साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैलाई मन्त्री बनाउने !

मैले अब विकासका निम्ति आफू मन्त्री बन्ने र पालो गरेर भए पनि सबैलाई मन्त्री बनाउने योजना बनाएको छु । योजनाको सफल कार्यान्वयनका लागि सबैसँग आग्रह गरेको छु ।

Nepal Telecom ad

आधारभूत आवश्यकता पूरा गर्ने, एशियाली मापदण्डमा पुर्याउने ०५७, आइ पुग्न करिब करिब ११ वर्ष बाँकी छ । भतुवा कुकुरले गाँसको आश गरेर ढोका अगाडि पुच्छर पसारेर बास बसे झैं नेपाली पनि एशियाली मापदण्डमा पुग्ने आशामा मुख मिठ्याएर बसेको छ । भत्किन तम्तयार भएको आफ्नै चुहुने छाप्रोमा आफ्नो दुखेको आङमा काप्रो बाँधेर बसेको छ। देशमा गजबको सरकार छ र जनतामा अजबको आशा। । जनताको आशा भनेकै सरकार हो । त्यसैले पनि आशा छ किनकि सरकार छ ।

जनताको आशा सरकार भए जस्तै, सरकारको आशा दरबार र दरबारको आशा अझै परपरको दरबार वा अरू केही होला । केही न केही त पक्कै छ । त्यसैले आशा सबैमा छ । आशै आशामा बाँचेकाले त होला हामीकहाँ ‘झर्ला र खाउँला’को उखान मज्जाले चलेको छ । सधैं झर्ला र खाउँला अर्थात् अर्काले देला, अर्काबाट आउला र खाउँला भन्ने । यसो भएपछि कुन देशले कति सहयोग दिन्छ र विकास हुन्छ ? भन्ने नसोच्ने कुरै भएन । त्यसैले सोच्दै र खोज्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण हेर्न थालेका छन्- हामी नेपाली जनताका प्रतिनिधिहरू । हेर्न त हेरेकै छन्, तर बोल्न र छल्न जानेका बाठाबाठाहरू पदमा पुग्दा पनि राम्ररी नसोचेर र ठाउँ मात्र रोजेर बसेको देख्दा कहिले थक्क, कहिले दिक्क भने लागेकै हुन्छ । यसो हुनु अस्वाभाविक पनि होइन ।

यस्तै दिक्क लागेका बेला मनमा पनि नयाँ नयाँ कुराहरू उठिरहन्छन् । केही कुराले मलाई सुताइदिए पनि केहीले आशालाई अझै उठाइदिन्छन् । त्यसैले मलाई यसरी मनमा कुरा उठ्नु, उठिरहनु नराम्रो लाग्दैन । कम्तीमा कुरा त उठ्छ । हुनत बुढा पाकाले ‘कुराले चिउरा भिज्दैन’ भन्छन् तर चित्त बुझाउनलाई अर्को नयाँ उखान पनि छ- ‘उहिलेका कुरा खुइले ।‘ बुढाहरूको कुरालाई खुइल्याइदिन म आधुनिक बनिदिन्छु र सोच्छु – ‘कुराले चिउरा नभिज्ला तर कुराले छुराको काम त गर्ला ।‘ अनि नयाँ नयाँ योजना बनाउन थाल्छु ।

अहिलेको मेरो योजनामा यो चुनावमा फरक हिसाबले पो जानु पर्ला कि भन्ने हुन्छ । हिसाब जान्नेहरूलाई पो सदनमा पठाउन पर्ने होला कि हुन्छ ! त्यसो भए तिनले केही गर्थे कि ! हिसाब नजान्ने लठ्ठकहरूलाई चुनाव जिताएर पो यसो भएको हो कि ! ‘यसो गर्छु, उसो गर्छु’ भन्छन् केही गर्दैनन् । हिसाब जानेको भए पो ! यी लठ्ठकहरू ‘हुन्छ’ भन्छन् तर भनेको पनि केही हुँदैन । त्यसैले तिनलाई जिताएर केही फाइदा हुँदो रहेनछ, लिन सकिंदो रहेनछ ।

