सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जो जससँग सम्बन्ध छ

तिघ्रा हेरी कट्टु सिलाउनु भन्थे तर यहाँ कट्टु हेरेर तिघ्रा मिलाउनेहरूको घुइँचो छ ‘मनुष्यरूपेण मृगा चरन्ति’ होइन त ?

Nepal Telecom ad

स्वस्ति श्री आगे त्यहाँ भुँडी पल्टाउदै महलमा शयर गरिरहनु भएका अथवा मेरो कल्पनाको सहयात्री कलमले लेख्न घीन लाग्ने सुकाम गरी दाम गोजीमा हालिरहनु भएका महामहिम ज्यूहरूमा यो प्रजातान्त्रिक नेपालभित्र भोकले स्यापस्याप परिरहेको सार्वभौम सत्ता सम्पन्न जीणर् जनताको तर्फबाट जम्लेहातले जदौ, एबं यथाोचित सतकार !

आँखा गाडिएर चिलाउनेको टोड्को जस्तो, छाला तान्दा एक बित्ता तन्कने अनि मासु भन्ने वस्तु जिब्रोेमा बाहेक अन्यत्र कतै नभए पनि कुशल छु म यहाँ ! त्यहाँ हजुरहरूका बीसवटा गिद्धलाई पनि बुत्याउन हम्मेहम्मे पर्ने असनको साँढे जस्तो हृष्टपुष्ट गैँडे सुँगुरे सुकोमल शरीरमा पनि कुशलताको कामना गर्दछु । बुद्धिमा लागेको बोसो चाहिँ पग्लियोस् भन्ने कामना गर्दछु ।

पकाउने कुराको इन्तिजाम गर्न नसकेको सुइँको पाएर श्रीमतीहजुरले चुलोजाम गरिसकेकी छन् भने म अनसन बसिरहेको छु । खल्तिखलास भएकाले भुन्टाभुन्टीहरूले नगदनारायण चोरेर गुच्चा खेल्न पाएका छैनन् । त्यसैले उनीहरू खेलो हराएका जुवाडी जस्तै भएका छन् ।

कुबेरको थूक लगाएर तील टिप्ने काइदा अनि आदमस्मीथदेखि अमत्र्य सेनसम्मका आधुनिक अर्थशास्त्रीहरूका सिद्धान्तहरू रिठ्ठो नविराइकन आद्योपान्त अध्ययन गर्दा पनि ताउलोमा जाउलो छड्काउन नसकेकोले जिल्लाराम परेको छु । कृष्णले गीतामा ‘दरिद्राम भर कौन्तेय’ भनेको कुरा पढदा आशाको आँकुरा पलाएको थियो तर जहाँ गहिरो त्यहाँ ताल भएको देख्दा गीताभन्दा पुर्खाको उखान सत्य लाग्यो । त्यसैले मेरो खवर शेक्सपिएरको वियोगान्त नाटक मात्र होइन ई.पू.४०६ तिरका नामी ग्रीसेली नाटककार ‘सफोक्लीज’को नाटकको पात्रको जस्तो छ । युरोपको आर्थिक स्थिति सुधार्ने अमेरिकी सेनापति मार्शल एड जीवित भएका भए उनलाई निमन्त्रणा दिने थिएँ म । मेरो आर्थिक सुधार्न । प्लेटोको ‘आदर्श राज्य’ अध्ययन गर्दा दर्शनको दरिद्र मेरो दिमाग रसाएको थियो । तर के गर्नु दार्शनिकहरूको शासन हुने आदर्शराज्य पनि बेकम्माहरूको हातमा पर्‍यो भने बाँदरलाई नरिबल भैहाल्दो रहे छ । नत्र अरस्तुको प्रजातन्त्र विग्रियो भने भीडतन्त्र हुन्छ भन्ने कुरा यहाँ किन र्‍याङ कि ठ्याङ हुन्थ्यो होला र !!

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड, वाद भन्दा वादी अगाडि गएपछि कसको के लाग्छ र ? ‘समानि मन्त्रम् समिति समानि समानि मनः सहि चित्तमेसाम’ भन्ने ऋगवेदको ऋचालाई लप्पु खुवाएर सामन्ती राज्यसत्ता स्वीकार्ने हाम्रो समाजमा कवितालाई ताली कविलाई गाली हुन्छ भन्दा अपाच्य भए भुत्रैसित्ती !! यहाँ पाच्य हुने कामै पो के नापिएको छर ? पराइका श्वरमा आफ्नो संस्कृतिलाई पानी जस्तै झोल पारेर विदेशी भाँडाको आकारमा ढाल्नेहरू नामूद राष्ट्रवादी बनेर राष्ट्रवादको माला जप्छन् । छिमेकीहरूको गगनचुम्बी महल ठडिएको देखेर आफ्नो भएको छाप्रोलाई डढेलो लगाउने अब्बलदर्जाका मान्छे पनि पाइन्छन् यहाँ । विश्वको सबैभन्दा गरिब राष्ट्रमा विश्वको सबै भन्दा धनी राट्रको अर्थतन्त्र अबलम्बन गर्नु बामे सर्न नसक्ने बच्चालाई ‘फेडिपिडिज’ बनाएर ४२ किलो मिटरको म्याराथुन दौडाउनु जस्तै होइन र ? तिघ्रा हेरी कट्टु सिलाउनु भन्थे तर यहाँ कट्टु हेरेर तिघ्रा मिलाउनेहरूको घुइँचो छ ‘मनुष्यरूपेण मृगा चरन्ति’ होइन त ?

मेरा बाउसँग यौटा कालो कुकुर छ भन्ने वाक्यलाई अंग्रेजीमा उल्था गर्दा ‘माइ फादर इज अ ब्लाक डग’ बनाउनेहरू फष्टक्लास फष्ट भएर रिमोर्टकन्ट्रोलको भरमा माड्साब बन्न आएपछि कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा नभए के हुने त ?

आदरणीय विचारलाई बंग्याएर व्याख्या गर्न खप्पिस सम्पादकसाहेबहरू, प्रकृतिमा कोइलीको सुमधुर स्वर छ भन्दैमा भ्यागुताले ट्यारट्यार गर्नु पापिपना हुँदैन भन्ने कुरा यहाँहरूको दिमागमा दरिएकै होला । सबैलाई आफ्नो छोरा राम्रै लाग्छ । चाहे त्यो ‘गाँडमाथिको तिलहरी’ नै किन नहोस् । त्यसैले मेरो यो दुई कौडीमा पनि नबिक्ने रचना पनि नराम्रो नभए अवश्य राम्रो छ । यसलाई एक पटक पढेर सदाझै रद्दीको टोकरीमा सुरक्षित साथ राखिदिनु हुन सादर अनुरोध गर्दछु ।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी