डिल्लीराज अर्यालसबैलाई मन्त्री बनाउने !
मैले अब विकासका निम्ति आफू मन्त्री बन्ने र पालो गरेर भए पनि सबैलाई मन्त्री बनाउने योजना बनाएको छु । योजनाको सफल कार्यान्वयनका लागि सबैसँग आग्रह गरेको छु ।

आधारभूत आवश्यकता पूरा गर्ने, एशियाली मापदण्डमा पुर्याउने ०५७, आइ पुग्न करिब करिब ११ वर्ष बाँकी छ । भतुवा कुकुरले गाँसको आश गरेर ढोका अगाडि पुच्छर पसारेर बास बसे झैं नेपाली पनि एशियाली मापदण्डमा पुग्ने आशामा मुख मिठ्याएर बसेको छ । भत्किन तम्तयार भएको आफ्नै चुहुने छाप्रोमा आफ्नो दुखेको आङमा काप्रो बाँधेर बसेको छ। देशमा गजबको सरकार छ र जनतामा अजबको आशा। । जनताको आशा भनेकै सरकार हो । त्यसैले पनि आशा छ किनकि सरकार छ ।
जनताको आशा सरकार भए जस्तै, सरकारको आशा दरबार र दरबारको आशा अझै परपरको दरबार वा अरू केही होला । केही न केही त पक्कै छ । त्यसैले आशा सबैमा छ । आशै आशामा बाँचेकाले त होला हामीकहाँ ‘झर्ला र खाउँला’को उखान मज्जाले चलेको छ । सधैं झर्ला र खाउँला अर्थात् अर्काले देला, अर्काबाट आउला र खाउँला भन्ने । यसो भएपछि कुन देशले कति सहयोग दिन्छ र विकास हुन्छ ? भन्ने नसोच्ने कुरै भएन । त्यसैले सोच्दै र खोज्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण हेर्न थालेका छन्- हामी नेपाली जनताका प्रतिनिधिहरू । हेर्न त हेरेकै छन्, तर बोल्न र छल्न जानेका बाठाबाठाहरू पदमा पुग्दा पनि राम्ररी नसोचेर र ठाउँ मात्र रोजेर बसेको देख्दा कहिले थक्क, कहिले दिक्क भने लागेकै हुन्छ । यसो हुनु अस्वाभाविक पनि होइन ।
यस्तै दिक्क लागेका बेला मनमा पनि नयाँ नयाँ कुराहरू उठिरहन्छन् । केही कुराले मलाई सुताइदिए पनि केहीले आशालाई अझै उठाइदिन्छन् । त्यसैले मलाई यसरी मनमा कुरा उठ्नु, उठिरहनु नराम्रो लाग्दैन । कम्तीमा कुरा त उठ्छ । हुनत बुढा पाकाले ‘कुराले चिउरा भिज्दैन’ भन्छन् तर चित्त बुझाउनलाई अर्को नयाँ उखान पनि छ- ‘उहिलेका कुरा खुइले ।‘ बुढाहरूको कुरालाई खुइल्याइदिन म आधुनिक बनिदिन्छु र सोच्छु – ‘कुराले चिउरा नभिज्ला तर कुराले छुराको काम त गर्ला ।‘ अनि नयाँ नयाँ योजना बनाउन थाल्छु ।
अहिलेको मेरो योजनामा यो चुनावमा फरक हिसाबले पो जानु पर्ला कि भन्ने हुन्छ । हिसाब जान्नेहरूलाई पो सदनमा पठाउन पर्ने होला कि हुन्छ ! त्यसो भए तिनले केही गर्थे कि ! हिसाब नजान्ने लठ्ठकहरूलाई चुनाव जिताएर पो यसो भएको हो कि ! ‘यसो गर्छु, उसो गर्छु’ भन्छन् केही गर्दैनन् । हिसाब जानेको भए पो ! यी लठ्ठकहरू ‘हुन्छ’ भन्छन् तर भनेको पनि केही हुँदैन । त्यसैले तिनलाई जिताएर केही फाइदा हुँदो रहेनछ, लिन सकिंदो रहेनछ ।
