कृष्ण प्रधानढोंग
मनमै भगवान पूज्न सकिन्छ । घरमै भगवानलाई जल चढाउन सकिन्छ । बाहिरी आवरणमा जतिसुकै सुन्दर र झकिझकाउ भए पनि त्यो ढोंग सिवाय केहि हुँदैन ।

“‘मनकली’ ..ए ‘मनकली’ ! मन्दिर जाने होइन ?”
बिहानको करिब सात बजेतिर मेरो घर अगाडि बाटो छेउमा ऊभिएर कराउँदै थिइन् विमली ।
मैले झ्यालको पर्दा उघारेर बाहिर हेरें । दुबै हातमा मेहन्दी, हरियो साडी, पहेलो ब्लाउज, हरियो र पहेंलो मिसिएका चुरा र पोते, अनि हरियै रिबनमा चिटिक्क सजिएर आएकी महिला आकृति देख्दा म झसंङ्ग भएँ ।” ए आज त साउनको पहिलो सोमबार ! संधै सामान्य मेक्सी वा कुर्ता सलवारमा बाहिर निस्कने अनि संधै दिदी वा मनकली दिदी भनेर संबोधन गर्ने बिमलीले आज मनकली मात्र भनेर चिच्याएको सुन्दा अचम्म लाग्यो ! उनको बोलीमा पहिरनको दम्भ झल्किन्थ्यो ! त्यसैले आज उनलाई अलि परको शिव मन्दिरमा जल चढाउन जाने भूत चढेछ !
को आयो ? कस्तो पहिरनमा आयो ? के के लगाएर आयो ? कत्तिको सजिएर आयो ? भन्नेबारेमा भगवान शिवले त्यति चासो राख्न नभ्याउने भएर होला मेरो खोजी भएको! मलाई बुझ्न गारो भएन ।
यति राम्री सजिएर कस्का लागि ब्रत बसेकी होलिन् ? उनी श्रीमानसँग संधैजसो झगडा गरिरहेकी हुन्छिन् । “तँ त मरी हाले मलाई हाइसन्चो हुन्थ्यो” भनेर श्रीमानलाई धारेहात लगाएको यिनै आँखाले धेरै पटक देखेको छ । तर आज कस्का लागि ब्रत बसेर मन्दिर जाँदै छन् !? मैले त केहि भेउ पाउन सकिन ! साउन महिना, प्रेम महिना भन्छन् । कोहि प्रेमीका लागि पनि त हुनसक्छ! आ ! होस् है, अरूको व्यक्तिगत कुरामा चासो दिएर समय बर्वाद गर्नु हुँदैन ।
मन सफा र पवित्र भयो भने भगवान खोज्न टाढा जानु पर्दैन । मनमै भगवान पूज्न सकिन्छ । घरमै भगवानलाई जल चढाउन सकिन्छ । बाहिरी आवरणमा जतिसुकै सुन्दर र झकिझकाउ भए पनि त्यो ढोंग सिवाय केहि हुँदैन ।
पूजा कोठा नियालें । मन भित्रका भगवान सम्झिएँ । न मैले विमलीको चित्त दुखाउन चाहें, न उनी जस्तै सजिएर बाहिर निस्कने सामथ्र्य नै । बिहान ४ बजेदेखि उठेर घर धन्दामा ब्यस्त रहँदा रहँदै पनि मैले भित्रैबाट भनिदिएँ” तिमी जाऊ बिमली म टाउको दुखेर सुतिरहेकी छु ।”
भरतपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest






