यस्ता लठ्ठक प्रतिनिधिहरू, यिनलाई न यति सहायता आयो, यति विकास बजेट आयो भन्ने थाहा छ, न यति ठेक्कापट्टाबाट, यति व्यापारबाट, यति आयोजनाबाट फाइदा भयो भन्ने थाहा छ । न तलबबापत यति आयो भन्ने थाहा छ, न भत्ताबापत यति आयो भन्ने थाहा छ । देशले यति प्रतिशत काम पूरा गर्योआ भन्ने अडकल हुने त झन् कुरै भएन । लाटालाई पठायो अर्काले भनेका, गनेका र सुनेका भरमा बतुराएर फसाद । न तिनी आफूलाई फाइदा, न हामी जनतालाई । बरु हाम्रो जिल्लाका फलाना प्रतिनिधिले यति विकास गरे भनेर भन्न र अरूलाई उछिनेको देख्न पाए मनमा सन्तोष हुनेथियो ।

सिंहजीले करोडौंको विकास गर्दा अरू बहादुरहरूले किन नगर्ने ? एउटा बस र त्यसभित्रको एउटा लाश खोज्न महिना दिनभन्दा बढी समय र पाँच करोड भन्दा बढी रकम लाग्छ भने प्रतिनिधिहरूको विकासलाई पाँच वर्षले कसरी पुग्ने ? कानुन, नियम र योजना बनाउनेहरूले पनि त ख्याल राख्न सक्नुपर्ने हो । दिमागै नभएर हो कि हिसाबै नजानेर हो ! खर्च नगरेर बचाउने तरखरमा लागेका पो हुन् कि ! यो भने बुझ्न सकिएको छैन ।

अब समय भनेको त्यही ११ वर्ष न हो । यो ११ वर्षमा आधारभूत आवश्यता कसरी पूरा गर्लान् ? एशियाली मापदण्डमा कसरी पुर्याोउलान् यिनले? तै बजेटमा छलफल हुन थालेको छ । त्यसले भने अलिकति आशा जागेको छ । यता पशुपतिले साथ दिएका छन्, उता विश्वनाथजीले वचन दिएका छन् । यति भएपछि केही न केही त अवश्य हुन्छ तर चुनावमा हिसाब जान्ने मान्छे भने अवश्य चाहिन्छ । त्यहाँ हिसाब जान्ने भएनन् भने अवश्य हेराफेरी हुन्छ ।

यतिवेला साट्ने, साटिने रोगले ग्रस्त छ- देश । मास्टरले नहेर्दा परीक्षार्थीका कापी साटिन्छन्, विद्यार्थीले नदेखेको मौकामा कापीका नम्बर साटिन्छन् । यस्ता देशमा हामीले दिएको मत प्रतिनिधिहरूले नदेखेका बेला साटिन्न भन्ने के छ र ? त्यसैले हिसाब गरेर इँटा गने झैं भोट गनेर जित्ने र नोट गनेर विकास गर्ने प्रतिनिधिहरू नछानेसम्म देशको भविष्य सुध्रला जस्तो लागेकै छैन । अब भोट माग्न आउँदा वर माग्न जानेले भैरवलाई रोट बोकेर गए झैं जानुपर्ने भयो भन्ने थाहा पाऊन् नेताहरूले । हुनत नेता लाटै त किन हुन्थे र ? लाटा भए नेता हुन कहाँ अघि सर्थे र ? मेरा योजना थाहा पाइसकेका नेताहरूले अरूलाई पल्टाउन ओट र खोट खोज्न थालेका छन् । अर्कालाई खोट नलाएसम्म आफूलाई चोट पर्ला र भोट नपाएर नोट तुर्न मात्र होला भन्ने बुझेकाहरूले मौका देखेरै होला, पेट भर्न भन्दा पहिल्यै झोला भर्न थालेका छन् । झोलामा नअटाउने स्थितिमा बोरा भर्न र त्यसमा पनि अटाएन भने ….।

त्यसो नभए मोटर गुल्टिएको थाहा पाउनासाथ मन्त्री, प्रधानमन्त्रीहरू फाल कुदेर जोगीमारा आउँथे ? त्यत्रो नदीमा खसेको बस हेर्न खोलो देखे पनि तर्सनेहरू त्यहाँसम्म आउनु जनता तर्साउने कुरो होइन र ? आफू परियो बजेट सजेटको कुरा नजानेको, ‘तर्साउने त्र र ज्ञानी ज्ञ’ मात्र पढेको मान्छे । त्यसैले तर्सेको तर्स्यै भएर पनि चूपचाप ज्ञानी ज्ञ नबनी सुखै पाइएन । तै संगत गुनको फल भने झैं, हिसाबटपको फेला परेर अलिअलि हिसाब जान्न थालेकाले आज भोलि सन्तुष्ट भएको छु । यो एघार वर्षको हिसाब निकाल्न जानेपछि मेरो बुद्धि हिङ फुरे झैं फुर्न थालेको छ ।