यस्ता लठ्ठक प्रतिनिधिहरू, यिनलाई न यति सहायता आयो, यति विकास बजेट आयो भन्ने थाहा छ, न यति ठेक्कापट्टाबाट, यति व्यापारबाट, यति आयोजनाबाट फाइदा भयो भन्ने थाहा छ । न तलबबापत यति आयो भन्ने थाहा छ, न भत्ताबापत यति आयो भन्ने थाहा छ । देशले यति प्रतिशत काम पूरा गर्योआ भन्ने अडकल हुने त झन् कुरै भएन । लाटालाई पठायो अर्काले भनेका, गनेका र सुनेका भरमा बतुराएर फसाद । न तिनी आफूलाई फाइदा, न हामी जनतालाई । बरु हाम्रो जिल्लाका फलाना प्रतिनिधिले यति विकास गरे भनेर भन्न र अरूलाई उछिनेको देख्न पाए मनमा सन्तोष हुनेथियो ।
सिंहजीले करोडौंको विकास गर्दा अरू बहादुरहरूले किन नगर्ने ? एउटा बस र त्यसभित्रको एउटा लाश खोज्न महिना दिनभन्दा बढी समय र पाँच करोड भन्दा बढी रकम लाग्छ भने प्रतिनिधिहरूको विकासलाई पाँच वर्षले कसरी पुग्ने ? कानुन, नियम र योजना बनाउनेहरूले पनि त ख्याल राख्न सक्नुपर्ने हो । दिमागै नभएर हो कि हिसाबै नजानेर हो ! खर्च नगरेर बचाउने तरखरमा लागेका पो हुन् कि ! यो भने बुझ्न सकिएको छैन ।
अब समय भनेको त्यही ११ वर्ष न हो । यो ११ वर्षमा आधारभूत आवश्यता कसरी पूरा गर्लान् ? एशियाली मापदण्डमा कसरी पुर्याोउलान् यिनले? तै बजेटमा छलफल हुन थालेको छ । त्यसले भने अलिकति आशा जागेको छ । यता पशुपतिले साथ दिएका छन्, उता विश्वनाथजीले वचन दिएका छन् । यति भएपछि केही न केही त अवश्य हुन्छ तर चुनावमा हिसाब जान्ने मान्छे भने अवश्य चाहिन्छ । त्यहाँ हिसाब जान्ने भएनन् भने अवश्य हेराफेरी हुन्छ ।
यतिवेला साट्ने, साटिने रोगले ग्रस्त छ- देश । मास्टरले नहेर्दा परीक्षार्थीका कापी साटिन्छन्, विद्यार्थीले नदेखेको मौकामा कापीका नम्बर साटिन्छन् । यस्ता देशमा हामीले दिएको मत प्रतिनिधिहरूले नदेखेका बेला साटिन्न भन्ने के छ र ? त्यसैले हिसाब गरेर इँटा गने झैं भोट गनेर जित्ने र नोट गनेर विकास गर्ने प्रतिनिधिहरू नछानेसम्म देशको भविष्य सुध्रला जस्तो लागेकै छैन । अब भोट माग्न आउँदा वर माग्न जानेले भैरवलाई रोट बोकेर गए झैं जानुपर्ने भयो भन्ने थाहा पाऊन् नेताहरूले । हुनत नेता लाटै त किन हुन्थे र ? लाटा भए नेता हुन कहाँ अघि सर्थे र ? मेरा योजना थाहा पाइसकेका नेताहरूले अरूलाई पल्टाउन ओट र खोट खोज्न थालेका छन् । अर्कालाई खोट नलाएसम्म आफूलाई चोट पर्ला र भोट नपाएर नोट तुर्न मात्र होला भन्ने बुझेकाहरूले मौका देखेरै होला, पेट भर्न भन्दा पहिल्यै झोला भर्न थालेका छन् । झोलामा नअटाउने स्थितिमा बोरा भर्न र त्यसमा पनि अटाएन भने ….।
त्यसो नभए मोटर गुल्टिएको थाहा पाउनासाथ मन्त्री, प्रधानमन्त्रीहरू फाल कुदेर जोगीमारा आउँथे ? त्यत्रो नदीमा खसेको बस हेर्न खोलो देखे पनि तर्सनेहरू त्यहाँसम्म आउनु जनता तर्साउने कुरो होइन र ? आफू परियो बजेट सजेटको कुरा नजानेको, ‘तर्साउने त्र र ज्ञानी ज्ञ’ मात्र पढेको मान्छे । त्यसैले तर्सेको तर्स्यै भएर पनि चूपचाप ज्ञानी ज्ञ नबनी सुखै पाइएन । तै संगत गुनको फल भने झैं, हिसाबटपको फेला परेर अलिअलि हिसाब जान्न थालेकाले आज भोलि सन्तुष्ट भएको छु । यो एघार वर्षको हिसाब निकाल्न जानेपछि मेरो बुद्धि हिङ फुरे झैं फुर्न थालेको छ ।
