर्बराइरहने अनि कुर्सीको सपना देखिस् होला भन्दा झर्किने ? तँलाई थाहा छैन मान्छेले विपनामा जे कुरा बढी सोच्छ सपनामा त्यही कुरा प्रतिविम्बित हुन्छ भन्ने कुरा ।” दोस्राले भने ।

“आ.. ! छोडिदेऊ त्यो कुर्सी सुर्सीको कुरा..” बायाँ हातले बायाँ नाकको प्वाल थिच्दै स्वींफ्वीं गरिरहेका साथीले भने- “त्यो राष्ट्रपति बन्ने भन्नेकुरा त भित्ते भैसक्यो । अब नयाँ कुरा गर भाइ नयाँ कुरा । समयले नयाँ कुरा मागिरहेको छ । हाउहाऊ ह्वेरह्वेर माउस सन रन प्यालेश ।”
“के भनेको त्यो ? हाऊ हाऊ ह्वे ह्वेर ……।”
“के भन्नु नि ? कस्ता-कस्ता कहाँ गए, मुसाको छोरो दरबार भनेको ल ।”
“हो, मैले सपनामा देखेको पनि त्यही मुसीको कुरा हो ।”
“सपनामा मुसीको कुरा ?” आश्चर्य मान्दै गोडा उठाउने साथीले सोध्यो ।

“त्यै त म भन्दैछु ।” मुसीको सपना देख्ने साथीले सपनाको बयान गर्न थाले- “बिहानीपखको सपनीमा एउटी जवान मुसी दुलाबाट निस्की । मलाई नजिकै देखेर सोधी- “संसारमा सबैभन्दा शक्तिशाली को छ ? म त्यसैसँग बिहे गर्छु ?” मैले भनेँ- “सबैभन्दा शक्तिशाली त ‘समय’ छ । समयले राजालाई रङ्क, रङ्कलाई राजा बनाईदिन्छ । समयले मान्छेको अहङ्कार पगालि दिन्छ । समयले मान्छेलाई आकाशबाट पाताल झारिदिन्छ, पातालबाट आकाश उठाईदिन्छ ।” उसले भनी- “समयको कुनै भरै छैन म समयसँग कसरी बिहे गर्न सक्छु ?”

“त्यसो हो भने सूर्यबालाई मनाई हेर, सूर्य सारैै तेजिलो छ । जगजगी पनि छ ।” मैले भनँे ।” “हुन्न हुन्न, सूर्यमा त ग्रहण लागिरहन्छ हुन्न ।” भनिन् । त्यसो भए बादलसँग बिहे गर भनेँ । “हुन्न हुन्न बादल पनि घरी यता घरी उता बर्सन्छ, रित्तिन्छ” भनिन् । त्यसपछि पहाड देखाएँ । “पहाड जड छ, चलमलाउनै सक्तैनन् हुन्न” भनिन् । त्यसो भए त्यो हरियाली दिने रुखसँग बिहे गर न त भनेँ । “रुखले हरियाली दिन्छ भनेरमात्र के गर्नु ? कतिखेर पात झरेर नाङ्गेझार हुन्छ, थाहै हुँदैन । फेरि जरो भित्रभित्रै कताकता घुसेको हुन्छ थाहापत्तै हुँदैन । हुन्न, त्यो पनि हुन्न” भनिन ।

त्यसपछि मैले ‘आँधी-हुरी’लाई देखाएँ । आँधी-हुरीले आफू समयको अधिन रहेको कुरा बताए । समय कतिखेर हुरीबतास भएर आउँछ ! म हुरी बतास भई दिन्छु । समय कतिखेर आँधिबेह्री भएर आउँछ म त्यतिखेर आँधिबेह्री भैदिन्छु । त्यसैले मेरा लागि समय बलवान हो । समयबिना म केही पनि होइन । अन्तत समय नै बलवान देखियो । समयको अगाडि मुसीको पनि केही लागेन । मुसी दुलाभित्रै पसी । थाहा छैन दुलाभित्र मुसीले कोसित बिहे गरी ? या अझै बिहे गर्ने समय जुराउँदै छे ।”

“अचम्म ! यो त हामीले भोगेको राजनीतिजस्तै पो भयो, यस्तो पनि सपना हुन्छ ?” गोडा उचाल्दै गरेका साथीले दायाँ गोडा उचालेको उचालै गरेर सोधे ।

नजिकैको साथीले प्रतिकृया थप्दै भने- “हाम्रा लागि राजनीति पनि त, त्यै मुसीको बिहेजस्तै त हो नि ! प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे तन्त्र भने पनि त्यै सपनै त हो । ती तन्त्र कहिले सार्थक भएका छन् र ?”
“त्यही सार्थक नभएर त मुसीको बिहेको सपना देखेको होला नि त ।” सबै हाँसे ।

अधिल्लो साथी अलि गम्भीर भएर भने- “हुन पनि हाम्रो देशको राजनीतिमा कुनै पनि तन्त्रहरू कहिल्यै पुरा नहुने मुसीको बिहेजस्तो मात्र ठूलठूला सपना देख्ने र देखाउने मात्र भएको छ ।” सबले एकसाथ सहमती जनाए ।

पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x