यो बुद्धि फुरेको मौकामा मैले हिसाब फुराउन थालेको छु । फुरेका बेला हिसाब लगाएर हेर्दा ०५७ सम्ममा आवश्यक विकास पक्का हुने देखेपछि भाषण सुनेका ठाउँमा परर्र ताली लाउन पनि शुरु गरेको छु । हिसाब कत्तिको पाको छ तपाईंले पछि बुझ्नु होला । नेताहरूले त बुझिसकेका होलान् । मेरो हिसाबमा ११ वर्षमा जम्माजम्मी ११ह३६५ दिनका दरले करिब ४०१५ दिन हुने रहेछन् । त्यसमा पक्कै फरक पर्दैन । ४०१५ दिन मध्ये १०१५ दिन घाम नलाग्ने,असिना पानी पर्ने भए पनि अरू बाँकी बँचेका ३००० दिन दिनकै रूपमा देखिएलान् । पौने २ करोड जनता भएको यस देशमा सरदर ७ जनाको परिवार गन्ने हो भने पनि २५००० घर परिवार त पक्कै होलान् । जम्माजम्मी ४०१५ दिनमा २४ का दरले ९६३६० घण्टा हुन्छ । सबै घरको मूली मान्छेलाई पालो आउने गरी मन्त्री बनाइदिने हो भने चार, पौने चार घण्टा मन्त्री हुने अवसर पाउँदा रहेछन् हरेक नेपालीका परिवारले । सबै नेपालीले मन्त्री वा मन्त्रीका परिवारका बन्ने अवसर पाए भने विकास कत्ति असम्भव छैन । त्यसमध्ये १०१५ दिन त आरामै गर्न पाइन्छ । अरू बाँकी दिन मन्त्री बनेर पनि विकास गर्न सजिलै सकिन्छ । मन्त्री भएर पनि आधारभूत आवश्यकता पूरा गर्न सक्दैन, गर्दैन, भने कसको दोष ? महको भाँडोमै डुबाएर राखिदिँदा पनि भोकै बस्छ भने कसको के लाग्छ ? जाने चाटेरै अघाउँछ, नजाने डुबेरै मर्छ । यो हिसाब गरेपछि म ढुक्क छु । मन्त्री बन्ने पालो आउने भो भनेर खुसी लागेको छ । हरेक घरमूलीको पालो आउने भएपछि मेरो पालो पनि अवश्य आउँछ ।

हरेक मन्त्रीले कमाए जस्तै, विकास गरे जस्तै विकास गर्ने, कमाउने पालो मेरो पनि आउँछ । म मन्त्री भएँ भने देशमा प्रजातन्त्र छ, मानव अधिकार छ, विकास भएको छ, शान्ति सुरक्षाको स्थिति, शिक्षा, स्वास्थ्य, पर्यटन व्यवस्था आदिको गतिविधि राम्रो छ । म राम्रो छु भनेर भाषण गर्नेछु । हिसाबीको फेला परेपछि भएको यो फाइदाले म झन्झन् फाइदामा गएको छु । अझै कति फाइदा हुने हो ? हेर्न बाँकी छ । त्यसैले मैले अब विकासका निम्ति आफू मन्त्री बन्ने र पालो गरेर भए पनि सबैलाई मन्त्री बनाउने योजना बनाएको छु । योजनाको सफल कार्यान्वयनका लागि सबैसँग आग्रह गरेको छु ।
जय विकास ! जय मन्त्री ! जय मन्त्री बनाउने योजना !

(यो व्यङ्ग्य २०५७ सम्ममा आधारभूत आवश्यकता पुर्याउने, एशियाली मापदण्डमा पुर्याउने घोषणा भएका वेला लेखिएको हो । त्यसैले त्यसै अनुसार बुझिदिन आग्रह गर्दछु)

पाल्पा, हाल- काठमाण्डौं ३२ मनोहरवस्ती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x