यो बुद्धि फुरेको मौकामा मैले हिसाब फुराउन थालेको छु । फुरेका बेला हिसाब लगाएर हेर्दा ०५७ सम्ममा आवश्यक विकास पक्का हुने देखेपछि भाषण सुनेका ठाउँमा परर्र ताली लाउन पनि शुरु गरेको छु । हिसाब कत्तिको पाको छ तपाईंले पछि बुझ्नु होला । नेताहरूले त बुझिसकेका होलान् । मेरो हिसाबमा ११ वर्षमा जम्माजम्मी ११ह३६५ दिनका दरले करिब ४०१५ दिन हुने रहेछन् । त्यसमा पक्कै फरक पर्दैन । ४०१५ दिन मध्ये १०१५ दिन घाम नलाग्ने,असिना पानी पर्ने भए पनि अरू बाँकी बँचेका ३००० दिन दिनकै रूपमा देखिएलान् । पौने २ करोड जनता भएको यस देशमा सरदर ७ जनाको परिवार गन्ने हो भने पनि २५००० घर परिवार त पक्कै होलान् । जम्माजम्मी ४०१५ दिनमा २४ का दरले ९६३६० घण्टा हुन्छ । सबै घरको मूली मान्छेलाई पालो आउने गरी मन्त्री बनाइदिने हो भने चार, पौने चार घण्टा मन्त्री हुने अवसर पाउँदा रहेछन् हरेक नेपालीका परिवारले । सबै नेपालीले मन्त्री वा मन्त्रीका परिवारका बन्ने अवसर पाए भने विकास कत्ति असम्भव छैन । त्यसमध्ये १०१५ दिन त आरामै गर्न पाइन्छ । अरू बाँकी दिन मन्त्री बनेर पनि विकास गर्न सजिलै सकिन्छ । मन्त्री भएर पनि आधारभूत आवश्यकता पूरा गर्न सक्दैन, गर्दैन, भने कसको दोष ? महको भाँडोमै डुबाएर राखिदिँदा पनि भोकै बस्छ भने कसको के लाग्छ ? जाने चाटेरै अघाउँछ, नजाने डुबेरै मर्छ । यो हिसाब गरेपछि म ढुक्क छु । मन्त्री बन्ने पालो आउने भो भनेर खुसी लागेको छ । हरेक घरमूलीको पालो आउने भएपछि मेरो पालो पनि अवश्य आउँछ ।
हरेक मन्त्रीले कमाए जस्तै, विकास गरे जस्तै विकास गर्ने, कमाउने पालो मेरो पनि आउँछ । म मन्त्री भएँ भने देशमा प्रजातन्त्र छ, मानव अधिकार छ, विकास भएको छ, शान्ति सुरक्षाको स्थिति, शिक्षा, स्वास्थ्य, पर्यटन व्यवस्था आदिको गतिविधि राम्रो छ । म राम्रो छु भनेर भाषण गर्नेछु । हिसाबीको फेला परेपछि भएको यो फाइदाले म झन्झन् फाइदामा गएको छु । अझै कति फाइदा हुने हो ? हेर्न बाँकी छ । त्यसैले मैले अब विकासका निम्ति आफू मन्त्री बन्ने र पालो गरेर भए पनि सबैलाई मन्त्री बनाउने योजना बनाएको छु । योजनाको सफल कार्यान्वयनका लागि सबैसँग आग्रह गरेको छु ।
जय विकास ! जय मन्त्री ! जय मन्त्री बनाउने योजना !
(यो व्यङ्ग्य २०५७ सम्ममा आधारभूत आवश्यकता पुर्याउने, एशियाली मापदण्डमा पुर्याउने घोषणा भएका वेला लेखिएको हो । त्यसैले त्यसै अनुसार बुझिदिन आग्रह गर्दछु)
पाल्पा, हाल- काठमाण्डौं ३२ मनोहरवस्ती
Subscribe
Login
0 Comments
Oldest








































